बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा प्रकाश ज्वालालाई कति सहज ?

यस्तो छ दलहरूको अङ्कगणित र उम्मेदवारहरू बन्नेहरूको सूची
मङ्गलबार, ०७ भदौ २०७९, १२ : ५५
मङ्गलबार, ०७ भदौ २०७९

प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको कडा प्रतिस्पर्धा हुने जिल्लामध्ये सल्यान पनि एक हो । तीनवटै दलको जनाधारमा थोरैमात्र फरक पर्ने यो जिल्लामा आसन्न प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनबाट उम्मेदवारीको दाबी गरेको छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला भएकाले प्रतिनिधिसभातर्फ सोही पार्टीले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी पाउने चर्चा छ । तथापि गठबन्धनभित्रका कांग्रेस र माओवादीले दाबी छाडेका छैनन् ।

गत वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने कांग्रेस प्रमुख राजनीति दल बनेको छ । माओवादी केन्द्र पनि एक्ला–एक्लै लडेको खण्डमा प्रतिनिधिसभामा आफूले सहजै जित्ने दाबी गरिरहेको छ ।

पार्टी विभाजन हुनु अघि जिल्लामा एमाले शक्तिशाली थियो । जिल्लाका प्रभावशाली नेता ज्वाला नेकपा एकीकृत समाजवादीमा लागेपछि एमालेको जनाधार खस्किएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा पालिकामध्ये एमालेले चार पालिका प्रमुख, कांग्रेसले ३, माओवादीले ३ पालिकाको नेतृत्व पाएको थियो । यद्यपि गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादी २/२ वटामा सीमित रहे ।  समाजवादीले एउटा पालिकाको नेतृत्व पाएको छ ।

कांग्रेसले तेहेरो गठबन्धन गरेर पालिकामा वर्चश्व जमाएको देखिन्छ । कांग्रेसले कतै एमाले र कतै माओवादीसँग तालमेल गरेर चुनाव लडेको थियो । समाजवादी र माओवादीबीच पनि तालमेल भएको थियो ।

एमालेका एक जिल्ला तहका नेताले गठबन्धनभित्रका तीन दल एकातिर र एमाले अर्कातिर हुँदा एमाले कमजोर हुने आकलन गरे । यदि एक्लाएक्लै लडेको खण्डमा भने एमाले बलियो प्रतिस्पर्धी हुने उनको भनाइ छ ।

गठबन्धनभित्रको समीकरण कस्तो होला ?

माओवादी र कांग्रेसका नेताहरु प्रतिनिधिसभा आफूले पाउनुपर्ने रिपोर्टिङ केन्द्रमा गरेको बताउँछन् । कांग्रेस जिल्ला सभापति केशबहादुर विष्टले कांग्रेस प्रमुख राजनीतिक दल भएको हुनाले प्रतिनिधिसभा कांग्रेसले नै पाउनुपर्ने बताउँछन् । माओवादीले पनि बलियो जनाधार भएको दाबीसहित प्रतिनिधिसभातर्फ आफूले सिट पाउनुपर्ने रिपोर्टिङ गरेको बताएको छ ।

तथापि कांग्रेस–माओवादीले जतिसुकै दाबी गरे पनि समाजवादी हावी हुने प्रस्ट छ । किनकि नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता ज्वाला यसै क्षेत्रका हुनु भने पार्टीमा पनि उनको पोजिसनलाई ख्याल गर्दै उम्मेदवार बनाउन गठबन्धनभित्र चर्को लबिङ हुने देखिन्छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र भएको यस जिल्लामा प्रतिनिधिसभा समाजवादीको भागमा परेपछि प्रदेशतर्फ एउटा कांग्रेस र एउटा माओवादीले चित्त बुझानुपर्ने स्थिति हुन सक्छ ।

को–को छन् आकांक्षी ?

प्रतिनिधिसभाका लागि नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला नै निर्विकल्प उम्मेदवार हुन् । उनले स्वयं पनि संघतिर जाने इच्छा व्यक्त गरिसकेका छन् । माओवादीबाट टेकबहादुर बस्नेत, उमाकान्त शर्मा, भीमप्रकाश मल्ल, रमेश मल्ल लगायतका नेताहरुको नाम चर्चामा छ । बस्नेत ०७४ मा विजयी भएका थिए । कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, राजेन्द्र बहादुर शाह, ध्रुवराज पुरीको नाम चर्चामा छ भने एमालेमा अन्योल छ ।

एमालेका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेश सहइञ्चार्ज गुलाबजंग शाह सल्यानका प्रभावशाली नेतामा पर्दछन् । यद्यपि उनले अहिलेसम्म कुनै मनसाय बनाएको देखिँदैन । उनी गठबन्धनबाट को उम्मेदवार उठ्छ, त्यसैलाई मध्यनजर गरेरमात्र निर्णय लिने पक्षमा छन् । उस्तै परे उनी प्रदेश सभा (ख) बाट पनि चुनाव लड्न सक्ने एमाले नेताहरुको आकलन छ । उनको निर्वाचन क्षेत्र भने (क) हो ।

सल्यानमा प्रकाश ज्वाला र शाहबीच पानी बाराबर छ । प्रदेश सरकारमा ज्वालाहरुले ‘फ्लोर क्रस’ गरेर माओवादीलाई साथ दिएपछि यी दुई नेताबीच अझ दुरी बढेको छ । यदि गठबन्धनबाट प्रकाश ज्वाला र एमालेबाट शाह प्रतिनिधिसभाको उम्मेदवार बनेको खण्डमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । एमालेमा शाहको विकल्पमा मनोज कुमार प्रधान, गोविन्द पुन पनि सम्भावित उम्मेदवार हुन् ।

एमाले जिल्ला अध्यक्ष पुन गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे नगरपालिकामा पराजित नेता हुन् । यस्तै एमाले प्रदेश कमिटीका सचिवालय सदस्य कुलबहादुर गिरीले प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरिरहेको नेताहरु बताउँछन् । 

प्रदेशसभातर्फ

प्रदेशसभा (क) तर्फ बनगाड कुपिण्डे नगरपालिकाको ७ वटा वडा, कुमाख, दार्मा, सिद्धकुमाख गाउँपालिका तथा बागचौर नगरपालिका र शारदा नगरपालिकाका ४ वटा वडा पर्दछन् । (क) मा माओवादीबाट प्रतिनिधिसभामै चर्चामा रहेका नेताहरुको नाम आउँछ । प्रतिनिधिसभा माओवादीको भागमा नपरे भीमप्रकाश मल्ल, उमाकान्त शर्माले प्रदेशसभा दाबी गर्ने देखिन्छ । यस्तै टीका बुढाथोकी पनि सम्भावित उम्मेदवार हुन् ।

कांग्रेसका सुरेश चन्द, एकराज डाँगी, दीपेन्द्र कुमार खत्री, सम्भावित उम्मेदवार हुन् भने ध्रुवकुमार पुरी संघमा नभए प्रदेशमा पनि आउन सक्ने देखिन्छ । एमालेबाट (क) मा तिलक मल्ल, गुलाबजंग शाह, घनश्याम शर्मा, गोविन्द पुन, दीपेन्द्र प्रकाश गिरी लगायतका नेताहरु सम्भावित नेताहरु हुन् ।

प्रदेशसभातर्फ (ख) मा शारदा नगरपालिकाका ४ वटा वडा, कालिकामाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिकाका ५ वटा वडा पर्दछन् । यस क्षेत्रमा माओवादीबाट चित्रबहादुर केसी, प्रमोद श्रेष्ठ सम्भावित उम्मेदवार हुन् भने कांग्रेसबाट सुरेश अधिकारी, सन्तोष केसी, चक्र देवकोटा, मानबहादुर डाँगी सम्भावित उम्मेदवारमा पर्छन् । यदि संघ नभएको खण्डमा पार्टी सभापति केशबहादुर विष्ट पनि प्रदेशमा आउने देखिन्छ । एमालेबाट पार्टी जिल्ला उपाध्यक्ष भीमबहादुर सेन, नेप बहादुर कुँवर, कुन्ती बस्नेत सम्भावित उम्मेदवार हुन् ।

यस्तो त स्थानीय तहमा दलहरुले पाएको मतपरिणाम

 नोट : त्रिपक्षीय गठबन्धन भएकाले पालिका प्रमुखमा उम्मेदवार नउठाएकोमा उपप्रमुखको मत जोडिएको छ ।

१० मध्ये माओवादीले ३ वटा पालिकामा प्रमुखमा उम्मेदवार उठाएको थिएन भने कांग्रेस र एमालेले १/१ वटा पालिकाको प्रमुखमा उम्मेदवारी दिएको थिएन । नेकपा एकीकृत समाजवादीले धेरैजसो पालिकाको प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो । यसो हुँदा प्रमुखमा उम्मेदवार नउठाएकाले उपप्रमुख सहितको मत जोड्दा कांग्रेसको ४२ हजार १०० र माओवादीको ३८ हजार ३८४, एमालेको ३१ हजार ९९४ र समाजवादीको १५ हजार ३११ मत छ । तर यही तथ्यांकको आधारमा दलहरुको जनाधार छुट्याउन गाह्रै हुन्छ ।

०७४ को अंकगणित

०७४ मा प्रतिनिधिसभामा माओवादीले जितेको थियो । माओवादीका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरीले २ हजार २९२ मत ल्याएका थिए ।

प्रदेशसभा अन्तर्गत (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए । (ख) मा पनि एमालेबाट प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका थिए भने राप्रपाले ६ हजार ५४ मत पाएको थियो । एमालेबाट निर्वाचित ज्वाला एमाले विभाजनपछि अहिले समाजवादीको प्रदेश इञ्चार्ज एवं केन्द्रीय उपमहासचिव छन् ।  

कमजोर जनाधारबीच ज्वालालाई कति सहज ?

गठबन्धनको निर्णय अनुसार ०७४ मा जहाँ जुन दलले जितेको हो, त्यही भाग पार्ने भनिएको छ । तथापि समाजवादीको कर्णालीका अन्य जिल्लाभन्दा सल्यानमा प्रभाव बलियो भएकाले समाजवादीको भागमा पर्ने प्रबल सम्भावना छ ।

प्रकाश ज्वाला सल्यानमा शक्तिशाली नेतामा पर्दछन् । राष्ट्रिय राजनीतिमा पनि राम्रो प्रभाव राख्न सफल भएकाले उनी दलभन्दा पनि व्यक्तिगत रुपमा बलिया छन् । प्रदेश सरकारको अर्थमन्त्री भइसकेका उनी ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । ०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित भएका उनी सल्यानका प्रभावशाली नेता हुन् ।

उनले प्रदेश सरकारमा हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका एमाले नेता यामलाल कँडेलको विरुद्धमा विद्रोह गरेका थिए । जसका कारण कर्णालीमा माओवादीको सत्ता जोगिएको थियो भने अहिले कांग्रेसले नेतृत्व गर्ने अवसर पाइरहेको छ । प्रदेश सरकारमा हुँदा निर्णायक भूमिका निर्वाह गरेका ज्वालाले सांसद पद त्याग गरेर भए पनि कांग्रेस–माओवादीलाई साथ दिएका नाताले सल्यानका उनलाई दुवै दलले सघाउने आकलन छ ।

पार्टीको जनाधार कमजोर भएपनि उनी प्रतिनिधिसभाको उम्मेदवार बनेको खण्डमा अगाडि आउन सक्ने प्रबल सम्भावना रहेको सो पार्टीका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप