शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पादकहरुसँग ओलीको गुनासै गुनासो

सोमबार, २७ असार २०७९, २१ : १५
सोमबार, २७ असार २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधि, गठबन्धन र चुनावी तयारीका विषयमा आफ्नो धारणा राखेका छन् ।  सोमबार ललितपुर आयोजित मूलधारका सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा आफू धेरै सुन्ने पक्षमा भएको बताए पनि अन्तमा आफ्ना गुनासै गुनासोको पोको फुकाएका छन् ।

ओलीको पहिलो गुनासो पाँच दलीय गठबन्धन प्रति थियो । पाँच दलीय गठबन्धन डेथ भइसकेको बताउँदै ओलीले त्यसले हैजा फैलाउन सक्ने टिप्पणी गरे । ‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैन’, ओलीको टिप्पणी थियो । उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए ।  ‘सुखी नेपाली र समृद्ध नेपाली’को नेतृत्व एमालेले गरिरहेको उनले बताए । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’, ओलीले भने ।

आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने ओलीले दाबी गरे ।  क्षणिक सत्तामा पुग्नु सब थोक नभएको जिकिर गरे । मैले गठबन्धन बनाएर, सरकार चलाएर हेरेको छु । साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ’ ओलीले भने ।

त्यसपछि ओलीले सरकारमाथि फायर खोले । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भ्रष्टाचारको बेलगाम भएको ओलीले टिप्पणी गरे । सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको भन्दै ओलीले देउवालाई व्यङ्ग्य गरे । ‘सरकार सरले चलाउनुहुन्छ कि म्याडमले यतापट्टि जान चाहन्न । मेरो विषय बनाउन चाहन्न’ उनले भने,‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ । भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ।’ प्रधानमन्त्रीले चलाउनुहुन्छ कि रियल शक्तिशाली हुँ भन्ने चलाउनुहुन्छ कि भन्दै प्रचण्डलाई समेत व्यङ्ग्य गरे ।

देशको अर्थतन्त्रबारे टिप्पणी गर्दै ओलीले मुलुक अधोगतिमा ब्रेक नलगाए श्रीलङ्का भन्दा तल खस्न सक्ने चेतावनी दिए । ‘सरकारको गतिविधिको प्रभावले कम्तीमा हामी श्रीलङ्कासम्म नै पुग्ने लक्षण देखिन्छ त्यो भन्दा अघि बढ्न पनि सक्छ’ ओलीले भने, ‘यही गतिमा जाने हो भने यो अधोगतिमा ब्रेक नलगाउने हो भने त्यो भन्दा उँधो खस्न सक्छ । त्यस कारण अहिले नै सतर्क हुनुपर्छ ।’

यस्तै सत्ता गठबन्धनले एमसीसीको विरोध गरेपनि उनीहरुले नै अनुमोदन गरेको उनले बताए । साथै उनले एसपीपीका बारेमा आफूले कुनै स्वीकृति वा हस्ताक्षर नगरेको भन्दै आफ्नो बचाऊ गरे । एसपीपीबारे अमेरिकालाई लेखेको पत्र हातले लेखेको भए पनि आफूलाई जानकारी नभएको बताए । सेनाले पत्र लेख्नु गलत भएको भन्दै आफूले थाहा पाएको भए त्यसरी पत्र लेख्न स्वीकृति नदिने उनको भनाई छ ।  ‘त्यतिबेलाका प्रधानसेनापति यही धर्तीमा हुनुहुन्छ । फोन गर्नुस् न । एउटा बोल्नु नहुने मान्छे, बेमौसममा राजनीतिक नेता पल्टिएर बोलेको थाहा पाइयो’ ओलीले भने, ‘अहिले ती आयोगका सदस्य रहेछन् । उनले त्यति बेला म सचिव थिएँ, मैले केपी ओलीलाई ब्रिफिङ गरेको थिएँ भनेर भने न म रक्षा मन्त्रालय गएँ न उनी मलाई भेट्न नै आए !’ आफू प्रधानमन्त्री भएर सिंहरदरबार जाँदा स्वागत गर्दा लाइनमा भेटेको भए बेग्लै कुरा भएको ओलीले बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप