शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कलेज फी’ मिनाहा गरेर यौन दुर्व्यवहारको घटना थामथुम पार्ने प्रयास

विद्यार्थी भन्छन्–‘राजनीतिक शक्तिको व्यक्ति भनेर कलेजले एक्सन लिएन’
मङ्गलबार, १० जेठ २०७९, २१ : १२
मङ्गलबार, १० जेठ २०७९

काठमाडाैंको सेन्ट लरेन्स कलेजमा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकबाटै यौन दुर्व्यवहार भएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् । सो कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले कक्षा ११ मा पढ्ने छात्रालाई दुर्व्यवहार गरेपछि उनीहरुले सुरुमा कलेज र त्यसपछि दोषीमाथि कारवाहीको माग गर्दै प्रहरी वृत्त गौशाला घेराउ गरेका हुन् । 

यौन दुर्व्यवहारको घटनाबारे जानकारी गराउँदा पनि कलेज प्रशासनले पीडितको फी मिनाहा गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । पीडकलाई कारवाही नगरी संरक्षण गर्न खोजेको भन्दै विद्यार्थीले केही समय अगाडिको घटना सार्वजनिक गरेका हुन् ।  खासमा भएको के थियो, दुई विद्यार्थीको शब्दमा
शिक्षकले ‘विल यु बि माई सेक्स पार्टनर ?’ भनेः सम्झना एकवाल

सेन्टर लरेन्स कलेजमा पढ्ने पीडित किशोरीकी सहपाठी सम्झाना एकवालका अनुसार उक्त कलेजमा कोअर्डिनेटरसमेत रहेका सामाजिक विषयका शिक्षक जनार्दन अधिकारीले विद्यार्थीलाई पटकपटक यौन दुर्व्यवहार गरेको र अति भएपछि अहिले बाहिर आएको बताएकी छिन् । सम्झनाको शब्दमा घटनाको बेलिबिस्तार यस्तो छः

कलेजमा को–अर्डिनेटर रहेका जनार्दन अधिकारीले कक्षा ११ मा एचएम (होटल म्यानेज्मेण्ट) पढ्ने एकजना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको रहेछ । उसले त्यो विद्यार्थीलाई मैले श्रीमतीसँग बिहे गरेको ३ महिनासम्म यौन सम्पर्क राख्दा मात्र रमाइलो भयो,त्यसपछि भएन । विल यु बि माई सेक्स पार्टनर ? तिम्रो घर एकदम टाढा छ, तिमीलाई मेरै कोठामा राख्छु, तिमीले कोठा भाडा पनि तिर्नु पर्दैन, कलेजको फी, बसको भाडा पनि दिनुपर्दैन । तर तिमी चाहिँ मेरो सेक्स पार्टनर बन ल भनेर प्रस्ताव गरेको रहेछ । 

​जनार्दनले त्यसो भनेपछि उनले आफ्नो अभिभावकलाई घटनाबारे जानकारी गराएपछि कलेजमा छलफल भएको रहेछ । कलेजका दुई शिक्षकले मिटिङ राखेर यो कुरा कलेजभन्दा बाहिर नजाओस्, फी निःशुल्क गर्ने भन्ने कुरा भएछ तर जनार्दन सरलाई निकाल्ने कुरा आएन छ । किनकी उहाँको राजनीतिक शक्ति बलियो छ, राजनीतिक पृष्ठभूमिको व्यक्ति हो, ऊ जेलमा गएपनि छुटिहाल्छ भनेर विद्यार्थी र अभिभावकलाई भनिएको रहेछ, यो  शुक्रबारको कुरा हो ।

कलेजकै म्याडमलाई भन्दा उल्टै तिमीहरुकै गल्ती हो भन्नुभयो
हामीले एकजना रिसेप्सनमा बस्ने म्याडमलाई पनि यो कुरा भन्दा तिमीहरु यौन दुर्व्यवहारमा पर्नुमा तिमीहरुकै गल्ती हो भनेर जवाफ दिनुभयो । के केटी भएर जन्मनुमा हाम्रो गल्ती हुन्छ त ?
यस्तो घटना हामीभन्दा सिनियर ब्याचलाई पनि भएको रहेछ । तर उनीहरुले बोल्न सकेका रहेनछन् । 

हामीभन्दा अगाडिको ब्याचमा पनि त्यही कोअर्डिनेटर अधिकारीबाट नै यस्तो भएको थियो रे, तर उनीहरु बोल्न सकेनन् । अर्को सेक्सन बि को केटीलाई पनि सामाजिक कार्यका लागि भनेर ए वान क्याफेमा बोलाएर जबरजस्ती चिया खाउँ भनेर लगेछन् । उसको देब्रे तिघ्रामा हात राखेर मलाई मिनिस्कर्ट लगाएको केटी एकदम मनपर्छ भनेछ । उसलाई पनि शरीरमा छोएर यौन दुर्व्यवहार गर्न खोजेछ । 

यी सबै कुरा पीडितले पहिले अभिभावकलाई भनेर त्यसपछि अभिभावकले कलेजसँग कुरा गर्दा कलेजले फी तिर्नुपर्दैन, यो कुरा बाहिर नल्याइदिनु भनेर डिल गरेछन् । उसको केश थाहा पाएर पनि कलेजले फी दिनुपर्दैन यो केश बाहिर नलैजाउँ भनेको रहेछ । उसलाई एक्सन नलिएपछि त्यो विद्यार्थीको अभिभावक नै कक्षामा आएर सबैलाई भनेपछि यो घटना बाहिर आएको हो । त्यसपछि हामीले कलेजमै प्रदर्शन गर्दै आरोपीलाई कारवाही गर्न माग गर्दै अहिले प्रहरीकोमा आएका हौँ । प्रहरीले कोअर्डिनेटर सरलाई पक्राउ गरेर ल्याएको छ, अब हेरौं दोषीलाई कारवाही हुन्छ होला । 

शिक्षक नै अपराधी भएपछि हामी कलेज कसरी जाने ? : भावना खतिवडा 
सेन्ट लरेन्स कलेजमै अध्ययनरत अर्की विद्यार्थी भावना खतिवडाले शिक्षक नै यौन दुर्व्यवहारमा संलग्न भएपछि कलेज आउनै डर लागेको बताइन् । राजनीतिक शक्ति छ भनेर आरोपीलाई त्यसै छाड्न नमिल्ने पनि उनले बताइन् । उनको भनाइको सार संक्षेप यस्तो छ । 

कलेजमा हल्ला खल्ला भएपछि हामीले थाहा पाएका हौँ । जनार्दन सरले अफिसमै बोलाएर सेक्स पार्टनर बन्न प्रस्ताव गर्नुभएको रे । त्यसो भनेपछि उनी भाग्न खोज्दा तँ मबाट भागेर कहाँ जान्छस् र? भनेको रे । शिक्षकहरु नै त्यस्तो छ भने हामी स्कूल कलेज कसरी आउने ? उहाँको राजनीतिक शक्ति छ भनेर त्यसै छाड्न खोजिएको रहेछ । राजनीतिक शक्ति भएकै कारण उहाँलाई छाड्न भएन्, उहाँलाई कारवाही गर्नुप¥यो भनेर हामी आन्दोलन गर्न आएका हौँ । 

विद्यार्थीको आन्दोलनलगत्तै प्रहरीले आरोपी शिक्षक जनार्दन अधिकारीसहित २ जनालाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिरहेको छ भने विद्यार्थीले मंगलबार दिनभर प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले प्रहरी वृत्त गौशाला अगाडि आरोपी शिक्षक अधिकारीको तस्वीर जलाएका छन् । साथै विद्यार्थीहरुले कलेजका टाई पनि जलाएर बिरोध जनाएका छन् । 

विद्यार्थीको आन्दोलनपछि सेन्ट लरेन्स कलेज सुनसानप्रायः रहेको छ । विद्यालयका अध्यक्ष केशव प्रसाद दंगाल, प्रिन्सिपल पुरुषोत्तम महर्जन, निर्देशक अजय खनाल लगायतको टोली प्रहरी वृत्त गौशाला गएर छलफल गरेका थिए भने कलेज तोडफोड हुनसक्ने भन्दै प्रहरीले सेन्ट लरेन्स कलेजमा सुरक्षा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप