ad
x
मेरो जीवन

नेतालाई मेरो देउता भनेर अँगालो हाल्ने दिन कहिले आउला ?

प्रधानमन्त्री बन्ने सपना त्यो बेलाकै हो : नैनसिंह महर

person explore access_timeसाउन १४, २०७९ chat_bubble_outline0

करिब तीन दशक लामो विद्यार्थी राजनीति गरेका नैनसिंह महर अहिले काँग्रेसको केन्द्रीय राजनीतिमा छन् । विसं २०४७ देखि ०७५ सम्म नेविसङ्घमा रहँदा महरको पोजिसन ‘भर्टिकल’ रूपमा माथि चढेको देखिन्छ ।


प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर विसं २०४७ मा १६ वर्षको उमेरमा असिग्राम माविको नेविसङ्घ एकाइ अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसङ्घ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भएका उनी २०५६ मा जिल्ला अध्यक्ष बने । ०५४ मा पार्टीको डडेलधुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।



०६४ मा उपाध्यक्ष निर्वाचित भए र २०७३ सालको ११औँ महाधिवेशनबाट नेविसङ्घको केन्द्रीय अध्यक्ष निर्वाचित भए । नेविसङ्घबाट ०७५ माघमा राजीनामा दिएपछि महर  ‘स्कुल अफ डेमोक्रेसी’ को अध्यक्ष बने । गत मङ्सिरमा भएको काँग्रेसको १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक ‘एलएलबी¬’ गरेका तथा पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका महरसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी उनकै शब्दमा ।

देशको नेतृत्व गर्ने इच्छा

विसं ३०३६/०३७ सालमा बहुदलका लागि जनमत सङ्ग्रहको कुरा अगाडि बढेको थियो । काका बहुदलका लागि अगाडि बढेका थिए । त्यसबाट पनि छाप पर्यो ।

मैले पढेको असिग्राम माविको प्रधानाध्यापक, अङ्ग्रेजी र इतिहास टिचर शेरबहादुर दाइका नजिक थिए । त्यसपछि रामचन्द्र चटौत डडेलधुरा पार्टीको सभापति बन्नुभयो । उहाँबाट पनि प्रेरित भयो ।

तत्कालीन समयमा शेरबहादुर देउवा काँग्रेसको नेता हुँदै गृहमन्त्री बन्नुभयो । त्यो देखेर राष्ट्रिय राजनीति गर्नुपर्ने रहेछ भन्ने लाग्यो । एनपी साउद २०४८ नेपाल नेविसङ्घ अध्यक्ष बन्नुभयो । त्यसले नेविसङ्घको अध्यक्ष पनि बन्नुपर्ने रहेछ भन्ने लाग्यो ।

२०४७ मा असिग्राम माविको नेविसङ्घ एकाइ अध्यक्ष भएको म २०५२ नेविसङ्घ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्षपछि २०५६ मा जिल्ला अध्यक्ष बनेँ । ०६४ मा उपाध्यक्ष निर्वाचित भएको म २०७३ नेविसङ्घको केन्द्रीय अध्यक्ष भएँ । नेविसङ्घको अध्यक्ष भएपछि विद्यालय तथा कुनै पनि शैक्षिक संस्थामा तालबन्दी, हड्ताल भएन । नेविसङ्घबाट ०७५ माघमा राजीनामा दिएपछि गत मङ्सिरमा भएको काँग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएँ ।

राजनीतिक परिवर्तनका लागि मैले थुप्रै मुद्दा प्रवेश गराएको छु । हिंसाको राजनीतिमा मलाई विश्वास छैन । सरकारले गरेका गलत काममा आफ्नो पार्टीको भनेर कहिल्यै चुप लागेको छैन । नराम्रो कामको जहिले पनि अगाडि सरेर विरोध गरेको छु ।

राजनीतिमा लागेका हरेक मानिसको प्रथम व्यक्ति भएर देशलाई नेतृत्व गर्ने इच्छा हुन्छ नै । अबको १०, १५ वर्षको बीचमा समग्र नेपालको लिडरसिप गरेर देशलाई आफ्ना एजेन्डाका साथ परिवर्तन गर्ने इच्छा छ । 

देशका ६ हजार ७ सय ४३ वडाबाट विभिन्न पार्टीले स्थानीय विकासका बारेमा तयार पारेका घोषणपत्र सङ्कलन गरेर नेपालको विकासमा के गर्नुपर्ने रहेछ भनेर एउटा पुस्तकको मोडल तयार पार्ने काम पनि गर्दैछु ।

नेपाल विद्यार्थी सङ्घको इतिहासमा विद्यार्थीको नेतृत्व गर्न यस्तो गर्नुपर्ने भनेर सङ्कल्प नामको पुस्तक निकालेर देशका सबै जिल्लामा पुर्याउने मै हुँ ।

पार्टीको राजनीतिमा पनि मैले १४ वटा एजेन्डा अगाडि सारेको थिएँ, जसमा शिक्षा, स्वास्थ्य राज्यको राज्यको समित्वमा राख्ने, निःशुल्क स्वास्थ र शिक्षा, सर्वसुलभ यातायात, सञ्चार र उद्यामशीलतासहितको रोजगार, नेपाली काँग्रसको सरकार जनताको अधिकारलगायत रहेका थिए । 

राजनीति सम्पूर्ण नीतिहरूको प्रधान नीति हो । राजनीति राम्रो भएन भने संसारको कुनै पनि देश बन्दैन । राजनीति राम्रो हुनुपर्छ, दलमा बस्ने मानिस र नेताको आचरण, व्यवहार र नैतिकता राम्रो हुनुपर्छ । सुध्रिनुपर्छ भन्ने कुरो ठीक हो । 

समयअनुसार भाषण

भाषण व्यावहारिक, तथ्यगत र प्राक्टिकलमा आधारित गर्छु ।  उदाहरण र प्रमाणसहितको रियालिस्टिक भाषण गर्न मनपर्छ । भाषण एग्रेसिप वा सामान्य त्यो मुद्दा र समयमा भर पर्छ । दुवैथरिका भाषण गर्नसक्छु । मानिसको सोच र ध्यान विचार गरेर भाषण ठोक्छु ।

देश हाँक्ने

कानुन विषय पढ्ने लगायतका केही सपना थिए । त्यो ‘एलएलबी¬’ले पूरा गर्यो । त्यसपछि पिएचडी गर्ने सपना थियो । त्यो पूरा भएको छैन । काठमाडौँमा घर चाँहिएको थियो । दाइ विदेश गएपछि त्यो पूरा भयो । जहाजको पाइलट बन्ने र आफ्नै एउटा प्लेन भएको हेर्ने सपना थियो । त्यो पूरा हुने सम्भावना कम छ । देशको प्रधानमन्त्री बन्ने सपना त्यति बेलैको थियो । त्यो पूरा हुने बाटोमा छ ।

त्यसले दुःख लाग्छ

सबैभन्दा दुःखको कुरो आम मानिसको राजनीतिप्रति हेर्ने दृष्टिकोण हो । सबै राजनीति गर्नेलाई एउटै तुलोमा राखेर खराब, फटाहा, चोर भन्ने चलन छ । त्यसले चित्त दुख्छ । अर्काे कुरो हामी पनि परिवर्तन भएनौँ ।

भोट पाएर सांसद भएका व्यक्ति त्यो लोगो लाएर सार्वजनिक यातायातमा हिँड्ने अवस्था छैन । जनताले फटाह, चोर, देश बिगार्ने, देश बेचेर खाने भो भनेर कतिबेला हिर्काउँछन् भन्ने डरले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था छ ।

राजनीतिक नेतालाई जनताले मेरो देउता, मेरो आफ्नो हो भनेर अँगालो हाल्ने दिन कहिले आउला । अहिले पनि ८० प्रतिशतभन्दा बढी राजनीतिज्ञको चुलो बल्ने समस्या छ । त्यो देख्दा पनि दुःख लाग्छ । त्यस कारण मैले राजनीति व्यवसायसँग र उत्पादनसँग जोड्नुपर्ने धारणा अगाडि सारेको छु ।

नपर्ने केही छैन

दाल, रोटी, साग, ग्रिन सलाद र त्यसमा कागती हालेको मेरो मनपर्ने खाना हो । पहिले खसीको धेरै मनपथ्र्याे, अहिले माछा र कुखुराको मासु खान्छु । 

खानामा मन नपर्ने केही छैन । राजनीतिक मिटिङ, साथीभाइ भेटघाट र परिवारसँग पनि रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टको पिज्जा मनपर्छ । डाक्टरको सल्लाहअनुसार शरीर ब्यालेन्सका लागि ४, ४ घन्टामा खान्छु । पकाउन धेरै रुचि छैन तर कहिलेकाहीँ सहयोग गर्छु ।

योगा गर्छु

हरेक दिन बिहान ५ः१५ उठ्छु । ४५ मिनेटभन्दा बढी दौडन्छु । त्यसपछि हल्का योगा गर्छु । योगामा आललम बिललम र अन्य केही आसन गर्छु । कामले बिहानै बाहिर निस्किनुपर्यो भने पनि एक्सरसाइज छुटाउँदिनँ । 

कलरफुल पहिरन

सर्टपाइन्ट, स्टकोर्ट, रातो कलरको कुर्था र सेतो पाइजामा मनपर्छ । विशेष गरेर कलरफुल पहेलो, रातो, सेतो पहिरन मनपर्छ । एक पटक यूएनको कार्यक्रममा जाँदा दौरासुरुवाल लगाएको थिएँ । सरकारी पदमा अहिलेसम्म नपुगेकाले अन्य समय कोट, पाइन्ट, सट, स्टकोटलगायत लगाउँछु ।

म मोफसलबाट आएकाले पोसाकमा ब्रान्ड हेरेको अनुभूति छैन । विदेशमा थुप्रै साथीहरू भएकाले उनीहरूले पठाएका ब्रान्डेड हुन्छन् । म त सिम्पल, मनपर्ने किन्छु ।

रुचि छ

अध्ययनमा रुचि छ । दैनिक सबै पत्रपत्रिका घरमै आउँछ, त्यो पढ्छु । नयाँ पुस्तक आयो भने पढ्छु । जीवनी, प्रगतिमा दक्खल दिने पुस्तक मनपर्छ । मैले पनि ५, ७ वटा पुस्तक लेखेको छु ।

मेरो पृष्ठभूमि पत्रकारिता भएले लेखन र अध्ययनमा बढी उत्सुकता छ । पछिल्लो समय बढ्दै गरेको पुस्तक भर्खर निस्किएको ‘विशेश्वर कोइराला शताब्दी सन्दर्भ’ भन्ने हो ।

घुम्न रुचि

प्राकृतिक सौन्दर्यले भरिएका ठाउँहरू घुम्न बढी मनपर्छ । मुस्ताङ र मनाङबाहेक देशका सबै ठाउँ घुमेको छु । अमेरिका, अस्ट्रेलिया, भारतलगायत धेरै घुमेको छु ।

देश विकासका लागि राजनीतिक दृष्टिले डोर्याउनुपर्ने विषयको अध्ययनका लागि क्यानडा, जापान, साउथ कोरिया, मलेसिया, हङकङ, चीन जाने तयारी थियो । कोरोनाको कारणले मिलेन । अब आउँदो चुनाव सकिएपछि घुम्छु ।

केको फुर्सद

एक पटक यो प्रशिक्षणको क्रममा स्वामी आनन्द अरूणले योगा गर्नुपर्छ भन्दा हामीले व्यस्त छौ भन्यौँ । त्यो समय उनले भन्नुभयो, ‘तिमीहरू व्यस्त होइन, अस्तब्यस्त छौँ ।’

त्यो कुरा अहिले पनि याद आउँछ । राजनीति सुधार र राम्रो नभएका कारणले सधैँ चटारो छ । ७७ जिल्लाका साथीको काम, आफ्नो काम लगायतले भ्याइ नभ्याइ छ । परेको समय फुर्सद निकाल्न सक्छु ।

म खेलाडी

पहिले त म भलिबल खेलाडी थिएँ । कलेज, हाई स्कुलमा राम्रो खेल्थेँ, पुरस्कार जित्थेँ । काठमाडौँ आएपछि अन्य खेलहरू पनि खेलियो । अहिले खेल्नभन्दा पनि समय मिल्यो भने फुटबल, क्रिकेटलगायत चर्चित खेल हेर्छु । 

 

एउटा छ 

 

मेरो अहिलेसम्म मोबाइल र बैङ्कको खाता एउटा मात्र छ । एउटै मोबाइलमा फोन आउँदा उठाउन, फर्काउन त भ्याउँदिनँ ।

विदेशमा हजारौँ साथी छन् । उनीहरूले नयाँ निस्किने बित्तिकै मोबाइल पठाउँछन् । यस कारण पनि कहिलेकाहीँ  २, ३ वटाजम्म हुन्छ । बढी भएको साथीभाइलाई दिन्छु । महँगो मोबाइल आफैँले किनेर चलाएको छैन । मोबाइलमा फोन गर्ने, सामाजिक सञ्जाल चलाउनेलगायत सबै प्रयोग गर्छु ।

टीभी/फिल्म 

आजभोलि टीभी मोबाइलमै छ । टीभीमा समाचार, टक सोहरू हेर्छु । दोहोरी कार्यक्रमहरू, गीत हेरेर नाच्नेसमेत गर्छु । फिल्म प्रायः छुटाउँदिनँ । परिवार र साथीभाइसँग हलमै गएर फिल्म हेर्छु । राम्रो कथा भएका, सङ्घर्ष, दुःखका कथामा बनेका, सेन्टिमेन्टल फिल्महरू हेर्छु ।

फिल्म हेर्दा भावुक भएर हलमा म रोएको हुन्छु । पछिल्लो समय हेरेको फिल्म ‘कबड्डी ४’ हो । त्यो फिल्ममा जति अपेक्षा राखेको थिएँ, त्यो पूरा भएन । नेपालीको अलवा हिन्दी, अङ्ग्रेजी सबै खालका फिल्म हेर्छु । 

  ​जागिर पत्रकार र शिक्षक

एसएलसीपछि एक वर्ष डडेलधुराको गोविन्दपुरी माध्यमिक विद्यालय पढाए । त्यसपछि २०५३, ०५४ मा कान्तिपुर पत्रिकामा काम गरे । त्यसपछि राष्ट्रिय समाचार समिति र रेडियो पनि काम गरे । नेविसङ्घको केन्द्रीय सदस्य भएपछि लेख्ने होइन अब समचार बन्नुपर्छ भनेर पत्रकारिता छोडेँ । पछिल्लो समय डडेलधुरमा एउटा कोल्डस्टोरको बिजनेस छ ।

मागी विवाह 

२०६४ मा मागी विवाह गरेको हो । केटी बुबाआमाले खोजिदिनुभएको हो । विवाहपछि श्रीमतीसँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि छ । विवाहको दस वर्षअगाडि एउटी केटी मन पराउँथे । जब प्रेम पर्न लागेको थियो, माओवादी आन्दोलनले भेटघाटमा समस्या भयो । त्यसपछि उनको विवाह भयो सकियो ।

भूल छैन

जीवनमा पश्चाताप हुुने त्यस्तो कुनै भूल छैन । राजनीतिमा आउनु भूल मान्दिनँ । 

खराब बानी

छोटो भेटघाटमा म सबैलाई विश्वास गर्छु । विश्वास गरेकोबाट भने धोका मिल्छ । धोका पाएपछि बुझेर मात्र मात्र राम्रो सम्बन्ध बनाएको भए हुने रहेछ जस्तो लाग्छ । यो मेरो खराब बानी हो । 

गीत मनपर्छ

सङ्गीतमा नरमाउने मानिस को होला र ? गीतसङ्गीत मनपर्छ । राजनीतिमा नआएको भए गायक बन्थेँ होला । पहिले दोहोरी प्रायः जान्थेँ । दोहोरी, देउडा म पनि गाउँछु । नेपाली, हिन्दी होस् वा अन्य सबै प्रकारका गीत सुन्छु । दुईवटा चुनावी गीत  पनि लेखेको थिएँ ।

रोग छैन

पहिले ग्यास्टिकको समस्या थियो । अहिले नियमित एक्सरसाइ र ब्यालेन्स डाइटले त्यो पनि हरायो । केही रोग छैन ।

केको कुलत

सामाजिक व्यक्ति भएकाले महिनाको एक दुई पटक थोरै लिन्छु । ब्रान्ड यही भन्ने छैन । भइपरी आएको खानुपर्छ । घरमा बार बनाएको त छैन । साथीभाइले पठाइदिएको केही प्रकारका रक्सी छन् ।

राशि ‘वृचिक’

राशि ‘वृचिक’  हो । मानिस जब सफलताबाट असफलता लम्कन्छ तब ग्रह, दशा, ज्योतिष हेराउने, पूजा गर्ने हुन्छ । म नियमित धर्मिक हुँ । धार्मिक भएर सबै पुग्छ भन्ने होइन । मैले सोचेको कुरो सबै पुगेकाले अहिलेसम्म चिना देखाउने अवस्था आएको छैन ।

मृत्यु सामान्य

मृत्यु सत्य हो । नकार्न पनि सकिन्न । धेरै सम्झिने र बढी मालामी जम्मा गर्ने भएर मृत्यु भयो भने जीवन सफल भयो ।

भिडियो :

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।