काठमाडौं ट्रान्जिटमा हेरोइन ल्याएपछि सुकुटे रिसोर्टमा घुमघाम
काठमाडौंलाई ट्रान्जिट बनाएर भारत लान खोजिएको ५१ किलो हेरोइन प्रहरीले एक साता लामो अपरेशन चलाएर बरामद गर्न सफल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ ।
दक्षिण अफ्रिकाबाट आएका ७ जना महिलाहरुले सो हेरोइन ल्याएका हुन् । हेरोइन बोक्नेहरू ६ जना दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका हुन् । एकजना ३७ वर्षीया दक्षिण अफ्रिकन महिला मोरोएसपी सुजान कोफुचाहिँ जेठ ३१ मा कतारको दोहाबाट काठमाडौं आएकी हुन् ।
सातवटा सुटकेशमा विशेष तरिकाले छिपाएर ल्याएको हेरोइनसहित ब्यूरोले ७ जना दक्षिण अफ्रिकन महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा, साबालाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरिन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्सस्ट छन् ।
ब्यूरोले केहीलाई ठमेलबाट त केहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गरेको थियो । तर, एक जनाचाहिँ रिसोर्टमा फेला परिन् । उनी हुन् २९ वर्षीया महलाको मौरिन माथिबा । जेठ २६ मा काठमाडौं आएकी मौरिनले ७ किलो हेरोइन भएको सुटकेश ल्याएकी थिइन् । सिन्धुपाल्चोकस्थित सुकुटे बिच रिसोर्टमा नेपाली साथीसँग घुम्न गएकी उनलाई ब्यूरोको टोलीले पिछा गरेर काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।
अफ्रिकामा सामान डेलिभरी गर्नेलाई करोडौंको भारी
हेरोइन लिएर काठमाडौं आएका महिलाहरु दक्षिण अफ्रिकामा सामान डेलिभरी गरेर गुजारा चलाउँथे । एकजनाले आफु कुक भएको प्रहरीसँग भनेकी छन् । साबालाला, रोसिन्हा र मौरिनलाई दक्षिण अफ्रिकाबाट एउटै व्यक्तिले हेरोइन पठाएको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।
लागुऔषध कारोबारीहरुले भरियालाई दक्षिण अफ्रिकाबाट नै होटल बुक गरेर पठाएका छन् । त्यहाँ बसेर हेरोइन लिएर आउनेहरुको हरेक गतिविधिको अपडेट उनीहरुले लिने गरेका थिए । प्रहरीले बरामद गरेको हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य १ अर्ब दुई करोड छ ।
सीबीसी थान्डेकिले र मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा जेठ २९ मा सँगै काठमाडौं आएका हुन् । उनीहरुको साथबाट प्रहरीले १६ किलो हेरोइन बरामद गरेको छ । उनीहरुको बीचमा पूर्व चिनजान थियो । साबालाला, रोसिन्हा र मौरिनको बीचमा पनि पूर्व चिनजान थियो । उनीहरुबाहेक अरु पूर्व परिचित होइनन् । मुरिएल फेब्रुअरी र मार्चमा दुईपटक काठमाडौं आएको उनको ट्राभल हिस्ट्री रेकर्डबाट थाहा भएको छ । अरु ६ जना पहिलोपटक काठमाडौं आएका हुन् ।
भारत लाने तयारी
बरामद हेरोइन कारोबारीहरुले भारत पठाउन लागेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘नेपालमा हेरोइनको ठुलो बजार छैन, त्यसैले सो सामान भारत लैजान लागेको अनुसन्धानबाट थाहा भएको छ ।’
२०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बियन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो । अहिले बरामद गरिएको हेरोइन कारोबारीसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग कनेक्सन देखिएको छ । ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो ।
‘विगतको ट्रेन्ड पनि भारतमा लाने गरेको देखिन्छ’ प्रहरी उपरिक्षक जीवन श्रेष्ठ भन्छन्–‘अहिले पनि भारत लैजाने तयारी रहेको अनुसन्धानबाट थाहा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो