शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी केन्द्र : तयार हुँदैछ ‘थर्ड पोल’ !

एकता संयोजन समिति बनाउने तयारी
शनिबार, ०७ साउन २०७९, १३ : ४२
शनिबार, ०७ साउन २०७९

‘पुरानोको ध्वंस बिना नयाँ निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ । नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ । अतः फुटेका हाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नु सट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?’

तत्कालीन जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले २०७७ साल चैत ६ गते बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए । योसँगै बाबुरामले समाजवादी ध्रुवीकरणमा जाने बहस प्रारम्भ गरे ।

तत्कालीन नेकपाको बहुमत सरकार छिन्न भिन्न भएपछि सर्वोच्च अदालतको एमाले–माओवादी ब्युँताउने फैसलाले तत्कालीन नेकपा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाललाई नराम्रोसँग थचारिएका थिए । त्यति नै बेला प्रचण्डलाई फागुन २५ गते भेटेपछि  बाबुरामले समाजवादी ध्रुवीकरणमा जान आह्वान गरेका थिए । 

त्यसपछि प्रचण्ड–बाबुराम निरन्तर उपराष्ट्रपति नन्दबहादुर पुन निवास भेट्न थालेपछि सम्बन्ध नजिक हुँदै जान थाल्यो । बाबुरामले सामाजिक सञ्जाल ट्वीटरबाटै फेरि २०७८ साल साउन २४ गते समाजवादी ध्रुवीकरणमा लाग्ने कि भन्दै प्रश्न गरे :

‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’

जसपामा उपेन्द्रसँग बढ्दै गएको तिक्तता र कमजोर बन्दै गएका प्रचण्ड–माधवलाई समेत इङ्गित गर्दै उनले यो लेखेका थिए ।

सामाजिक सञ्जालमा समाजवादी केन्द्र बनाउने बहस उल्लेख गरे पनि पार्टी बैठकमा भने बाबुरामले आधिकारिक दस्तावेज भने पेश नगरेको नेता डम्बर खतिवडा बताउँछन् । तर, सामाजिक सञ्जालमा भने उनले समाजवादी केन्द्र बनाउने विषय नियमित उठाइरहे । त्यो बहसले अहिले आएर बिस्तारै आकार लिन थालेको हो । 

000

कुनै समय  माओवादी तीन धार हुँदा बाबुराम शान्ति र संविधानको रटान लगाएर प्रचण्ड र वैद्यलाई असफल साबित गराएर आफ्नो मिसनमा सफल भएका थिए । तर आफै वैकल्पिक शक्ति बनाउने उद्घोष गरेका बाबुराम असफल भए । अहिले फेरि बाबुराम समाजवादी केन्द्र बनाउने भन्दै घनिभूत बहस र छलफलमा जुटेका छन् । प्रचण्ड–माधवसहित आफ्नो समेत घट्दै गएको शक्ति आर्जन गर्ने अस्त्रको रूपमा समाजवादी केन्द्रको ठुलो घान हालेका छन् ।

बाबुरामले माओवादी केन्द्रमा नफर्किने अडान लिएपछि प्रचण्ड पनि समाजवादी केन्द्र बनाएर तेस्रो ठुलो शक्ति बनाउन आत्मविश्वासका साथ लागेका छन् । त्यसमा तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूलाई समेत जोडेर ‘थर्ड पोल’ खडा गर्न सकिन्छ कि भनेर उनी जुटेका छन् । त्यसरी तेस्रो पोल बनाउने बहसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम छन् । त्यसमा नयाँ सदस्यको रूपमा जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम मात्रै थपिएका छन् । समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन बहुमत सचिवालय सदस्यहरू दुई पटक भेटेर छलफल समेत गरिसकेका छन् । आगामी प्रदेश र संघको चुनाव अघिसम्म परिणाम निकाल्ने गरी नेताहरू घनिभूत छलफलमा जुटेका छन् ।

समाजवादी केन्द्र बनाएर एकता संयोजन समिति बनाउने तयारी   

प्रचण्ड कम्युनिस्ट छोड्न नमान्ने बाबुराम कम्युनिस्ट हुन नचाहने भएपछि नेकपा समाजवादी केन्द्रको नाममा मोटामोटी समझदारी बनेको प्रचण्ड निकट एक केन्द्रीय सदस्यले बताए । ‘प्रचण्ड कमरेड माओवादी पार्टीको नाम फेर्न खोजे पनि कम्युनिस्ट छाड्न नमान्ने । बाबुराम माओवादीमा ज्यान गए नजाने भएपछि ‘समाजवादी ’ भए एक ठाउँमा हुन तयार हुनुभयो’ ती नेताले भने, ‘अन्तिममा नेकपा समाजवादी केन्द्र बनाउने विषयमा दुई नेताबीच समझदारी भयो । यद्यपि पार्टी कमिटीले अनुमोदन गरेको छैन ।’ 

पार्टीको नाम नेकपा समाजवादी केन्द्र बनाउँदा समस्या नहुने ती नेताको दाबी छ ।  ‘पार्टीको नाम माओवादी भनेको काम सांसदवादीले गर्ने गरेको छ । कि माओवादी जस्तै विचार र संगठन हुनुपर्‍यो । होइन भने पार्टीको नाम फेर्नुपर्छ भनेर बैठकमा भन्दै आएका थियौँ’ ती नेताले भने, ‘प्रचण्ड बाबुराम सहित माधव नेपाल र वामदेव गौतमलाई जोडेर समाजवादी केन्द्र बनाए पार्टीमा समस्या हुँदैन ।’ समाजवादी केन्द्र बनाएर जाने विषयमा बाबुरामसहित तत्कालीन बहुमत सचिवालय सदस्य एक मत भएकाले चुनाव अघिसम्म एकता संयोजन समिति बन्न सक्ने ती नेताको दाबी छ ।

‘समाजवादी केन्द्र पार्टी नै बनाएर तत्काल एकता हुने सम्भावना देखिँदैन । एकता संयोजन समिति बनाएर एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जाने हुन सक्छ । त्यसका लागि डकुमेन्टसनमा काम भइरहेको छ,’ ती नेताले भने, ‘यद्यपि परिणाम देखिने गरी धेरै विषय बाहिर आएको छैन । परिणाम चुनाव अघि नै आउन सक्छ ।’ 

यसले प्रचण्ड र बाबुराम फेरि एक ठाउँमा आउने सम्भावना बढ्दै गएको अर्का एक नेताले बताए । ‘बाबुराम प्रचण्ड समाजवादी केन्द्रको नाममा तत्काल एक हुने अवस्था नभए बाबुराम निकट नेता कार्यकर्ता प्राय सबै माओवादीमै फर्किने सम्भावना छ । जसले गर्दा बाबुरामले प्रचण्डसँग मात्रै भए पनि तत्काल समाजवादी केन्द्र बनाउने विषयलाई मूर्त रुप दिन हतारिएका छन्,’ ती नेताले भने, ‘त्यसपछि बिस्तारै माधव नेपाल र वामदेव गौतम नेतृत्वको समूहसँग एकता हुँदै जाने सम्भावना छ ।’

समाजवादी केन्द्र बन्नेमा बाबुराम निकट नेता गङ्गा नारायण श्रेष्ठ समेत आशावादी देखिएका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित जसपा मिलेर समाजवादी केन्द्र बनाउँदा ठुलो शक्ति बन्ने सम्भावना रहेको श्रेष्ठले बताए । समाजवादी केन्द्र निर्माणमा नेताहरू घनिभूत छलफलमा जुटेकाले चुनाव अघिसम्म आधार देखिन सक्ने बताए ।

तर माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले समाजवादी केन्द्र बनाउने बहस काम भन्दा बढी हल्ला भएको टिप्पणी गरे । ‘समाजवादी केन्द्र बनाउने विषयमा कुनै ठोस निर्णय केही भएको छैन । शीर्ष नेताको तहमै छलफलमा मात्रै सीमित छ,’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘समाजवादी केन्द्र बनाउने विषयमा औपचारिक रूप लिएको छैन । चाहिने भन्दा बढी समाजवादी केन्द्र बनाउने विषयमा हल्लाखल्ला भयो ।’

यस्तै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि समाजवादी केन्द्र बनाउने विषयमा प्रारम्भिक चरणमा मात्रै प्रवेश गरेको बताए । समाजवादी केन्द्र बनाएर तत्काल आकार लिने अवस्था बनी नसकेको खतिवडाले बताए । आगामी चुनावसम्म समाजवादी केन्द्र बनाउने विषयमा मूर्त रूप लिन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप