‘त्यो समय म नामी सिकारी थिएँ’
किरण मानन्धर नेपालका वरिष्ठ चित्रकार हुन् । नेपाली चित्रकलाले अहिलेको उडान भर्नुमा महत्त्वपूर्ण योगदान उनकै रहेको छ । २०६६ चैत १ मा गठन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को गठनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी प्रतिष्ठानका संस्थापक कुलपति पनि हुन् ।
नेपालका अधिकांश चित्रकारका गुरुसमेत रहेका उनले ललितकला क्याम्पसमा धेरै समय प्रमुख भएर काम गरेका थिए । अहिलेसम्म हजारौँ चित्र कोरिसकेका उनका चित्र लाखौँ लाखसम्ममा बिक्री हुने गरेका छन् । चित्रकलाका कारण राष्ट्रबाट प्रदान गरिने विभूषणदेखि विभिन्न पुरस्कारको अलावा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानसमेत प्राप्त गर्न सफल उनको विश्वभर नेपाली चित्रकलाले प्राथमिकता पाओस् भन्ने सपना छ । आफ्नो पुरै जीवन चित्रकलामा समर्पित गरेका चित्रकार किरण मानन्धरका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
पकाउन रुचि
नेपाली सादा खाना दाल, भात र तरकारी मेरो मनपर्ने खाना हो । पहिले मासुसमेत खान्थेँ । पछिल्लो समय कम गरेको छु । खानामा मन नपर्ने अहिलेसम्म केही छैन । साथीभाइ भेटघाट र परिवारसँग कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टको बढी मनपर्ने मुस्ताङे आलु हो । पकाउन धेरै रुचि छ । पेन्टिङ गर्न र पकाउन औधी मनपर्छ । श्रीमतीलाई तिमी बस आज म पकाउँछु पनि भन्ने गर्छु । घरमा मैले पकाएको सबैले मीठो मान्छन् ।
नियमित योग
बिहान नियमित ४ बजे उठेर पूजा गरेपछि फिट्नेसका लागि योग गर्छु । दैनिक ४५ मिनेटभन्दा बढी योग प्राणायामलगायत केही आसन गर्छु । फिट्नेसका लागि धेरै पहिले जिम क्लब पनि जान्छे । अहिले जादिनँ ।
सिम्पल पहिरन
पहिरनमा सिम्पल र कम्फर्टेबल नै मनपर्छ । कमिजसुरुवाल, जिन्सपाइट लगायत मनपर्छ । म मानिस कालो भएकाले पहिरनमा मनपर्ने रङ पनि कालो हो ।
पहिले पहिले युवा अवस्थामा धेरै रेडिमेट पहिरन किनेर लाउँथे । अहिले सिलाएर लगाउँछु । पहिरनमा मनपरेको किन्छु, ब्रान्ड हेर्दिनँ ।
अध्ययन मनपर्दैन
अध्ययन पहिलेदेखि नै मनपर्दैन थियो । तर कहिलेकाहीँ पढ्छु पनि । आफूलाई मनपरेको पुस्तक छ भने एउटै ५, ६ वटा किन्छु । सङ्गीत, नाटक, कथा, कलाकार जीवनी लगायतका पुस्तक मनपर्छ । कलाकारका जीवनी समेटिएका पुस्तक त घरमै लाइब्रेरी बनाएर राखेको छु ।
फुर्सद निकाल्छु
फुर्सद भन्ने कुरो निकाल्ने हो । म धेरै समय कोठामा भन्दा पनि पेन्टिङ स्टुडियोमा बिताउँछु । क्यानभास राखेर काम गर्न रुचाउँछु । काम भयो भने भोक, निन्द्रा केही पनि लाग्दैन । मलाई फुर्सदमा बस्नसमेत मनपर्दैन । आफन्त, परिवारका लगि चाहियो भने फुर्सद निकाल्न सक्छु ।
एकदमै रुचि
घुमघामका एकदमै रुचि छ । पहिले ट्रेकिङ गर्थें, सिकार खेल्न घुम्थेँ । त्यो समय सिकारका लागि फ्री थियो । म नामी सिकारी थिए । सिकारका लागि नागर्जुनको जङ्गल मनपथ्र्याे । बन्दुक पनि चलाउँथे ।
अहिले रङहरूको विषयमा अध्ययनका लागि घुमघाम गर्छु । गाउँघर घुम्न मनपर्छ । गाउँघरमा घुम्दा त्यहाँका स्थानीयले देखाउने स्नेह, माया मनमा बस्छ । देशका लभगभ सबै भाग र विदेशका ३०, ३२ राष्ट्र घुमेको छु ।
पहिलेको खेलाडी
पहिले त म खेलाडी थिएँ । कराँते, जुडो, आइचिरो खेल्थे । त्यो समय यस्ता खेल खुल्लम खुल्ला खेल्न पाइँदैन थियो, त्यसैले लुकेर खेल्थेँ ।
फुटबलको पनि बी–डिभिजनमा खेल्थेँ । त्यो समय म अलि बदमास टाइपको पनि थिएँ । मैले फुटबल खेल्दा अन्य खेलाडी भाँचिन्छ भनेर बल छोडिदिन्थे । अहिले फुटबल, क्रिकेटलगायतका खेल हेर्छु ।
टीभी/फिल्म
टीभी प्रायः साँझमा हेर्छु । टीभीमा हेर्ने समाचार, गीत, मनोरञ्जनात्मक सिरियलहरू हो । फिल्म पहिले पहिले धेरै हेर्थे । अहिले कमै हेर्छु ।
पहिलेका फिल्म राम्रो कथामा बन्थ्यो । राम्रो लाग्थ्यो । अहिलेका कथाले मन छुँदैन । हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका फिल्म म हेर्छु । कि रुवाउने, कि पेट मिचीमिची हास्ने फिल्म अहिले हेर्न मनपर्छ ।
एउटा बोक्छु
मसँग अहिले सामसुङ ब्रान्डको एउटा मोबाइल छ । नयाँ आएको मोबाइल चलाउन आउँदैन । मोबाइलमा फोन उठाउने र गर्ने हो । त्यसमा विभिन्न सुविधा छन् । तर मलाई चलाउन आउँदैन ।
चित्रकला मेरो जीवन
मेरो पेसा, जागिर जे भने पनि चित्रकला हो । मलाई चिनाउनेदेखि विदेश घुमाउनेसम्म चित्रकलाले गरेको छ । स्कुलले जीवनदेखि नै म पेन्टिङ रुचाउँथे ।
जब स्कुल सकाएँ । त्यो समय सबैजना ठूलाठूला बिल्डिङ भएको कलेज, विदेश अध्ययनका लागि रोज्थेँ । मैले बनारस रोजेँ । त्यो समय बनारस जाने कुरो कसैलाई मनपर्दैन थियो । एक जना ठूलो प्रोफेसर रामचन्द्र सिलवालले पेन्टिङका लागि हौस्याएर, सिकाउनु समेत भयो ।
घरमा कसैलाई पेन्टिङ मनपर्दैन थियो । चित्रकार बन्नु हँुदैन, भविष्य छैन भन्थे । चित्रकार भन्ने बेकामी लाग्थ्यो । त्यसैले इन्जिनियर पढ्छु भनेर घरमा ढाँटेर इन्डिया गए । त्यहाँ ७ वर्ष लगाएर चित्रकला, मूर्तिकलालगायत सबै ज्ञान लिएँ । एक वर्ष त्यहीँ अध्यापनसमेत गराएँ । अनि फर्किएँ नेपाल ।
म नेपाल फर्किएको समय कलाकार भनेको राजाको जन्मोत्सवमा डेकोरेसन गर्ने जागिर गर्थें । चित्रकलाका लागि त एउटा ग्यालरीसमेत थिएन । मैले धेरै कलाकारलाई अध्ययन गर्ने ठाउँ खोलौँ भनेँ । कसैले सहयोग गरेनन् । सधैँले मूर्ख सम्झिन्थँे । कसैको साथ नमिलेपछि कान्तिपथमा पल्लसा भन्ने ग्यालरी खोलेँ ।
ग्यालरी चलाएर सुरुमा पाँच रुपैयाँदेखि चित्रकला बेच्नथालँे । त्यो रकम बढ्दै जाँदा लाखौँमा बिक्न थाल्यो । बिस्तारै ग्यालरी पनि खुले ।
अहिले पनि चित्र नकोरी बस्नै सक्दिनँ । अहिलेसम्म हजारौँ चित्र बनाएँ होला । अनेकौँ चित्र र विभिन्न देशमा गएर चित्रकला चिनाएको छु ।
मलाई त कलाकारको कुनै देश हुँदैन भने लाग्छ । जहाँ गए पनि कलादेखाउने, त्यसैले चिनिने हो । एक पटक युरोप जाँदा एक पटक नेपालका एकेडेमी छ भनेर मलाई प्रश्न गरियो । जवाफ नभएर म पसिनै पसिना भएँ । त्यसैले फर्किएपछि मेरो विशेष पहलमा ललितकला प्रज्ञा प्रतिष्ठान स्थापना भयो । त्यसको संस्थापक कुलपति म भएँ । प्रतिष्ठान त भयो । नीति र स्वायत्तता छैन । अब त्यसका लागि लड्नुछ । पहिले म चित्रकारभन्दा परिवार र आफन्तलाई लाजमर्दाे हुन्थ्यो । अहिले गौरव भएको छ ।
दुःख क्यानभास
सबैभन्दा ठूलो दुःख रङ र क्यानभास हो । हरेक समय सिर्जना के गर्ने भन्ने चिन्ता हुन्छ । तर ब्रस र रङ उठाउपछि त्यसको सोलुसन आफैँ निस्किन्छ । क्यानभासले त्यो बाटो देखाउँछ । पेन्टिङ दुख्दैदुखमा सिर्जना हुन्छ ।
अधिकारका लागि राजनीति
राजनीतिमा रुचि छैन । रुचि नहुँदा पनि चासो र सक्रियता बनाउनु पर्दाेरहेछ । कला र कलाकारको हकहितका लागि केही गर्न र राजनीतिक निकासका लागि राजनीतिमा होमिनु अनिवार्य रहेछ । आफ्नो अधिकार पाउन राजनीति गर्नुपर्छ ।
पहिले प्रेम
मैले प्रेम विवाह गरेको हो । दुई वर्षको प्रेम विवाहमा परिणत गरेको थिए । त्यो समय घरमा, समाजमा चित्रकारलाई राम्रो भनिँदैन थियो । त्यसैले कसैले छोरी दिँदैन थिए । मलाई घरमा पनि यसलाई कसले छोरी दिन्छन् भन्थे ।
सन् १९८० मेरो चित्र प्रदर्शनी थियो । त्यो समय अहिलेको मेरो बढी चित्र हेर्न आएकी थिइन् । मलाई उनी राम्रो लाग्यो, बुझ्दै जाँदा उनकी ठूली दिदी पनि कलाकार रहिछन् । त्यसपछि उनीसँग चिनजान भयो ।
त्यो समय विवाहका लागि केटीहरू चिल्लो गाडी, धन सम्पत्ति र नोकर चाकर भएका केटा खोज्थे । त्यसैले मसँग विवाह गर्न दुई वर्ष पहिले घुम्नुपर्ने, मलाई बुझ्नुपर्ने भन्थे । उनीसँग मैले दुई वर्ष घुमेर, प्रेम गरेपछि विवाह गरे । हाम्रो विवाह उनको र मेरो परिवारले पनि स्वीकारियो ।
त्यो सपना
पहिलो सपना बाँच्ने धेरै रहरछ । अर्काे, संसारमा नेपाली चित्रकला र कलाकारको चिनारी होस् । नेपालमा पनि कलाकारको नाम, इज्जत र प्रतिष्ठा होस् भन्ने छ ।
भूल छैन
जीवनमा भूल केही गरेजस्तो लाग्दैन । त्यसैले पश्चाताप गर्नुपर्ने विषय पनि छैन । स्कुल पढ्दा म झगडा धेरै गर्थें । त्यो भूल भनौँ वा के भनाँै ।
गीत मनपर्छ
गीतसङ्गीत धेरै मनपर्छ । स्वर्गीय गायक नारायण गोपाल मेरो स्टुडियो आउनुहुन्थ्यो । उहाँका गीतहरू पनि मनपर्छ । पहिलेका, अहिलेका, नयाँ, पुराना, हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका गीत सुन्छु । चित्रकलाको समय गीतसङ्गीतले एक किसिमको ऊर्जा दिन्छ ।
रोग छैन
भगवानको कृपाले अहिलेसम्म कुनै रोग छैन । पछिल्लो समय थोरै प्रेसर भने देखिएको छ । उमेर ७० वर्ष नाघिसक्यो । उमेरको कारणले देखिने समस्या विस्तारै केही देखिन थालेका छन् ।
मापसे
चित्रकलाका काम सकिएपछि नियमित एक दुई पेक पिउँछु । मापसे लोकल, ब्रान्डेड सबै प्रकारको लिन्छु । घरमा पनि मापसे राख्ने गरेको छु ।
राशि ‘कर्कट’
राशि ‘कर्कट’ हो । ग्रह, दशामा विश्वास लाग्छ । हेराउने, जुराउने समेत गर्छु । पूजापाठ गर्नसमेत मनपर्छ ।
मृत्यु सत्य
मृत्यु सत्य हो । यो रमाइलो अन्त्य पनि हो । अहिले पनि म भन्छु कुनै दिन मैले रङ कोरिन भने त्यो दिन मृत्यु नै जस्तो लाग्छ ।