मेरो जीवन

‘त्यो हुन्थ्यो भने मेरो घर श्रीमतीले भरिन्थ्यो’

नेताहरू हामी अस्थायी, तपाईं स्थायी सांसद पो भन्छन् !

person explore access_timeभदौ ११, २०७९ chat_bubble_outline0

शिवहरि नेपाल ‘वैरागी’ नेपालका दिग्गज कलाकारमध्येका एक  हुन् । कतिले सभासद् तथा कतिले पुतलीका बा, केहीले त अन्य नामबाट पनि चिन्छन् । यी सबै नाम उनको वास्तविक परिचय भने होइन । शिवहरिबाहेकको अन्य परिचय उनले  अभिनयबाट पाएका हुन् ।


हास्य कलाकारका रूपमा ४ दशकभन्दा बढी नेपाली कलाक्षेत्रमा बिताएका नेपालले नाटक, टेलिफिल्म, फिल्मलगायत थुप्रै अभिनय गरेका छन् । कलाकारितामा सांसददेखि विभिन्न भूमिका निर्वाह गरेका शिवाहरिलाई एक पटक रिलमा होइन, रियलमा सांसद र मन्त्री बन्ने इच्छा छ । राजनीतिमा समेत सक्रिय शिवहरि ‘वैरागी’ आफ्ना जीवनका विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि यसरी सुनाउँछन् ।





म हास्य कलाकार 

म कलाकार हुँ । कलाका धेरै विधामध्ये म हास्य विधानमा क्रियाशील छु । हास्य कलाकारलाई समाजले हेर्ने नजर पनि राम्रो छ । मैले हँसाउन थालेको २०३४ बाट हो । त्यो समय म पशुपतिको वनकालीस्थित वेदविद्याश्रममा पढ्ने । मेरो प्रेरणाको श्रोत पिताजी हुन् । उहाँ जात्रा, भेला, भोजभतेरमा ८, १० जना जम्मा हुँदा अनेक क्रियाकलाप गरेर हँसाउनुहुन्थ्यो ।

अर्को कुरो त्यो समय रत्नपार्कमा औषधि बेच्ने चटके हुन्थे । उनीहरू औषधि हल्लाउँदै, सुगाउँदै, हँसाउँदै बेच्थ्यो । म त्यो हेर्न एक घण्टाको टिफिन टाइममा रत्नपार्क आउँथे । फर्किएपछि उनीहरूको क्यारिकेचर गरेर स्कुलमा हँसाउँथे ।

केही समयपछि उपत्यका व्यापी नाटक प्रतियोगिता भयो । त्यो समय नाटकमा महिला पात्रको अभाव थियो । म महिला बनेर अभिनय गर्थे । पुरस्कार समेत जित्थे ।

नेपालमा बनेको पहिलो भिडियो फिल्म ‘बन्धन’मा पनि अभिनय गरेँ । नेपालमा टेलिभिजन खुलेदेखि अहिलेसम्म पनि म विभिन्न सिरियल खेल्दै आएको छु ।

अहिलेसम्म सडक नाटक, मेला महोत्सव, स्टेज सो लगायत गरेर करिब ३ सयभन्दा बढी अभिनय गरेको छु । थिएटरमा मात्र ७०, ८० वटा नाटक गरेको छु ।

 

सिरियल सानाठूला गरेर थुप्रै गरेको छु । करिब २५ वर्षअगाडि पोलियो थोपाको विज्ञापन ‘हजुरबुबा मलाई भेट्टाउनुस् त’ भन्ने अभिनय गरेको थिएँ । यसले मलाई सर्वत्र चिनाएको हो । २५ वर्षअगाडि विज्ञापनमा देखिने पोलियो लागेको त्यो हजुरबुबा मै हुँ । ५२ घुस्सा ५३ ठक्कर, हिजो आजका कुरा, जिरे खुर्सानी, तीतो सत्य, हर्के हल्दार, भद्रगोल  लगायतमा धेरै अभिनय गरेँ । जिरे खुर्सानीको पुतलीका बा मै हो । त्यसपछि सभासद् पनि मै हो । अभिनयबाट धेरै चिनाएर सुन्तुुष्टि मिलेको भूमिका जिरे खुर्सानीको सभासद्को थियो । अहिले पनि नेतादेखि सांसदसम्मले सभासद् भनेर बलाउँछन् । नेताहरूले त हामी अस्थायी सांसद, तपाईं स्थायी भन्छन् ।

अहिलेसम्म करिब तीन दर्जन फिल्म अभिनय गरेँ । ८, १० वर्षका बच्चादेखि ८० वर्षका बूढासम्म मेरा फ्यान छन् । युवतीहरू पनि झुम्मिछन् ।

काठमाडौँमा मेरा घर र गाडी छन् । त्यो कलाकारिता र जागिरले सम्भव भएको हो । पहिले त मेलामहोत्सवले वर्षमा १५, २० लाख सजिलै कमाउँथे । कलाकारिताको सिलसिलामा केतै जाँदा फोटो खिच्ने, झुम्मिने त हुन्छन् । घरमै लैजानु, तपाईंसँग जान्छु भन्नेसमेत हुन्छन् । त्यस्ता प्रस्ताव सबै स्वीकार्ने हो भने मेरा घरभरि श्रीमती हुन्थे । त्यसरी प्रस्ताव राख्ने अधिकांश १८, २० वर्षका युवती हुन्छन् । म घरमा श्रीमती, छोराछोरी छन् भनेर सम्झाउँछु । 

हामी समाजमा कलाकारको इज्जत भएन भनिरहेका हुन्छौँ ।  तर हामी आफ्नो ठाउँमा बसेका छैनौँ । मदिरा, धूम्रपान गर्ने, अर्काकी छोरीचेली जिस्क्याउने गरेपछि कहाँ हुन्छ र इज्जत ? कार्यक्रममा जाँदा केटीको पछि लाग्ने, तपाईंसँग जान्छु भन्ने, विवाह प्रस्ताव राख्ने नगर्ने होइन । म विवाहित हुँ, बालबच्चा छन् भनेर सम्झाउँछु ।

औषधिको बिजनेस 

अहिले म औषधिको व्यवसाय गर्छु । बीपी स्मृति सामुदायिक सहकारी अस्पताल वसुन्धरामा औषधि पसल छ । त्यसअगाडि औषधिकै होलसेल पसलमा २५ वर्ष काम गरेँ ।

जीवनको कठिन समय साइकलमा औषधि राखेर ठेल्दै ठाउँ ठाउँ पुर्‍याउँथे । अब यो औषधिबाट फुर्सद लिएर पुरै समय कलाकारितामा लाग्ने सोच छ ।

सपना रेकर्ड राख्ने 

जीवन गुजारा राम्रोसँग चल्दैछ । एक चोटि सांसद हुने र अर्को विदेशमा कुनै काममार्फत रेकर्ड बनाउने सपना छ ।

घरमै राम्री बूढी

विसं २०४५ सालमा मैले मागी विवाह गरेको हो । म सिन्धुपाल्चोकको, उनी धादिङकी हुन् । एक समय माइतीघरमा साधुहरूको भेलामा सेवामा थिएँ । त्यो समय उनका बुबाले मेरो मिहिनेत देखेका रहेछन् । यो केटो भए मेरी छोरी राम्रोसँग पाल्छ भनेर विवाह प्रस्ताव गरे । मैले स्वीकारेँ । विवाह समय उनी १६ मात्र पुगेकी थिइन् भने म २५ टेकेको थिए । विवाह अगाडि बाहिर केही मनपर्‍थ्यो  । मन पर्दैमा कहाँ पाइथ्यो र ? विवाहपछि घरमै राम्रो बूढी भएकाले बाहिर मन जाँदो रहेन छ ।

बीपीका कारण राजनीतिमा

विसं २०३४ मा बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । त्यतिबेला म वेद विद्याश्रम वनकालीमा पढ्थेँ । त्यतिबेलाको पत्रिकामा बीपी स्वदेश आगमन, आगमनसँगै  पक्राउ भन्ने समाचार गोरखापत्रले छाप्यो ।

त्यो समय मैले गुरुलाई बीपीको बारेमा सोधेँ । उहाँले नास्तिक, धर्मकर्म नमान्ने र पशुपतिनाथलाई पेडा कोच्याउने मानिस भन्नुभयो । सम्पूर्ण हिन्दुहरूको आराध्य देव पशुपतिलाई पेडा दिने बीपी डन होला भनेर भेट्न मनलाग्यो । धेरै प्रयासपछि भेटे ।

भेटमा उहाँले एउटा बच्चालाई बुबाले सोधेको भन्दा धेरै माया गरेर कहाँबाट आको, के गर्दै, गाउँमा स्वस्थ्यचौकी छ कि छैन, गाउँबेँसी कति टाढा, गाईभैँसी पालेको छ कि छैन लगायत सबै सोध्नुभयो । उहाँको त्यो व्यवहारबाट म प्रभावित भएर काँग्रेसमा होमिएँ ।

नेपाली काँग्रेसको १२औँ अधिवेशनमा प्रतिनिधि बनेको म गत महाधिवेशनमा केन्द्रीय सदस्य पराजय भए । काँग्रेस सुध्रिनुपर्छ भनेर सधैँ घचघच्याउने र काँग्रेसको कार्यक्रममा काँग्रेसलाई नै व्याङ्ग्य गर्ने एक्लो व्यक्ति मै हुँ । राजनीतिमा भएकाले एक दिन सांसद र मन्त्रीसमेत हुने इच्छा छ ।

छैन रोग

भगवान्को कानमा चाहिँ नपरोस्, अहिलेसम्म केही रोग छैन । बहिनी, दिदी, आमा सबैलाई थाइराइडको थोरै थोरै समस्या छ । त्यो वंशाणुगत गुणले होला ममा पनि केही समस्या देखिन थालेको छ ।

सुख दुःख

अभिनयको प्रशंसा मिल्छ, सबैले चिन्छन् । कलाकारिताको सुख यही हो । कलाकार भएर यसैको भरमा बाँच्न कठिन छ । यो दुःख हो ।

मीठो पकाउँछु

भोक लागेको बेलामा जुनै पनि खाना मनपर्छ । प्रायः खाने सामान्य नेपाली दालभात र तरकारी हो । अहिलेसम्म मन नपर्ने केही छैन । माछामासु पनि खान्छु ।

रेस्टुरेन्ट पहिले पहिले फुर्सद हुँदा साथीभाइ, आफन्त सबैसँग जान्थे । अहिले त्यति जाँदिनँ । रेस्टुरेन्टको मनपर्ने खानेकुरा ब्वाइल्ड मटन टाउको हो । पकाउन रुचि छ । मीठो पकाउँछु । दुई हजारभन्दा बढी मानिसलाई आफैँले पकाएर भोज लगाएको छु ।

छैन एक्सरसाइज

उमेर ६० लाग्यो । अहिलेसम्म फिट्नेसका केही गरेको छैन । अहिलेसम्म फिट नै छु जस्तो लाग्छ । दैनिक कामको भाग दौडले अहिलेसमम एक्सरसाइज पुगेको छ । अहिलेसम्म घरमा एक्सरसाइजका सामान पनि छैन ।

ढाकाको टोपी छुट्दैन

पोसाकमा खासै सौखिन छैन म । औपचारिक कार्यक्रम, विशेष समारोहमा दौरा सुरुवाल, कोट र टोपी प्रयोग गर्छु । अन्य समय सर्ट, पाइन्ट र इस्टकोट लगाउँछु । ढाकाको टोपी भने कहिल्यै छुटाउँदिनँ ।

पहिरन हेर्दा आकर्षण देखिनुपर्‍यो । कलर र ब्रान्डसँग मतलब छैन । पहिरन सिलाएरै लगाउँछु ।

पहिले गर्थे

अध्ययन पहिले गर्थेँ, अहिले पनि गर्नुपर्ने हो । पुस्तक पढ्न थाल्यो कि निन्द्रा लाग्छ । पुस्तक किनेर घरमा धेरै ल्याउँछु । घरमा पुस्तकको कलेक्सन छ । लाइब्रेरी नै बनाएर राखेको छु ।

पहिले पहिले उपन्यास पढ्न मनपर्थ्यो । अहिले राजनीति र लुकेका साहित्य मनपर्छ । कविता, नाटक त म पनि पहिले लेख्थेँ ।

खप्तड र रारा

देश विदेश घुमिरहन मनपर्छ । तर फुर्सद मिल्दैन । संसारको स्वर्ग भनेको नेपाल हो । यसकै कतिपय ठाउँ घुम्न भ्याएको छैन ।

देशका करिब ५० जिल्ला घुमेँ होला । विदेशका हङ्कङ, जापान, दुबई, चीन र भारत हो । केही दिनमा एक कार्यक्रमको सिलसिलमा थाइल्यान्ड, सिङ्गापुर र मलेसिया निस्किँदैछु । देशका गोसाइकुन्ड, मुक्तिनाथ, खप्तड, रारा घुम्न मन छ ।

 फुटबल हेर्छु

शारीरिक कारणले सानैदेखि खेलकुदमा सहभागी सकिन । हेर्ने भने फुटबल असाध्यै मनपर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै प्रकारका जोसिला फुटबलका गेम छुटाउँदिनँ । 

आइफोन सेभेन

मोबाइल सहयोगी, साथी जे भने पनि हुन्छ । मसँग अहिले आइफोन सेभेन प्लस एउटा मोबाइल छ । छोराले विदेशबाट पठाइदिएको हो ।

म त जस्तो भेट्यो यस्तो बोक्छु । ज्योतिषीले यो मोबाइल पनि उहिले हराउँछ भनेका थिए । उसलाई जितेर जोगाइरहेको छु । मोबाइलको पुरै सदुपयोग गर्न त जान्दिनँ । फोन गर्ने, फेसबुक, युट्युबलगायत चलाउँछु ।

टीभी/फिल्म

घरको टीभी ६ महिनामा पनि खोलिँदैन । प्रायः देशमा विभिन्न घटना हुँदा र चुनावका समयमा हो । टीभीमा देश विदेशका समाचार, अन्तरवार्ता लगायत हेर्छु । आफैँले खेलेका र साथीभाइले बनाएका सिरियल हेर्छु ।

फिल्म भने कहिल्यै हलमै गएर हेर्छु । धेरै जसो घरमा पनि हेरिन्छ । फिल्म पाएसम्म नेपाली नै हेर्छु । फिल्म क्षेत्रमा हाम्रो के प्रगति भयो । के सुधार्नुपर्छ । हामीले हेरेर भन्दिएनौँ भने कसरी परिवर्तन होला र ।

कथावस्तु राम्रा भएका, मन छुने जस्तै पशुपतिप्रसाद जस्ता कथामा बनेका फिल्म मनपर्छ । 

गजलमा रमाउँछु

गीतसङ्गीत धेरै सुन्छु । गजल र लोकसङ्गीत मनपर्छ । पहिले जगजित सिंहका गजल धेरै सुन्थेँ । अहिले हिन्दी, नेपाली सबै प्रकारका गीतहरू सुन्ने गरेको छु ।

त्यो भूल

जीवनमा भूल धेरै भए होला । जानी नजानी कति भूल भएका छन् । म त उत्पट्याङ कामसमेत गर्थेँ । जीवनमा सधँै पछुताउनुपर्ने भूल त भएको छ जस्तो लाग्दैन ।

शारीरिक रूपमा म कमजोर भएकाले बुबाले धेरै दुःख गरेर काठमाडौँमा पण्डित पढाउनुभयो । बुबाको छोरोले ठूलो पण्डित भएर भागवत् पुराण भनोस् भन्ने इच्छा थियो । त्यो पूरा गर्न सकिनँ । यो पनि एउटा भूल नै हो । 

मापसे थोरै

नियमित होइन, कहिले काहीँ साथीभाइ भेट हुँदा, विवाह, पार्टीलगायतका समय थोरै पिउँछु । त्यो पनि थोरै नाम मात्रको । पहिले अभावको समय जे पनि खाइयो होला । अहिले सकेसम्म राम्रो ब्रान्ड खान्छु ।

म उपाध्याय ब्राह्मणको छोरो भएकाले घरमा सजाएर राख्दिनँ । दसैँ तिहारमा कोही साथीले ब्ल्याक लेबल ल्याइदिए भने दराजमाथि छोपेर राख्छु ।

‘वृश्चिक’ हो

मेरो राशि ‘वृश्चिक’ हो । ग्रहदशामा विश्वास लाग्छ । कहिलेकाहीँ हेराउने जुराउने गर्छु । पूजापाठमा पनि विश्वास गर्छु । तर अभ्यास गर्न भ्याउँदिनँ । हृदयमा भगवान् हुन्छन्, मन्दिर गएर टाउको फुटाएर धर्म हुने होइन । यो मेरो धारणा हो ।

मृत्यु निश्चित छ

मृत्यु निश्चित छ । कहिले आउँछ, ईश्वरलाई बाहेक कसैलाई थाहा हुन्न । बोल्दाबोल्दै जान पनि सकिन्छ । समय सकिएपछि जानैपर्छ । मृत्यु सरल होस् भन्ने मेरो चाहना छ । कलाकारिताको कर्मले मृत्युपछि पनि बचाउँछ कि । किनभने यस पटक विशिष्ट श्रेणी कलाकारको प्रमाणपत्र पनि पाएको छु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।