‘त्यसैले म भनेपछि हिरोइनको भिड लाग्थ्यो’
नेपाली फिल्म क्षेत्रका एक सफल निर्देशक हुन् नारायण पुरी । करिब तीन दर्जन फिल्म निर्देशन र थुप्रै अडियो, भिडियो, प्रोजेक्ट गरेका पुरीसँग काम गर्ने हरेक कलाकारको सम्मान हुन्थ्यो ।
हिट फिल्मका फ्याक्ट्री थिए उनी । फिल्मका अतिरिक्त इमेजदेखि हिमालयनसम्म ४ वटा टेलिभिजन स्थापना गरेको जससमेत उनलाई जान्छ । नाटक, अभिनय हुँदै निर्देशनमा होमिएका पुरी ६ वर्षयता अमेरिका रहँदै आएका छन् । पछिल्लो केही महिनायता पारिवारिक कामको सिलसिलामा नेपाल आएका उनी निर्देशकमा कमब्याक गर्ने तरखरमा पनि छन् । उनै पुरीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
गुगलले सिकायो
सामान्य खाना दालभात, रायोको साग, पोलेको गोलभेँडामा टिम्बुर हालेको अचार र कुखुराको ग्रेभी मासु मनपर्छ । खसीको पक्कु पनि मनपर्छ । पहिले रामतोरिया, भ्यान्टा, पर्वल मनपर्दैन थियो ।
रेस्टुरेन्ट साथीभाइ, आफन्त सबैसँग जान्छु । रेस्टुरेन्ट अनुसारको मुस्ताङ्गे आलु, टिम्बुर, चिकेन, दाल मकानी मनपर्छ । पहिले पकाउन आउँदै थियो । अमेरिकामा काम गर्ने मानिसको अभावले आफैँ रेस्टुरेन्टको काम गर्नुपर्दा गुगल, श्रीमतीको सहयोगबाट सिके ।
सजक छु
फिटनेसमा सजक छु । नियमित कसरत गर्दिनँ । अमेरिकामा ट्रेडमिल, मनिङवान नियमित गर्थे, नर्मल एक्सरसाइज समेत गर्थे । नेपालमा भेटघाट, काम र आमाको स्वास्थ्यमा ध्यान दिनुपर्ने भएकाले एक्सरसाइज गर्न पाएको छैन । घरमा एक्सरसाइजका सामान पनि छैन ।
सौखिन छैन
पोसाकमा सौखिन छैन । नर्मल र राम्रो लगाउनुपर्छ । टिसर्ट, सर्ट, जिन्स पाइन्टलगायत मनपर्छ । धेरै मनपर्ने दौरा सुरुवाल र टोपी हो । विवाह, विशेष कार्यक्रममा लगाउँछु ।
मेरो वर्ण कालो भएकाले पहिरन कालै मनपर्छ । कालो पहिरन आफूले लगाउँदा अरूको ध्यान मतिर एकाग्र हुन्छ जस्तो लाग्छ । पहिरन रेडिमेड र सिलाएर पनि लगाउँछु । आफूलाई सुहाउँदो हुनुपर्यो ब्रान्ड खोज्दिनँ ।
रुचि धेरै
जति नै व्यस्त भए पनि अध्ययन गर्छु । पहिले बिहान उठेपछि दुई घण्टाजति पत्रपत्रिका, पुस्तकलगायत पढ्थेँ । अहिले विश्वका पुस्तक, पत्रपत्रिका सबै डिजिटलमा प्लेटफर्ममा पढ्छु ।
बिहान अध्ययनबाट अघिल्ला दिनका सबै कुरोको अपडेट राखिन भने कुहिरोको काग जस्तो हुन्छु । मौलिक, यथार्थपरक कथा र कमेडीका पुस्तक पढ्छु ।
रोम जाने मन
घुमघाम रुचि छ । फिल्म सुटिङको सिलसिलामा धेरै ठाउँ घुमियो । त्यो समय लोकेसन हन्टिङ भनेपछि ज्वरो पनि निको हुन्थ्यो । पछिल्लो समय अमेरिकाको डाँडाकाँडा, तालतलैय हेर्दा देशको हरेक ठाउँ प्यारो लाग्न थालेको छ ।
त्यसैले देशका विभिन्न ठाउँ र कुनाकन्दरा घुम्न थालेको छु । देशका करिब ४८, ४९ जिल्ला टेकेँ । विदेशका २८, ३० राष्ट्र पुगेको छु । नेपालको खप्तड, मुस्ताङ र विदेशको रोम जान मन छ ।
फुर्सद राख्दिनँ
आफूलाई फुर्सद राख्दिनँ । फुर्सद भयो कि पढ्ने, फिल्म हेर्ने गर्छु । साथीभाइ, आफन्त पनि भेट्छु । पहिले फुर्सद हुँदा दिक्क लाग्यो र भेटघाटका लागि साथीभाइको फुर्सद छैन भने आर्यघाट गएर लास जलाएको हेर्थेँ । अन्तिम त सबैको यही हो भनेर मन शान्त बनाएर फर्किन्थे ।
खेलाडी थिएँ
पहिले भलिबल र ब्याडमिन्टन राम्रो खेल्थेँ । भलिबलको त नेसनल खेलाडी थिए । स्कुले जीवनमा भलिबलबाट विभिन्न पुरस्कारसमेत हात परेको छु । कलेजमा पनि खेल्थे । जब कलाकारिता सुरु भयो खेलकुद छुट्यो ।
जहिले पनि सामसुङ
मसँग एउटा सामसुङ ब्रान्डको मोबाइल छ । मोबाइलमा मेरो कहिल्यै सोख बसेन भने घडी र कलम कहिल्यै किनिनँ । धेरै उपहार आउँछ । अहिले पनि उपहार आएका ५, ७ वटा घडी स्टक छन् ।
सामसुङ ब्रान्ड नेपालमा दीपक मलहोत्रा दाइको हो । त्यसैले पहिलेदेखि नै नयाँ आउने बित्तिकै आएर लैजाऊ भन्नुहुन्थ्यो । त्यसैले सामसुङका धेरै मोडलबाहेक केही पनि बोकिनँ । मोबाइल फोन गर्नको अलावा इमेल, फेसबुकलगायत सामाजिक सञ्जाल चलाउन प्रयोग हुन्छ ।
नेटफ्लिक्स हेर्थेँ
टीभी हेर्छु । बीबीसी, सीएनएनदेखि लिएर नेपालका अधिकांश टीभीका समाचार हेर्छु । टप स्टोरी पनि हेर्छु ।
अमेरिकामा हुँदा टीचीमा नेटफ्लिक्स हेर्थेँ । त्यसका विषयवस्तुु मनपर्थ्यो । नेपाल आएको झन्डै साढे तीन महिना भयो । टीभी मैले हेर्न पाएको छैन ।
जागिर होइन
२०४१, ०४२ सालतिर आईएसी पढ्ने बेला तत्कालीन शिक्षा राज्यमन्त्री तथा साहित्यकार क्षेत्रप्रताप अधिकारीको सहायक भएर काम गरेको थिएँ । उहाँसँग साहित्य सिक्ने अवसर मिल्यो । उहाँका गीतका कारण नारायण गोपालसँग बस्ने र साहित्य लिएर चाँदनीशाहसँग भेट्ने अवसर प्राप्त भएको थियो । त्यसपछि जागि र गरिनँ ।
अमेरिका जानुअगाडि हिमालय टेलिभिजनको सुरुवात समयदेखि नै सीईओ, चिफ एक्जुकेटिभ प्रोडुसर भएर रहेँ । हिमालयनको अलावा इमेज, च्यानल नेपाल, एभिन्युज गरेर ४ टेलिभिजन स्थापनाको जस मलाई जान्छ ।
विश्वास थियो
नाटकबाट मेरो कलाकारिता सुरु भयो । २०४१, ०४२ मा त्रिचन्द्रमा साइन्स पढ्थेँ । एक जना साथी विष्णुश्याम मल्लसँग नाचघरमा नाटक हेर्न जाँदाजाँदै त्यसैमा होमिएँ । नाटकमा म ३, ४ वटा रोलमा अभिनय, निर्देशन, माइकिङ गर्नेदेखि टिकट समेत बेच्थेँ ।
नेपाल टेलिभिजन सुरु भएपछि उदयसिंह बोहोराको बालटेलिफिल्म लेखन तथा सहायक निर्देशकबाट टेलिभिजन यात्रा सुरु गरेँ । त्यसपछि नीर शाहले केही काम आफैँ गर भन्नुभयो । प्रभातकालीन कार्यक्रममा मुकुन्द श्रेष्ठको सहायक हुँदै ‘जनैको साँचो’, ‘बिना चिहानको मृत्यु’ ‘भिडदेखि भिडसम्म’ लगायत थुप्रैमा सिरियलमा सहनिर्देशक भएर काम गरेँ । आफैँ पनि निर्देशक, अभिनय गरे । त्यो समय म पत्रकारितामा पनि थिए ।
२०४८, ०४९ तिर शैलेस आचार्य र चिरञ्जीवी बस्नेतले यो केटो राम्रो छ । पत्रकार पनि हो, काम पनि राम्रो गर्छ भनेर फिल्म ‘तपस्या’का लागि बोलाए । पहिलो दिनको सुटिङमा एक्सनकटको जिम्मेवारी दिए । त्यो दिन ५ सिन सकियो । ५ सिन भनेको राम्रो काम मानिन्थ्यो । खुसीले सुटिङपछि सबै युनिट खानपिनमा थियौँ । त्यो समय मैले आफूलाई फिल्मको सहायक निर्देशक ठान्थेँ । शैलेस दाइले निर्देशक नै तिमी हौ भन्नुभयो । त्यसपछि भोलिपल्ट सुटिङ रोकेर म स्क्रिप्ट पढेर तयारीका साथ निर्देशनमा होमिएँ । त्यो समय म १९ वर्षको थिएँ ।
त्यसपछि सौता, महादेवी, सान्नानी, रगत हुँदै पछिल्लो अल्पबिरामसम्म आउँदा २९ फिल्म निर्देशन गरेका रिलिज भए । मान्छेकोे माया र मातृभूमि दुई रिलिज हुन पाएन । पोस्ट प्रोडक्सन हेर्न राजु मानन्धरको मृत्यु भएकाले प्रोजेक्ट कहाँ छ । अहिले पनि थाहा छैन ।
सिरियल निर्देशन, लेखनको अलावा अभिनय पनि गर्थेँ । डकुमेन्ट्री ‘बीपी मन्थन’मा मैले बीपीको बुबा कृष्णप्रसाद बनेर चर्चासमेत पाएको थिएँ । त्यो समय अभिनयका लागि धेरै नयाँ अनुहार आउँथे । लेखन, निर्देशकको अलावा अभिनय गर्दा अरुले अवसर खोसिको अनुभव गरे । त्यसपछि अभिनय छोडे ।
थुप्रै टेलिसिरियल, ८० भन्दा बढी डकुमेन्ट्री, टीभीसी, पियसए, एनजीओ आईएनजीयोलगायतका थुप्रै अडियो, भिडियो प्रोजेट गरियो ।
मलाई अधिकांश फिल्ममा बलात्कारको सिन राख्ने निर्देशक भन्छन् । त्यो आरोप सही हो । त्यो समय एलएसीएस अर्थात् लभ, एक्सन, कमेडी र सेन्टिमेन्ट फर्मुलामा फिल्म बन्थ्यो । बलात्कारको दृश्य त्यो फर्मुलमा पर्थ्यो । फिल्ममा हिरोइनको रेप हुँदा हिरो उडेर बचाउन आउँथ्यो । दर्शक त्यसमा रमाउँथे । हामीलाई पैसा कमाउँथ्यौ । परिवार पाल्न मैले व्यावसायिक फिल्म बनाउनैपर्थ्यो । त्यसैले त मैले गुरु र त्यही स्तरका व्यक्तिलाई कहिल्यै बोलाएर फिल्म देखाइनँ । अब भने मौलिक र व्यावसायिक फिल्म बनाउँछु । अहिले फिल्ममा जुन परिवर्तन आयो । त्यो मेरो सपना र प्रयास पनि हो ।
सानैमा विवाह भएकाले परिवारप्रति इमानदार थिए । त्यसैले फिल्म निर्देशक म भनेपछि त्यो प्रोजेक्टमा हिरोइनहरूको भिड लाग्थ्यो । मसँग काम गर्न सबै तयार थिए । कलाकार र युनिटको भन्ने मतलब थिएन । निर्देशक म भए पुग्थ्यो । मैले जति पनि कलाकारसँग काम गरेँ कुनै कलाकारसँग सम्झौता गर्नुपरेन । त्यो मप्रतिको विश्वास हो । एक फोनमा काम गर्न सबै तयार हुन्थे । फिल्म उद्योगमा मेरो कहिल्यै ग्ल्यामर गसिप बनेन, हिरोइनसँग नाम जोडिएन ।
मसँग हिरोइनले सुरक्षित ठान्थे । मलाई सुहाउने रोल भए सानै भए पनि नारायण पुरीले दिन्छ र उसको फिल्म गर्न पाए म हिट हुन्छु भन्ने विश्वास सबैमा थियो ।
कलाकारको मप्रतिको त्यो सम्मान र माया अहिले छ । १९, २० जना त मैले लिड कलाकार फिल्ममा भित्र्याएको छु । जसमा रमेश उप्रेती, दिलीप रायमाझी, सुशील क्षेत्री, सारङ्गा श्रेष्ठ, विपना थापा, तुलसा पर्छन् ।
सपना त्यही हो
नेपाली फिल्म उद्योग व्यवस्थित भएको, मूलधारको फिल्मले दर्शक पाएको, नेपाली फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा चर्चा कमाएको, नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा चलेको हेर्ने सपना छ ।
म पनि आफ्नो हिसाबले त्यसका लागि पहल गरिरहेको छु । नेपाली फिल्म बाहिर लैजाने र बाहिरबाट फिल्म मेकर भित्र्याउने गर्यो भने नेपाली फिल्मको विकासका लागि अन्य केही गर्नुपर्दैन ।
प्रेम विवाह गरेँ
२०४६ सालमा मैले प्रेम विवाह गरेको हो । पहिले उनी मैले ट्युसन पढाउनेको साथी थिइनँ । प्रेम भएपछि मसँग पनि पढ्न थालिन् । एक समय म नराम्रोसँग बिमारी परेको थिए । त्यो समय उनले मेरो निकै हेरचार गरिन् । म मायाको खोजीमा थिए । उनीसँग प्रेम भयो । त्यो समय शालीन प्रेम हुन्थ्यो । डेटिङ हुँदैन थियो ।
करिब एक वर्षको प्रेमपछि हामीले भागेर पोखरा पुगेर विवाह गर्यौँ । म सन्यासी र उनी नेवार थिइन् । हामीले अन्तरजातीय विवाह गरेका थियौँ । विवाहपछि त्यो प्रेम झन् गाढा भयो ।
कालजयी गीतहरू
गीत सङ्गीतमा रुचि छ । मेलोडियस् र कालजयी गीतहरू सुन्छु । नारायण गोपालका गीतहरू, गुलाम अलिका गजलहरू जस्ता भाव र मुर्छना भएको गीत मनपर्छ । दिमाग र मन शान्त पार्ने गीत मनपर्छ । हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका गीत सुन्छु । लोकदोहोरी त अलिअलि म पनि गाउँछु ।
भूल भयो
जीवनमा केही भूल भएको छ, पछुतो पनि लाग्छ । म साइन्सको राम्रो विद्यार्थी थिएँ । केही वर्ष कलाकारितामा नलागेर पढेको भए अहिले डाक्टर हुन्थेँ । मेरो नाम डा. नारायण पुरी हुन्थ्यो । त्यो समय पढाइ छोड्नु भूल भयो ।
रोग
भगवानका कृपाले अहिलेसम्म ठूलो रोग केही छैन । ग्यास्टिकको समस्या छ । यो फिल्म उद्योगले दिएको हो । फिल्मको काम कहिले त तीन दिनसम्म पनि भोकै गरियो । त्यसले ग्यास्टिक रोग देखियो ।
अर्काे समस्या शरीरमा ब्याकपेन हुन्छ । वृत्तचित्र बीपी मन्थन अभिनय सिलसिलामा हतकडी लगाएर नख्खु जेलबाट हाम फल्दा ढाड सड्किएको थियो । त्यो अहिले समस्याका रूपमा देखा पर्यो ।
खराब बानी
म मानिसलाई चाँडो विश्वास गर्छु । आत्मीयता साट्दै सबै कुरो खोल्छु । त्यसले मलाई धेरै घाटा गरेको छ ।
थोरै मापसे
पहिले बियर पिउँथे । पछिल्लो समय डक्टरको सल्लाहले दुई पेग ह्विस्की खान्छु । पहिले ब्रान्ड हेर्दिनँ थिए । अहिले सिङ्गलमट मात्र खान्छु ।
घरमा बार बनाएर रक्सी सजाएर राखेको छु । सुटिका लागि चाहिने भएकाले त्यसको सोख भयो ।
व्यवसाय पनि छ
पहिले कलाकारिताका विभिन्न माध्यमबाहेक केही काम थिएन । त्यसैले अहिलेसम्म मेरो नाममा न घर, न गाडी छ । अमेरिकामा गएपछि व्यवसाय गर्न सिकियो । अहिले अमेरिकामा केही ग्यासस्टेसन र दुईवटा रेस्टुरेन्ट छन् ।
राशि ‘वृश्चिक’
मेरो राशि ‘वृश्चिक’ हो । ग्रहदशामा कहिलेकाहीँ विश्वास लाग्छ । हेराउने जुराउने म गर्दिनँ । त्यो श्रीमतीले गर्दछिन् । त्यसैले श्रीमतीले भनेका अधिकांश कुरो म मान्छु । मन्दिर नगए पनि आँखा चिम्म गरेर आफू पुगेका मन्दिर र देवाताको स्मरण गर्छु ।
मृत्यु सत्य हो
मृत्यु सत्य हो ।
‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरो मर्न बाँकी छ
कवि क्षेत्रप्रताप अधिकारीको यो गीत मेरो दिमागमा छ । यसले मृत्यु छ भन्ने बुझाउँछ । अगाडि बढ्न हौसल दिन्छ । मर्न डर छैन । सहयोगीको ऋण तिर्न सकियो कि सकिएन । त्यो कुराको डर छ ।