शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङको जितको सन्देश : तडकभडक चाहिँदैन चुनाव जित्न, जनताको मन जित्नुपर्छ

चुनाव प्रचारको बेला ‘पानी पनि किनेर दिन सक्दिन है’ भन्थे हर्क साम्पाङ
सोमबार, ०९ जेठ २०७९, १४ : १६
सोमबार, ०९ जेठ २०७९

सुनसरीको धरान बजारका प्रायः घरका छतमा अहिले पनि काँग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक पार्टीको चुनाव चिह्न अंकित झण्डा देखिन्छन् । निर्वाचनको माहोल छाउँदै जाँदा राजनीतिक पार्टीहरुले कुनै बहुराष्ट्रिय कम्पनीको नयाँ ब्राण्डको विज्ञापनजस्तो चुनाव चिह्नको प्रचार गरिरहेका हुन्छन् । आचार संहिताको धज्जी उडाउँदै तडकभडकपूर्ण ठूलाठूला सभा, ¥याली र भोजभतेर पनि गर्छन् । धरानमा यस पटक पनि दलहरुले यस्तै गरे । तर, जसले धरानको नगरप्रमुखमा चुनाव जिते उनको पक्षमा न चुनाव चिह्न कसैको घरका छतमा देखिए । न त तडकभडकपूर्ण भोजभतेर र सभाहरु नै भए ।

धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव जितेका हर्क साम्पाङको निर्वाचन प्रचार शैली अरुका लागि उदाहरणीय हुनसक्छ । काठमाडौंमा बालेन साहको चुनाव प्रचार आम सञ्चारमाध्याममा केन्द्रित छ । उनी आफै सेलिब्रेटी थिए । निर्वाचनको क्याम्पेनिङ सोही अनुसार गरे । तर, धरानका हर्क साम्पाङले सामान्य तर सशक्त ढंगले गरेको चुनाव प्रचार शैली सिर्जनशील नेतृत्व लिन चाहनेहरुका लागि उदाहरणीय हो ।

उनले चुनाव चिह्न पाएको १५ दिनमै सबै जनतालाई चिनाए । तर, कसरी ? उनको चुनाव प्रचारमा खटिएका धरान–१८ का सुदर्शन लिम्बू भन्छन्, ‘१० वर्ष अगाडिदेखि नै म सहकार्यमा छु । हामी पार्टीले जस्तो गफमात्रै गर्ने होइन । फिल्डमा गएरै समस्या समाधान गर्ने प्रयास हामीले गरेका थियौं, निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि हाम्रो सानो समूह छलफलमा बस्यौं, त्यो टिमले नै सरल तरिकाले फेसबुक प्रयोग ग¥यौं ।’

पार्टीले जस्तो मासुभात खुवाएर, भिड जम्मा गरेर प्रचारप्रसार नगरिएको उनले खुलाए । उनले भने, ‘यस अघिदेखिको अभियानमै धेरै मानिस प्रभावित भइसकेका थिए, उनीहरुले नै हामीलाई सहयोग गरे ।’

उनको अनुभवमा मान्छेले बाहिर नबोले पनि कामप्रतिको लगाव हेरिरहेको हुँदोरहेछ । ‘मानिसको संख्या हेर्न हो भने हामी त्यत्रो सदस्यता भएका पार्टीहरुसँग कसरी लड्न सक्छौं र भन्ने लाग्थ्यो । हाम्रो त सानो समूह थियो । तर, बाहिरी रुपमा सहयोग नगरे पनि भित्रभित्र मानिसहरुले धेरै सहयोग गरेका थिए । सोही आधारमा हामीलाई विश्वास थियो हामी जित्छौं,’ उनले भने ।

​धरान–१ का राजकुमार श्रेष्ठ पनि १०÷१५ दिनको मेहनत नभइ यो १० वर्ष अगाडिदेखिको मेहनत भएको बताउँछन् । तर, चुनाव चिह्न चिनाउन कुनै समस्या नभएको उनले बताए ।

धरान–१७ का अयुव राई आफूहरुले आफै खर्च जुटाएर साम्पाङलाई सहयोग गरेको बताउँछन् । ‘खर्च जुटाउन व्यक्तिगत आफैले पनि गरेका छौं । मसँग अभियानमा हिँड्ने साथीहरूलाई एक बोतल पानी पनि खुवाउन सक्दिन भनेका थिए हर्क साम्पाङले,’ उनले भने, ‘तर, जनताको एजेण्डा लिएर हिँड्नेलाई जनताले जिताउँदा रहेछन् भन्ने लागेको छ । लौरो चुनाव चिह्नचाहिँ ढिलो पायौं । त्यो भन्दा अगाडिदेखि नै एजेण्डाहरुको बारेमा हामीले क्याम्पेन गरिरहेका थियौं ।’

घरदैलो, वडामा टोलमा धेरै अघिदेखि आफूहरुले कार्यक्रम गर्दै आएको उनले सुनाए । त्यही नेटवर्कलाई प्रयोग गरेर चुनाव चिह्न ‘लौरो’ पनि स्थापित भएको उनको भनाइ छ ।

धरानबाटै संविधानसभा सदस्य जितेका किरण राईको भनाइमा हर्क साम्पाङले प्रविधिलाई प्रचारमा राम्रोसँग प्रयोग गरेका थिए । ‘उनले अहिलेको प्रचारमा सामाजिक सञ्जाललाई पनि राम्रै प्रयोग गरे । बिजुलीको तार चुँडिएको छ, खानेपानीको बिल यस्तो आयो उस्तो आयो भन्यो, जनतालाई धेरै अगाडिदेखि सचेत गराए,’ सांसद राईले भने, ‘उनले चुनाव जित्नुमा दलहरुप्रतिको वितृष्णा र जनताले भरोसा नमान्ने अवस्था भयो । हिजोदेखि नै काँग्रेस, एमाले, माओवादीको त्यही अनुहार भन्ने भयो, अर्को भनेको दलहरुबीचमा देखिएको अन्तरविरोध पनि हर्क साम्पाङको जितको आधार बन्यो ।’

त्यसबाहेक सम्बन्धित उम्मेदवारहरुमा जनताको सद्भाव कम हुनु र हर्क साम्पाङको निरन्तरको अभियान पनि सहयोगी बनेको हो ।

उनै साम्पाङ पनि आफूले सक्दो सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेको बताउँछन् । ‘मैले फेसबुकको सहारा लिएको हुँ । म फेसबुकको अधिकतम प्रयोगकर्ता हुँ । मेरो फेसबुकमा मात्रै ८० हजार मानिसले फलो गरेका छन्,’ उनले भने, ‘त्यही फेसबुकबाटै देश विदेशमा रहनेहरुलाई मैले राम्रो काम गरिरहेको छु भन्ने लाग्छ भने मेरो लागि आफन्त, इष्टमित्रलाई भोट मागिदिनुहोस्, मेरो चुनाव चिह्न लौरो छ । म घरघरमा पुग्न भ्याउँदिनँ । समय छैन । तपाईहरुले आफैले पनि चुनावको क्याम्पेन गरिदिनु भनेर आग्रह गरिरहेको थिएँ ।’

आफ्नो उक्त आग्रहलाई सुनेर धेरैले प्रचारमा सहयोग गरेको अहिले प्रस्ट भएको उनको भनाइ छ । ‘देखिने गरी त खासै देखिएन । तर, अहिले थाहा भयो उहाँहरुले राम्रै क्याम्पेन गरिरहनु भएको रहेछ,’ उनले भने, ‘मलाई साइलेन्ट सपोर्ट गर्नेहरु धेरै हुनुहुँदो रहेछ । त्यही भएको कारण मैले यो सफलता हात पारेँ ।’

२२ दिन थुनिएका थिए हर्क साम्पाङ

हर्क साम्पाङका समर्थक राजेश खिम्दुङले धरानमा पानीको समस्या, करको समस्या, गुण्डागर्दी, पार्टीको आडमा दादागिरी, सहकारीले हजारौंको अरबौं लुटिरहेको कुरा आउँदा पनि नदेखेजस्तो भएर हेरिरहनेहरुलाई यस पटक जनताले जवाफ दिएको बताए । ‘हामीजस्ता जनताले उपयुक्त पात्र खोजिरहेका थियौं, ठूलो भिडभाड नगरी पनि चुनाव जितिदो रहेछ त,’ उनले भने । 

झण्डै १ वर्ष अगाडि सर्दु खोलामा गिटी बालुवा उत्खनन् गर्दा प्रहरी, गिटी बालुवा उत्खनन्मा सहभागी र स्थानीयबीच झडप भयो । स्थानीयमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट पनि भयो । उक्त आन्दोलनको नेतृत्व गरेका थिए हर्क साम्पाङले ।

​कुटपिटमा परेका साम्पाङसहितका स्थानीयलाई उपचारका लागि अस्पताल लानुको साटो स्थानीय प्रशासनले पक्राउ गरेर २२ दिनसम्म हिरासतमा राखेको थियो । त्यसपछि झनै लोकप्रिय भएका हर्क साम्पाङले धराने जनताको जनजीवनका थुप्रै मुद्दामा खरो उत्रिन थाले । उनको मुख्य एजेण्डा भनेकै खानेपानीको पर्याप्त उपभोग गर्न पाउनुपर्ने र प्राकृतिक स्रोतको संरक्षण नै थियो ।

‘प्रहरी र गुण्डागर्दी गर्नेहरु मिलेरै हामीमाथि कुटपिट भएको थियो । २२ दिनसम्म त हामी थुनिएका पनि थियौं । प्रहरीकै अगाडि हामीमाथि कुटपिट हुँदा पनि प्रहरीले कारबाही गरेन,’ खिम्दुङले भने, ‘कुटाइ खाएर चोट लागेको मानिसलाई उपचारमा नलाने तर हिरासतमा लाने काम भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप