शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यसपछि म काली बूढी भएँ...

‘गिरीकी छोरी भएर त्यतिबेला कपडा सिलाउने काम सजिलो थिएन’
शनिबार, २१ जेठ २०७९, ०८ : ५२
शनिबार, २१ जेठ २०७९

नामले भन्दा पनि कलाकारिताको उपनाम ‘काली बूढी’ परिचयबाट चिनिन्छिन्– शारदा गिरी । ‘काली बूढी’ परिचय उनले सिरियल ‘झिल्के कान्छा’बाट पाएकी हुन् । तर यही नामबाट सर्वत्र चिनाउने काम भने ‘छक्का पञ्जा’ले गर्‍यो । अचेल उनलाई नामले भन्दा यही उपनामले बोलाउने समेत गरिन्छ । त्यसो गर्दा रिसाउँदिनन् उनी । भन्छिन्, ‘अभिनयको परिचयले बोलाउँदा गर्व लाग्छ ।’

करिब डेढ सय फिल्म, त्योभन्दा बढी सिरियल र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी उनले विज्ञापन र नाटक पनि गरेकी छन् । केही गीतसमेत गाएकी उनको उमेर अहिले ७१ हो । तर कलाकारितामा सक्रियता, जोस र जाँगर भने पहिलेझैँ छ । कलाकारिताको थुप्रै विधाको अभिनयमा उनी अविराम यात्रामा छिन् उनी ।

पछिल्लो समय पैसामा अवार्ड बिक्री हुने प्रवृत्तिको आलोक उनी  मरेपछि दिने सम्मानको पनि विरोध गर्छिन् । त्यस्तो सम्मानको अर्थ नरहेको बताउने कलाकार शारदा गिरीको जीवनका विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

काली बूढी भन्छन्

मेरो कर्म, धर्म र पेसा जे भने पनि कलाकारिता हो । २०४१, ०४२ मा स्वर्गीय प्रेम बानियाँको ‘सम्झौता’ नामक भिडियो फिल्मबाट सुरु भएको मेरो यात्रा अहिले पनि जारी छ । त्यो समय म न्युरोडको पसलमा काम गर्थें । कमेडीबाटै कलाकारिता सुरु भएको थियो ।

त्यसपछि हरि शिवाकोटीको ‘वेदना र मुक्ति’, दिनेश डिसीको ‘ट्वाक्क टुक्क’, ‘सँगालो’ लगायतमा काम गरेँ । यी सिरियलमा फिस्टे, दमन, दीपकराज गिरीलगायतको आमा मै हुँ ।

मेरो पहिलो फिचर फिल्म ‘चमेली’ हो । त्यसपछि निर्माता चिरञ्जीवी बस्नेतको सबै फिल्म अभिनय गरे । त्यसबाहेक ‘जूनतारा’, ‘रक्षा’, ‘माइली’, ‘गौँथली’, ‘छक्का पञ्जा’का सबै सिरिजलगायत अहिलेसम्म करिब डेढ सय फिल्म अभिनय गरेँ होला । सिरियल त झन् त्योभन्दा धेरै भयो । सडक नाटक दुई, केही विज्ञापन चलचित्र अभिनय गरेको मेरो म्युजिक भिडियो पनि थुप्रै छन् । 

अहिलेसम्म जेजति अभिनय गरेँ, सबैमा आमाको भूमिका गरेको छु । अभिनयका थुप्रै कलाकारकी आमा हुँ म ।

अहिले मलाई सबैले ‘काली बूढी’ आमा भनेर चिन्छन् । यो नाम मैले ‘झिल्के कान्छा’ सिरियलबाट पाएको हो । त्यो सिरियलमा रवीन्द्र खड्का मेरो छोरा बनेका थिए । उनको जुनैबेला पनि ‘ए काली बूढी मलाई भोग लाग्यो भन्या’ भन्ने डाइलग थियो । त्यसपछि म काली बूढी भए ।

त्यसपछि ‘छक्का पञ्जा’ केदार घिमिरे ¬‘माग्ने बूढा’की आमा काली बूढी बनेपछि झन् यो नाम चर्चित भयो । ‘काली बूढी’ भन्दा पहिले कस्तो कस्तो लाग्थ्यो । रिस पनि उठ्थ्यो । अहिले त यसैबाट चिनिएकाले होला गर्व लाग्छ ।

अहिलेसम्म अभिनयबाट खुसी छु । पहिले पारिश्रमिकमा ठगिन्थे, अचेल ठग्दैनन् । यो क्षेत्रमा नयाँले भन्दा पुरानाले ठग्छन् ।

अचेल पैसामा अवार्ड बिक्री हुन्छ । राम्राले भन्दा हाम्राले पाउँछन् । त्यो देख्दा चित्त दुख्छ । अहिले मरेपछि सम्मान दिने चलन पनि छ । त्यो बेकार हो । दिए जिउँदैमा दिनुपर्छ, मरेपछि दिने सम्मानको कुनै अर्थ छैन ।

ज्यालादारी जागिर 

पहिले मेरो आर्थिक अवस्था निकै नाजुक थियो । त्यसैले मैले सोल्टी होटलमा ज्यालादारीमा पनि काम गरेँ । पहिलो पटक ४ महिना र दोस्रो पटक ६ महिना । त्यसपछि कपडा सिलाउन थालेँ ।

गिरीको छोरी भएर त्यतिबेला कपडा सिलाउने काम सजिलो थिएन । धेरैले कुरा काट्थे । कतिले के के भने । तर म कसैको कुरा नसुनी काम गर्थें । कलाकारितामा जम्दै गएपछि सिलाउने काम छोडेँ । त्यो समय कलाकारितालाई पनि राम्रो भनिदैन थियो । त्यस्ता कुराको पछि लागेको भए अहिले यहाँ हुन्नथे ।

विवाहपछि प्रेम

२०२८ सालमा परिवारले खोजिदिएको केटासँग मैले विवाह गरेकी हो । त्यो बेला बाहिर प्रेमको कुरो त छाडौँ, कसैसँग बोल्नसमेत हुँदैन थियो । विवाहपछि श्रीमान्सँगै प्रेम भयो । उहाँले पनि २०५८ मा छोडेर जानुभयो ।

सपना पूरा भो

भगवान्को कृपाले सपना पूरा भयो । कलाकारितामा चिनिएकी छु । सबैभन्दा ठूलो कुरो दर्शकको माया पाएकी छु । मप्रतिको माया सधैँ रहोस्, कलाकारिता गर्दागर्दै मर्न पाइयोस्, यही छ सपना । 

कुखुरो खान्नँ

मनपर्ने खाना साधारण दाल, भात, तरकारी र गोलभेँडाको अचार नै हो । आलु, प्याजको तरकारी र माछा बढी मनपर्छ । मन नपर्ने केही छैन । कुखुराको मासु खाँदिनँ ।

रेस्टुरेन्ट खासै जान्न । विवाह, पार्टी र कामको सिलसिलमा मिटिङ लगायतमा रेस्टुरेन्ट जानैपर्छ । खाना रेस्टुरेन्टको भन्दा घरकै मनपर्छ । रेस्टुरेन्टको ठूलो खसी बाहेक सामान्य सबै खानेकुरा खान्छु । पहिले पहिले पकाउन रुचि लाग्थ्यो, सबैथोक पकाउँथे । अहिले बूढौलीले होला अल्छी लाग्छ ।

योगा सिकाउँथेँ

७१ वर्षसम्म पनि एकदम एक्टिभ छु । त्यो सबै फिट्नेसको राज हो । बिहान उठेर आफ्नो नित्य कर्म सकाएपछि  नियमित योगा गर्छु ।

पहिले ६, ७ वर्ष योगा सिकाएँ । पछि कलाकारितामा समय दिन नभ्याएर छोडेकी हो । अहिले पनि दैनिक एक घण्टा योगा गर्छु । मर्निङवाक पहिले हिँड्थे । कोरोनाको समय तपाईं जस्तो बूढो मानिस हिँड्नु हुँदैन भनेर सम्झाएपछि छोडेँ ।

सारी चोलो राम्रो

पोसाक यही भन्ने छैन । सबैथरि प्रयोग गर्छु । सजिलो र राम्रो सारी चोली लाग्छ । यो हाम्रो सभ्याता हो । अचेल सजिलोका लागि बढी कुर्था सुरुवाल प्रयोग गर्छु ।

फर्मल कार्यक्रम, विवाह, पार्टी लगायतमा जानुपर्दा सारी, चोली लगाउँछु । पहिरनमा मनपर्ने कलर रातो र हरियो हो । पहिरनमा ब्रान्ड हेर्ने बानी कहिल्यै भएन । राम्रो लागेको र मनपरेको किन्छु ।

पहिले पढ्थे

पहिले पहिले पढ्थेँ । अचेल आँखाले मसिनो अक्षर देख्दैन । पहिले त धार्मिक, पत्रपत्रिका, साहित्यका पुस्तक समेत पढ्थे । अहिले पढ्न सक्दिनँ ।

धार्मिक स्थल घुमघाम

धार्मिक स्थल घुम्न रुचि छ । जुनै वर्ष पनि एक पटक धार्मिक भ्रमणमा निस्किन्छु । त्यो क्रममा भारतदेखि नेपालका विभिन्न धार्मिक ठाउँ २२, २५ दिन घुम्छु । त्यसरी घुम्न समूहमा जान्न । आफन्त वा छोराछोरी लिएर हिँड्छु ।

कलाकारिताले समेत धेरै ठाउँहरू घुमाउने गरेको छ । देशको केही ठाउँ घुमेको छु । विदेश भने टेकेकी छैन । एक पटक विदेश कार्यक्रमको अवसर थियो । कोरोनाले जान पाइनँ । बाँचिएछ भने विदेश पनि टेकिएला कि ।

केको फुर्सद

केही अगाडिसम्म ६, ७ वटा सिरियल अभिनय गर्थें । त्यसैले फुर्सद थिएन । ‘हल्का रमाइलो’ सिरियलबाट धेरै सिरियल नगर्नु आमा, राम्रो हुँदैन भनेर भनेपछि केही छोडदिएँ । त्यसैले अहिले केही फुर्सद छ ।

अहिले भने ‘भुन्टी’मा मात्र अभिनय गर्दैछु । एक सिरियल ‘कस्तो भाग्य’ आफैँले बनाएकी छु । किरण केसी ‘रातामकै’ लाई लिएर २ दोहोरी गीत ‘रुमालको छेउ’ र ‘एउटा कुरा छ’ भन्ने गाएकी छु ।

बुढेसकाल भएकाले शुभचिन्तक, फ्यानका लागि काली बूढीका तर्फबाट उपहारका रूपमा र नाम पनि रहोस् भनेर गीत गाएको हो । यी सबै काली बूढी इन्टरटेनमेन्टको युट्युवबाट सार्वजनिक गरेकी छु ।

फुटबल हेर्छु

हामी सानो हुँदा अहिलेजस्तो खेल खेल्ने चलन थिएन । त्यतिबेला, घुम्ने, दौडने र लुकीखेल्ने मात्र खेल थिए । अहिले टीभीमा फुटबल हेर्छु । 

मोबाइल दुईवटा बोक्छु

मसँग अहिले दुईटा मोबाइल छ । एउटा सिम्पल र अर्काे आइफोन । कुरा गर्दा लाजमर्दाे होला, आइफोन चलाउन नआएकाले सिम्पल मात्र चलाउँछु ।

फोन गर्ने, उठाउने, सामाजिक सञ्जाल चलाउनेको अलवा टिकटक बनाउँछु, युट्युब हेर्छु । कहिलेकाहीँ टिकटक लाइभमा पनि बस्छु । आफ्नो युट्युव च्यानलको प्रचार गर्न टिकटक लाइभमा बस्छु । 

फिल्म हेर्छु

टीभी पहिले हेरिन्थ्यो । अहिले मोबाइलमै सबैथोक हेर्न पाइने भएको हेर्दिनँ । टीभीमा पहिले समाचार, सिरियलहरू र हिन्दी, नेपाली फिल्म हेर्थें ।

अहिले हिन्दी मन लाग्दैन । नेपाली मात्र हेर्छु । आफ्नो अभिनय रहेको फिल्म त हलमा गएर हेर्छु । हेर्न पारिवारिक, सामाजिक र कमेडी लगायतका फिल्म मनपर्छ । 

गीतसङ्गीत मनपर्छ

गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु । लोकदोहोरी र राम्रा गीतहरू सुन्छु । गीत सङ्गीत फुर्सदमा सुन्छु । मैले दुईवटा गीत गएकी पनि छु । फेरि पनि गाउने इच्छा छ ।

खराब बानी 

चिया धेरै खान्छु । 

जीवन एउटा सङ्घर्ष

जीवन एउटा यात्रा, सङ्घर्ष हो । जीवन यात्राको क्रममा आउने सुख, दुःख यसका साथी रहेछन् । श्रीमान्को मृत्युमा र दुःखमा म धेरै रोएकी थिएँ ।

भूल भए होला

म पनि मानिस हुँ । जानी नजानी धेरै भूल भए होलान् । जानेर अरूका लागि दुःख पुग्ने भूल गरेकी छैन । पछुताउनुपर्ने, सधैँ सम्झने खालको भूल पनि भएजस्तो लाग्दैन ।

कहिल्यै गर्दिनँ

मापसे कहिल्यै गरेकी छैन । फिल्म क्षेत्रका सबैलाई यो कुरो थाहा छ । अहिले नखानेको घरमा पनि सजाएर राख्ने चलन छ रे । मैले घरमा सजाएर पनि राखेकी छैन । 

 


 

रोग धेरै छन्

मलाई  धेरै रोग छन् । प्रेसर, सुगर, थाइराइड, दम, युरिक एसिड, कोलेस्ट्रोल लगायत समस्या छन् । प्रेसरको औषधि ७, ८ वर्षदेखि नियमित खाँदैछु । पछिल्लो समय कोलेस्ट्रोलको पनि औषधि खाँदैछु । 

मेरो राशि मीन

मेरो राशि मीन हो । ग्रहदशामा विश्वास पनि लाग्छ । हेराउनु जुराउने गर्दिनँ । राशिफल भने हेर्छु । भगवान्प्रति विश्वास छ, त्यसैले पूजापाठ गर्छु ।

सुटिङ भएको ठाउँमा मन्दिर भेटियो भने मेरो इच्छा पूरा भएको जस्तो लाग्छ । म साइ बाबा मान्छु । उहाँको मन्दिर वर्षमा एक पटक पुगेकै हुन्छु ।

मृत्यु सत्य हो

मृत्यु जीवनको अन्तिम सत्य हो । जन्मिएपछि हरेकले मर्नुपर्छ । कलाकारितामा अभिनय गर्दागर्दै मर्न पाइयोस् । थलिएर, दुःख पाएर मर्नु नपरोस् । जीवनको अन्तिम पल पनि अभिनयमै बितोस् । त्यही हो मेरो इच्छा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप