शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी केन्द्र बनाउने बहस : कामभन्दा हल्ला बढी

नेकपा झुन्ड्याउने/नझुन्ड्याउनेमा नै विवाद
बुधबार, ११ साउन २०७९, १३ : ५९
बुधबार, ११ साउन २०७९

समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्य सहित जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष छलफलमा जुटेका छन् । तर समाजवादी केन्द्र बनाउने बहस कागजमा जति तातेको छ, वास्तविकतामा भने त्यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको छ । 

चार पार्टीहरू आ–आफ्नै अडानमा रहेकाले समाजवादी केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेको नेताहरूले बताएका छन् । केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिरमा हुने प्रदेश र संघको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई गत हप्ता भेटेर आग्रह गरेका छन् । 

समाजवादी केन्द्र बनाउने बहस सबैभन्दा पहिले बाबुरामले सुरु गरेका थिए । जसपामा उपेन्द्र यादव सहित एउटै पार्टीमा हुँदा उनले यो विषयको उठान गरे पनि उनीसहित नौ जना नेता जसपाबाट निकालिएपछि मात्र केन्द्र बनाउने बहस तातेको हो । सुरुमा समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा बाबुरामबीच मात्रै छलफल चलेको थियो । प्रचण्ड र बाबुरामबीच बहस तन्किँदै गएपछि तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यमा समेत यसले प्रवेश पाएको हो । 

अहिले चार पार्टीबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलिरहेको माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा मन्त्री देवेन्द्र पौडेलले बताए । ‘समाजवादी केन्द्र बनाउने विषयमा छलफल र बहस जारी छ । शीर्ष तहमा नेताहरुबीच भेटघाट भइरहेको छ’ रातोपाटीसँग कुरा गर्दै पौडेलले भने,‘तर, पार्टीको आकार देखिने गरी काम भएको छैन । कुनै औपचारिक निर्णय भएको छैन  ।’

केन्द्र बनाउने विषयमा काम भन्दा बढी हल्ला भएको भन्दै पौडेलले आपत्ति पनि  जनाए । ‘हामीले असल मनसायले छरिएर रहेका दललाई एक ठाउँमा ल्याउने गरी   केन्द्र बनाउन भेटघाट थालेका हौँ । औपचारिक निर्णय हुने गरी काम भएको छैन’ उनले भने, ‘तर पार्टी बाहिर धेरै हल्ला भइसक्यो । कहिले त्यो भयो, कहिले यो भयो भनेर अनेक खबर बाहिरिए । देखिने गरी केही भएको छैन ।’ 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै घोषणापत्र र एउटै चुनाव चिन्ह लिएर प्रदेश र संघको चुनावमा जान प्रस्ताव गरेको अर्का एक स्थायी समिति सदस्यले बताए । माओवादीले प्रयोग गर्दै आएको गोलाकार भित्रको हँसिया हथौडा लिएर जानुपर्ने मत राखेका हुन । तर, एकीकृत समाजवादी र जसपा बाबुराम पक्षले एउटै मोर्चा बनाए पनि आ–आफ्नो चुनाव चिन्हमा जानुपर्ने मत राखेका छन् । एउटै घोषणापत्र लिएर गए पनि एउटै चुनाव चिन्ह लिएर जाँदा समानुपातिक मतमा असर पर्ने भएकाले असहमति राखेका हुन् । 

समाजवादी केन्द्र बनाउने विषयमा नाममा समेत सहमति भई नसकेको ती नेताले दाबी गरे । ‘नेकपा समाजवादी केन्द्र बनाउने विषयमा सबै पक्ष सहमत हुनुहुन्छ । बाबुराम जी मान्नु हुन्न । नेकपा किन राख्नपर्‍यो भन्नुहुन्छ,’ ती नेताले भने, ‘उता बाबुरामबाहेक सबै नेताहरूको नेकपा राख्नैपर्छ भन्ने अडान छ । पार्टीको नामका विषयमा पनि सहमति भइसकेको छैन ।’ समाजवादी केन्द्र बनाएर एउटै पार्टीमा हुँदा चार पूर्व प्रधानमन्त्री हुने भएकाले नेताको व्यवस्थापनसमेत चुनौती हुन सक्ने आङ्कलन छ । 

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि समाजवादी केन्द्र बनाउने विषयमा छलफलभन्दा हल्ला बढी भएको बताए । समाजवादी केन्द्र बनाउने विषयमा सामान्य छलफल मात्रै भएको छ । त्यस्तो कुनै ठोस आकार दिएको छैन’ भुसालले भने, ‘बाहिर चाहिने भन्दा बढी हल्ला भयो । काम केही हुन पाएको छैन ।’

समाजवादी केन्द्र बनेमा ५० प्रतिशत दाबी गर्ने तयारी 

गठबन्धनमा सहभागी चार पार्टीको एउटै केन्द्र बनेमा काँग्रेससँग ५० प्रतिशत दाबी गर्ने तयारी गरेका छन् । प्रतिनिधि सभामा कुल १६५ सीटमा काँग्रेससँग  केन्द्रले आधा लिने योजना बनाएको गठबन्धनका एक नेताले बताए ।  अहिले काँग्रेस एक सय सीट लिएर बाँकी गठबन्धनका चार दललाई दिने बताउँदै आएको छ । यस्तो अवस्थामा समाजवादी केन्द्र बनाएर काँग्रेससँग ‘बार्गेनिङ’ गरेर आधार बन्ने बताएको छ । त्यसैले समाजवादी केन्द्रको नाममा एक ढिक्का भई काँग्रेसमाथि दबाब बढाउन लागि परेका छन् । यदी काँग्रेससँग सम्मानजनक सीट नपाए एमालेसँग समेत छलफल हुन सक्ने नेताहरू बताउँछन् ।

यी हुन समाजवादी केन्द्र बनाउने बहसमा सहभागी 

समाजवादी केन्द्र बनाउने बहसमा शीर्ष नेताहरू नै सहभागी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल  छन् । जसपा बाबुराम पक्षबाट बाबुराम भट्टराई, नेता महेन्द्र राय यादव र गंगा श्रेष्ठ छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफै छन् । शीर्ष नेताको तहमै छलफल भई रहेकाले धेरै नेताहरू समाजवादी केन्द्र बन्नेमा आशावादी देखिएका छन् । समाजवादी केन्द्रका विषयमा धेरै चर्चा हुन थाले पनि दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व समक्ष जिज्ञासा राख्न थालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप