आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

क्यान र वायुसेवा कम्पनी आमनेसामने

आन्दोलनको आडमा घुँडा टेकाउने दाउमा वायुसेवा सञ्चालक, क्यान पनि पछि नहट्ने
मङ्गलबार, ०७ असार २०७९, २१ : १०
मङ्गलबार, ०७ असार २०७९

अत्यावश्यक सेवाहरूको सूचीमा पर्ने वायु सेवा क्षेत्रमा पर्ने वायुसेवा कम्पनीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङका लागि पर्याप्त स्थान नभएकाले बाहिर पार्किङ गर्न भनेपछि वायु सेवा कम्पनीहरू ५ बुँदे माग राख्दै आन्दोलित बनेका हुन् ।

वायु सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले आन्दोलित बनेको हो । क्यानले एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था गरेको, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ र नेभिगेसन लगायतको शुल्क वृद्धि गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको हो ।

जसअनुसार बुधबारदेखि अनिश्चितकालका लागि हवाई सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा संघले गरेको छ । संघले कडा शब्दमा भनेको छ, ‘आफ्ना माग पुरा नभएमा देशका सबै हवाई सेवा पूर्ण रूपमा ठप्प हुनेछन् । जसमा आपत्कालीन उद्धारका काम समेत पर्छन् ।’ यसरी, आफ्नो माग पुरा गराउनका लागि संघले आन्दोलनको आड लिएको छ ।

अत्यावश्यक सेवाको सूचीमा पर्ने हवाई क्षेत्र आन्दोलन र हडताल गर्न पाइँदैन । तथापि, क्यानलाई घुँडा टेकाउनका लागि सम्पूर्ण सेवा नै बन्द गरेर आन्दोलनमा होमिने तयारी वायु सेवा कम्पनीहरूले गरेका हुन् । संघका अध्यक्ष रामेश्वर थापाले नचाहँदा–नचाहँदै वायु सेवा कम्पनीहरू आन्दोलनमा उत्रिनुपरेको बताए । उनले क्यानबाट सृजित समस्या समाधानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासीन देखिएकाले यस्तो आन्दोलनमा उत्रिएको बताएका छन् ।

जबकि, क्यान भने आफ्नो निर्णयबाट एक पाइला पनि पछि नहट्ने बताउन थालेको छ । महानिर्देशक प्रदीप अधिकारीले रातोपाटीसँग कुरा गर्दै क्यान आफ्नो निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताए । भने, ‘यो निर्णयबाट क्यान कुनै हालतमा पछि हट्दैन । हामीलाई पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको पनि साथ छ ।’ खासगरी, क्यानले लागू गर्न लागेको व्यवस्था अहिलेको अवस्थामा अत्यावश्यक रहेकाले सरकारी साथ पाएको अधिकारीले बताए ।

‘यसअघि, ल्याइएको राती १२ बजेसम्म उडान भर्नुपर्ने व्यवस्थाविरुद्ध पनि आन्दोलनमा उत्रिएका थिए,’ महानिर्देशक अधिकारीले भने, ‘तर, कार्यान्वयनमा आउनै पर्‍यो । क्यानलाई तह लाउन आफूलाई सर्वेसर्वा देखाउने कम्पनीहरूको लक्ष्य यसपटक सफल हुँदैन ।’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान पार्किङ क्षमता नै नभएपछि यो व्यवस्था गरिएको र क्यानले गरेको व्यवस्था कम्पनीहरूले मान्नुको विकल्प नरहेको समेत बताए ।

खासगरी, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा मात्रै विमान पार्किङ क्षमता छ । यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ विमानस्थलमा ११ वटा विमान पार्किङ क्षमता छ । तर, आन्तरिक उडानतर्फ विभिन्न कम्पनीका कूल ५२ वटा विमान छन् । जसमा १७ वटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्दा ३५ वटा विमान अट्दैनन् । र, नअट्ने यी विमानको पार्किङ काठमाडौँ बाहिर रहेका विमानस्थलमा गर्नुपर्ने क्यानको नयाँ व्यवस्था हो । जसका विरुद्ध कम्पनीहरू आन्दोलनमा होमिएका छन् ।

 


 

यसअनुसार प्रत्येक वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक तिहाइ अर्थात ३३ प्रतिशत मात्रै विमान राख्न पाउँछन् । बाँकी ६७ प्रतिशत जहाज उपत्यका बाहिरका विमानस्थलमा राख्नुपर्ने हुन्छ । ‘यो व्यवस्थामा कुनै विमान कम्पनीलाई काखा र कुनैलाई पाखा लगाएका छैनौँ,’ महानिर्देशक अधिकारी भन्छन्, ‘क्यानले गर्ने निर्णय नै कानुन हो । त्यसैले कम्पनीहरूले जुनसुकै हालतमा यो निर्णय मान्नुपर्छ ।’

‘वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विमान पार्किङ गरेमा जनताका छोराछोरीले बिहानै आफू नजिकैको विमानस्थलबाट विमान चढ्न पाउँछन्,’ क्यान महानिर्देशक अधिकारीले भने, ‘सबै विषयलाई विचार गरेर हामीले निर्णय गरेका हौँ ।’ विमान कम्पनीहरूले आफ्नो क्षेत्र अत्यावश्यक सेवाको क्षेत्रमा पर्ने विषय बिर्सन नहुने अधिकारी बताउँछन् ।

विमानहरू उपत्यका बाहिरका विमानस्थलमा राख्दा सुरक्षाको सबै प्रबन्ध मिलाइने समेत क्यानले बताएको छ । ‘विमान उपत्यका बाहिरको विमानस्थलमा पाइलट, को–पाइलट र दुई जना एयर होस्टेज विमान पार्किङ गरेको विमानस्थलको सहरमा सुत्ने मात्रै काम हो,’ उनले भने, ‘त्यति खर्च पनि कम्पनीहरूले गर्न सक्दैनन् भने क्यानले नै बस्ने प्रबन्ध मिलाइदिन्छ । तर, यो व्यवस्था नमान्नुको विकल्प छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप