बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका चर्चित राजनीतिक नेता, जसको कडा सुरक्षा घेराभित्र नै हत्या भयो

शुक्रबार, २४ असार २०७९, १८ : ५६
शुक्रबार, २४ असार २०७९

शुक्रबार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको एक जना बन्दुकधारीले गोली हानेर हत्या गरे । आबे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा आसिन हुने नेता थिए ।  उनले सत्तामा रहँदा वा नरहँदा जापानको युद्धविरोधी नीतिलाई त्यागेर आफ्नो आर्थिक शक्ति बराबरको सैन्य शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहे ।  विश्व इतिहासमा अरु देशमा पनि विभिन्न समयमा राष्ट्रपति, प्रधानमन्त्री, राजा र अन्य नेताको हत्या भएका छन् ।

इतिहासमा केही नेताका हत्या देशबासीको लागि यति स्तब्धकारी हुन्छ कि अधिकांश मानिसले ती नेता मारिँदाको खबर पहिलो पटक सुन्दा आफू कहाँ थिएँ र के गरिरहेको थिएँ भन्ने सधैँ सम्झिरहन्छन् ।  नेपालकै सन्दर्भमा सन् २०५८ जेठ १९ को दरबार हत्याकाण्डको खबर पहिलो पटक सुन्दाको समय धेरैले आज पनि विस्तृत रुपमा सुनाउँछन् । मनोवैज्ञानिकहरुले यो प्रक्रियालाई ‘लाइटबल्ब मेमोरी’ भन्ने नाम नै दिएका छन् ।

​इतिहासमा नेता हत्याको नमिठो अनुभवलाई मध्यनजर गर्दै अधिकांश देशका सरकारले कडा सुरक्षाको घेरा राख्छन् । तर यसका बाबजुद सुरक्षा घेरा तोडेर नेताहरुको हत्याका घटना भने दोहोरिरहने गरेका छन् ।  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवे यसको पछिल्लो उदाहरण हुन् ।

यहाँ विश्व इतिहासका चर्चित हत्याको चर्चा गरिको छः

अब्राहम लिंकन–सन् १८६५ अप्रिल १४

अमेरिकाको इतिहासमा चार जना राष्ट्रपति पदमा हुँदै मारिएका छन् । चारमध्ये अब्राहम लिंकन र जोन एफ केनेडीको हत्या आज पनि चर्चा हुने गर्छ । विशेषतः दुई नेताको लोकप्रियताले पनि हुनसक्छ ।  अमेरिकी गृहयुद्धको समयमा अमेरिकालाई एकतावद्ध गर्ने पक्षमा लडेका देशका १६ औं राष्ट्रपति लिंकनले दास प्रथाको अन्त्यको घोषणा गरे ।

दास प्रथा अन्त्यमा उनले पुर्‍याएको योगदानको लागि लिंकनलाई अमेरिका मात्र होइन विश्वभरका न्यायकर्मी अभियन्ताले आदर्श मान्ने गर्छन् ।

तर आफ्नै समयमा भने लिंकन यस्ता आदर्श पात्र थिएनन् । उनी ध्रुवीकरणकारी नेता थिए । उनलाई मन पराउने उनका भक्तजस्ता थिए भने घृणा गर्नेहरु उनी बाच्नै हुँदैन भन्ने पक्षमा थिए ।

विशेषतः अश्वेत दास प्रथाको अन्त्य धनाढ्य श्वेतहरुमाझ निकै अलोकप्रिय थियो । त्यस्तै एक श्वेत सर्वोच्चतावादी जोन विल्किस बुथले सन् १८६४ देखि लिंकनको अपहरण गरेर सरकारबाट सुधारहरु उल्टाउने माग राख्ने योजना बनाइरहेको थिए ।

यस योजना कार्यन्वयन गर्न कयौं मानिसलाई संलग्न पनि गरेका थिए । अपहरणका विभिन्न योजना असफल भएपछि बुथ अपहरणभन्दा हत्या गर्नु सजिलो हुने निष्कर्षमा पुगे ।

सन् १८६५ अप्रिल १४ मा लिंकन फोर्ड थिएटरमा ‘आवर अमेरिकन कसिन’ नामक कमेडी शो हेर्न आउन लागेको बुधले थाहा पाए । उनको मनमा झिल्का बल्यो ।

बुथले पहिले लिंकनको अपहरणका लागि बनाएको टिमलाई त्यस दिन नाटक हेर्न आउने लिंकन र उनका मन्त्रीको हत्याका लागि परिचालन गरे । उनी आफैले लिंकनलाई गोली हान्ने जिम्मा लिए । तर अन्तिममा षडयन्त्रमा संलग्नहरु असफल भए भने बुथ भने लिंकनलाई मार्न सफल भए ।

बुथ लिंकन बसेकै कोठामा पहिले लुकेर बसेका थिए र उनले लिकंनको टाउको नजिकैबाट गोली हानेका थिए । लिंकनलाई गोली हानिसकेपछि उनी थिएटरबाट भाग्न सफल भए ।

तर ११ दिनपछि अप्रिल २६ मा संघीय फौजले उनलाई भर्जिनियाको एक खेतमा भेटि छाड्यो । लगत्तै उनी बन्दुक प्रहारबाट मारिए । (गोली उनी आफैले हानेका हुन् या सैनिकले भन्ने अझै प्रमाणित भएको छैन।) 

आर्कड्युक फ्रान्सिस फर्डिनान्ड – सन् १९१४ जुन २८

पहिलो विश्वयुद्धको कारण हुँदैन थियो भने अष्ट्रियन आर्कड्युक(युवराज) फ्रान्सिस फर्डिनान्डको हत्याले इतिहासमा त्यति धेरै चर्चा पाउदैनथ्यो होला ।  त्यसबेला अष्ट्रियाले आफू वरपरका धेरै भूभागलाई कब्जा गरेर ह्याबसवर्ग बंशको अधिनमा विशाल साम्राज्य खडा गरेको थियो । विस्तारै सामाज्यका फरक फरक समूदायमा अष्ट्रिया साम्राज्यबाट अलग हुने राष्ट्रवादी भावना बढिरहेको थियो ।

तीमध्ये सर्ब जातिहरु बसोबास गर्ने साउथ स्लाब क्षेत्रलाई छिमेकी स्वतन्त्र मुलुक सर्बियामा जोड्नु पर्ने माग बलियो थियो । यस उद्देश्य हासिल गठन भएको सशस्त्र समूह ‘एकता की मृत्यु’का एक सदस्य ग्याभ्रिलो प्रिन्सिपले फर्डिनान्ड र उनकी श्रीमतीको हत्या गरिदिए ।

हत्या हुँदा उनी सर्बियाको राजकीय भ्रमणमा थिए । हत्याको एक महिनापछि अष्ट्रियाले सर्बियामाथि आक्रमण सुरु गर्यो । पछि विश्वका प्रमुख शक्तिहरु एक अर्काको समर्थनमा उभिन लागेपछि पहिलो विश्वयुद्ध सुरु भयो ।

महात्मा गान्धी – १९४८ जनवरी ३० 

भारतीय स्वतन्त्र संग्रामका प्रमुख नेता महात्मा गान्धी भारतलाई बेलायतको उपनिवेशबाट स्वतन्त्र गराएको ६ महिना पनि नबित्दै मारिए । उनलाई उग्रहिन्दूवादी अभियन्ता नाथुराम गोड्सेले मारेका थिए ।

भारतीय स्वतन्त्रता संग्राममा संलग्न आन्दोलनकारीहरु सुरुमा बेलायतबाट मुक्त हुने मागमा एक थिए । तर पछि आन्दोलनकारी दुई कित्तामा बाँडिए ।

एक समूह ब्रिटिसले छाडेपछि भारत एक हुनुपर्ने पक्षमा थिए भने बेलायतले छाडेपछि अर्को हिन्दू र मुसलमानहरुको लागि अलग अलग मुलुक बनाउनुपर्ने पक्षधर निस्किए ।

विस्तारै यो माग समाजको तल्लो तहमा समेत मुस्लिम र हिन्दू समूदायबीच विग्रह हुन थालेको थियो । ठूल ठूला दंगा भए । दुवै तर्फका लाखौं मारिए । भारतलाई एक बनाइराख्ने गान्धीको कयौं प्रयासका बावजुद स्वतन्त्रतासँगै देश विभाजन भयो ।

एक दिनको फरकमा १४ अगष्ट १९४७ मा मुस्लिम बहुल पाकिस्तान र १५ अगष्ट हिन्दू बहुल भारत बन्यो ।

यस विभाजन र विभाजन अघिपछि हिन्दू र मुस्लिमबीच भएको दंगामा गान्धी मुस्लिमहरुप्रति अति नै नरम भएको आरोपमा १९४८ जनवरी ३०  हिन्दूवादी नाधुराम गोड्सेले उनलाई तीन गोली हानेर मारिदिए ।

नजिकैबाट हानिएकाले गान्धीको तत्कालै निधन भयो । गोड्से घटनास्थलमै पक्राउ परे । सन् १९४९ नोभेम्बर १५ मा गान्धी हत्याको आरोपमा गोड्सेलाई मृत्युदण्ड दिइयो ।

जोन एफ केनेडी– सन् १९६३ नोभेम्बर २२

सन् १९६१ मा अमेरिकाका ३५ औं राष्ट्रपतिका रुपमा निर्वाचित जोन एफ केनेडी तीन वर्षपछि नै मारिए ।

अत्यन्त कुशल वक्ता केनेडी अमेरिकाको इतिहासको सबैभन्दा युवा राष्ट्रपति केनेडी थिए । उनी आम अमेरिकी माझ निकै लोकप्रिय थिए ।

उनको कुशल वक्तित्व क्षमता उनले शपथ ग्रहण समारोहमा गरेको सम्बोधनमै देखिएको थियो । ‘देशले के दियो नसोध, आफूले तिम्रो देशलाई के दिन सक्छु भन्नेमा विचार गर’ भन्ने चर्चित भनाइ सोही सम्बोधनमा केनेडीको भनाइ हो ।

केनेडीको लोकप्रियतामा उनले आफ्नो शासनकालमा आइपरेको वैश्विकस्तरका ठूला समस्याः क्युवा मिसाईल संकट र बर्लिन विभाजनलाई कुशलतापूर्वक सामना गरेकाले पनि सघाएको थियो ।

साथै उनले विश्वमा बढ्दो आणविक प्रतिस्पर्धालाई कम गर्न ‘आणविक परिक्षण प्रतिबन्ध सम्झौता’ गर्न सक्षम भएका थिए । ।।रातोपाटी।।

लोकप्रियताकै शिखरमा रहँदा केनेडी डलासमा उनकै मोटरकेडमा मारिए । केनेडीलाई ली हार्भे ओसवाल्डले हत्या गरेको आरोप छ ।

​ओस्वाल्डले सन् १९६३ नोभेम्बर २२ मा मध्यान्नको साढे १२ मा केनेडीको मोटरकेडको रुट छेउमा रहेको भवनको छैटौ तल्लाको झ्यालबाट तीन गोली फायर गरेका थिए ।

गोली प्रहारबाट केनेडीको ज्यान गयो भने टेक्ससका गर्भनर जोन बी कोनाली घाईते भए । दुई नेता छाना नभएको खुला कारकेडमा सबार थिए ।

लगत्तै ओसवाल्ड पक्राउ परे र नोभेम्बर २२ मा जेलबाट सोधपुछको लागि लाने क्रममा ओस्वाल्डलाई केनेडीको हत्याबाट मर्माहत ज्याक रुबीले मारिदिए ।

इन्दिरा गान्धी–१९८४ अक्टोबर ३१

महात्मा गान्धी मारिँदा उनी सरकारका कुनै औपचारिक पदमा थिएनन् । उनी एक आन्दोलनको नेता थिए र पछि देशका सर्वमान्य राजनेता बने ।

तर भारतका प्रधानमन्त्रीहरुलाई पदमै रहँदा मारिएका नेताहरु पनि छन् । एक होइनन् दुई । गान्धी थर जोडिएकाले धेरैले यी दुई मारिएका नेता इन्दिरा गान्धी र उनका छोरा राजिव गान्धीलाई महात्मा गान्धीको आफन्त सम्झन्छन् । तर इन्दिरा भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुकी छोरी हुन् ।

इन्दिरा गान्धीले सन् १९६६–७७ बीचमा लगातार तीन कार्याकाल प्रधानमन्त्री भईन् । बीचमा केही अन्तरालको फरकमा उनी पुनः १९८० मा प्रधानमन्त्री चुनिएकी गान्धीको चार वर्षपछि पदमै रहँदा हत्या भयो ।

अघिल्ला कार्यकालको अन्तिम दुई वर्षमा देशमा आपतकाल लगाएर कयौं प्रजातान्त्रिक अधिकारहरु खोसेकीले बदनाम बनेकी इन्दिरा यही कारणले तीन वर्षसम्म सत्ताबाट बाहिर बस्नु पर्यो ।

तर इन्दिराको बहिरगमनपछि गठन भएको मोरारजी देसाईको नेतृत्वमा बनेको जनता गठबन्धनको सरकारले राम्रो काम गर्न नसकेपछि पुनः इन्दिरा सत्तामा फर्किइन् ।

अन्तिम कार्यकालमामा भारतीय राज्यहरुले थप स्वायतताको माग गर्न थालेका थिए । शिख पृथकतावादीहरुले त पन्जाब राज्यलाई अलग गर्न हिसाको साहारा लिन थालेका थिए ।

यी दुवैलाई पाठ हुने गरी उनी शिख पृथकतावादीहरु विरुद्ध कठोर भइन् । सन् १९८४ जुनमा इन्दिराले शिख पृथकतावादीहरुविरुद्ध बल प्रयोगको अनुमती दिइन् ।

भारतीय सेनाले अमृतसरस्थित शिख धर्मावलम्बीहरुको सबैभन्दा पवित्र धार्मिकस्थल हरमन्दिर शाहिब(गोल्डेन टेम्पल)मा लुकेका पृथकतावादीहरुलाई नियन्त्रण लिन मन्दीरभित्रै पसेर आक्रमण गर्यो । कम्तिमा ४५० शिखहरु मारिए ।

यस आक्रमणको पाँच महिनापछि सन् १९८४ अक्टोबर ३१ मा इन्दिरा उनकै आावसको बगैचामा मारिइन् । उनलाई उनकै अंगरक्षकले मारेका थिए ।

शिख समुदायका अंगरक्षकले अमृतसरको गोल्डेन टेम्बलमा सेना पसाएर आक्रमण गर्न दिएको बदलामा आफूले प्रधानमन्त्रीको हत्या गरेको बताएका थिए ।

राजिव गान्धी – सन् १९९१ मे २१

इन्दिराको हत्या भएकै दिन उनका जेठा छोरा राजिव गान्धी भारतका प्रधानमन्त्री बने । खासमा इन्दिराको उत्तराधिकारीको रुपमा कान्छा छोरा सञ्जयलाई हेरिन्थ्यो । आपतकालको समयमा इन्दिराको प्रमुख सहयोगी सञ्जय थिए ।

तर सन् १९८० मा सञ्जय जहाज दुर्घटनामा बितेपछि इन्दिराले नै राजनीतिबाट टाडै बसेका जेठा छोरा राजिवलाई राजनीतिमा तानेकी थिइन् ।

पहिलो कार्यकालबाट राजिनामा दिएर बोलाइएको संसदीय चुनावको प्रचारको क्रममा राजिवको हत्या भएको थियो । उनी भारतको दक्षिणी राज्य तमिल नाडुमा आयोजित र्‍यालीमा सहभागी हुने क्रममा मारिएका थिए ।

छिमेकी मुलुक श्रीलंकामा दशकौंदेखि चलिरहेको तमिल विद्रोहीलाई दबाउन त्यहाँको सरकारले सहयोग माग्दा राजिवले सन् १९८७ मा भारतीय सेना पठाएका थिए ।

यसैको बदलामा तमिल विद्रोहीले भारतमा उनीहरुप्रति सहानुभूति राख्नेहरुको सहयोगमा पूर्वप्रधानमन्त्री कै हत्या गरिदिए ।

चुनावी प्रचारका लागि बनाइएको मन्च उनलाई भेट्ने बाहनामा एक जना तमिल विद्रोहीले आफूलाई बाँधेर लगेको बम विस्फोट गराएर मारेकी थिइन् । पछि हत्याको योजनामा संलगन २६ जनालाई मुद्दा चलाइएको थियो ।

हालकी भारतीय कंग्रेसकी नेतृ सोनिया गान्धी राजिबकी श्रीमती हुन् भने पार्टीका पूर्वअध्यक्ष राहुल गान्धी छोरा हुन् ।

बेनेजिर भुट्टो–सन् २००७ डिसेम्बर २७

सन् २००७ डिसेम्बर २७ मा पाकिस्तानकी पूर्व प्रधानमन्त्री तथा विश्वभरका मुश्लिम मुलुकहरुमा पहिलो जननिर्वाचित महिला प्रधानमन्त्री बेनेजिर भुट्टोको रावलपिण्डिमा हत्या भयो ।

त्यसदिन भुट्टो उनका समर्थकहरुलाई कारको माथिको खुलेको भागबाट निस्केर हात हल्लाइरहेकी थिइन् । एक्कासी भिडबाट कसैले उनको बुलेटप्रुफ गाडीमा गोली चलाउन थाले । लगत्तै बम विस्फोट भयो र भुट्टो लगायत २० जनाको मृत्यु भयो ।

झण्डै सय जना घाइते भए । ब्रिटेको स्कटल्याण्ड यार्डले गरेको अनुसन्धानले भुट्टोलाई विस्फोटको कारण टाउकोमा गम्भीर चोट लागेको र त्यसैको कारण उनको मृत्यु भएको निष्कर्ष निकाल्यो । तथापि उनको पार्टी पाकिस्तान पिपुल्स पार्टीले भने उनी विस्फोट अघिको गोलीबारीकै गोली लागेर मरेको लेखेको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकर भुटटोकी छोरी भुट्टोले हारवार्ड र अक्सफोर्ड विश्वविद्यालयबाट पढाई पुरा गरेकी थिइन् । सन् १९७९ अप्रिलमा उनको पितालाई सेनाले फासी दिएपछि उनी राजनीतिमा तानिएकी थिइन् ।

बेनेजिर उनकी आमा नुस्रतले उनका पिताका हत्यामा संलग्न जनरल जिया–उल–हकको विरोधमा पटक पटक कारबास भोग्नु पर्यो ।

​सन् १९८८ मा जियाको जहाज दुरघटनामा मृत्यु भयो । त्यसको तीन महिनापछि भएको निर्वाचनमा भुट्टोको पार्टीले जित्यो र उनी ३५ वर्षको उमेरमै देशकी प्रधानमन्त्री भइन् ।

उनको राजनीतिक करियर त्यति निसकलकं भने छैन । सन् १९९६ मा उनी दोस्रो पटक अपदस्थ हुदाँ उनी र उनका पति आसिफ अलि जरदारीलाई भ्रष्टाचारको मुद्दा लागेको थियो ।

उनका पतिले यस आरोपमा आठ वर्षको जेल सजायँ भोगे भने यस अवधिमा भुट्टो उनका तीन सन्तानसहित लण्डन र दुवईमा निर्वासनमा रहिन् ।

सन् २००७ मा अमेरिकी सरकारको दबाबमा तत्कालिन राष्ट्रपति परबेज मुशरर्फले भुट्टो, उनका पति लगायन भ्रष्टाचार मुद्दा खेपिरहेका कैयौं राजनीतिज्ञहरुलाई आममाफी दिए ।

त्यसपछि देश फर्किएको केही समयमै उनको हत्या भयो । भुट्टोको हत्याको केही महिनापछि अमेरिकी केन्द्रीय अनुसन्धन एजेन्सी सीआईएस र पाकिस्तानी अधिकारीले अलकायदासँग सम्बन्धन रहेको बैतुल्ला मेहसुदले भुट्टोको हत्याको योजना बनाएको बतायो । यो आरोप खण्डन गरेका मेहसुद सन् २००९ अगष्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिए ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप