बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एन्फामा ‘इन्ट्री’ खोज्दै गौरव थापा

शुक्रबार, १३ साउन २०७९, ११ : ५७
शुक्रबार, १३ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गर्न बाँकी ठूला पद उपमहासचिव र सीईओ हुन् । यी दुवै पदको दाबेदारीमा अहिले गौरव थापा छन् । एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको नियुक्तिको विषयमा धेरै पटक बहस र आलोचना भइसकेको छ ।

उनको नियुक्तिको विषयलाई लिएर अहिले एन्फा कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ । कार्यसमिति बैठकको मुख्य एजेन्डा भनेकै गौरव थापालाई नियुक्त गर्नु हो । गौरवको नियुक्तिको विषयलाई लिएर एन्फामा पनि तीन धार देखिन्छ । पूर्व अध्यक्ष थापा पक्ष, पंकज नेम्वाङ र पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्ष ।

अहिले शेर्पा पक्ष एन्फाको नियुक्तिको विषयलाई रमिता हेरेर बसेको छ भने थापा पक्ष आफ्नो तर्फबाट एन्फामा गौरवको आगमन चाहन्छ । उता, अध्यक्ष नेम्वाङ भने गौरवको नियुक्तिलाई नकार्दै आएका छन् । उसो त नेम्वाङले आफ्नो कार्यकाल सुरु हुनु पूर्व नै गौरवलाई एन्फाको कुनै एक पदमा भित्र्याउने बाचा गरेका थिए । पछिल्लो समय उनी उक्त बाचाबाट पछि हट्न खोज्दैछन् ।

थापा पक्ष उनको कुरालाई बेवास्ता गर्ने पाटोमा लागेको छ । नेम्वाङले नियुक्त गरेको विदेश विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गर्ने पक्षमा पनि थापा पक्ष लागेको छ । आफूलाई एन्फामा आएर सहयोग गरिदिन अध्यक्ष नेम्वाङ र महासचिव किरण राईले बारम्बार अनुरोध गरिरहेको गौरवले बताएका छन् । उनीहरूको अनुरोधमै आफूले एन्फामा आउने चासो देखाएको र अहिले उनीहरू नै दुई मतमा रहेको गौरवले बताए ।

गौरवले आफूलाई एन्फामा ल्याउँदा फिफा र एएफसीले कारबाही गर्ने भनेर एक समूह भ्रम फैलाउँदै हिँडेको आरोप पनि लगाए । ‘मलाई एन्फामा ल्याउँदा फिफा र एएफसीले कारबाही गर्ने भन्दै एक एक समूहले भ्रम फैलाउँदै हिँडेको छ । सत्य त्यो होइन । एन्फा अध्यक्ष र महासचिव दुवैले एएफसी र फिफा दुवैमा आधिकारिक रूपमा बुझ्नु भएको छ । केही फरक पर्दैन भन्ने आएको छ,’ गौरवले रातोपाटीसँग भने ।

गौरव थापा यसअघि पनि नेपाली फुटबलमा देखिरहने व्यक्ति हुन् । नेपाली फुटबलका लागि उनले गरेको कार्य हेर्दा उनीसँग धेरै अनुभव छ । सोही अनुभवलाई सार्थकता दिन अहिले आफू एन्फामा आउन चाहेको उनको भनाइ छ । उनले आफूले कुनै पनि पदका लागि एन्फासँग दबाब नदिएको पनि बताए । एन्फा नेतृत्वले नै आफूसँग सहयोग मागेको उनले बताए ।

फिफाको कारबाहीमा यसरी मुछिएका थिए गौरव

सन् २००७ देखि एएफसीका प्रतियोगिताहरूमा प्रतियोगिता म्यानेजरका रूपमा काम गरेका गौरव सन् २०१६ देखि फुटबलका कुनै पनि विषयमा संलग्न छैनन् । एन्फाको नेतृत्वमा पूर्व अध्यक्ष शेर्पा आएको भोलिपल्ट नै उनले राजीनामा दिएका थिए । आफ्नै बुबाको मुद्दा चलिरहेको समयमा छानबिनमा सहयोग होस् र नयाँ कार्यसमितिलाई काम गर्न सहयोग होस् भन्ने हिसाबले राजीनामा दिएको गौरव बताउँछन् ।

सन् २०१२ मा एएफसीका पूर्व अध्यक्ष मोहम्द बिन हमामले गौरवको खातामा एक लाख डलर हालेको खुलेपछि पूर्व अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको मुद्दा लागेको थियो ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका थापालाई एएफसी र फिफाले २०७२ सालमा दश वर्षको प्रतिबन्ध लगाएको थियो । हमामसँग थापाले १ लाख डलर लिएको २०१२ को जुनमा सार्वजनिक भएको थियो । हमाममाथि फिफाले अनुसन्धान गर्ने क्रममा एएफसीमा कार्यरत थापा पुत्र गौरवको खातामा हमामले १ लाख डलर हालिदिएको खुलेपछि थापा पनि अनुसन्धानको घेरामा परेका थिए । अनुसन्धानका क्रममा थापाले २०१० मै हमामसँग थप १ लाख १५ हजार पाउन्ड पनि लिएको त्यसकै एक वर्षअघि खुलेको थियो ।

२०५२ सालदेखि निरन्तर एन्फा अध्यक्षका रूपमा नेपाली फुटबललाई नेतृत्व गरेका थापा २०७२ बाट पूर्ण रूपमा फुटबलबाट दश वर्षका लागि बिदा लिए । एन्फाको नयाँ नेतृत्व आएसँगै गौरवले पनि एन्फाको फुटबलबाट बिदा लिए ।

पछिल्लो समय उनी फुटबलमा आउन खोज्दा झनै त्यो विषयले चर्चा पाएको हो । गौरवले उक्त समयमा आफ्नो खातामा आएको पैसा भूकम्पको समयमा सबैलाई बाँडेर सकेको बताएका छन् । हेटौँडामा आफूहरूले भूकम्प प्रभावित व्यक्तिहरूलाई सहयोग गरेको उनको भनाइ छ ।

‘मेरो खातामा भएको पैसा बुबा र म भएर भूकम्प प्रभावित व्यक्तिहरूलाई बाँडेका थियौँ । पैसा त्यतै खर्च भएको छ,’ गौरवले रातोपाटीसँग भने ।

गौरवका अनुसार हमामले उनलाई एएफसीको विभिन्न कोर्स गर्दा सहयोगका लागि पैसा दिएका थिए । उनले आफूलाई दिएको पैसामा बुबालाई कन्फ्लिक्ट अफ इन्ट्रेस्टको विषय जोडेर लिएको बताए । ‘हमामले मलाई विभिन्न एएफसीको कोर्स गर्दा सहयोग पुग्ने हिसाबले पैसा हालेका थिए । त्यो पैसा पछि अर्काे ठाउँमा लगानी भयो,’ गौरवले भने ।

यस्तो छ गौरवको फुटबलमा इतिहास

सन् २००७ देखि एएफसीका प्रतियोगिता प्रबन्धकको रूपमा प्रतियोगिता विभाजनको रूपमा २०११ सम्म काम गरे । गौरवले सन् २०१० फिफा विश्वकपको एक खेलमा रुष्टनबर्ग रंगशालामा ‘असिस्टेन्ट जर्नल कोअर्डिनेटर’ भएर काम गरे ।

त्यसपछि उनले सन् २०१२ को लन्डन ओलम्पिकमा पनि न्युक्यासल रंगशालामा ‘असिस्टेन्ट जर्नल कोडिनेटर’ को रूपमा काम गरे । उनले सन् २०१४ देखि २०१६ सम्म फिफाको म्याच कमिसनर भएर काम गरेको अनुभव छ । उनले यसै समयमा एएफसीको प्रतियोगिता प्रबन्धकको रूपमा काम गरे ।

गौरवले सन् २००७ देखि २०१२ सम्म एएफसीको प्रतियोगिता प्रबन्धकको रूपमा काम गरे । योसँगै उनले फिफा विश्वकपको एसिया छनोट, ओलम्पिक फुटबलको एसिया छनोट, एएफसी च्यालेन्ज कप, एएफसीका बिभिन्न उमेर समूहका प्रतियोगितासँगै कतारमा ब्राजिल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलमा पनि इभेन्ट म्यानेजरको रूपमा काम गरेका छन् ।

गौरवले क्लब प्रतियोगिताहरूमा एएफसी च्याम्पियन्स लिग, एएफसी कप, एएफसी प्रेसिडेन्ट कपमा पनि इभेन्ट म्यानेजरको रूपमा काम गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप