शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'गद्दारहरूलाई कारबाही हुन्छ कि हुँदैन ?'

माओवादीबाट निर्वाचित जनप्रतिनिधिको प्रचण्डसँग गुनासै गुनासो
बुधबार, १८ जेठ २०७९, १९ : २१
बुधबार, १८ जेठ २०७९

नेकपा माओवादी केन्द्रबाट गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा निर्वाचित १२२ प्रमुख र १२९ उपप्रमुखलाई पहिलो पटक बुधबार काठमाडौँ बोलाएको छ । सत्ता सञ्चालनमा सहयोग पुग्ने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता र विषय विज्ञले  बुधबार बिहीबार प्रशिक्षण दिने भएका छन् । पार्टीले राखेको अभिमुखीकरण कार्यक्रममा जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले अध्यक्ष प्रचण्डलाई बुधबार गुनासै गुनासो राखेका छन्।

बुधबार प्रचण्डले अभिमुखीकरण कार्यक्रम उद्घाटन गरे लगतै स्थानीय तहका प्रमुख र उपप्रमुखको परिचयात्मक कार्यक्रम राखियो । आफ्नो नाम, पालिका, पद, जिल्ला र प्रदेश मात्रै राखेर जनप्रतिनिधिलाई परिचय दिन आग्रह गरियो । तर, अधिकांश प्रमुख र उपप्रमुखले पार्टीको निर्देशन बमोजिम नाम, पालिका, पद, जिल्ला र प्रदेश खुलाएर परिचय दिए । तर, कतिपय जनप्रतिनिधिले आफूभित्र भएको उकुसमुकुस अध्यक्ष प्रचण्ड समक्ष राखेका छन्।

बर्दियाको राजापुर नगरपालिका प्रमुख दीपेश थारुले आफ्नो परिचय दिने क्रममा चुनाव हराउने गद्दारहरूलाई कारबाही हुन्छ कि हुँदैन कमरेड भन्दै प्रश्न गरे । चुनावमा गुटबन्दी र अराजकता बेहोरेका थारुले पार्टी निर्णय विपरीत जाने गद्दारहरूलाई कारबाही हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका हुन । थारुको प्रश्न सुनेपछि  कार्यक्रम हलमा भएका सबै जनप्रतिनिधिसहित पार्टीका शीर्ष नेताहरू हाँसेर टारे । तर प्रचण्डले भने गम्भीर हुँदै टाउको मात्रै हल्लाए । यसअघि राजापुर नगर प्रमुख निर्वाचित भएलगतै थारुले दलमा आबद्ध भएका शिक्षक र कर्मचारीले सात दिनभित्र राजीनामा दिन निर्देशन दिएका थिए । पार्टीको जिम्मेवार पदमा बसेका शिक्षक र कर्मचारीले तत्काल राजीनामा दिएर आफ्नो काममा केन्द्रित हुन लिखित रूपमै आग्रह गरेका थिए ।

यस्तै पश्चिम नवलपरासीको पाल्हिनन्द गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता‘दीपक’ले आफू निर्वाचित भए पनि मुद्दै मुद्दा खेप्नु परेको गुनासो गरे ।  आफ्नो परिचय दिई सके लगतै गुप्ताले आफ्नो गुनासो प्रचण्डसमक्ष पोखेका हुन  । ‘हामी गठबन्धनमा छौ । यहीँ गठबन्धनका पूर्व गृह राज्य मन्त्री(देवेन्द्रराज कँडेल)ले मलाई मुद्दा लगाएर हैरान बनाए । चुनाव अघि ४८ मुद्दा लगाए । त्यति बेला जिते । ’ गुप्ताले भने, ‘अध्यक्ष कमरेड मलाई मुद्दाबाट मुक्त गर्नुपर्‍यो । ती पूर्व गृह राज्यमन्त्रीलाई भन्दिन पर्‍यो । म माथि अन्याय भयो ।’ पुनः आफ्नो गुनासो राख्दै गुप्ताले चुनाव जिते लगतै फेरी एउटा मुद्दा खेपी रहेको बताए । ‘मैले काँग्रेससँग जम्मा ८६ मतले जिते । पूर्व गृह राज्यमन्त्रीले पुनः मत गणना हुनुपर्‍यो भनेर मुद्दा हालेका छन् ।’ गुप्ताले भने, ‘गठबन्धन भन्या छ । गठबन्धनकै नेताले मलाई मुद्दा हालेर फसाउन खोज्छन् के गर्नु हुन्छ ?’ उनले आफ्नो भाषण लम्ब्याउन खोजेपछि पार्टी कार्यालय सचिव श्रीराम ढकालले अध्यक्ष प्रचण्डसँग लिखित रूपमा गुनासो राख्न आग्रह गर्दै गुप्तालाई रोके ।

यस्तै प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर एमसीले परिचय दिन क्रममा राष्ट्रिय जनमोर्चा र काँग्रेसको गठबन्धनबाट  बेहोरेको हैरानी चर्को रूपमा व्यक्त गरे । प्युठानको झिमरुक गाउँपालिकामा जनमोर्चाको हेडक्वार्टरमा प्रहार गरेर निर्वाचित भएको बताए । जनमोर्चाले एमसीलाई पालिका अध्यक्ष नदिएर काँग्रेससँग तालमेल गरेर चुनावमा होमिएको थियो । तर, एमसी जनमोर्चालाई हराउन एमालेसँग तालमेल गरेर अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए । परिचयात्मक कार्यक्रममा धेरै बोल्न नपाउने भएपछि चर्को रूपमा एमसीले आफू जनमोर्चाको हेडक्वार्टरमा प्रहार गरेर जितेको बताए । यस्तै रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, भोजपुर, अछाम लगायत जिल्लामा काँग्रेस एमाले गठबन्धन तोडेर जितेको बताएका थिए । सत्ता गठबन्धन भनिएपनि ती जिल्लामा काँग्रेस एमाले जस्ता ठूला शक्तिसँग चुनावी प्रतिस्पर्धा गरेर जितेको भन्दै गठबन्धनप्रति गुनासो गरेका थिए ।  

जनताबाट भर्खरै निर्वाचित भएका जनप्रतिनिधिहरू पहिलो पटक पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेता र विषय विज्ञको प्रशिक्षण सुन्न पाउने भएका छन् । यसअघि निर्वाचित जनप्रतिनिधिलाई पार्टीले प्रशिक्षित नै गर्न नपाएको प्रचण्डले समेत स्वीकार गरे । ‘हामीले यसअघि निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण वा निर्देशन दिन पाएनौ । सबै आ–आफ्नो तरिकाले काम गर्नुभयो । कसैले राम्रो गर्नुभयो कसैले राम्रो गर्नु भएन ।’ प्रचण्डले भने, ‘अब तपाईँहरूको सूक्ष्म निगरानी र मूल्याङ्कन गर्ने पद्धति बसाल्छौ । तपाईँहरूलाई गल्ती गर्ने छुट छैन ।’

अब बुधबार र बिहीबार प्रशिक्षण सुनेर सबै जनप्रतिनिधिहरू आ–आफ्नो कार्यक्षेत्र फर्किने भएका छन्। आशा र अभिलासाका साथ काठमाडौँ पाइला टेकका जनप्रतिनिधिले कस्तो काम गर्छन् त्यो भोलिका दिनमा अवश्य देखिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप