बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

जीवन धरापमा नपरेको भए टेलिभिजन छोडेर किन अमेरिका भाग्थेँ ?

शनिबार, ०७ साउन २०७९, १९ : ००
शनिबार, ०७ साउन २०७९

नेपालकी पहिलो र चर्चित समाचार वाचक हुन् रमा सिंह । करिब २५ वर्ष नेपाल टेलिभिजनमा उनले समाचार वाचन गरेकी थिइन् । समाचार वाचनका कारण सर्वसाधारणदेखि देश विदेशसम्म लोकप्रिय उनी टेलिभिजनमा थुप्रै विधामा क्रियाशील थिइन् । टेलिभिजनकै समाचार रिपोर्टिङको सिलसिलामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भ्रमणमा सरिक भएका कारण करोडको चन्दा डिमान्डदेखि ज्यान लिने धम्कीसमेत उनले खेप्नु पर्यो । सोही कारण टेलिभिजन नै छोडेर उनी अमेरिका पलायन भएकी थिइन् ।

महिला फुटबलको राम्रो खेलाडीसमेत रहेकी उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वकप्तान पनि हुन् । करिब ११ वर्षको अमेरिका बसाइपछि सिंह अहिले नेपाल आएकी छन् । उनै सिंहका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

म भेजिटेरियन
म भेजिटेरियन हुँ । माछामासुबाहेक सबै खानेकुरा मनपर्छ । मस्यौरा, गुन्द्रुक, भटमास, आलु, हरियो लसुन र धनियाँ हालेर बनाएको खानेकुरा धेरै मनपर्छ ।
रेस्टुरेन्ट रहरले जादिनँ । साथीभाइका कारणले कहिलेकाहीँ जानैपर्छ । रेस्टुरेन्टमा मीठो लाग्ने केही छैन । आफ्नै घरको खानेकुरा मीठो लाग्छ । पकाउन रुचि छ, सबैथोक पकाउँछु ।

नियमित योगा
फिट्नेसको मामलामा सजग छु । विगत २१ वर्षदेखि बिहान नियमित योगा गर्छु । योगाका धेरै आसनहरू गर्छु । समय मिल्यो भने दैनिक एक घण्टा रनिङ गर्छु । अहिले नेपाल आएपछि नियमित योगा गर्न पाएकी छैन ।

केको ब्रान्ड ?
पोसाकमा मनपर्ने सारीचोलो नै हो, सुहाउँछ पनि । क्याजुअल पहिरनमा टिसर्ट, पाइन्ट, सर्ट, कुर्था सुरुवाल लगाउँछु । सारी चोलो विवाह, सभा–समारोह र विशेष कार्यक्रममा प्रयोग गर्छु ।
पहिरनमा मनपर्ने रङ स्काई ब्लु, त्यसपछि हरियो । पहिरन धेरै रेडिमेड किन्छु । कहिलेकाहीँ सिलाउँछु । ब्रान्ड बनाउनुपर्छ भन्ने सोच भएकाले पहिरनमा ब्रान्ड हेर्दिनँ । आफूलाई मनपर्ने र सुहाउने लिन्छु ।

प्रेरणादायी पुस्तक
जीवनी र प्रेरणादायी पुस्तक पढ्छु । यीबाहेक विद्यार्थी जीवनदेखि नै रुचि थिएन । विश्व प्रसिद्ध व्यक्तिहरू, नेपालका ठूला व्यक्तिका बायोग्राफी भने खोजीखोजी पढ्छु ।
ट्राभलको समयमा प्रायः पढ्ने भएकाले किताब बोकेरै हिँड्छु । पछिल्लो समय पढेको पुस्तक बेनिजिर भुट्टोको ‘डटर अफ द इस्ट’ हो । 
 
औधी रुचि
देशको सबै ठाउँ मनपर्छ । ठाउँपिच्छे विशेषता पनि फरक फरक छन् । प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ घुम्न रुचि लाग्छ । मैले त देशका सबै जिल्ला घुमेकी छु ।
विदेशका पनि थुप्रै देश टेकिसके । अस्ट्रेलिया भने अहिलेसम्म गएकी छैन । त्यहाँ एक पटक जान मन छ ।

पूर्वकप्तान 
म खेलाडी पनि हुँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो कप्तान मै थिएँ । सानोमा भाइहरूसँग फुटबल खेल्थेँ । खेल्दै जाँदा राष्ट्रिय खेलाडी भएँ ।

मैले खेल्दा महिला राष्ट्रिय फुटबल खेल भर्खर भर्खर सुरुवात भएको थियो । मैले २, ३ वटा अन्तर्राष्ट्रिय खेल पनि खेले । जित्न भने सकेनौँ । अहिले वर्ल्डकप, एसियन कप, युरो कपलगायत विश्व प्रसिद्ध फुटबल गेम नियमित हेर्छु ।

यो साथी हो
अहिले मोबाइल नबोके संसार चल्ला र ? साथी, किताब, फिल्म हल सबैथोक हो अचेल मोबाइल । मसँग अहिले आइफोन र सामसुङ ग्यालेक्सी गरेर दुईवटा मोबाइल छन् ।

मोबाइल लेटेस्ट बोक्नै पर्छ भन्ने बानी छैन । मोबाइल हराएको र गिफ्ट पाएकी छैन । मोबाइलमा फोनको गर्नुको अलवा युट्युब, फेसबुकलगायत केही सामाजिक सञ्जाल चलाउँछु ।

हेर्थें फिल्म
अमेरिकामा नेपाली च्यानल आउँदैन थियो । नेटबाट हेर्दा क्वालिटी नराम्रो हुन्थ्यो । त्यसैले नेपाली टिभी हेरिएन । त्यहाँ कहिलेकाहीँ टीभीमा नेशनल जोग्राफी हेर्थें ।
नेपाली फिल्म नहेरेको धेरै भयो । पछिल्लो समय ‘झोला’ हेरेको थिएँ । यो फिल्म अमेरिकामै हेरेको हो ।

अमेरिकामा बलिउड फिल्म भने रिलिज भएकै दिन लाग्छ ।  छोरीलाई हिन्दी फिल्म मनपर्ने भएकाले दीपिका पादुकोण, रणवीर सिंह लगायतका फिल्म उनीसँग गएर हेर्थें । अन्यभन्दा ऐतिहासिक विषयवस्तुमा निर्माण भएका फिल्म मनपर्छ ।

नेपालकै पहिलो म
नेपालकै पहिलो समाचार वाचक हुँ म । नेपाल टेलिभिजनमा २५ वर्ष समाचार पढेर छोडेकी हुँ । टीभी अगाडि २०३९ मा रेडियो नेपालमा कार्यक्रम निर्माणको रूपमा जागिर थियो । समाचारसमेत पढ्थे । तत्कालीन टेलिभिजनका जीएम नीर शाहले रेडियोमा मेरो बोली सुनेपछि टेलिभिजन बोलाउनुभयो ।

नेपाल टेलिभिजनमा समाचार पढ्ने, क्यामरा चलाउने, भिडियो सम्पादन गर्ने, रिर्पोटिङ गर्ने लगायत धेरै विधामा म क्रियाशील थिए । सुरुमा टेलिभिजन मेरो पद कुनै थिएन । जब दरबन्दी सुरु भयो त्यो समय पहिले अनाउन्सर भएँ, त्यसपछि समाचार रिर्पोटिङ हुँदै निर्देशक भएर छोडेकी हुँ ।

पञ्चायतकालमा समाचारमा सेन्सरसिप थियो । अहिले समाचारमा इन्डिभिजुअल सेन्सरसिप छ ।

नेपाल टेलिभिजनको समाचारको कारणले मलाई धेरैले चिन्छन् । समाचारको सिलसिलामा म तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग जिल्ला भ्रमणसमेत गरेँ । त्यही कारणले धम्कीहरू आउँथे । त्यो समय सशस्त्र युद्ध जारी थियो । राजासहित हामी बसेको सुर्खेतको होटलमा बम समेत भेटियो ।

म रिपोर्टिङको सिलसिलामा जिल्लामा हुँदा यहाँ मेरो घरमा फोन गरेर ज्यान मार्ने धम्की दिन्थे । पुँजी वादीको किन सेवा गरेको ? हामी भूमिगत सङ्गठनका हौँ भनेर धम्क्याउँथे । एक करोड डिमान्ड गर्थे । त्यस्ता धम्की झापा, नवलपरासी, बुटवललगायत धेरै ठाउँबाट आउँथे ।

त्यो समय मसँग ३ वर्षकी छोरी थिइन् । एक पटक धम्कीको फोन उनले उठाइछन् । छोरीलाई भनेछन्, ‘तेरो मामुले एक करोड दिइनन् भने त्यसलाई पनि मारिदिन्छु । तिमीलाई पनि किडन्याप गरेर हात बाँधेर जेलमा राखिदिन्छु ।’ त्यो समयपछि छोरीको साइकोलोजी बिग्रियो । घरमा काम गर्ने मानिसको मदतले यो थाहा पाएँ ।

त्यसपछि स्कुलमा पटक पटक छोरीको अपहरण प्रयास पनि भयो । एक दिन मेरै अगाडि झन्डै लगिएको थियो । म कराएपछि अपहरणकारी भागेका थिए ।

त्यो कुरा अमेरिकामा रहेकी दिदीले थाहा पाएपछि नेपाल छोड्न अनुरोध गरिन् । त्यसपछि म अमेरिका उडे । ज्यान धराप नपरेको भए टेलिभिजन छोडेर म किन अमेरिका जान्थेँ र ?  आफ्नो र छोरी प्राण, छोरीको भविष्य दुवै सोचेर नेपाल टेलिभिजनबाट बिदामा अमेरिका उडे । राजीनामा उतैबाट पठाएकी थिएँ । त्यतिबेला पत्रकारितामा अहिलेजस्तो दाम थिएन । अनुशासन, नाम, इज्जत र निष्‍ठाका लागि पत्रकारिता गरिन्थ्यो ।


 
डिभोर्स भइसक्यो
विवाह २०५६ मा गरेकी थिएँ । अहिले एक्ली छु । अहिले मैले डिभोर्स गरिसके । छोरी पाँच वर्षको हुँदा डिभोर्स भयो ।

टीभी खोल्छु
व्यक्तिगत सपना केही छैन । भएकी एउटी छोरी अमेरिकामा स्थापित भइहाली । अहिलेको राजनीतिक परिस्थितिले कुनै दिन देश हराउँछ कि जस्तो डर लाग्छ । त्यसैले नेपाली नै भएर मर्न पाए हुन्थ्यो भन्ने सपना छ ।
एउटा टेलिभिजन खोल्ने इच्छा थियो । त्यही उद्देश्यले नेपाल आएकी थिएँ । धेरै पत्रकार मित्रहरूले अहिलेको परिस्थिति म अमेरिका जाँदाको जस्तो छैन, केही समय यहाँको अवस्था बुझेर खोल्न सुझाए । त्यही भएकाले अहिले बुझ्दैछु, इच्छा मरेको छैन ।

म कलाकार
मैले एउटा ‘वासुदेव’ भन्ने फिल्म खेलेकी छु । नीर शाहका कारणले त्यो फिल्ममा छोटो भूमिका गरेकी थिए । त्यो फिल्मको हेरोइन भने होइन, ग्रुपमा मेरो अभिनय थियो ।  

गीतसङ्गीत सुन्छु
गीतसङ्गीत नसुन्ने मानिस कसरी बाँच्छ होला र ? सेन्टिमेन्टल गीतहरू धेरै मनपर्छ । म आफैँ पनि गीत लेख्छु । एउटा एल्बमसमेत बनाएको थिए । अमेरिका उडेकाले बाहिर ल्याउन सकिनँ ।
एउटा गीत रेडियो नेपालमा पनि गाएको थिएँ । अव केही गीत आफ्नै स्वरमा ल्याउने विचार छ । यही सपनाभन्दा पनि हुन्छ । हिन्दी, नेपाली, अङ्ग्रेजीबाहेक अन्य भाषाका गीत नबुझे पनि सङ्गीत सुन्छु ।

दुःख फिल
आफूले भने जस्तो, चाहेजस्तो भएन भने दुःख फिल हुन्छ । त्यसैले पुग्ने कुरोको चाहना राख्नुपर्छ । धेरै महत्त्वाकाङ्क्षी भइयो भने जीवन दुःखी हुन्छ । मानिसले आफ्नो धरातल हेरेर चाहना राख्दा जिन्दगीमा कहिल्यै दुःख पर्दैन भन्ने मेरो बुझाइ हो ।

जीवन के ?
जीवन एउटा प्रकृतिको सुन्दर देन हो । मानिस त्यसको एउटा अङ्ग हो । ऊ, जन्मन्छ, फुल्छ र झर्छ । जीवन यही हो । 

छैन भूल
मबाट जीवनमा भूल भएजस्तो लागेकै छैन । त्यसैले पछुतो पनि कहिल्यै गरेकी छैन । अहिलेसम्म पनि जिन्दगीमा केही भूल भयो कि भन्ने पनि लाग्दैन ।

अमेरिकामा व्यवसाय
अमेरिकामा मैले दुई वर्ष जति अमेरिकन नेपाली टेलिभिजन भनेर कम्युनिटी टेलिभिजन चलाएँ । त्यसपछि ग्रोसरी स्टोर खोलेर व्यवसाय गरेँ । त्यो कोभिडको समय बेचिदिएँ । त्यसपछि होटल म्यानेजमेन्ट पढेर अहिले नेपाल आएँ ।

यो खराब बानी
जसलाई पनि चाँडो विश्वास गर्छु । त्यसका कारण धेरै पटक धोका खाएकी छु । अर्काे खराब बानी प्रस्ट र साँचो बोल्नु हो । अहिले त साँचो पनि बोल्नुहुँदैन रहेछ । यसले कैयौँ पटक समस्या पारेको छ ।

रोग छैन
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन । सामान्य रुघाखोकी ज्वारो त यहाँको धुलो, धुवाँ र वातावरणको कमालले दिन्छ । ११ वर्ष  अमेरिका बस्दा त टाउको समेत दुखेन ।

मापसे गर्दिनँ
मापसे कहिल्यै गर्दिनँ । छोरी जन्मिएपछि शरीर बाँध्छ भनेर धेरै आफन्तले भनेपछि वाइन खाएको थिएँ । त्यो समय झन्डै एक महिना नियमित एक ग्लास वाइन खाएँ । त्यस अगाडि र पछाडि पनि कहिल्यै मापसे गरेकी छैन ।

राशि ‘कर्कट’
मेरो राशि ‘कर्कट’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने धेरै गर्छु । तर यसको भरमै पर्दिनँ । पूजा पाठमा विश्वास गर्छु । विश्वास भए पनि कर्म नगरी बस्नेमा म पर्दिनँ । 

मृत्यु सत्य हो
मृत्यु जीवनको अन्तिम सत्य हो । एक दिन अवश्य आउँछ । समय आए पनि मृत्यु हुन्छ । मृत्यु पैसा वा अन्य केहीले रोक्न, टार्न  सकिँदैन । त्यसैले जिउँदो छँदा हामीले मृत्युपछि बाँच्ने काम गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप