मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कोरोना, डेंगुदेखि मङ्कीपक्ससम्म : एकसाथ संक्रामकजन्य रोग देखा पर्दै

शुक्रबार, २७ साउन २०७९, १५ : ११
शुक्रबार, २७ साउन २०७९

नेपालमा हाल सरुवाजन्य रोगको संक्रमण बढेको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएको छ । विगत दुई महिनाको अवधिमा किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९ का बिरामी बढेका छन् ।

यस्तै, मङ्कीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन घोषणा गरेको छ भने र छिमेकी राष्ट्र भारतमा यस रोगको संक्रमण देखिएकाले नेपालमा पनि यसको जोखिमसँगै त्रास बढेको छ । सरुवारोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘पछिल्ला दिनहरुमा सरुवा रोगहरुको ओभरल्यापिङ भइरहेको छ ।’

एकतिर देशका ६० भन्दा धेरै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । विगत एक महिनाको अवधिमा साढे ५ सय डेंगुका बिरामी भेटिएका छन् । अर्कोतिर कोभिड–१९ महमारीको चौथो लहर सुरु भएसँगै संक्रमितको ग्राफ उकालो लागिरहँदा प्रत्येक दिन करिब एक हजार जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

उता डेंगु, स्क्रबटाइफस जस्ता किटजन्य रोग बर्खा सुरु भएसँगै हरेक वर्ष यही समयमा देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् । ‘डेंगुका केस अझै तीन महिनासम्म देखिन्छ,’ डा. दाहाल भन्छन्, ‘अघिल्लो वर्षको तुलनामा डेंगुका बिरामीको सङ्ख्या बढेको छ ।’

हरेक वर्ष यही समयमा डेंगु, स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामी बढ्ने भए पनि हाल कोरोनाभाइरस संक्रमण, बालबालिकामा एडिनोभाइरस संक्रमणसँगै अन्य धेरै संक्रामक रोग एकै समयमा पुष्टि भइरहेको सरुवारोग विषेशज्ञ डा. पुन बताउँछन् ।

‘पछिल्लो समय पानी र खानेकुराको असावधानीबाट किटजन्य रोगहरु देखिएको छ,’ उनी भन्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार २ गते यता ४५ जनामा हैजा देखिएको छ । गएको २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो एक महिनामा साढे ५ सय जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै, मङ्कीपक्सका बिरामी ८० भन्दा धेरै राष्ट्रमा भेटिएका छन् । यो रोगको संक्रमण २४ हजारभन्दा धेरैमा पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९७.५ प्रतिशत यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट यो रोग सरेको पाइएको छ ।

दक्षिणपूर्वी एसियामा भारत र थाइल्याण्डमा मङ्कीपक्सको संक्रमण पुष्टि भइसकेको छ । त्यसैले नेपालमा पनि मङ्कीपक्स रोग भित्रिने उच्च जोखिम रहेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

कोरोना महामारीको चौथो लहर अन्तर्गत संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक अध्ययनबाट तीन हप्तासम्म कोरोना संक्रमण बढ्दै जाने प्रक्षेपण गरेको छ । भदौको अन्तिम साताबाट संक्रमण घट्दै जाने बताइएको छ ।

डेंगुका बिरामी ह्वात्तै बढे

गत पुस महिना यता ९ सय जनामा डेंगु संक्रमण देखिएको छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार संक्रमित सबैमा डेंगुको कडा लक्षण देखिँदैन । डेंगु भएर बसिरहेको अवस्थामा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, आलस्य हुने, रक्तश्राव हुने  गिँजा, नाक आदिबाट रगत बग्ने, कलेजो सुन्निने र प्रयोगशालामा परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटोकृत उकालो लाग्ने गरेको हुन्छ । यस्तो अवस्थामा संक्रमितले जति सक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्ने उनले बताए ।

डा. पुनका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य आधार हो ।  लामखुट्टेबाट बच्नका लागि घर वरपर पानी जम्मा हुने ठाउँ राख्नु हुँदैन । कार्यस्थल अर्थात  होटल, कार्पोरेट हाउसमा राखिने फुलदानीको पानी परिवर्तन गरिरहनुपर्छ । दिउँसो सुत्दा पनि झुल लगाएर सुत्नुपर्छ । सम्भव भएसम्म दिउँसो पनि सबै शरीर ढाक्ने लुगा लगाउन उनको आग्रह छ ।

कोरोनाबाट एक महिनामा २९ जनाको मृत्यु

साउन १ देखि २६ गतेसम्म २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ७५ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहने भन्दै उनले आवश्यकता अनुसार पहिलो, दोस्रो मात्रा र बुस्टर मात्रा खोप लगाउन आग्रह गरे ।

खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर रुपमा  बिरामी पर्नुका साथै मृत्युको सम्भावना पनि खोप लगाएकाको तुलनामा १० गुणा बढी हुने उनले बताए । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने उनको भनाइ छ ।

मङ्कीपक्स के हो ?

मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोगका संक्रमित फेला परेका छैनन् । नेपालमा हालसम्म यो रोग नदेखिए पनि जोखिम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

मङ्कीपक्स एक व्यक्तिबाट अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्र सर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् । विश्वमा मङ्कीपक्स तीव्रगतिमा फैलिएकाले नेपालमा भित्रिन नदिन सरकारले सावधानी अपनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डा. अधिकारीले मङ्कीपक्सबारे परामर्श दिनका लागि सातै प्रदेशमा १४ जना छालारोग विशेषज्ञ तोकेको बताए । यस्तै मङ्कीपक्स परीक्षणका लागि डब्लुएचओले २५० टेष्टकिट उपलब्ध गराएको छ । संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट यो रोग सर्छ –

१. घाउ/ खटिरा–बिमिराको सम्पर्कबाट

२. शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्‍यालको सम्पर्कबाट

३. भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट

४. संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्दा पनि मङ्कीपक्स सर्ने गर्छ । काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वास नलीबाट यो रोग सर्ने गर्छ ।

मङ्कीपक्स रोगका लक्षणहरु

–ज्वरो आउनु

–सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु

–डाबर परिवर्तन भई फोका हुँदे पाप्रा लागेर उप्किनु

–टाउको, ढाड र मांसपेशी दुख्नु

–शरीरका ग्रन्थीहरु बढ्नु

यस्ता लक्षण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् ।

मङ्कीपक्स रोगका रोकथामका उपायहरु

–मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने

–संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने

–संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थका मापदण्ड पालना गर्ने

–घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने

–नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

–संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने 

–मङ्कीपक्सको संक्रमण पुष्टी भई बिरामी भएका वा मरेका जनावरको  सम्पर्कमा नजाने

–संक्रमितको सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने

–संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने

–मासुजन्य खानेकुरा राम्ररी पकाएरमात्र खाने

–फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप