आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

स्कुलको ‘फस्ट गर्ल’ देखि ललितपुरको उपमेयरसम्म

हामी जनताका सेवक हौँ, मालिक होइन : मञ्जली शाक्य
शनिबार, १४ जेठ २०७९, १४ : ४२
शनिबार, १४ जेठ २०७९

मञ्जली शाक्य बज्राचार्य ललितपुर महानगरपालिकाकी नवनिर्वाचित उपमेयर हुन् । एमालेबाट उम्मेदवारी दिएर उनी उपमेयर बनेकी हुन् । ललितपुर महानगरको समृद्धि, मौलिकताको संरक्षण, यहाँका बासिन्दाको खुसीबाहेक उनको अन्य कुनै लक्ष्य छैन ।

विद्यार्थी जीवनदेखि नै अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएकी मञ्जलीसँग नेकपा माओवादीको विभिन्न तह र तप्काको सङ्गठनमा काम गरेको अनुभव पनि छ । माओवादी केन्द्रको दुई पटक केन्द्रीय सदस्यमा रहेकी उनी माओवादी र एमाले एकीकरण भएर नेकपा बन्दा पनि केन्द्रीय कमिटीमा थिइन् । तर यी दुवै पार्टी विभाजनपछि भने उनी माओवादीमा फर्किनन्, एमालेमै रहिन् ।

पार्टीको केन्द्रीय कमिटीमा पुगेकी उनी अहिले तल झरेर राजनीतिमा छिन् । केन्द्रीय कमिटीमा रहँदा जनताको घरदैलोमा पुगेर सुख दुःखको साथी बन्न वञ्चित भएकाले आफू तल झरेको उनी बताउँछिन् । राष्ट्र सेवक कर्मचारी र जनप्रतिनिधि जनताका मालिक बन्ने प्रवृत्तिको सधैँ खरो विरोध गर्दै आएकी उनी राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सधैँ जनताको सेवकका रूपमा परिचित हुनुपर्ने बताउँछिन् । यिनै मञ्जली शाक्य बज्राचार्यको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा : 

भेजिटेरियन हुँ

खानमा खासै सौखिन छैन । सादा खाना दालभात र तरकारी मनपर्छ । मन नपर्ने खानेकुरो केही छैन । भेजिटेरियन भएकाले माछामासु मनपर्दैन ।

राजनीतिर र सामाजिक भेटघाटका लागि रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा खाने भनेको चिया हो । म दूध चियाको सौखिन छु ।

मैले अहिलेसम्म पकाउनुपरेको छैन, त्यसैले आउँदैन । म धेरै समय पब्लिकसँग हुने भएकाले खानपिनसमेत उहाँहरूसँगै र उहाँहरूको जस्तै खान रुचाउँछु ।

नियमित योग

फिटनेसका मामलामा सजग छु । १५, २० वर्षअगाडिदेखि नै नियमित योग र मेडिटेसन गर्छु । पछिल्लो केही समययता चुनावले गर्दा एक्सरसाइजमा ध्यान दिन भ्याएकी छैन । म दैनिक डेढ घण्टा एक्सरसाइजलाई छुट्याउँछु ।

योगमा बाबा रामदेवका योग गर्छु । एक्सरसाइजका सामग्रीप्रति रुचि नभएकाले घरमा छैन । मर्निङवाकको बानी पनि छैन, क्लब पनि जाँदिनँ ।

ब्रान्ड हेर्दिनँ

पोसाकमा खासै रुचि छैन । सामान्य पाइन्ट, टिसर्ट, कुर्था सुरुवाल प्रयोग गर्छु । पछिल्लो समय फर्मल ड्रेस सारी चोलो लगाउँछु । कम्र्फटेबल फिल कुर्थासुरुवालमै गर्छु ।

मनपर्ने पहिरनमा रङ लाइट कलर हो । पहिरन रेडिमेट किन्छु । पहिरनमा ब्रान्ड हेर्दिनँ, लोकल उत्पादन र मनपरेको प्रयोग गर्छु ।

अध्ययनमा सौखिन

पहिलेदेखि नै अध्ययनमा सौखिन छु । यस्तै पुस्तक भन्ने छैन । समय परिस्थितिअनुसार बाहिर आएका नयाँ नयाँ पुस्तक पढ्छु ।

म कम्युनिस्ट भएको हिसाबले त्यस्तै विचारधारा र सिद्धान्तका किताब पढ्थे । अहिले आएर नयाँ विषयसमेत अध्ययन गर्नुपर्छ भनेर थालेकी छु । अध्ययन गरेको मध्ये मनपरेको पुस्तक ‘आमा’ हो । कार्यक्रम केही भएन र फुर्सद भयो भने बिहान र नत्र साँझ पढ्छु । 

केको रुचि ?

घुमघाममा रुचि छैन । घुम्नकै लागि भनेर कुनै ठाउँ निस्किएको छैन । अहिलेसम्म देशका करिब ५० जिल्ला त घुमेँ होला । त्यो सबै राजनीतिले घुमाएको हो ।

विदेश भने खासै गएकी छैन । भारत र थाइल्यान्ड मात्र हो । एक पटक चीन जाने भिसा थियो । बुबा बिरामी भएकाले  क्यान्सिल गर्नुपर्यो । चाइना र कोरिया एक पटक हेर्न मन लागेको छ । स्वदेशको रारा क्षेत्र एक पटक पुग्ने इच्छा छ ।

फुर्सद छैन

जीवनमा खासै फुर्सद हुँदैन । राजनीति, सामाजिक काममा आफ्नो रुचि भएकाले बिहानैदेखि यसमै क्रियाशील हुन्छु । फुर्सदले त्यतिकै बस्न मन लाग्दैन । केही न केहीमा आफूलाई व्यस्त राख्ने गर्छु ।

रुचि छैन

खेलकुद मानिसका लागि अति आवश्यक छ । तर यो मेरो रुचिको विषय भने होइन । स्वास्थ्यका लागि खेल खेल्नुपर्ने हो । सानोमा केही खेल खेलियो ।

म विद्यार्थी जीवनमा फस्ट गर्ल थिए । त्यही भएर धेरै समय अध्ययनमै फोकस भयो ।

आइफोन बोक्छु 

अहिले मसँग एउटा आइफोन छ । मोबाइलमा धेरै फङ्सन चलाउन जाँन्दिनँ । इमेल, फेसबुक र फोन गर्ने हो । मोबाइलबाट धेरै काम लिन सकिन्छ ।

हामी जनताको मानिस भएकाले मोबाइलका धेरै अप्सनमा भन्दा पनि जनतासँगै रमाउन खुसी लाग्छ । मोबाइल नहराए, नबिग्रिएसम्म नयाँ फेर्दिन । 

टीभी हेर्छु

घरमा अहिले टीभी राखेकी छैन । त्यसैले टीभी नहेरेको पनि धेरै भयो, पहिले हेर्थें । देश विदेशका सामाचार, जोग्राफी च्यानललगायत मनपथ्र्याे । फिल्म पनि कहिले काहीँ टीभीमै हेर्थें ।

फिल्म हेर्न रुचि लाग्छ । अहिले फिल्म नहेरेको धेरै भयो । सामाजिक विषयमा निर्माण भएका फिल्म मनपर्छ । नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै खालका फिल्म हेर्छु । 

जागिर गरिनँ

जागिर भन्ने कहिलै गरिनँ । धेरै पहिले साथीहरूको टिम मिलेर लगनखेलमा एउटा नेवाः मन्टेस्वरी सञ्चालन गरेका थियौँ । त्यसपछि साथीहरूलाई नै जिम्मा लगाएँ ।

केही समय जनताको बीचमा भिज्न सहकारी क्षेत्रमा  आबद्ध भएँ । भूमि आयोगमा पनि केही समय बसेर काम गरेँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा पनि दुई वर्ष काम गर्ने अवसर जुर्‍यो । जीवन गुजाराकै लागि भनेर जागिर अहिलेसम्म गरेकी छैन । 

पहिलेदेखि नै राजनीतिमा

धेरैलाई म राजनीतिमा नयाँ जस्तो लाग्न सक्छ । तर म राजनीतिमा होमिएको धेरै भयो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा छु । प्रचार नरुचाउने र अहिलेसम्म सार्वजनिक पद धारण नगरेकाले मेरो चर्चा नभएको हो ।

२०५४ सालदेखि नै म राजनीतिमा नियमित छु । अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएकी थिएँ । २०५६ देखि नेकपा माओवादीमा सक्रिय रहेँ । त्यतिबेला माओवादी भूमिगत पार्टी भएकाले राज्यको थ्रेट थियो ।

सुरुमा उपत्यकाको नेवाः सङ्गठन रहेँ । त्यसपछि एरिया कमिटीमा भए । २०५८ तिर जिल्ला कमिटीमा रहेर काम गरेँ । २०५८, ०५९ धेरै साथीहरू गिरफ्तार भएपछि एकै पटक ४, ५ वटा जिम्मेवारी सम्हाल्नुपर्‍यो ।

जनआन्दोलनपछि क्षेत्रीय ब्युरो सदस्य भए । नेवाःका पार्टी कमिटीको सचिवमा रहेँ । त्यसपछि प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा पुगेँ । दुई कार्यकाल केन्द्रीय कमिटी रहे । नेकपा माओवादी र एमाले एकता भएर नेकपा हुँदा केन्द्रीय समिति सदस्यमै थिएँ । माओवादी  र एमाले फेरि विभाजन भयो । म भने एमालेमै रहेँ ।

जनता माझ रमाउने, उनीहरूको सेवा गर्न रुचाउने म केन्द्रीय समितिबाट तल झरेर महानगरीय कमिटीको अध्यक्षका रूपमा काम गर्न थालेँ । एमालेबाट अहिले ललितपुर महानगरपालिकाको उपमेयरमा विजयी भएकी छु । जनताको बीचमा रहेर काम गर्दा जति आत्मसन्तुष्टि हुन्छ । त्यो चाहिँ माथिल्लो पदमा नहुँदो रहेछ । 

महानगरपालिका, नगरपालिका होस् वा अन्य स्थानीय निकाय । मानिस स्थानीय निकायलाई सिंहदरबार भनेर पनि भन्ने गर्छन् । तर विगतको ५ वर्ष स्थानीय निकाय जनताले चाहे जस्तो भएको मैले अनुभूति गरिनँ ।

त्यसैले स्थानीय सरकार जनताकै लागि भनेर बुझाउन स्थानीय निकायमा आएकी हुँ । हामी जनप्रतिनिधि तपाईंको सेवक हो, मालिक होइनँ भनेर बुझाउन र तपाईंसँग जोडिएर काम गर्न चाहन्छौ भनेर व्यावहारिक रूपमै सिकाउन, संस्कार बसाल्न मन छ ।

जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी जनताका सेवक नै  हुन् । जनताबाट हामी पालिने हो । त्यही बुझाइ र संस्कार हुनुपर्छ सबैमा । कर्मचारी र जनप्रतिनिधिले जनतालाई आफू मालिक भएजस्तो व्यवहार गर्ने अब ललितपुर महानगरपालिकाबाट हट्छ । सबैलाई आफ्नो संस्कार र व्यवहारमा सुधार ल्याउन अहिल्यै आग्रह गर्छु । त्यसको सुरुवात मबाट हुन्छ । हामी जनताको सेवक हौँ भनेर जनतालाई हामीले महसुस गराउनुपर्छ । त्यसको सुरुवात मबाटै हुन्छ ।

सपना ठूलो छैन

म जनताको सेवा हुँ । सेवाका लागि पदैमा आउनुपर्छ भन्ने सोच थिएन । व्यक्ति, राजनीतिक दलको कार्यकर्ता भएर सेवा गर्ने सोच थियो । त्यसले सेवाको सबै इच्छा पूरा नहुने रहेछ । त्यसकारण पनि सरकारी निकायमै बसेर बढी जनताको सेवा गर्ने सोच र सपनाका लिएर महानगरपालिका आएकी छु । ललितपुर महानगरवासी खुसी र सुखी हुनुभयो भने मेरो सपना पूरा भयो ।

जनवादी विवाह

विवाह २०६१ सालमा भएको थियो । उहाँ र म एउटै पार्टीमै थियौँ । त्यतिबेला हामीले जनवादी विवाह गर्‍यौँ । हाम्रो विवाह पार्टीले गराएको हो ।

तर अहिले हामी सँगै छैनौँ । उहाँले अर्काे जीवनको सुरुवात गरिसक्नुभयो । हामी सहमतिमा छुट्टिएका हौँ । म मसँग एउटी छोरी छिन् ।

गीत मनपर्छ

गीतसङ्गीतमा रुचि छ । सरल, मन छुने नेपाली गीत सङ्गीत सुन्छु । क्लासिकल पनि मनपर्छ । अहिले बजारमा आएको भन्दा पुराना म्युजिक बढी मनपर्छ । हिन्दी, नेपाली, अङ्ग्रेजी सुन्छु । प्रायः घरको काम गर्दा गीत सुन्छु । 

एउटा सङ्घर्ष

राजनीति भनेको जीवनको एउटा सङ्घर्ष हो । यो त्यति सहज छैन जतिको सोच्ने गरिन्छ । त्यही भएर नयाँ पीडितलाई सकारात्मक सन्देश दिन नसकेको हो ।

अहिले राजनीतिमा जुन विकृति भित्रिएको छ त्यो राजनीतिलाई इमानदारिताका साथ नलिएर हो । हामी २, ४ जनाले भए पनि राजनीतिलाई सकारात्मक ढङ्गले अगाडि बढाउनुपर्छ । विचारको राजनीति गर्नुपर्छ । बिस्तारै सबै सुध्रिन्छ ।

खराब बानी 

धेरै हाँस्छु । सबैलाई सजिलै विश्वास गर्छु । अरूबाट पनि त्यस्तै अपेक्षा गर्छु । त्यसैले धेरै धोका पाएको छु ।

छैन रोग

भगवान्को कृपाले अहिलेसम्म रोग केही छैन । एकदमै ठीकठाक छु । धुलो र धुवाँको भने एलर्जी छ । 

मापसे​ कहिलै गर्दिनँ

मापसे कहिल्यै गर्दिनँ । म नेवा: समुदायको भएकाले हाम्रोमा चढाउन चाहिन्छ । त्यसका लागि प्रयोग गर्छु । घरमा सजाएर राख्ने चलन छैन । 

राशि ‘कुम्भ’

मेरो राशि ‘कुम्भ’ हो । हामी शाक्य बज्राचार्य भएकाले पुरेत्याइँ गर्ने, ज्योतिष गर्ने हाम्रो घरभित्रै हुनुहुन्छ । त्यो हाम्रो संस्कार हो । ग्रहदशा केही न केही हो ।

मृत्यु सत्य हो

मृत्यु सत्य हो । जीवनसँगै मृत्यु जोडिएको हुन्छ । वर्तमानमै रमाउन र सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । मृत्यु ठूलो कुरो होइन । मृत्यु एक दिन अवश्य आउँछ ।

त्यो आउँछ भनेर डराएर बस्नुभन्दा प्रत्येक दिन सेकेन्ड सही ढङ्गले सदुपयोग गर्न सकियो भने मृत्युलाई सहज लिन सक्छौँ । हामीले मृत्युपछि पनि सम्झने कर्म गर्न सक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप