शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

२०७४ मा बढारिएको काँग्रेस गठबन्धनको बलमा ‘कम ब्याक’ खोज्दै

पाँच वर्षअघि काँग्रेसले झेलेको नियति अब एमालेले झेल्नुपर्ने खतरा
शुक्रबार, २७ साउन २०७९, १३ : १३
शुक्रबार, २७ साउन २०७९

 आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तोकिएसँगै कर्णालीमा चुनावी सरगर्मी तातेको छ । ०७४ मा नेकपा माओवादी केन्द्रको साथ पाएको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ भने ०७४ मा प्रतिनिधिसभामा कर्णालीबाट प्रत्यक्षतर्फ एउटै सिट जित्न नसकेको र प्रदेशसभामा एउटा मात्र प्रत्यक्ष सिट जितेको नेपाली काँग्रेस भने गठबन्धनको सहयात्रामा चुनावी मैदानमा जाने रणनीति बुनिरहेको छ ।

निर्णायक भूमिकामा रहेको नेकपा माओवादी केन्द्रले पनि आफू कुन ठाउँमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने अनुसारकै रणनीति बनाउन थालेको छ । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनको सहारामा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जाँदैछ ।

निर्वाचनका लागि जनाधार खोज्दै एमाले गाउँबस्तीमा विभिन्न कार्यक्रम लिएर प्रवेश गरिसक्दा गठबन्धनभित्रका दल (काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी) भने भागबण्डाको टुङ्गो नलागेका कारण केन्द्रको निर्णय पर्खेर बसिरहेका छन् । यद्यपि आफ्नो दलको आन्तरिक लेखाजोखा भने भइरहेको नेताहरुको भनाइ छ ।

यदि गठबन्धनभित्र गडबड नहुने हो भने कर्णालीमा एमालेलाई आफ्नो साख जोगाउन मुस्किल पर्ने देखिन्छ । ०७४ मा पहिलो राजनीतिक शक्ति बनेको एमालेलाई आफ्नो वर्चश्व कायम राख्ने चुनौती छ । गठबन्धन दलहरु एकातिर र एमाले अर्कोतिर भएको अवस्थामा प्रतिकुल परिणाम आउने एमालेकै नेताहरु बताउँछन् ।

एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेलले केही दिन अघि पत्रकार सम्मेलनमा भने, ‘कर्णालीमा एमाले जनमतको आधारमा अझै पनि लोकप्रिय पार्टी हो । आगामी मंसिरमा हुने निर्वाचनमा एक्लाएक्लै लड्न आए हामी अझै पहिलो पार्टी बन्न सक्ने आधार छन् ।’ उनको भनाइको तात्पर्य सत्तारुढ गठबन्धन एकजुट भएको अवस्थामा एमाले पछाडि पर्छ भन्ने पनि हो ।

कर्णालीमा प्रतिनिधिसभा अन्तर्गत १२ र प्रदेशसभा अन्तर्गत २४ वटा निर्वाचन क्षेत्र छन् । १० जिल्लामध्ये सुर्खेत र दैलेखमा प्रतिनिधिसभा अन्तर्गत २÷२ वटा निर्वाचन क्षेत्र छन् भने अन्य जिल्लामा एउटा मात्र ।

०७४ मा माओवादीको साथ पाएको एमालेले प्रतिनिधिसभा अन्तर्गत सुर्खेत र दैलेखका ४, मुगु र डोल्पा गरी ६ वटा सिट जितेको थियो । यस्तै प्रदेशसभा अन्तर्गतका २४ क्षेत्रमध्ये १४ वटामा प्रत्यक्ष सिट जितेको थियो । माओवादीले प्रतिनिधिसभा अन्तर्गत रुकुम पश्चिम, कालिकोट, सल्यान, जुम्ला र जाजरकोट गरी ५ सिट प्रत्यक्ष जितेको थियो भने प्रदेशसभामा प्रत्यक्षतर्फ ९ सिट जितेको थियो । दुई ठुला पार्टी मिल्दा काँग्रेसले भने प्रतिनिधिसभामा कुनै सिट जित्न सकेन । प्रदेशसभातर्फ काँग्रेसले हुम्ला (ख)मा जितेको थियो । हुम्लामा पार्टीभन्दा पनि व्यक्तित्वको प्रभावलाई मुख्य आधार मान्ने परम्पराका कारण काँग्रेस नेता जीवनबहादुर शाही विजयी भएका थिए । उनी अहिले कर्णाली सरकारको मुख्यमन्त्री छन् । प्रतिनिधिसभामा हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले जितेका थिए ।

करिब पाँच वर्षको अवधिमा राजनीतिमा धेरै परिवर्तन भइसकेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विघटनमात्रै होइन एमाले नै विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टीसमेत गठन भइसकेको छ । प्रदेशसभा अन्तर्गत एमालेका १४ मध्ये ६ जना अहिले एकीकृत समाजवादीमा आवद्ध छन् भने उनीहरु पार्टीको मुख्य जिम्मेवारीमा समेत छन् । राजनीतिक बदलावको ‘इफेक्ट’ माओवादीमा पनि परेको छ । ९ प्रत्यक्ष सिट भएको माओवादीले दुई प्रदेशसभा सदस्य गुमाएको छ  ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण कर्णालीमा काँग्रेस नराम्ररी पराजित भएको थियो । अहिले पाँच दलीय गठबन्धनका आधारमा काँग्रेस र माओवादी केन्द्र तुलनात्मक रुपमा बलियो देखिएका छन् भने पार्टी विभाजनका कारण धक्का व्यहोरेको एमालेले चुनावमा पाँच दलीय गठबन्धनको सामना गर्नुपर्ने भएको छ । त्यसैले पनि अघिल्लो चुनावमा काँग्रेसले भोगेको नियति अब एमालेले भोग्नुपर्ने त होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिएको छ ।

२०७४ को मत परिणाम यस्तो छ

सुर्खेत

राजधानीसमेत रहेको सुर्खेतमा २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ दुवै निर्वाचन क्षेत्रबाट एमाले विजयी भएको थियो । एमाले–माओवादीको समीकरणले प्रदेशसभामा भने चारमध्ये दुई सिट माओवादी र दुईवटा एमालेले जितेको थियो । प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं.–१ मा एमालेका ध्रुवकुमार शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका पूर्णबहादुर खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ (क) बाट माओवादीबाट ठम्मर विष्ट १५ हजार ३५२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका टेकबहादुर सिंह ठकुरीले १५ हजार १३२ मत प्राप्त गरे । विष्ट अहिले माओवादीबाट एमालेमा प्रवेश गरेका छन् । १ (ख) मा एमालेका खड्गबहादुर खत्री २१ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका झकबहादुर डाँगीले १७ हजार ७ हजार २८७ मत प्राप्त गरे ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका नवराज रावत ३७ हजार ४४७ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका हृदयराम थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

प्रदेशसभातर्फ (क) मा एमालेका प्रभावशाली नेता यामलाल कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए भने (ख) अन्तर्गत माओवादीबाट विन्दमान विष्ट १५ हजार ६४८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका तप्तबहादुर विष्टले १२ हजार ४७७ मत प्राप्त गरेका थिए ।

दैलेख

दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि दुवै सिट एमालेले हात पारेको थियो । क्षेत्र नम्बर १ मा एमालेका रविन्द्रराज शर्मा २३ हजार ७७३ मत प्राप्त गरेर विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । ०७४ मा काँग्रेसले राप्रपालाई साथ दिएको थियो ।

क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट एमालेका राजबहादुर बुढा २३ हजार ३२३ मतसहित प्रतिनिधिसभामा निर्वाचित हुँदा काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ (क) मा माओवादीबाट धर्मराज रेग्मी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कृष्णकुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । रेग्मी अहिले एमालेमा प्रवेश गरेका छन् । (ख) मा एमालेबाट अम्मरबहादुर थापा १२ हजार ५६७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका जगतजंग थापाले १० हजार ५८६ मत प्राप्त गरेका थिए । अम्मरबहादुर थापा हाल नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्ष छन् ।  

क्षेत्र २ (क) बाट एमालेका सुशील कुमार थापा ११ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मधुरविक्रम खनालले ८ हजार ७९५ मत ल्याएका थिए । (ख) मा एमालेका राजबहादुर शाही ११ हजार ४४५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दिक्पाल कुमार शाहीले ८ हजार ४६९ मत प्राप्त गरेका थिए ।

मुगु

यहाँ प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनबाट एमालेका गोपाल बहादुर बम १३ हजार ३४ मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत पाएका थिए ।

प्रदेशसभातर्फ (क)मा एमालेका दानसिंह परियार ५ हजार ६५३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका तिलक बहादुर मल्लले ५ हजार २९९ मत पाएका थिए । (ख)मा एमालेकै चन्द्रबहदुर शाही ६ हजार ८४५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका खड्ग शाहीले ४ हजार ६१२ मत प्राप्त गरेका थिए । एमाले विभाजनपछि चन्द्रबहादुर अहिले नेकपा एकीकृत समाजवादीमा छन् । उनी प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

रुकुम पश्चिम

माओवादीको आधार इलाका रुकुम पश्चिममा माओवादीलाई हल्लाउन सक्ने अर्को दल छैन । माओवादीका प्रभावशाली नेता एवं अहिलेका अर्थमन्त्री जनार्दन शर्माले ०७४ को निर्वाचनमा ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गोपाल जंग शाहले १५ हजार ६५९ मत पाएका थिए ।

प्रदेशसभामा पनि दुवै क्षेत्र माओवादीले नै जितेको थियो । (क)मा माओवादीका रातो कामी १६ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कृष्णबहादुर रोकायले ८ हजार ५७७ मत प्राप्त गरेका थिए भने (ख)मा माओवादीबाट गोपाल शर्मा १८ हजार ५८७ मतसहित निर्वाचित हुँदा काँग्रेसका खडक बहादुर डाँगीले ८ हजार १२७ मत पाएका थिए ।

कालिकोट

यो जिल्लामा पनि माओवादी बलियो राजनीतिक शक्तिका रुपमा स्थापित छ । प्रतिनिधिसभातर्फ माओवादीका दुर्ग बहादुर रावत २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेका युवा नेता भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए । प्रदेशसभातर्फ भने वाम गठबन्धनबाट (क) मा एमालेबाट कुर्मराज शाही ११ हजार ९३५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका टेकबहादुर शाहीले ४ हजार ४८९ मत प्राप्त गरेका थिए । अहिले कुर्मराज नेकपा एकीकृत समाजवादीमा छन् । (ख)मा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही १२ हजार १५३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कालिबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए ।

सल्यान

यहाँ प्रतिनिधिसभामा माओवादीका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार उमाकान्त खनालले तेस्रो नम्बरमा २ हजार ९२१ र मालेका बलबहादुर गिरीले २ हजार २९२ मत ल्याएका थिए । 

प्रदेशसभा अन्तर्गत (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए । (ख)मा पनि एमालेबाट प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका थिए राप्रपाले ६ हजार ५४ मत पाएको थियो । एमालेबाट निर्वाचित ज्वाला एमाले विभाजनपछि अहिले समाजवादीको प्रदेश इञ्चार्ज छन् ।   

डोल्पा

प्रतिनिधिसभामा एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका अंगद कुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रदेशसभा (क) मा एमालेबाट नन्दसिंह बुढा ५ हजार ४९० मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका बेगम सिंह ठकुरीले १ हजार २१३ मत पाएका थिए भने (ख) मा माओवादी केन्द्रका वीरबहादुर शाही ६ हजार ४१४ मत प्राप्त गरेर निर्वाचित हुँदा काँग्रेसका सुरेश बहादुर शाहीले २ हजार १०५ मत पाएका थिए । (क)मा विजयी बुढा अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

जुम्ला

यहाँबाट प्रतिनिधिसभामा माओवादीका गजेन्द्रबहादुर महत २२ हजार १७३ मतसहित निर्वाचित हुँदा काँग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए । यहाँ नेमकिपाले २ हजार ७१८ मत प्राप्त गरेको थियो ।

प्रदेशसभामा (क) बाट माओवादीका नरेश भण्डारी १२ हजार ५७४ मतसहित निर्वाचित हुँदा काँग्रेसका राजु सिंह कठायतले ८ हजार ५३७ मत प्राप्त गरेका थिए । (ख) मा एमालेका पदमबहादुर रोकाय १० हजार ४५८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका भीमनिधि हमालले ५ हजार २८० मत प्राप्त गरेका थिए ।

जाजरकोट

जाजरकोटको प्रतिनिधिसभा क्षेत्रमा माओवादीका प्रभावशाली नेता शक्तिबहादुर बस्नेत ३२ हजार २८१ मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए । प्रदेशसभातर्फ (क) मा माओवादीबाट गणेश प्रसाद सिंह १६ हजार ९११ मतसहित विजयी हुँदा काँग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरेका थिए । यस्तै, (ख) मा एमालेका करबीर शाही १५ हजार १८५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत ल्याएका थिए ।

हुम्ला

यहाँबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४९१ मत ल्याएर निर्वाचित भएका थिए । उनले काँग्रेसका मंगल बहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरेका थिए । शाहीले ८ हजार ४४४ र माओवादीका छिमी दोर्ची लामाले  २ हजार ८५६ मत पाएका थिए । प्रतिनिधिसभामा स्वतन्त्र जित्ने कर्णालीमा लामा मात्र थिए, उनले कलम चिह्नबाट चुनाव लडेका थिए । माओवादीले टिकट नदिएपछि उनी स्वतन्त्र लडेका थिए ।

माओवादीबाट चुनाव लडेका छिर्मी दोर्ची अहिले एमालेमा प्रवेश गरेका छन् । जसले गर्दा हुम्लामा माओवादीको जनाधार कमजोर हुने स्थिति बनेको थियो । लामा एमाले प्रवेश गरेसँगै माओवादीले गैरसांसद कार्चेन लामालाई कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन मन्त्री बनाएर जिल्लामा आफ्नो प्रभाव बढाउन प्रयास गरेको थियो ।

प्रदेशसभातर्फ भने (क) मा एमालेका दल रावल ७ हजार १५८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका ठानबहादुर रोकायले ४८११ मत ल्याएका थिए । (ख)मा भने ४ हजार ५१९ मत ल्याएर काँग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप