मेरो जीवन

उनले छोडेकोले विष खाएँ : उद्धव पौडेल

‘त्यो फिल्मले एकै पटकमा करोडपति बनायो’

person explore access_timeबैशाख २४, २०७९ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

उद्धव पौडेल नेपाली फिल्म क्षेत्रमा चिनाउनुपर्ने नाम होइन । निर्माण, निर्देशन, वितरकदेखि फिल्म क्षेत्रको धेरै विधामा उनको योगदान रहेको छ । दर्जनभन्दा बढी फिल्म निर्माण गरेका पौडेलले हिन्दी फिल्म निर्देशनसमेत गरेका छन् । मध्यम वर्गीय परिवारका पौडेलले फिल्म क्षेत्रमा आउनुअगाडि थुप्रै व्यवसायमा आबद्ध थिए । हिन्दी फिल्म केही हलमा प्रदर्शनको जिम्माबाट फिल्मकर्ममा होमिएका पौडेललाई चिनाउने र करोडपति बनाउने काम नेपाली फिल्मले गर्‍यो । एकै फिल्म ‘कुसुमे रुमाल’ बाट उनी करोडपति हुन सफल भए ।


गोपीकृष्ण मुभिजलगायत थुप्रै चलचित्र घरका मालिक उनको चलचित्र विकास कम्पनी, गोपीकृष्ण फिल्मी टिभी आदि पनि छन् । ०३९ सालमा विराटनगरका उपप्रधानपञ्च भएका उनी ७० मा राप्रपाबाट काठमाडौँ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । तर काँग्रेस नेता गगन थापासँग पराजित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कोषाध्यक्ष हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्षसमेत बनेका उनी पछिल्लो समय राप्रपा नेपालबाट पनि टाढिएका छन् । फिल्मको कथा जस्तै वास्तविक जीवनमा समेत उतारचढाव भोगेको उद्धव पौडेलको जीवनका विभिन्न पाटाहरू रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमा ।



चार पटक खान्छु
दिनमा चार पटक खान्छु । बिहान ८ बजे पिसेको कालो जिरा, लसुन र तुलसी चिया, त्यसपछि बदाम, काजु, ओखर लगायतको अलावा स्याउ, अन्डा र दूध खान्छु । 
१२ बजेको खानामा दाल, भात, तरकारी, अचार, मासु, दही खान्छु । सलाद पनि धेरै चाहिन्छ । दिनको ४ बजे प्रायः बाहिर हुने भएकाले हल्का खाना र ग्रिन टी खान्छु । साँझको ८ बजे सुख्खा दुईवटा रोटी र हल्का सब्जी भए पुग्छ । गुलियो मन पर्छ तर खानै हुँदैन । थोरै खान्छु । खानामा दही र मासु नभए मनपर्दैन । पकाउन रुचि छैन र आउँदै पनि । बरु भाँडा माझ्छु । 



६८ मा पनि फिट
अहिले ६८ वर्षको भएँ । पहिलेदेखि अहिलेसम्म पनि नियमित २ घण्टा एक्सरसाइज गर्छु । पहिले १ घण्टा स्विमिङ गर्थेँ । त्यो नगरेको दिन ट्रेडमिलमा हिँड्थेँ । कोरोनापछि स्विमिङ छुटेको छ । त्यसैले नियमित ट्रेडमिलमा गर्छु । मेरो बेड रुममै एक्सरसाइजका सबै सामान छन् । 

टिपटप भएर हिँड्छु
हुन त म सम्पन्न परिवारको छोरा थिइनँ । स्कुल, कलेज छात्रवृत्ति पढे पनि केटाकोटीदेखि नै टिपटप भएर हिँड्थे । बलिउड हिरोले फिल्ममा लगाएको पहिरनको नक्कल गर्थेँ । मेरो एउटा साथीको टेलर थियो । कपडा किनेर दियो भने फ्रीमा डिजाइन गर्दिन्थ्यो ।

म २८, २९ सालमै विराटनगरमा फेसनेबल मानिसमा गनिन्थेँ । अहिले पनि त्यो बानी छ । पहिरनमा क्याजुअल मनपर्छ । औपचारिक कार्यक्रममा दौरासुरुवाल र कोट पाइन्ट लगाउँछु । मनपर्ने सर्टपाइन्ट, टिसर्ट । मनपर्ने रङ डार्क हो । पहिरनमा चुजी पनि छु ।
 
छुट्यो बानी 
अध्ययन मनपर्थ्यो  । पहिले कविता, पत्रपत्रिका लगायतमा लेख्थेँ । काठमाडौँ आएपछि फिल्म कसरी हिट बनाउनतिर मात्र ध्यान गयो । फिल्मको गीत, कथालगायत लेख्न थालियो । पहिले भारतबाट आउने पत्रपत्रिकादेखि नेपाली उपन्यास, जासुसी खालका किताब कोर्सको पुस्तकजस्तै धेरै पढ्थे ।

फेरि जानमन लाग्यो
घुमघाममा धेरै रुचि छ । देशका ७०÷७१ जिल्ला राम्रै घुमेको छु । फिल्मको व्यवसाय तथा घुम्ने हिसाबले पनि । विदेश पहिले त वर्षको दुई पटकसम्म जान्थेँ । विदेशका साना ठूला गरेर करिब एक सय देश पुगे होला । स्विजरल्यान्ड ६, ७ पटक पुगिसके पनि फेरि जान मन छ । त्यसपछि जान मन लागेको इस्तानबुल पनि हो । त्यहाँको हावापानी एकदमै मनपर्छ । 
    
बक्सिङको खेलाडी
खेलकुदमा बक्सिङमा केटाकेटीदेखि नै रुचि रह्यो । क्रिकेट, भलिबल, फुटबल स्कुल र कलेजमा पनि खेल्थेँ । बक्सिङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेमसमेत खेलेको छु । मिस्टर विराटनगर भन्ने बडी बिल्डिङ प्रतिस्पर्धामा पनि भाग लिएको छु । अहिले विश्वका चर्चित गेम र देशका केही फुटबल गेमहरू हेर्छु । अन्य खेलमा त्यति ध्यान जाँदैन ।

तीवटा मोबाइल बोक्छु 
अहिले तीनवटा मोबाइल छ । बाहिर हिँड्दा एउटा बोक्छु । तीमध्ये एउटा आइफोन र दुईवटा सामसुङ ब्रान्डका छन् । अचेल धेरै समय मोबाइलमै बित्छ । फोन गर्ने र उठाउनेबाहेक युट्युब, सामाजिक सञ्जाललगायत सबैका लागि मोबाइल प्रयोग हुन्छ ।
केही क्षण मोबाइल भएन भने टेन्सन हुन्छ । अहिले अति आवश्यक माध्यममा पर्दछ मोबाइल । दुईवटा हराएको छु । गिफ्ट पनि आउँछन् ।

टिभी हेर्छु 
टिभी हेर्छु । प्रायः टीभीमा हेर्ने भनेको समाचार हो । त्यसपछि ‘द कपिल शर्मा सो’ लगायत कमेडी र जोग्राफी च्यानल हेर्छु । आफ्नो टेलिभिजनसमेत हेर्छु । छोराछोरीले कार्यक्रमको प्रतिक्रियाका लागि सोध्छन् । अपडेट त हुनै पर्‍यो ।

फिल्म हेर्छु
रिलिजै नभएको फिल्म ‘माइकल अधिकारी’ भर्खर हेरेँ । आफैँले बनाएको भएकाले कस्तो छ भनेर हेरेको हो । म अङ्ग्रेजी फिल्म धेरै हेर्दिनँ । राम्रो छ भनेर भनियो भने हेर्छु । नेपाली, हिन्दी भने धेरै हेर्छु । एक्सन भएका भन्दा पनि इमोसनले भरिएको फिल्म मनपर्छ ।

एक पटक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा एक इरानी फिल्म मनपरेकाले त्यसबाट प्रभावित भएर ‘अर्पण’ भन्ने बनाएको थिएँ तर चलेन । मैले बनाएको फिल्ममध्ये राम्रो फिल्म त्यो थियो ।

फिल्मबाट पैसाको वर्षा 
पेसा फिल्मभन्दा हुन्छ । काम त जीवनमा धेरै गरेँ । सुरुमा लेखनदास, त्यसपछि पत्रकारिता, होटल व्यवसाय र ठेकेदारी पनि । एक्सपोर्ट इन्पोर्टको कामसमेत गरेँ । तीनवटा बस किनेर शिव बस सञ्चालन पनि गरेँ । यही क्रममा कटियार भन्ने ठाउँबाट फिल्म ल्याएर केही हलमा  दिन थालेँ सह वितरणका रूपमा ।

सोही समय २०३९ सालमा विराटनगर नगर पञ्चायतको उपमेयर भएँ । उपमेयरबाट फुर्सद भएपछि पनि फिल्मको काम गरेँ । त्यो समय फिल्मबाट पैसा बर्सियो । त्यसैले अन्य काममा मर्नै लागेन ।

​०४१ मा मैले ‘कुसुमे रुमाल’ भन्ने फिल्म किनेँ । यो फिल्म मैले बनाएको होइन, बन्दाबन्दै रोकिएकोमा लगानी गरेको थिए । २०४२ रिलिज भयो । म साधारण परिवेशको मानिस, त्यो फिल्मबाट एकैचोटिमा करोडपति भएँ । त्यसपछि काम गरेको हिन्दी, नेपाली सबै फिल्मबाट पैसाको वर्षा हुन थाल्यो । फिल्म क्षेत्रको म सबैभन्दा ठूलो वितरक भएँ । 

त्यसपछि नेपालका विभिन्न ठाउँमा फिल्म हल निर्माण गर्ने, भाडामा लिने काम गरेँ । काठमाडौँमा फिल्म हल बनाएँ । चलचित्र विकास कम्पनी लिएँ । सुटिङ स्टुडियो बनाउने भनेर धुलिखेलमा सय रोपनी जग्गा लिएको थिएँ । अहिले त्यो त्यसै छ ।

प्रदर्शन मात्र होइन, अहिलेसम्म १२ भन्दा बढी फिल्म बनाएँ । मेरो कुनैमा पनि लगानी डुबेको छैन । फ्लप भएको फिल्मले पनि लगानी करिब करिब सुरक्षित गरेको अवस्था छ । अहिले त धेरै हल बेचिसकेँ । गोपीकृष्ण नामको फिल्मसमेत निर्देशन गरेको थिएँ ।

छोडेँ राजनीति
२०३५ सालमा म विराटनगर नगरपालिकाको सदस्य थिएँ । त्यो समयदेखि राजनीतिको रस पस्यो । त्योअगाडि पनि विभिन्न सङ्घसंस्थामा रहेर सामाजिक काममा सक्रिय थिएँ । त्यो समय पार्टीविहीन राजनीति हुन्थ्यो । अलिकति लेफ्टसँग मेरो झुकाव थियो ।

२०३९ सालमा विराटनगर नगरपालिकाको उपप्रधानपञ्च भएँ । आफ्नो कार्यकाल सकिएपछि प्रजातन्त्र आएपछि धेरै पार्टीले विभिन्न अफर दिएका थिए । तर २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट सांसद उम्मेदवार बने । काँग्रेस नेता गगन थापासँग पराजित भएँ । ७० मै राप्रपा छिरेको पनि थिएँ । त्यो समय मैले व्यावसायिक जीवनबाट अवकास लिन्छु भनेर स्टेटमेन्ट दिएको थिएँ । त्यो समाचार भाइरल भयो । कमल थापाले राप्रपामा सघाउन आग्रह गर्नुभयो । थापा सञ्चारमन्त्री हुँदा फिल्म क्षेत्रका लागि धेरै गर्नुभएको थियो । त्यसैले केन्द्रीय सदस्य बनाएर भित्रिँदै प्रचार विभागको प्रमुख भएँ । त्यसपछि केन्द्रीय कोषाध्यक्ष भएँ । 

अहिले उहाँले आफ्नो उपाध्यक्ष बनाउनुभएको थियो । राजीनामा दिएँ । कारण केही छैन । दिक्क लागेर छोडेको हो । बजारमा हल्ला अन्य पार्टीमा जान लाग्यो भन्ने छ । एमाले, काँग्रेस लगायत पार्टीमा मेरा साथीहरू छन् । बोलाएका पनि छन् । चुनावअगाडि कहीँ जान्न । पछि सोचौँला ।

उनले छोडेकोले विष खाएँ
विवाह २०३६ मा गरेको हो । विराटनगरको सीडीओ कार्यालयमा दर्ता भएको पहिलो विवाह हो मेरो । विवाह गर्ने उमेर त भएको थिएन तर एक केटीसँग म आकर्षित थिएँ । उनी पनि मन पराउँथिन् । त्यसैले भेट्न घरमै बोलाइन् ।
राताको समय उनको कौसीमा हामी बसिरहेका थियौँ परिवारले भेटेर पिटे । मेरो गल्ती भएकाले काउन्टर गरिनँ । बेहोस भएपछि सडकमा फलिदिएछन् । कसैले अस्पताल पुर्‍याएछ ।  त्यसपछि मलाई झन् इगो भयो । घर पनि गइनँ । त्यहीँ विवाह गर्छु भनेर केटीलाई सोधेँ । उनी राजी भएपछि सीडीओ कार्यालयमा उनको नागरिकता बनाएँ । त्यसको भोलिपल्ट विवाह दर्ता गरेर घर लगेँ ।

मेरो विवाहबारे विराटनगरमा सबैतिर हल्ला भयो । रासस, गोरखापत्रले समेत समाचार बनाए । रातको समय केटीतर्फको ठूलो जमात आएर मेरो घर घेर्‍यो । बन्दुक, पेस्तोल पनि पड्कियो । त्यो समय मैले सीडीओलाई फोन गरेपछि पुलिस आए अनि सबै भागे । 

त्यसरी भित्र्याएको उनी अहिले मसँग छैनन् । विवाह भएको झन्डै २२ वर्षपछि उनले छोडिन् । उनले छाडेको २०५२ मा हो । मलाई श्रीमतीले छोडेको समाचार पत्रिकामा पनि आयो । वीरेन्द्र सरकारले पनि थाहा पाएर के भएको रहेछ भनेर सोध्नुभएछ । राजाले पनि थाहा पाए । बाहिर झन् ठूलो हल्ला होला । कसरी मुख देखाउने भनेर विष किनेर ल्याएँ । त्यसपछि सुसाइड नोट लेखेर विष सेवन गरेँ । विषले ठूलो असर गरेन । अस्पतालले रिकभर गर्‍यो ।

सपना छैन
सपना र चाहना केहीको छैन । त्यो एउटा राम्रो मानिस थियो भनिदिए पुग्छ । मैले फिल्म क्षेत्र पाइन र बनाउन एउटा सोच राखेको थिएँ । धुलिखेलमा स्टुडियो बनाउने सपना थियो । त्यो छोराछोरीले अगाडि बढाउँछन् भन्ने थियो । त्यो लक्षण उनीहरूबाट देखिएन । किनभने उनी आआफ्नो बाटो रोजे ।

गीत सुन्छु
मैले धेरै फिल्मका लागि पनि पनि लेखेको छु । गीतसङ्गीत पनि सुन्न मनपर्छ । शिवरन्जनी रग भएका गीतहरू सुन्छु । स्लो बिटका, क्लासिकल टाइपका पनि सुन्छु । अहिलेसम्म गीत गाएको छैन । 
 
भूल भयो
जीवनमा भूल अवश्य भयो होला । जानीनजानी पनि भएका होलान् । सधैँ पछुताउनुपर्ने भूल गरेजस्तो लाग्दैन । गल्ती धेरै गरेको छु ।

खराब बानी 
मलाई कहिल्यै पनि विजेता हुन मन लागेन । डिफेन्समा रहने मेरो खराब बानी जस्तो लाग्छ । राजनीतिमा पनि अगाडि देखिने, विभिन्न पोजिसन लिने गर्छन् अरू । म मन्त्री बनभन्दा पनि नबनेको मानिस । भोलि शपथ ग्रहण गर्नुपर्छभन्दा पनि सोचेर जबाफ दिन्छु भन्थेँ । स्कुलमा पनि थर्डभन्दा तल झरिनँ, सेकेन्ड भन्दा बढिनँ ।

रोग
२१ वर्षको उमेरदेखि डाइबिटिज छ । २५ वर्षदेखि यो रोगका लागि इन्सुलिन लिइरहेको छु । अन्य रोग केही नभएपछि यसलाई कन्ट्रोलमा राख्न सकिएन भने धेरै रोग निम्तिन्छ ।

कहिल्यै गरेको छैन​ मापसे
अहिलेसम्म कहिल्यै मापसे गरेको छैन तर विराटनगर र चाबहिलको घरमा बार छ । धेरै फिल्म घरमा सुटिङ गर्ने भएकाले त्यो देखाउन पनि चाहिन्थ्यो । घरको कोठामा पनि सुटिङका लागि काम लाग्छ भनेर ठूला ठूला छन् । 

राशि ‘मेष’
मेरो राशि ‘वृष’ हो । ग्रहदशामा विश्वास लाग्दैन । हेराउने जुराउने पनि गर्दिनँ । पूजापाठ गर्न मनपर्दैन । मन्दिर कहिलेकाहीँ जान्छु । 

मृत्यु सत्य हो
मृत्यु, जेलदेखि पहिले डर लाग्थ्यो । एकै ठाउँमा कसरी धेरै समय बिताउने भन्ने थियो । कोरोनाले घरमै थुनेर त्यो डर हटाइदियो । मृत्यु त सत्य हो । एक दिन अवश्य आउँछ । स्वाभाविक पनि हो । सहज लिन सक्नुपर्छ । म आफैँ मेडिकल बुझेको मानिस भएकाले सहज मृत्यु रोज्न सक्छु । मैले त्यस्तो मृत्यु रोजेको समय कसैले थाहा पाउन सक्दैन । मलाई लाग्छ मृत्यु मेरो बसमा छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।