शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ती ‘तवाइफ’ जसले ऋण चुकाउन छोरी नरगिसलाई बनाइन् नायिका

आइतबार, ०८ साउन २०७९, १३ : ३०
आइतबार, ०८ साउन २०७९

कोठीमा ‘तवाइफ’ को गीत सुन्नु मुगलको शान हुने गर्दथ्यो, जुन ब्रिटिश राजको समयमा आम जनताको पनि शौख बन्यो ।

तवाइफ एक अत्यधिक सफल मनोरञ्जनकर्ता हुन् जसको विशेषगरी मुगल युगमा चर्चा सुरु भयो । तवाइफहरुले सङ्गीत, नृत्य (मुजरा), थिएटर र उर्दू साहित्यिक परम्परामा उत्कृष्ट योगदान पुर्याए । तवाइफहरु १८ औँ शताब्दिको मध्यमा मुगल शासनको पतनसँगै थप प्रसिद्धि प्राप्त गरे । उनीहरुले परम्परागत नृत्य र सङ्गीत प्रकारहरुको निरन्तरता र त्यसपछि आधुनिक भारतीय सिनेमाको उदयमा महत्वपूर्ण योगदान दिए ।

यस्तै एउटा कोठीबाट भारतले पहिलो महिला सङ्गीतकार पायो । नाम थियो जद्दन बाई । उनी त्यहि जद्दन बाई हुन् जसकी छोरी नरगिस बलिउडकी सबैभन्दा उत्कृष्ट नायिकामध्ये एक हुन् र नाती सञ्जय दत्त पनि सुपरस्टार हुन् ।

सन् १९०० को कुरा थियो । भारतमा अंग्रेजको शासन थियो । त्यतिबेला उत्तर भारतको इलाहबाद (अब प्रयागराज) को एउटा कोठीमा निकै चर्चित तवाइफ थिइन् दिलिपाबाई । जद्दन बाई उनकै छोरी थिइन् । कोठीमा नै हुर्किइन् । गीत सङ्गीत रगतमा नै थियो । जद्दन बाईको आवाजमा त्यो जादु थियो जसले सुन्थे मन्त्रमुग्ध हुन्थे । कोठीमा नै उनको आवाजको जादु यतिसम्म छरिएको थियो कि उनको आवाज सुन्न आएका दुई ब्राम्हण परिवारका युवाले उनीसँग विवाह गर्नका लागि इस्लाम स्वीकार गरे ।

जद्दन बाईले कूल तीन विवाह गरेकी थिइन् । कोठीमा ठुमरी र गजल गाउने जद्दन बाई तेस्रो विवाहपछि बम्बे गइन् जहाँ फिल्म बन्ने गर्दथे । बनारसको कोठीदेखि बम्बईको फिल्मी दुनियाँसम्मको उनको यात्रा निकै उतार–चढाव रह्यो । स्वतन्त्रतापछिको पहिलो चरण जब महिलाले फिल्ममा काम गर्नु तवायफको पेशाभन्दा पनि खराब मानिन्थ्यो । त्यतिबेला कोठीमा गीत गाउने महिला नै भारतकी पहिलो महिला सङ्गीत निर्देशक बनिन् ।

एक भारतीय सञ्चार माध्यमले गायिका, लेखिका, निर्देशन र नायिका जद्दन बाईको कहानी लेखेको छ, यसलाई रातोपाटीले अनुवाद गरेर साभार गरेको छ ।

विवाहका दिन नै आमा विधवाः

जद्दन बाईको जन्म सन् १८९२ मा बनारसमा भएको थियो । उनकी आमा दिलिपाबाई थियो जो इलाहाबादको सबैभन्दा चर्चित तवाइफ थिइन् र पिता थिए मियां जान, जसलाई जद्दन बाईले ५ वर्षको उमेरमा नै गुमाइन् ।

वास्तवमा दिलिपाबाई एक खराब दुर्घटनापछि कोठीसम्म पुगेकी थिइन् । उनको बाल विवाह भएको थियो तर विवाहपछि जब बिदाई गरेर जन्ती फर्कियो तब पञ्जाबको गाउँ नजिकै जन्तीमाथि डाँकुले हमला गरिखिए । सबै दाइजो र सुन लुटियो र दुलहालाई गोली हानियो । भागदौड मच्चियो र दुलही बनेकी दिलिपाबाई पनि ज्यान बचाएर भागिन् ।

उनी जसोतसो माइती पुगिन् तर उनलाई अभागी भनियो विधवा प्रथाको प्रताडना दिइयो । उनलाई सधैँ माइतीमा प्रताडित गरिन्थ्यो । कुरा यतिसम्म पुगिसकेको थियो कि परिवारले उनको हत्या गर्ने योजनासमेत बनाइसकेका थिए । एकदिन गाउँ पुगेका मण्डलीको नजर नदि किनारामा गीत गुन्गुनाउँदै कपडा धोइरहेकी दिलिपामाथि पर्यो । दिलिपाको आवाजबाट प्रभावित भएर उनले सँगै जाने प्रस्ताव दिइयो । माइती पक्षसँग आजित भइसकेकी दिलिपाले पनि सँगै जाने साहस देखाइन् । तर उनी इलाहाबाद पुगेपछि मण्डलीका मानिसहरुले उनलाई कोठीमा बेचिदिए । त्यसपछि दिलिपाबाई यहाँबाट कहिल्यै निस्कन सकिनन् ।

कोठीमा काम गर्ने एक व्यक्तिले दिलिपाको विवाह सारङ्गीवादक मियां जानसँग गराइदिए । दिलिपाबाई ब्राह्मण परिवारकी थिइन् तर उनले मियां जानसँग विवाह गर्दा उनी मुस्लिम भइन् । विवाहपछि उनको घरमा जद्दन बाई हुसैनको जन्म भयो ।

जद्दन बाईले कम उमेरमै कोठीमा गीत गाउन थालेकी थिइन्

कोठीमा हुर्के बढेकी जद्दन बाईले गायकी र नृत्यको कला आफ्नी आमाबाट पाएकी थिइन् । उनी कोठीमा हुर्किन्, बढिन् तर उनीहरुको कोठीमा देह व्यापार हुँदैनथ्यो । यहाँ गीत, गजल मात्रै पेश गरिन्थ्यो । ठूली भएपछि आमाको लिगेसीलाई अघि बढाउनका लागि आफैँ अग्रसर भइन् र आमाभन्दा बढी चर्चित भइन् । मानिसहरुको उनको एक नजरमा यति कायल हुन्थे कि उनका लागि सबैकुरा छोड्न राजी हुन्थे ।

पहिलो श्रीमानले इस्लाम कबुल गरे त्यसपछि छोडेर गए

उनको कोठीमा पुगे गुजराती हिन्दी व्यापारी नरोत्तम दास । नरोत्तमलाई बच्ची बाबुको नामले पनि चिनिन्थ्यो । नरोत्तमलाई उनी मनपर्यो र उनका लागि इस्लाम स्वीकार गरे र विवाह गरे । यी दुईको एउटा छोरा अख्तर हुसैन भए । छोरा जन्मिएको केही वर्षपछि नै नरोत्तमले जद्दन बाईलाई छोडेर गए र कहिल्यै फर्किएनन् ।

केही वर्षसम्म एक्लै छोरा हुर्काइरहेकी जद्दन बाईमाथि कोठीमा नै हारमोनियम बजाउने मास्टर उस्ताद इरशाद मिर खानको नजर पर्यो । जद्दन बाईले उनीसँग दोस्रो विवाह गरिन् । उनीबाट उनका दोस्रो छोरा अनवर हुसैन जन्मिए । केही वर्षभित्रै यी दुई पनि अलग्गिए ।

अंग्रेजको छापामारीले दुःख दियो, बनारस छोडेर कोलकाता गइन्

त्यतिबेला जद्दन बाईको घरमा अंग्रेजले छापामारी गरेर दुःख दिने गर्दथे । अंग्रेजलाई शंका थियो कि जद्दन बाईले आफ्नो घरमा क्रान्तिकारीहरुलाई आश्रय दिइरहेकी छिन् । अंग्रेजले उनीमाथि यस्तो दबाब दिए कि उनले बनारसको दालमन्डीमा आफ्नो घर छोड्नुपर्यो । उनी बनारस छोडेर कोलकाता गइन् र त्यहाँ एउटा कोठीमा गाउन सुरु गरिन् ।

जद्दन बाईका लागि सबैकुरा छोडेका थिए मोहन बाबु

लखनऊको एक धनाढ्य परिवारका मोहन बाबु पानीको जहाजबाट कोलकाताबाट डाक्टर पढ्न लण्डन जाने तयारीमा थिए । जहाज ढिला हुने भएपछि उनी बेलुकाको समय बिताउनका लागि जद्दन बाईको कोठीमा पुगे । जद्दन बाईलाई देख्ने बित्तिकै मोहन बाबुले उनीसँग विवाह गर्ने निर्णय नै गरे ।

मोहन बाबु एक धनाढ्य खानदानी परिवारका थिए जबकी जद्दन बाईका यसअघिका दुई विवाह असफल भइसकेका थिए, दुई बच्चाकी आमा थिइन् र कोठीमा गीत गाउने गर्थिन् । उनले मोहनबाबुलाई सम्झाउँदै भनेकी थिइन्, ‘जाउ पहिला आफ्नो परिवार गएर भन कि तिमी एक मुश्लिम तवायफसँग विवाह गर्न चाहन्छौ । यदि उहाँहरु राजी हुनुभयो भने म तिम्रो प्रस्तावबारे सोच्नेछु ।’

जद्दन बाईको कुरा मान्दै मोहनबाबु गए र चार वर्षसम्म फर्केर आएनन् । चार वर्षपछि मोहनबाबुले आफ्नो परिवारलाई छोडेर आए र भने, ‘मैले आफ्नो परिवारसँग सबै सम्बन्ध तोडिसकेको छु र म अब तिमीसँग विवाह गर्न चाहन्छु । मोहनबाबुको यो साहसी कदमको अगाडि जद्दन बाईले हार मान्नुपर्यो । मोहन बाबुले विवाह अघि इस्लाम स्वीकार गरेर अब्दुल राशिद बने । परिवारसँग नाता तोडेपछि मोहनबाबुको जिम्मेवारी पनि जद्दन बाईले नै उठाइन् ।

जब गाउँथिन् राजा–नवाबले सुन चाँदीको वर्षा गर्दथे

चर्चित उर्दू लेखन सआदत हसन मन्टोले एउटा किस्सामा जद्दन बाईबारे कुरा गरेका थिए । जद्दन बाईको महफिलमा राजा र नवाब उनको गायकीमा खुसी भएर उनीमाथि सुन–चाँदीको आभुषणको वर्षा गर्ने गर्दथे । यस्तै, जद्दन यती चर्चित महिला थिइन्, यसको वास्ता नगरीकन हरेक महफिलपछि श्रीमान मोहन बाबुको अगाडि हात जोडेर उभिने गर्थिन् ।

बनारसबाट कोलकाता, कराँची त्यसपछि मुम्बई पुगिन्

जद्दन बाई  केही वर्षमा नै कोठीबाट निस्किएर गायिका बन्नका लागि कोलकाता पुगिन् । त्यहाँ उनले श्रीमन्त गणपत राव, उस्ताद मोइनुद्दीन खान, उस्ताद चड्डु खान साहब र उस्ताद लाब खान साहबबाट सङ्गीतको शिक्षा प्राप्त गरिन् । हेर्दा हेर्दै उनको गीतलाई देशभरी रुचाउन थालियो । बेलायती शासक उनलाई निम्तो दिएर रामपुर, बिकानेर, ग्वालियर, जम्मू–कश्मीरजस्ता भिन्न भिन्न स्थानमा प्रस्तुतीका लागि बोलाउँथे । रेडियो स्टेशनमार्फत् उनको गीत देशभरी पुग्न थाल्यो । यस्तै युकेको म्युजिक कम्पनीले ग्रामोफोनले उनको गजल रेकर्ड गरेर लैजाने गर्दथे ।

 


 

जब पहिचान पाउन थालिन् तब लाहौरको फोटोटोन कम्पनीले उनलाई राजा गोपिचन्द (१९३३) फिल्ममा हिरोकी आमाको भूमिमा प्रस्ताव गर्यो । फिल्ममा अभिनय गरेर उनी अभिनयको दुनियाँमा आइन् । कराँचीको कम्पनीका लागि उनले ‘इंसान या शैतान’ फिल्ममा अभिनय गरिन् । प्रेम परीक्षा र सेवा सदनमा पनि उनी देखिइन् । केही वर्षमा नै उनले परिवारलाई लिएर लाहौरबाट बम्बई पुगिन् ।

छोरा चल्न सकेनन्, त्यसैले छोरीलाई फिल्ममा ल्याइन्

जद्दन बाईले फिल्म बनाउँदा घाटा व्यवहोर्नु परिरहेको थियो । उनले जब अर्को छोरा अनवर हुसैनलाई फिल्ममा ल्याए तब फिल्म नराम्रोसँग फ्लप भयो र जद्दन बाईले असाध्यै हानी भयो । जद्दन बाई र मोहनबाबुले नरगिसलाई मुम्बईको इंग्लिस मिडियम एलिट स्कुलमा भर्ना गराएका थिए तर जब उनीहरुको प्रोडक्सन हाउसलाई घाटा भयो तब उनले स्कुल फेर्नुपरेको थियो ।

मोहन बाबुले पहिले नै जद्दन बाईसँग विवाह गर्नका लागि डाक्टर बन्ने सपना छोडिसकेका थिए, त्यसैले उनले छोरी नरगिसलाई डाक्टर बनाउने सोचेका थिए तर जद्दन बाईले ऋण तिर्नका लागि छोरी नरगिसलाई फिल्ममा ल्याउन आवश्यक ठानिन् ।

६ वर्षको उमेरमा पहिलो पटक क्यामराको अगाडि नरगिस

तलाश–ए–हकमा जद्दन बाईले अभिनय पनि गरिन् र सङ्गीतसमेत संयोजन गरिन् । जद्दन बाईले यसै फिल्ममा ६ वर्षकी नरगिसलाई बाल कलाकारको रुपमा पेश गरिन् जसमा उनले बेबी नरगिस नामबाट क्रेडिट पाइन् । थुप्रै फिल्ममा सानो तिनो भूमिका गरेपछि नरगिसलाई १४ वर्षको उमेरमा तकदिर फिल्मबाट पहिचान मिल्यो । जद्दन बाईले छोरीका लागि लिएको निर्णय सही साबित भयो ।

सन् १९४० मा बन्द भयो जद्दन बाईको निर्माण कम्पनी

सन् १९४० आउँदा आउँदै हिन्दी सिनेमामा ठूलो परिमाणमा फिल्म बन्न थाले र थुप्रै निर्माण कम्पनी खोलिन थाले । त्यसैले जद्दन बाईको प्रोडक्सन कम्पनी बन्द हुने स्थितिमा आयो । कम्पनी बन्द भयो र जद्दन बाई फिल्मबाट टाढा भइन् । जद्दन बाईका छोरा अख्तर हुसैनेल फिल्म दरोगाजी बनाउँदा जद्दन बाई आफैँले फिल्मको सबै डायल लेखिन् । सन् १९४९ मा रिलिज भएको यो उनको जीवनको अन्तिम फिल्म थियो ।

क्यान्सरले लियो ज्यान, छोरी स्टार भएको देख्न पाइनन्

८ अप्रिल सन् १९४९ मा क्यान्सरका कारण जद्दन बाईको निधन भयो । त्यतिबेला उनी लगभग ५७ वर्षकी थिइन् । उनले आफ्नी छोरी नरगिस स्टार बनेको पनि देख्न पाइनन् । जद्दन बाईलाई मुम्बईको बाबा समाधिस्थलमा गाडियो । जद्दन बाईलाई श्रद्धाञ्जली दिँदै मुम्बईमा सबै फिल्मको सुटिङ रोकियो र स्टुडियोलाई एक दिनका लागि बन्द गरियो ।

सन् १९८१ मा नरगिसलाई पनि आमा जद्दन बाईको चिहान नजिकै गाडिएको थियो जबकी सुनिल दत्तसँग विवाह पछि उनी हिन्दु भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप