ad
x
मेरो जीवन

रङ्गकर्ममा ढाँट्यो भने मेरो पारो तात्छ

‘मलाई स्टार बन्नु थिएन, त्यसैले फिल्म अभिनय छोडेँ’

person explore access_timeअसार ४, २०७९ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

वीरेन्द्र हमाल पुराना नाट्यकर्मी हुन् । करिब ४ दशकदेखि रङ्गमञ्चका विभिन्न विधामा क्रियाशील उनका थुप्रै चेलाचेली फिल्म क्षेत्रका स्टार भएका छन् । उनी भने आफूलाई रङ्गमञ्चमा सीमित राखेर छायाँमा बस्न रुचाउँछन् । रङ्गमञ्चको नाटक लेखन, अभिनय, निर्देशकदेखि सेट डिजाइनरसम्म धेरै विधामा पोख्न उनले करिब डेढ दर्जन लामो सिरियल, ७, ८ वटा फिल्म पनि गरेका छन् । नेपाली रङ्गमञ्चको विकासमा योगदान दिन कसम खाएर फिल्म अभिनय छोडेका उनले नेपाली मात्र होइन, बलिउडका समेत थुप्रै फिल्मका अफर अस्वीकार गरेका छन् ।


थुप्रै नाटकमा अभिनय, निर्देशनसमेत गरेका उनी नेपाली रङ्गमञ्चलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाएर थुप्रै अवार्ड र पुरस्कार नेपाल भित्र्याउन सफल मानिन्छन् । जीवनको अन्तिम क्षण पनि रङ्गमञ्चम बिताउने चाहना राख्ने रङ्गकर्मी वीरेन्द्र हमालका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।



रेस्टुरेन्ट जाँदिनँ
सामान्य खाना दालभात तरकारी मनपर्छ । भिन्डी, साग धेरै मनपर्छ । मासु त्यति मनपर्दैन । केही समयअगाडिदेखि भात महिनामा एक पटक वा कहिलेकाहीँ ४, ५ महिनामा एक दिन मात्र खान्छु । अन्य समय रोटी खान्छु । घरकै खाना मनपर्ने भएकाले रेस्टुरेन्ट जाँदिनँ । पकाउन एकदमै रुचि छ । सबैथोक पकाउन सक्छु । 





दैनिक योगा र जिम
फिट्नेसको मामलामा सजग छु । दैनिक बिहान नियमित एक्सरसाइजका जिम, योग गर्छु । बिहान एक्सरसाइज गर्न नभ्याएको दिन राति भए पनि गर्छु । पछिल्लो केही दिनयता सांस्कृतिक संस्थाको ५०औँ स्वर्ण वार्षिकोत्सवका कारणले  एक्सरसाइजमा समय दिन त्यति भ्याएको छैन ।  आफ्ना लागि आवश्यक एक्सरसाइजका सामान सबै घरमै छन् ।



सौखिन छैन
पोसाकमा खासै सौखिन छैन म । क्याजुअल पहिरन त्यो पनि नर्मल खालका मनपर्छ । चलेका फेसनभन्दा पनि आफूलाई कम्फर्टेबल फिल हुने र लगाउन सजिलो पहिरन प्रयोग गर्छु । सामान्यतय सर्टपाइट, टिसर्टलगायत क्याजुअल पहिरन नै प्रयोग गर्छु ।



फर्मल कार्यक्रम, विवाह, सभा समारोह जानुपर्दा कार्यक्रम हेरेर सुटपाइन्ट वा दौरासुरुवाल रोज्छु । मनपर्ने पहिरन रङ कालो र सेतो हो । पहिरन रेडिमेड पनि लिन्छ, सिलाउँछु पनि । पहिरनमा ब्रान्ड हेर्ने बनी कहिल्यै बसेन । सुहाउँदो र मनपरेको किन्छु ।

अध्ययनमा रुचि धेरै 
पहिलेदेखि नै अध्ययनमा रुचि छ । हरेक दिन नियमित पढ्न मनपर्छ । फुर्सद भयो कि म किताब समाउँछु । उपन्यास, कथा र बजारमा भित्रिने हरेक खालका किताब किनेर पढ्छु ।
पछिल्लो समय अविनास दाइले भर्खर ल्याएको नयाँ किताब भारतका प्रसिद्ध कथाहरू पढ्दैछु । बजारमा नयाँ पुस्तक के आएको छ भनेर सोध्न पनि जान्छु । नियमित किन्ने ठाउँबाट नयाँ पुस्तक आए खबर आउँछ । साँझ पुस्तक नपढी निधाउँदिन ।

हिमाली जिल्ला बाँकी
घुमघाममा कल्चरल स्थानहरू मनपर्दछ । नाटकको सिलसिलामा देशका अधिकांश जिल्ला घुमेँ होला । हिमाली जिल्ला भने बाँकी छन् । विदेशका केही देश अन्तर्राष्ट्रिय नाटक महोत्सवका सिलसिलामा पुगेँ । घुमेको देशमा जापान, कोरिया, चीन, भारत, एसियाका सबै र अमेरिका हुन् ।


   
छैन फुर्सद
फुर्सद छदैछैन नि । बिहान नियमित एक्सरसाइज, त्यसपछि  नाचघरमा रङ्गमञ्च सिकाउँछु । दिउँसो किताब पढ्ने, लेख्ने र त्यसपछि गुरुकुलमा प्रशिक्षण दिन जान्छु ।
आफूलाई फुर्सदमा राखौँ, साथीभाइसँग भेटघाट गरेर गफ गरौँ भन्ने लाग्छ । तर कामले भ्याउँदिनँ ।
   
राष्ट्रिय खेलाडी हुँ
म खेलाडी पनि हुँ । मेरो परिवार खेलकुद क्षेत्रमा थिए । हजुरबुबा कुस्तीको पहलमान हुनुहुन्थ्यो । बुबा, काकाहरूलाई कुस्तीका लागि सधैँ अगाडि सार्नुहुन्थ्यो । त्यसैले मलाई पनि बुबा, काकाहरूले जिम गराउने, कुस्ती लडाउने, बक्सिङ खेलाउने गर्नुहुन्थ्यो ।

२०४१ सालमा मैले क्रिकेट खेलेको थिएँ । म किक्रेट, टेबलटेनिस, बक्सिङको राष्ट्रिय खेलाडी हो । सबै राम्रो खेल्छु । खेल खेल्न मनपर्छ । तर अहिले भ्याउदिनँ ।

दुईवटा छ
अहिले मसँग दुईवटा मोबाइल छन् । एउटा सामसुङ र अर्काे आइफोन । दुईवटा सिम एउटैमा प्रयोग नगरौँ भनेर दुईवटा बोक्नुपरेको हो । मोबाइल पूरै सदुपयोग गर्न जाँन्दिनँ । फेसबुक, सामाजिक सञ्जाललगायत चलाउँछु ।

टीभी हेर्छु 
टीभी हेर्छु । प्रायः टीभीमा हेर्ने भनेको बिहान र बेलुका समाचार । पहिले त सामाजिक सिरियल पनि हेर्थें, अहिले त्यो मनपर्दैन । किनभने पहिले जस्ता राम्रो सिरियल अहिले निर्माण हुँदैनन् । 
पछिल्लो समय जोक्कर प्रकृतिका कमेडी रहेका र कपी सिरियल बन्ने गरेका छन् । नेसनल जोग्राफी च्यानल पनि हेर्छु ।


‘धनमन’, ‘मृगतृष्णा’, ‘चतुरेको दाउपेच’ लगायत मैले पनि राम्रा र लामा भागका करिब १५, १६ सिरियलमा अभिनय गरेको छु । 

सुपरस्टार हुन छैन
नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत रिलिजमा आएका प्रायः सबै फिल्म हलमै गएर हेर्ने गरेको छु । राम्रो पनि, नराम्रो पनि हेर्छु । फिल्म टीभीमा हेरेको मनपर्दैन । मैले पनि ७, ८ वटा फिल्म अभिनय गरेको थिएँ । मेरो अभिनय रहेको पछिल्लो फिल्म ‘कहाँ भेटिएला’ हो ।

‘कहाँ भेटिएला’पछि पनि नेपाली र बलिउडका थुप्रै फिल्म अफर आएका थिए । रङ्गमञ्चलाई अगाडि बढाउने भनेर म, सुनिल पोखरेल र अनुप बरालले फिल्म नखेल्ने कसम खाएका थियौँ ।

फिल्म नखेल्नुको अर्काे कारण अभिनयमा भेराइटी नहुनु पनि हो । अभिनेताको क्षमताअनुसार काम यहाँ गराउन सक्दैनन् । कलाकारलाई खाली उस्तै उस्तै भूमिका दिने गरिन्छ । 

बलिउड फिल्मका पनि धेरै अफर आएका थिए । मलाई सुपरस्टार हुनु छैन । त्यही भएर काहीँका पनि फिल्म खेलिनँ । स्वर्गीय निर्देशक शिव रेग्मीले पनि तपार्इंको अभिनय राम्रो छ । फिल्म खेल्नु । नत्र पब्लिकले बिर्सिन्छन् भन्नुहुन्थ्यो । नेपालमा नाटक स्थापित गर्न मैले धेरै कुरा छाडेको छु । तीमध्ये एक फिल्म अभिनय पनि हो । 

मेरो जीवन नाटक  
मेरो रङ्गमञ्चको यात्रा करिब ४ दशक पुग्न लाग्यो । मेरो बुबा महेन्द्र हमाल रङ्गकर्मी, नृत्यकार, कोरियोग्राफर र गायक, आमा शान्ति हमाल पनि कलाकार र काका काकीहरू पनि कलाकारितामा थिए । त्यसैले कक्षा तीन पढ्दादेखि म कलाकारितामा छु । त्यतिबेला मलाई टाइफाइड भएको थियो । त्यसको उपचारका लागि दिल्ली गएको थिएँ । उपचारका क्रममा खुट्टा बिग्रियो । दिल्लीमा पढ्दा भरत नाट्याशास्त्र सिक्ने र रामलीला खेल्ने अवसर पाएँ । 

२०३० तिर म १० वर्षको थिए । सुर्खेतमा वीरेन्द्र सरकारको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम हुन्थे । त्यो समय राजाका अगाडि गीत गाएर तक्मा पाएको थिएँ ।

सानैदेखि अभिनय, नृत्य गर्थें म । २०३९, ०४० मा एसएलसी पास गरेपछि परिवारले के इच्छा छ भन भनेर सोध्नुभयो । मैले नाटक गर्छु भने । त्यसपछि अहिलेको प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण थालेँ । सोही क्रममा राष्ट्रिय नाचघरमा जागिरे भएँ ।

करिब ४ दशकदेखि नाट्यकर्ममा निरन्तर छु । अहिलेसम्म झन्डै एक सय २० जति स्टेज नाटक अभिनय गरेँ होला । सकड नाटक कति गरियो, त्यो गन्ति भएन । निर्देशक मात्र गरेको डेढ सय नाघ्यो होला । लेखन १० वटा गरेँ । नाटकको हरेक विधामा काम गर्छु । गुरुकुलका अधिकांश नाटकको कला मैले गरेको छु । कालो खोला, सोरठी लगायत ६, ७ वटा आफँैले लेखेका नाटकमा अभिनेता, लेखन, निर्देशकलगायत थुप्रै विधामा अन्तर्राष्ट्रिय अवार्डसमेत हात परेको छ ।

रङ्गमञ्च मेरो खुसीको क्षेत्र हो । म यसैमा मर्न चाहन्छु । 

प्रशिक्षक म
म रङ्गमञ्चको प्रशिक्षक हुँ । मैले भरत नाट्यशास्त्र कोर्स गरेको छु । अभिनयमा सबैमा एउटै किसिमको अभिनय देखेकाले मैले अभिनय कोर्स पनि गरेँ । त्यसपछि  अभिनयको यथार्थ बुझे । यो पछि चरित्र, स्टोरी र साइकोलोेजी, बडी ल्याङ्ग्वेजलगायत धेरै कुरामा ध्यान दिन थलेँ ।

अहिले म अभिनयको सबै मुमेन्ट, कोरियोग्राफी, निर्देशक, सेट डिजाइन, कलर, लाइट सबै प्रशिक्षण दिन्छु ।

कर्मचारी हुँ
म राष्ट्रिय नाचघरको कर्मचारी हँु । २०४० सालदेखि नाचघरमैै छु । नाटक कर्मचारीबाट जागिर सुरु गरेको थिएँ । नाचघरमा राजनीतिक नियुक्तिमा म पेलिँदै आएँ ।
पहिले अस्थायी थिएँ, अहिले स्थायी भएँ । रिटायर हुने समय पनि भएको छ । अहिले भने सहायक नाटक प्रबन्धक पदमा छु ।

सपना छैन
सपना केही छैन । जबसम्म बाँच्छु, नेपाली रङ्गमञ्चका लागि काम गर्छु । संसारभरि नेपाली रङ्गमञ्च चिनाएको छु । नेपली कलासंस्कृतिका लागि केही गर्छु । 

गीत सन्छु 
गीतसङ्गीत धेरै सुन्छु । मैले ५, ६ वटा गीत गएको छु । गीत गाएर राष्ट्रिय पुरस्कारसमेत हात पारेको थिएँ । नाटकमा गीत पनि गाउनुपर्छ भनेर गायन सिकेको । मैले २०४६ सालमा स्टेजमा लाइभ गीत गाउँदा कसैले नपत्याएर रेकर्डिङ पो बजायो कि भनेर चेक गर्दथे ।

सुन्न मलाई सबै प्रकारका गीतसङ्गीत मनपर्छ । आधुनिक, पुराना लोक, मौलिक गीतहरू मनपर्छ ।

भूल भयो
जीवनमा भूल अवश्य भयो होला । जानी नजानी पनि भए होलान् । बदमासी पनि गरियो । सधैँ पछुताउनुपर्ने भूल एक दुईवटा छन् । घरमा पुल्पुलिएर हुर्किएको भएकाले होला पहिले म अलि बदमास पनि थिएँ । 

खराब बानी 
पहिले धेरै रिसाउँथे । सिकाउने क्रममा सौगात मल्ल, सरिता गिरीलाई पिटेको, छाताले हानेको छु । विद्यार्थीलाई सिकाउँदा पिट्नु राम्रो होइन, नर्मल भएर काम सिकाउनुपर्छ भन्ने फिल केही पछि भयो । मलाई रङ्गकर्ममा ढाँट्यो भने मेरो पारो तात्छ ।


 
रोग
अहिलेसम्म केही रोग छैन । समस्या भनेको सानोमा टाइफाइड भएका कारणले एउटा खुट्टामा अलिकति खराबी छ । त्यही मात्र हो ।

सुखदुःख
रङ्गमञ्चमा मरीमरी काम गरिन्छ । त्यो कामका लागि अरूको साथ नपाउँदा दुःख लाग्छ । महिनौँ लगाएर बनाएको स्टेज जब एक दिनको नाटक सो सकिए पनि भत्किन्छ । त्यतिबेला रुन मन लाग्छ । स्टेज भत्किँदा पहिले पहिले रुन्थे । म गुरुकुल भत्किँदा गइनँ । आफूले गरेको काम अरूले मनपराइदिँदा र प्रशंसा गर्दा सुखको फिल हुन्छ ।

नो मापसे
अहिलेसम्म मापसे त के केहीको पनि लत छैन । रक्सी नखाए पनि घरको कोठाभरि सजाएर राखेको छु । रक्सी त्यसरी राख्न मनपर्छ । त्यसैले कोठाभरी ब्रान्डेड ब्रान्डेट रक्सीको सोरुम छ ।

राशि ‘तुला’ 
मेरो राशि ‘तुला’ हो । ग्रहदशामा कहिले काहीँ विश्वास लाग्छ, कहिले लाग्दैन । हेराउने जुराउने गर्दिनँ, मनपर्दैन पूजापाठ गर्छु । 

मृत्यु सत्य हो
मृत्यु अन्तिम सत्य हो । म मृत्युसँग डराउँदिनँ । मरिन्छ कि भन्ने डर त कहिलेकाहीँ हुँदोरहेछ । त्यो समय पशुपति गएर लास जलाएको हेर्छु । जीवनमा शान्ति मिल्छ । जीवनको अन्तिम पलमा पनि रङ्गमञ्चमै रहन सकौँ भन्ने मेरो चाहना हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।