मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडी विदेश पलायनको लर्को : एन्फा मूकदर्शक, फेसबुकमा जुहारी

आइतबार, २२ साउन २०७९, १५ : ३२
आइतबार, २२ साउन २०७९

नेपाली खेलाडीहरू विदेश पलायन हुने कुरा नौलो होइन । तर पछिल्लो समय फुटबल टिमका खेलाडीहरू लगातार विदेश पलायन हुँदा सबैको ध्यान तानेको छ । पछिल्लो दुई महिनामा नेपालका सात जना खेलाडी विदेश पलायन भएका छन् । उनीहरू अस्ट्रेलियामा हुने घरेलु प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् । यसले अखिल नेपाल फुटबल संघ (एन्फा)को सर्वत्र आलोचना भइरहेको छ । 

शनिबार नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना र मिडफिल्डर हेमन्त थापा मगर अस्ट्रेलिया प्रस्थान गरे । उनीहरू अस्ट्रेलिया प्रस्थान गरेको खबरले नेपाली फुटबलमा झनै तरङ्ग ल्याएको छ । 

एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय हेमन्तले गत सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब बाट खेलेका थिए । उनले सन् २०१६ जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए । 

त्यस्तै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना अस्ट्रेलिया पुगेका छन् । नेपालका लागि विमलले सन् २०१९ मार्च २१ मा कुवेतविरुद्धको खेलमा डेब्यू गरेका थिए । 

राष्ट्रिय खेलाडी सन्तोष तामाङ, दर्शन गुरुङ, सुमन लामा, आशिष लामा, नविन गुरुङ पनि उतै छन् । मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विमल बस्नेत पनि दुई वर्षयता अस्ट्रेलियामै रहेका छन् । यसरी विदेशीन पुगेपछि नेपालमा राष्ट्रिय टोलीकै खेलाडीहरू अभाव हुने जस्तो वातावरण बनेको छ । 

एन्फामा नयाँ नेतृत्व आएको दुई महिना पुग्न लाग्दा पनि उनीहरूले कार्यसमिति बैठकबाट एनएसएल र ए डिभिजन लिगको विषयमा कुनै निर्णय गर्न सकेका छैनन् । नेपालमा घरेलु लिग लामो समय नहुनु नेपाल सुपर लिग आयोजनाका लागि पनि कुनै निचोड ननिस्कनुले नै उनीहरू पलायन भएका हुन् । 

एन्फासँग अझै छैन योजना

एन्फाले गत असार ६ गते नयाँ कार्यसमिति पायो । पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकज विक्रम नेम्वाङ एन्फाको बागडोर सम्हाल्न आए । एन्फाको नेतृत्वमा आएपछि उनले लिगलाई व्यवस्थित बनाउने र लामो समयसम्म चल्ने बनाउने बाचा गरेका थिए । तर उनको नेतृत्वले दोस्रो कार्यसमिति बैठक नै गर्न सकेको छैन । 

पछिल्लो एक महिनादेखि एन्फा दोस्रो कार्यसमिति बैठकको प्रतीक्षामा छ । एन्फाले दुई पटक स्थगित भएको कार्यसमिति बैठक २६ साउनमा बोलाएको छ । 

एन्फाको कार्यसमिति बैठकमा शहीद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिगको विषयमा चर्चा हुनेछ । लिग कति समयको गर्ने, एनएसएल गर्ने नगर्ने जस्ता विषय कार्यसमिति बैठकको एजेन्डामा राखिएका छन् । एन्फा महासचिव किरण राईले ए डिभिजन लिग या अन्य  फुटबल प्रतियोगिता र प्रशिक्षकको विषयमा यसै २६ गते बस्ने कार्यसमिति बैठकमा छलफल हुने बताए । 

‘ए डिभिजन लिगको विषयमा दोस्रो कार्यसमिति बैठकमा छलफल हुनेछ । एनएसएलको विषयमा पनि सोही दिन निचोड निस्कनेछ,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । 

उनले पछिल्लो समय खेलाडीहरू विदेशिने क्रम नराम्रो भएपनि खेलाडीको व्यक्तिगत जीवनमा एन्फाले केही गर्न नसक्ने बताए । उनले एन्फाले पनि यसलाई गम्भीर रूपमा लिएको र आगामी बैठकमा यो विषय प्राथमिकताका साथ उठ्ने बताए । 

‘खेलाडीहरू आफ्नो भविष्य उज्ज्वल देखेर राम्रो देशमा लिग खेल्न जान्छन् भने त्यो राम्रो हो । तर, नेपालमा नै खेलिरहेको खेलाडी विदेशीन लाग्दा एन्फालाई पनि नराम्रो लागेको छ । हामी यस विषयमा पनि छलफल गर्नेछौँ,’ राईले भने । 

प्रतियोगिता नै कम 

एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा धेरै प्रतियोगिता गरे भनेर मज्जाले गफ दिए । तर उनको कार्यकालमा उमेर समूहको प्रतियोगिता धेरै भएनन् । 

घरेलु प्रतियोगिता नहुँदा अहिले एन्फाले सूचना निकालेर खेलाडी छनोट गरिरहेको छ । कम तयारी र फितलो खेल संरचनालाई छिचोल्दै युवा टोलीले कसिलो प्रदर्शन गरेर आयो । 

यही टिमले नै भविष्यमा नेपाली राष्ट्रिय टोलीको बागडोर सम्हाल्छ । तर, नेपाल फर्किसकेको टोली अब एन्फामा फर्किने कहिले हो भन्ने आङ्कलन गर्न सकिँदैन । उमेर समूहको घरेलु संरचना कमजोर हुँदा राष्ट्रिय टोली नै कमजोर हुन्छ । 

यता नेपाली राष्ट्रिय टोलीले प्रतियोगिता आएको केही समय अघि मात्र तयारी गर्छ । प्रतियोगिता पनि धेरै हुँदैनन् । ए डिभिजन लिग पनि मात्र तीन महिना चल्छ । त्यहीबाट खेलाडीहरूको टुङ्गो लाग्छ । 

एन्फाको नयाँ नेतृत्व आउँदै गर्दा लिगहरू लामो समय चलाएर खेलाडीलाई व्यावसायिक बनाउनु पर्छ भन्ने चर्चा हुन्छ । तर, त्यो कुरा गफैमा सीमित हुन्छ । त्यसैले खेलाडीहरूले आफ्नो खेल जीवनको लागि विदेशी भूमि नै उपयुक्त ठान्छन् । एन्फाले अझै प्रतियोगिता नगर्ने भने यो लहर चलिरहनेछ । 

खेलाडी र प्रशिक्षकबीच जुहारी

खेलाडीहरू विदेश पलायनको विषयलाई लिएर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार बिहान फेसबुकमा एक स्ट्याटस हाले । 

पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इङ्गित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् । 

‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

अल्मुताइरीको यो पोष्ट आएको बेलुका नै नेपाली टोलीका खेलाडी रञ्जित धिमालले अल्मुताइरीको कारण नै नेपाली खेलाडीहरू विदेशीनु परेको बताए । उनले खेलाडीहरुलाई अल्मुताइरीले मानसिक यातना दिने गरेको र त्यसैको उपज खेलाडीहरू विदेश पलायन हुने गरेको बताए । 

धिमालले अल्मुताइरीको कारण नै नेपाल सुपर लिग (एनएसएल) रोकिएको बताए । 

‘तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको प्रमुख कारण हो ।  यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन् । 

धिमालले एनएसएल रोक्ने मुख्य कारण नै अल्मुताइरी भएको बताए । उनले अल्मुताइरीले एनएसएल रोक्न खोजेको बताए । उनले एनएसएलमा खेल्न जाने खेलाडीलाई नै अल्मुताइरीले व्यक्तिगत रूपमा धम्की दिएको बताए । 

‘एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । एन्फाले एनएसएल गर्न खोज्दा २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि सार्न भनेको थियो तर, तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर  व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ धिमालले लेखेका छन् । खेलाडी विदेशिने विषयमा पछिल्लो समय एन्फाका पदाधिकारी फेसबुकमा जुहारी खेलिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप