विज्ञका कुरा

डेंगुको ‘हाई रिस्क’ मा काठमाडौँ !

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

पछिल्ला केही दिन यता काठमाडौँका विभिन्न ठाउँहरूमा डेंगु देखिने क्रम बढ्दो छ । डेंगु फैलाउने लामखुट्टेको उपस्थिति पनि व्यापक हुँदै गइरहेको छ । तर  अहिलेसम्म सम्बन्धित निकायले यस विषयमा चासो वा बलियो प्रतिक्रिया जनाएको देखिँदैन । हालको फैलँदो डेंगुको अवस्थाले लेखकलाई ‘२०१९ डेंगु महामारी’ को सम्झनामा गराएको छ । त्यसैले काठमाडौँ अहिले डेंगुको ‘हाई रिस्क’ मा देखिन्छ। 


गर्मी मौसम सुरु भए यता एकपछि अर्को सङ्क्रामक रोगहरू देखिने क्रम जारी छ । केही समय अगाडी हैजा फैलिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितको सङ्ख्याले उचाइ लिने क्रम अहिले पनि जारी छ । यसैबीच बालबालिकामा एडीनोभाइरसले पनि ठुलो प्रभाव पारेको थियो । खासै चर्चामा नआएको "स्वाइन फ्लु" को नामले चिनिने इन्फ्लुएन्जा "ए" एचवानएनवान पिडिएम ०९ पनि देखिएको छ । र पछिल्लो केही दिन यता डेंगुको उपस्थितिले निरन्तरता पाइरहेको छ । यसरी हेर्दा हाल सङ्क्रामक रोगहरूको बिगबिगी काठमाडौँमा देखिएको छ।



नेपालमा विशेषत: मनसुन सिजनको अन्त्यतिर कतै न कतै प्रकोपको रूपमा डेंगु  देखिने गरेको छ । दसैँ-तिहारतिर डेंगु बढी देखिने गर्दछ । तर सन् २०१९ मा भने मनसुन सिजन सुरु हुनु पूर्व नै डेंगुले आफ्नो प्रभाव देखाउन सुरु गरिसकेको थियो । त्यो वर्ष डेंगु महामारी नेपालको इतिहासमा नै सबैभन्दा लामो अवधि रहेको र हजारौँलाई सङ्क्रमण गरेको वर्षको रूपमा रह्यो ।



डेंगु भाइरस एडीस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । धेरैमा राति सुत्ने बेला झुल लगाएर सुत्ने गरेकोले सङ्क्रमण नहुनु पर्ने धारणा भएको देखिन्छ । तर धेरैलाई यो जानकारी नहुन पनि सक्दछ कि एडीस जातको लामखुट्टे विशेषत सूर्योदय पछि र सूर्यास्त हुनु पूर्व बढी सक्रिय हुने र टोक्ने गर्दछ । यसै कारणले पनि सम्भवतः धेरै मानिस एकै समय र ठाउँमा सङ्क्रमित हुने गर्दछ । किनभने यसै समयमा (दिनमा) धेरै मानिसहरू आ-आफ्नो कार्य थलोमा व्यस्त हुने र सो समयमा कार्य व्यस्तताको कारणले टोकेको समेत थाहा नहुने गर्दछ । तसर्थ धेरैलाई आफू बस्ने घरबाटभन्दा पनि कार्य थलोबाट बढी डेंगु सङ्क्रमण हुने गरेको लेखकको अनुभव छ ।

सङ्क्रमित सबैमा डेंगुको कडा लक्षण देखिँदैन । अधिकांशले घरमा नै बसेर स्वास्थ्य लाभ गर्न सक्दछन् । तर कतिपयलाई भने डेंगुको कडा लक्षण देखिने गर्दछ। यो अवस्थालाई ‘चेतावनीको सङ्केत’ अर्थात् ‘वार्निङ साइन’ को रूपमा लिने गरिन्छ। डेंगु भएर बसिरहेको अवस्थामा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, अलश्य हुने, रक्तश्राव हुने (गिजा, नाक आदिबाट रगत बग्ने), कलेजो सुन्निने र प्रयोगशाला परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटोकृत उकालो लाग्ने गरेको हुन्छ । यस्तो अवस्थामा संक्रमितले जति सक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ। 

डेंगुको हाल विशेष औषधी र खोप छैन । तसर्थ लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे वृद्धि विकास हुने वातावरण नै सिर्जना हुन नदिनु हो । पानी सङ्कलन हुने ठाउँहरूले नै लामखुट्टे वृद्धि विकास गराउन सघाउने गर्दछ। तसर्थ घर/टोल वरिपरि पानी सङ्कलन हुने ठाउँहरू हुनु दिनुहुँदैन। आफ्नो घर/टोलमा मात्र नभई आफ्नो कार्यस्थल वरिपरि पनि पानी सङ्कलन हुने ठाउँहरू हुन दिनु हुँदैन । डेंगुले प्रकोपको रूप लिई सकेपछि ‘लामखुट्टे, खोज र नष्ट गर’ अभियान गर्नुभन्दा पहिले नै लामखुट्टे वृद्धि विकास हुने स्थिति सिर्जना हुन नदिए धेरैलाई सङ्क्रमित हुनबाट बच्न र बचाउन सकिनेछ।       

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।