बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसको २०१५ सालको घोषणापत्र : विकासका लागि भू–सेना बनाउनेदेखि भूमिहीनलाई जग्गासम्म

शुक्रबार, ०३ भदौ २०७९, १० : ३५
शुक्रबार, ०३ भदौ २०७९

नेपाली कांग्रेस नेपालमा सर्वप्रथम हुन लागेको आमचुनावको महान् अवसरमा सम्पूर्ण देशवासीलाई आफ्नो अभिवादन पठाउँछ । खेतमा काम गर्ने किसान, खेताला, कलकारखानामा काम गर्ने मजदुर, उद्योगधन्दामा लागेका व्यापारी, विभिन्न रोजगार र पेसामा लागेका नागरिकहरू, महिला, सरकारी कर्मचारी– जंगी या निजामती, युवक, विद्यार्थी वर्ग, शिक्षित समुदाय, जमिनदार, सन्तमहन्त, सुब्बा, राई थरी मुखिया, जिम्मावाल, धनी, गरिब, गैरहमा नेपाली कांग्रेस चुनावको आफ्नो सन्देश यसै पत्रबाट पठाउँछ । 

२००७ सालको क्रान्ति, जसको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो , वर्तमान युगको अनुसार, देशको शासन व्यवस्था स्थापित गर्न उत्सुक नेपाली जनताको यो एउटा ऐतिहासिक कदम थियो । राणाशासनले निरंकुश भएर जनतालाई राजनीतिक अधिकारबाट वञ्चित मात्र गरेको थिएन, त्यस व्यवस्थाले देशको उन्नतिको यावत् मार्गलाई अवरुद्ध गरेर राखिदिएको थियो । राष्ट्र निष्प्राण भएर सामन्ती अवसानको अन्धकारमा डुबेर बसेको थियो । २००७ को जनक्रान्ति राष्ट्रको कहिले पनि नमर्ने भावना–उन्नतिको भावनाको एउटा सामूहिक हुंकार थियो । जसले रुढीगत सामन्ती व्यवस्थाको आधारशिलाका रूपमा रहेको राणाशाहीलाई उखेलेर फ्याँकिदियो ।

त्यस क्रान्तिको सीमित लक्ष्य या तत्कालीन लक्ष्य विध्वंसात्मक भए तापनि, विध्वंसात्मक यस अर्थमा कि पुरानो राणा व्यवस्थालाई छिन्नभिन्न पा¥यो । यसको महान् लक्ष्य त्यस प्रकारको राजनीतिक, सामाजिक तथा आर्थिक सुधार गर्नु हो, जसले आधुनिक समय अनुसार राष्ट्रलाई उन्नतिको मार्गमा चाल्न सकोस् । तत्कालीन लक्ष्य हासिल गर्नासाथ प्रजातन्त्रको बीजारोपण त भयो तर चुनाव गराएर जनताको इच्छानुसार शासन व्यवस्था कायम गर्ने काम हुन सकेन । आज आठ वर्षपछि आम निर्वाचन हुने भएको छ, २००७ को क्रान्तिको अपुरो लक्ष्य पूरा हुने भएको छ । यद्यपि आठ वर्ष भनेको एउटा लामो अवधि हो र राष्ट्रले जनताको इच्छानुसार यस अवधिमा कुनै दृढ पाइलो चाल्न पाएन र साथै सरकारको गठन सम्बन्धको अनेकानेक प्रयोगद्वारा क्रान्तिपछि स्वभावतः उत्पन्न भएको अनिश्चित राजनीतिक स्थिति झन् बढी अनिश्चित भयो र जनतामा भ्रम उत्पन्न गरी प्रजातन्त्रको उपहास गराउन चाहने प्रतिगामी तत्वहरूले मौका पाए, तथापि यो आठ वर्षको समय सम्पूर्णतः व्यर्थ गयो भन्नु उचित हुँदैन । जस्तासुकै प्रतिगामी तत्वहरूले चेष्टा गरे तापनि प्रजातन्त्रको भावनाले जनताको हृदयमा जरो हालिसकेको छ । अब नेपाल क्रान्तिपूर्व अवस्थामा पुनः प्रवेश गर्न सक्दैन । ​

​आज हाम्रो देशका जनताको अनुहारमा दरिद्रता तथा अज्ञानताको गाढा छाप छ । राष्ट्र दीनहीन अवस्थामा छ । खान, लाउन र बस्नसम्मको राम्रो व्यवस्था नभएका हाम्रा दाजुभाइ, दिदीबहिनीको जीवन एउटा लामो यातनाजस्तो भएको छ । नेपाललाई प्रकृतिले साधनसम्पन्न बनाएको छ । अनेकानेक नदी–नालाले सिञ्चित हाम्रो मुलुकमा चाहिएजति उर्वर भूमि छ, हाम्रा हरिया जंगल छन् । हाम्रा पहाडमा खानी छन् र नदी झरनामा लुकेका विद्युत् शक्ति छ । हामी मानिस पनि उद्यमी छौँ र हाम्रो राष्ट्रको बानी पनि अनुशासनमा रहनेछ । प्रकृतिको यत्रो उदारता हाम्राप्रति हुँदाहुँदै नेपाल कंगाल र अशिक्षित छ । यस असह्य परिस्थितिबाट राष्ट्रले मुक्ति प्राप्त गर्नुपरेको छ । यो हाम्रो मुक्तिको अवसर आमचुनावले प्रदान गर्न लागेको छ । चुनावद्वारा जनताले यस प्रकारको राजनैतिक, आर्थिक व्यवस्था स्थापित गर्नुपर्‍यो  । जसद्वारा प्राकृतिक उपलब्धिहरूको समुचित व्यवस्था गरेर उनीहरूको आधिकारिक उपयोग समाजले गर्न सकोस् । यस अर्थमा आगामी चुनावको महान् महत्व छ । चुनाव राष्ट्रको उत्थानको साधन भएको छ ।  

मानिसले मानिसलाई शोषण गर्ने छैन, जहाँ धनी, गरिबको भेद उत्पन्न भएका अनेकानेक सामाजिक अन्यायहरू समाप्त भई देशका तमाम नागरिकहरू एउटा ठूलो परिवारका सदस्य सरह आपसी मेल, सद्भावना र सहकारिताको आदर्शले प्रेरित भएर राष्ट्रलाई उन्नतिको बढीसे बढी अवस्थामा पुर्‍याउने प्रयत्नमा संलग्न हुनेछन् ।


नेपाली कांग्रेस समाजवादी संस्था हो, यसको अन्तिम लक्ष्य त्यस प्रकारको आदर्श सामाजिक व्यवस्था स्थापित गर्नु हो । जसमा मानिसले मानिसलाई शोषण गर्ने छैन, जहाँ धनी, गरिबको भेद उत्पन्न भएका अनेकानेक सामाजिक

अन्यायहरू समाप्त भई देशका तमाम नागरिकहरू एउटा ठूलो परिवारका सदस्य सरह आपसी मेल, सद्भावना र सहकारिताको आदर्शले प्रेरित भएर राष्ट्रलाई उन्नतिको बढीसे बढी अवस्थामा पु¥याउने प्रयत्नमा संलग्न हुनेछन् । नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको अझै टाढैको लक्ष्य छ । यस अवधिमा देशले निकै लामो उकालो बाटो हिँड्नुपरेको छ । तत्काल नै समाजवादी लक्ष्य प्राप्त गर्ने साधन समाजमा उपलब्ध छैनन् । ती साधनलाई बिस्तारै बिस्तारै प्राप्त गर्दै पूर्ण प्रजातान्त्रिक पद्धतिद्वारा हामीले शनैः शनैः त्यस महान् लक्ष्यपट्टि पाइला सार्दै जानुपर्छ । तसर्थ प्रथम आम चुनावमा भएपछि आफ्नो लक्ष्य प्राप्तिका लागि प्रथम कदम नेपाली कांग्रेसले यस प्रकार लिनेछ–

भूमि, गाउँ र किसान
भूमिमा आधार भएको हाम्रो आर्थिक व्यवस्थामा सर्वप्रथम नेपाली कांग्रेसको ध्यान भूमिसम्बन्धी सुधारपट्टि जानु स्वाभाविक हो । गाउँ र किसानहरूको सम्पन्नताको सम्बन्ध केवल अधिकांश जनताको सम्पन्नतासँग मात्रै छैन । भूमि सुधार नगरी उन्नत नेपालको योजनाहरूलाई सफलीभूत गराउने दिशापट्टि हामी अग्रसर हुन सक्दैनौँ । त्यसो हुनाले भूमिसुधारलाई दुई भागमा विभक्त गर्न सक्छौँ– १) भूमिबाट सामन्ती शोषण अन्त्य गर्नु र किसानहरूको अधिकारलाई सुरक्षित पार्नु, २) वैज्ञानिक ढंग र उपायहरूलाई ग्रहण गरी भूमिको उत्पादन बढाउनु । 

भूमिबाट सामन्ती शोषणलाई अन्त गर्न सकियो भने, उत्पादनको विकसित साधनले स्वतः प्रधानता प्राप्त गर्नेछ । राज्यको अधिकारमा रहेका भूमिहरूमा वैज्ञानिक खेतीको तरिका अपनाउन सकिन्छ । किसानहरूमाथिको दबाब, अन्याय र अत्याचारलाई अन्त्य गरेमा भूमिमा सुधार ल्याउनका लागि चाहिएको मनोवैज्ञानिक प्रेरणा समाजलाई मिल्नेछ । तसर्थ नेपाली कांग्रेसले निम्न लिखित दिशापट्टि अविलम्ब कदम चाल्नेछ– 

१) जंगलहरूको संरक्षण । हाम्रो देशको जंगल राष्ट्रिय सम्पत्ति हुन्, हाम्रो जेथा र पुँजीको मुख्य अंग पनि जंगल नै हुन् । जंगलको जुन प्रकारको क्षति हुन लागेको छ, त्यो देशका लागि घातक भएको छ । यस बर्बादीलाई रोक्नका खातिर र जंगलको वैज्ञानिक ढंगबाट व्यवस्था गर्न नेपाली कांग्रेसले जंगलहरूको राष्ट्रियकरण गर्नेछ । तर दैनिक उपभोगलाई चाहिने खर, काठपात, दाउरा र बाबियोको व्यवस्था गरी, जनतालाई सुविधा दिइनेछ । तिरो चलेको खोरियाबाहेक साना–साना गाउँको छेउछाउका जंगलहरूको व्यवस्था प्रचलित रीतिथितिको ख्याल राख्दै सरकारी नीतिको अनुसार गाउँवासीको जिम्मा रहनेछ । 

२) ठुल्ठूला बिर्ताहरूको राष्ट्रियकरण ।

३) मुलुकभित्रको रजौटा प्रथाको उन्मूलन । 

४) जमिनदारी प्रथाको उन्मूलन ।

५) भूमिको अधिकतम सीमा निर्धारित गर्ने र अधिक भूमिको पुनर्वितरण गर्ने । 

६) नेपाली कांग्रेसले जंगलबाहेक अरु प्रकारको भूमिको व्यवस्था गर्दा सरकारले क्षतिपूर्ति दिने सिद्धान्तलाई स्वीकार गरेको छ । जमिनका अधिकतम सीमा निर्धारण गर्दा अथवा क्षतिपूर्तिको रकम निर्धारण गर्दा सरकारले संसदीय प्रणाली अनुसार विशेषज्ञहरूको राय लिनेछ र उपयुक्त संसदीय समितिहरूको निर्णय अनुसार यस दिशामा काम हुनेछ । 

७) सहकारी खेतीलाई सरकारी प्रोत्साहन । सरकारी मद्दतबाट जमिनलाई साना–साना टुक्राहरूलाई चक्लाबन्दी गर्ने र साना–साना किसानलाई आपसी सहयोगबाट वैज्ञानिक ढंगको खेती गराउने व्यवस्था गरिनेछ । 

८) विभिन्न जिल्लामा प्राथमिक सरकारी प्रेरणा र सहायताबाट कृषि बैंक अथवा अन्न कोषको निर्माण गर्ने र गरिब किसानलाई सरल ब्याजमा ऋणको व्यवस्था मिलाउने । यस प्रकारको बैंक या कोषको साधारण नियम सरकारले बनाउनेछ र सरकारको साधारण रेखदेख पनि रहनेछ । तर, यिनीहरूलाई चलाउने मुख्य जिम्मेवारी स्थानीय जनताको प्रतिनिधिहरूलाई हुनेछ । उनीहरूबाट नै बैंकको नीति निर्धारण हुनेछ । 

९) सरकारद्वारा असल बिउ र खाद मलको वितरण व्यवस्था गरिनेछ र ठाउँठाउँमा आदर्श खेतीको सरकारद्वारा प्रदर्शन गरिनेछ । 

१०) बाँध, पैनी, कुलो र नहरको राम्रो व्यवस्था । हाम्रो विश्वास छ कि बाँध, पैनीहरूको राम्रो व्यवस्था अविलम्ब प्रारम्भ गरेर देशबाट सदाका लागि सुखा जर्ताको भय मेटाउन सकिन्छ । यस दिशापट्टि अहिलेसम्म सरकारले गरेका प्रयत्न अत्यन्त अपर्याप्त भएका छन् । नेपाली कांग्रेसले यस विषयलाई प्राथमिकता दिनेछ । यस विषयको योजना र व्यवस्थाको जिम्मा पनि सरकारी रेखदेखमा स्थानीय जनताको हातमा रहनेछ । प्रत्येक जिल्लाका लागि चाहिने निश्चित आर्थिक सहायता सरकारले तुरुन्तै दिनेछ । 

११) गाउँको उन्नति देशको उन्नति हो भन्ने सत्यलाई कार्यान्वित गराउन देशका प्रत्येक गाउँलाई सुगठित पार्ने र सुधार्ने प्रयत्न नेपाली कांग्रेसले गर्नेछ । नेपाली कांग्रेसको नारा ‘गाउँतिर जाऊ गाउँलाई हेर’ भन्ने भएको छ । माथि उल्लेख गरिएका विभिन्न भूमि सुधारका योजनालाई कार्यान्वित गराउन समूचित माध्यम गाउँ नै हुने हुनाले गाउँहरूको संगठनलाई प्रजातान्त्रिक तथा सुदृढ बनाउनुपर्छ । त्यसो हुनाले नेपाली कांग्रेसले शासनको विकेन्द्रीकरणको प्राथमिक आधार गाउँलाई बनाउनेछ । 

१२) सरकारले गाउँमा काम नपाएका जनताबाट भू–सेना तयार पार्नेछ जो नहर, कुलो, सडक इत्यादि तथा पर्ती जमिनलाई कृषियोग्य बनाउने काममा नियुक्त हुनेछन् । यस सम्बन्धमा तालिम पाएका भूतपूर्व सैनिकहरूबाट विशेष रूपले सहायता लिने प्रबन्ध मिलाइनेछ । 

भूमिहीन किसानहरूको बसोबास व्यवस्था 
पहिले आवाद भएपछि पर्ती रहन गएको जग्गा एवं त्यस्ता वन, जसलाई राख्दा फाइदा छैन, तिनलाई फँडानी गरी प्राप्त भएको जग्गा र भूमिको अधिकतम सीमा निर्धारण गर्दा आएको अधिक भूमि समेत भूमिहीन किसानलाई प्राथमिकता दिने गरी बाँडिनेछ । जग्गा आवाद गर्नका लागि आवश्यक कर्जाको बन्दोबस्त पनि सहकारी समितिहरूमार्फत सरकारले गर्नेछ । 

उद्योग धन्दा एवं कलकारखाना
राष्ट्रको सम्पन्नता उद्योग धन्दाको विस्तारमा निर्भर गर्छ । यद्यपि यसपालिको चुनावमा नेपाली कांग्रेसले भूमिसुधार र भूमिको उत्पादन तथा ग्रामीण उन्नतिलाई प्राथमिकता दिएको छ । अहिलेसम्मको अनिश्चित सरकारी नीति तथा विरोधी कारबाहीले गर्दा देशको व्यापार उद्योग धन्दालाई ठूलो नोक्सान भएको छ । व्यापारी र उद्योगपतिहरूलाई कुनै किसिमको सहयोग र उत्साह गराउने प्रेरणा अहिलेसम्मको सरकारले दिन सकेको छैन । नेपाली कांग्रेसको दृढ विश्वास छ कि सरकारमा गएपछि यसपट्टि भएका गलत कारबाहीमा सुधार ल्याउन नेपाली कांग्रेसले छिटै उद्योग धन्दा र व्यापारको विस्तारका लागि चाहिने वातावरण सृष्टि गर्नेछ । 

सरकारले गाउँमा काम नपाएका जनताबाट भू–सेना तयार पार्नेछ जो नहर, कुलो, सडक इत्यादि तथा पर्ती जमिनलाई कृषियोग्य बनाउने काममा नियुक्त हुनेछन् । यस सम्बन्धमा तालिम पाएका भूतपूर्व सैनिकहरूबाट विशेष रूपले सहायता लिने प्रबन्ध मिलाइनेछ ।

 १) मुद्राको वैज्ञानिक ढंगबाट सुधार र यसमा दृढता ल्याउने । यस सम्बन्धमा भएका अहिलेसम्मका प्रयोगहरू असन्तुलित तथा अवैज्ञानिक छन् । देशमा राष्ट्रिय मुद्राको मात्र प्रचलनको लक्ष्य पूरा गर्ने । 

२) व्यापारसम्बन्धी सुनिश्चित नीति ।
क) साना–साना ग्रामीण तथा कुटिर उद्योग धन्दाहरू, ख) मध्यम श्रेणीका तथा ग) ठुल्ठूला पुँजी लाग्ने तथा आधारमूलक उद्योग धन्दाहरू । 

(३–क) नेपाली पुँजीको अभाव भएकाले र गाउँको उन्नतिको परिकल्पना नेपाली कांग्रेसले गरेकाले स्वभावतः साना–साना र कुटिर उद्योग धन्दा एवं कलकारखानापट्टि नेपाली कांग्रेसको ध्यान गएको छ । कुटिर उद्योगबाट राष्ट्रको आवश्यकतालाई पूरा गर्न जति सामग्री उत्पादन हुन सक्छ, त्यतिका लागि राष्ट्रले कुटिर उद्योगधन्दामै भर पर्न सकोस् र देश यथासम्भव यी वस्तुहरूका लागि परमुखापेक्षी नहोस् भन्ने हाम्रो विचार छ । कुटिर उद्योगलाई सरकारले पूरा मद्दत गर्नेछ । यस प्रकारका उद्योग धन्दाहरूमा सहकारिताको सिद्धान्तलाई प्राथमिकता दिइनेछ । 

(३–ख) व्यक्तिगत पुँजीको संरक्षणको जिम्मेवारी सरकारले लिनेछ । मध्यम श्रेणीको उद्योगधन्दाको विकासको मुख्य जिम्मा व्यक्तिगत पुँजीहरूका हातमा रहनेछ । यस स्तरमा हुने औद्योगिक विकास कार्यका लागि सरकारद्वारा प्राप्त हुन सक्ने मद्दत पुँजीहरूले पाउनेछन् । 

(३–ग) ठूला–ठूला उद्योगधन्दा र आधारमूलक उद्योगको विकासको प्राथमिक जिम्मेवारी सरकारको हुनेछ । यसका लागि विदेशबाट पुँजी ल्याउने व्यवस्था पनि सरकारले गर्नेछ । नेपाली कांग्रेस विदेशी सरकार एवं अन्तर्राष्ट्रिय संस्थाहरूबाट ऋण लिने विचारको विरोधी छैन । विदेशी पुँजीलाई पनि प्रश्रय दिइनेछ, तर त्यो पुँजीले सरकारी नियमको पूर्ण मर्यादामा रहनुपर्नेछ । 
अहिले चलिरहेका विकास र निर्माण कार्यहरूको सम्पादनमा अहिले जुन शिथिलता आएको छ, त्यसलाई हटाएर प्रशासकीय यन्त्रको सुधारद्वारा ती कार्यलाई छिटो पूरा गर्नेछ । 

मजदुर नीति 
कलकारखाका मजदुर वर्गको कल्याणका लागि तथा उनीहरूको र मिल सञ्चालनका बीचको सम्बन्धलाई सरल बनाउन एउटा मजदुर ऐन पास गर्ने निश्चय नेपाली कांग्रेसले गरेको छ । 

प्रशासन
वर्तमान प्रशासन यन्त्र अत्यन्त खुकुलो र अवैज्ञानिक भएको छ । सरकारी काममा यस कारण बाधा उपस्थित भएको सबैले अनुभव गरेका छन् । जनतालाई त्यसबाट पीर–मर्का बढेको छ । यस कारण जुन कार्यक्रम र उद्देश्यलाई लिएर नेपाली कांग्रेस सरकारमा प्रवेश गर्नेछ, त्यसलाई कार्यान्वत गराउन सक्ने किसिमको सुधार प्रशासन यन्त्रमा कांग्रेसले ल्याउनेछ । 

​१) प्रशासन यन्त्रको भ्रष्टाचार र अड्डाखानामा व्यापक रूपले फैलिएको घुसखोरीले जनता पीडित छन् । प्रशासन यन्त्रले जनताको शोषण गर्ने होइन कि जनताको भलाइ गर्नेछ । नेपाली कांग्रेसले शासन भार लिनेबित्तिकै घुसखोरी र भ्रष्टाचारलाई निर्मूल पार्नेछ । हामीलाई विश्वास छ कि यदि सरकारले आफ्नो इमानदारी नजर यस व्यापक रोगपट्टि दियो भने कुनै कारण छैन कि यो रोग निर्मूल नपार्न सकियोस् । नेपाली कांग्रेसको सरकारको प्रण हुनेछ कि भ्रष्ट कर्मचारीलाई कडा सजाय दिने व्यवस्था गर्ने र इमानदार, बफादार कर्मचारीको उचित कदर गर्ने व्यवस्था गर्ने । 

२) प्रशासकीय यन्त्रको वैज्ञानिक ढंगले सुधार । योग्य र इमानदार कर्मचारीको नियुक्ति तथा कदर । सरकारी कर्मचारीको सेवाको संरक्षण सरकारको जिम्मेदारी हुनेछ । 

शासनको विकेन्द्रीकरण
३) हाम्रो विचारमा अहिले जुन शिथिलता शासन यन्त्रमा आएको छ र जसले सरकारी काममा विघ्न बाधा उपस्थित भइरहन्छ, त्यसलाई हटाउने र साथै प्रजातन्त्रको सिद्धान्तलाई स्थानीय जनताको व्यवहारको वस्तु बनाउने हेतुले नेपाली कांग्रेस शासन व्यवस्थामा विकेन्द्रीकरणको सिद्धान्तलाई स्वीकार गरेर समुचित सुधार गर्नेछ । गाउँको विषयमा उल्लेख गर्दा गाउँलाई नै शासन यन्त्रको सबैभन्दा तल्लो खुड्किलो बनाउने प्रयत्न हुनेछ भन्ने कुरा जनाइसकिएको छ । जिल्लाको व्यवस्थाका लागि स्थानीय जनताका प्रतिनिधिहरूको कमिटी निर्माण गरिनेछ । 

ठूला–ठूला उद्योगधन्दा र आधारमूलक उद्योगको विकासको प्राथमिक जिम्मेवारी सरकारको हुनेछ । यसका लागि विदेशबाट पुँजी ल्याउने व्यवस्था पनि सरकारले गर्नेछ । नेपाली कांग्रेस विदेशी सरकार एवं अन्तर्राष्ट्रिय संस्थाहरूबाट ऋण लिने विचारको विरोधी छैन ।

स्थानीय निर्माण कार्य, कुलो, नहरहरूको व्यवस्था र इन्तजाम, कृषि बैंकको जिम्मेदारी, शिक्षा र अस्पतालहरूको सञ्चालन र यातायात प्रभृति काम जिल्लाको प्रतिनिधिहरूको कमिटीले गर्नेछ । प्रारम्भमा सरकारी रेखदेखको व्यवस्था हुनेछ तर पछि बिस्तारै बिस्तारै सम्पूर्ण जिम्मेवारी जिल्लाको प्रतिनिधिहरूको मात्र हुनेछ । यी सब कामको व्यवस्था गर्नका लागि जिल्लाको आयको निश्चित भाग छुट्ट्याइनेछ । जुन जिल्लामा जिल्लाको आय अपर्याप्त छ, त्यसमा केन्द्रले आर्थिक मद्दत पुर्‍यायाउनेछ । विभिन्न क्षेत्रको विशेष स्थानीय समस्याहरूको जिम्मा पनि ती क्षेत्रका जनताकै हातमा रहनेछ । किपटका सम्बन्धमा किपटियाहरू स्थानीय जनताको राय सल्लाह र मागबिना कुनै प्रकारको बाधा–विरोध पर्न वा पार्न दिइनेछैन । 

शिक्षित समुदाय र महिला वर्ग
१) देश निर्माण गर्ने योजना प्रतिपादन गर्नका निम्ति नेपाली कांग्रेस खासगरी शिक्षित समुदायबाट सहयोग प्राप्त गर्ने आशा राख्छ । अहिले निर्वाचनमा मात्र होइन, निर्वाचनपछिको शासन व्यवस्था र निर्माण कार्यमा शिक्षित समुदायले ठूलो जिम्मेवारी वहन गर्नुपर्ने हुनाले नेपाली कांग्रेसले उनीहरूको सरकारी स्तरमा सहयोग लिनेछ र बौद्धिक स्वतन्त्रताको रक्षा गर्ने प्रण गर्दछ ।  

२) सरकारबाट गरिने हरेक कार्यमा राष्ट्रिय दृष्टिकोणलाई अपनाई देशका हरेक देशवासी समान अवसर र अधिकार उपलब्ध गराइनेछ । सरकारी नियुक्ति गर्दा, छात्रवृत्ति दिँदा र अन्य यस प्रकारको काम गर्दा हाल अपनाइएको पक्षपातपूर्ण नीतिको पूर्ण बहिष्कार गरी नेपाली कांग्रेसले राष्ट्रिय दृष्टिकोण अपनाउनेछ । महिला वर्ग एवं पिछडिएका वर्गको सबै हकको संरक्षण गर्न र शिक्षाद्वारा बौद्धिक विकास गराउने विशेष व्यवस्था गर्नेछ । 

३) सारै नै पिछडिएको हाम्रो मुलुकलाई छोटो अवधिमा बढी उन्नतिशील बनाउनुपरेको हुँदा सबै देशवासीले सामूहिक तबरबाट देश निर्माण कार्यमा लाग्नुपरेको छ र यो महान् कार्य सम्पादन गर्न विद्यार्थी वर्ग र शिक्षित समुदायको सहयोगको माग खास तवरले गरिनेछ । 

धर्म
धर्मबारे हाम्रो नीति स्पष्ट छ । देशमा धेरै किसिमका धर्म मान्ने मानिस छन् । नेपाली कांग्रेसको सरकार सबै धर्म मान्नेहरूको साझा हुनेछ । तसर्थ सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म र विधि–विधान मान्ने र त्यस अनुसार चल्ने पूर्ण स्वतन्त्रता दिनेछ । नेपाली कांग्रेस सबै धर्मावलम्बीलाई आफ्नो अन्तरात्माले विश्वास गरेको धर्म, विधि–विधान मान्ने र त्यसअनुसार चल्न पाउने ग्यारेन्टी दिनेछ र कसैले कसैको धर्ममा बाधा पु¥याउन खोजेमा त्यसको सुरक्षाका लागि आफ्नो सारा शक्ति लगाउने विश्वास दिलाउँछ । नेपाली कांग्रेसलाई आफ्नो संस्कृति प्यारो छ र हाम्रो उच्च संस्कृतिको जगमै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न चाहन्छ । 

शिक्षा, स्वास्थ्य र यातायात 
नेपाली कांग्रेस शिक्षा, स्वास्थ्य र यातायात व्यवस्थालाई सबभन्दा पहिलो आवश्यक ठान्दछ । यस निम्ति शिक्षा र स्वास्थ्यको व्यापक व्यवस्था, यातायातको राम्रो प्रबन्ध, सञ्चारको राम्रो इन्तजाम गर्नलाई आफ्नो पूरा ताकत लगाउनेछ । पिउने पानीको प्रबन्ध मिलाउन पनि नेपाली कांग्रेस कटिबद्ध छ । 

न्याय 
न्याय प्रशासन सर्वसाधारणका लागि सरल, निष्पक्ष, सस्तो, सुलभ गराउने व्यवस्था हुनेछ । 
भाषा
नेपालको राष्ट्र भाषा नेपाली हुनेछ । तर देशका अन्य क्षेत्रीय भाषाहरूको रक्षा, उनीहरूको संवर्द्धन नेपाली कांग्रेसको सरकारले गर्नेछ । क्षेत्रीय भाषाहरूले आ–आफ्ना क्षेत्रमा प्रमुखता पाउनेछन् । 

वैदेशिक नीति
नेपाली कांग्रेसको वैदेशिक नीति विभिन्न राष्ट्रहरूसँग समानताका आधारमा मित्रता कायम गर्नु हुनेछ । नेपाली कांग्रेस कुनै सामरिक गुटमा लाग्नेछैन र संयुक्त राष्ट्र संघको आफ्नो सदस्यताको सदुपयोग नेपालले शान्तिको प्राप्तिका लागि गर्नेछ । नेपाली कांग्रेस आफ्नो महान् छिमेकीहरूसँग पूर्ण मित्रता राख्नेछ ।
जय नेपाल ।
(यही घोषणापत्रमार्फत् नेपाली कांग्रेसले २०१५ को आम चुनावमा नेपाली जनता समक्ष आफूलाई प्रस्तुत गरेको थियो । यसलाई बिपी कोइराला, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायले तयार पारेका थिए । २०१५ को कात्तिकमा सम्पन्न महासमितिको बैठकले यसलाई पारित गरेको थियो ।)
– साभार नेपाली कांग्रेसको चुनाव घोषणापत्र– २०१५ ।
(रातोपाटीले यो सामग्री शिखा बुक्सबाट प्रकाशित पुरुषोत्तम बस्नेतको पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप, भाग दुई’बाट लिएका हौँ, लेखकको स्वीकृतिमा ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप