शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरानका नवनिर्वाचित मेयरसँग अन्तरवार्ता : एक्कासि भलबाढी आएको होइन

खानेपानीको समाधान नभएसम्म म प्रायः फिल्डमै हुन्छु, अफिसमा बस्दिनँ : राई
आइतबार, ०८ जेठ २०७९, १८ : ४८
आइतबार, ०८ जेठ २०७९

धरान उपमहानगरपालिकामा एकातिर सत्तारुढ ५ दलीय गठबन्धनको दबदबा, अर्कोतिर वामपन्थी विरासत थाम्ने हुंकार गर्दै सधैँ सत्तामा रहेको एमालेको उम्मेदवार । दुई ठूला प्रतिस्पर्धीको बीचमा निर्वाचन जित्ने आँट गर्दै थिए, धरान–१८ का हर्कराज राई । राई धरानमा २०७६ सालमा भएको उपनिर्वाचनमा चुनाव चिह्न पानीको बोतल लिएर उठेका थिए । त्यसबेला उनले ४२२ मत पाउँदा विजयी बनेका काँग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएका थिए । 

आफूलाई कम भोट आएको भन्दै निराश नभइ खानेपानीको अभावमा आक्रान्त धरानमा सोही एजेण्डा लिएर अगाडि बढेका राईले यस पटकको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिए । चुनाव चिह्न धाराको टुटी लिन चाहेका उनलाई दलहरुले अर्कै व्यक्तिलाई स्वतन्त्र उठाएर त्यो चिन्ह हडपे । त्यसपछि लौरो चुनाव चिह्न छानेर चुनावमा होमिएका उनै राईले यस पटक ठूला पार्टी तथा गठबन्धनलाई चक्मा दिँदै प्रमुख पदमा बाजी मारे ।
 उनले निकटतम प्रतिद्वन्द्वी ५ दलीय गठबन्धनका उम्मेदवार किशोर राईलाई पराजित गरे । उनी २० हजार ८ सय २१ मत ल्याएर विजयी बनेका हुन् । २०३९ सालमा खोटाङमा जन्मिएका राई लाहुरेका छोरा हुन् । धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेका उनले वैदेशिक रोजगारको शिलशिलामा लामो समय इराक र अफगानिस्तानमा बिताएका थिए ।  खानेपानी अभावले चैत–वैशाखमा काकाकुल जस्तै बन्ने धरानमा सोही एजेण्डा लिएर विजयी बनेका उनै राईसँग रातोपाटीले गरेको कुराकानीः


नेकपा एमाले र काँग्रेस जस्ता ठूलो दललाई पराजित गर्नुभएको छ, कस्तो महसुस भएको छ ? 

सबैभन्दा पहिले त सम्पूर्ण मतदाता समर्थक, शुभचिन्तक, विरोधी, आलोचकहरु सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । रह्यो काँग्रेस र एमालेले हारे भन्ने कुरा । उहाँहरुले हार्नुभएकै छैन । उहाँहरुकै भोटरले मलाई भोट दिनुभएको छ । उहाँहरु सँगसँगै हामी सबैले जितेका छौं । यो स्वतन्त्रको जित हो सबै पार्टीले जित्नुभएको छ । यो कुनै पात्र हार्यो, जित्यो भन्नेसँग छैन । उहाँहरुको पनि चाहना भित्रदेखि यही थियो । त्यसकारण हामी सबैले एकैसाथ जितेका छौं । स्वतन्त्र साझा उम्मेदवारले जितेको छ । 

अब कसरी अगाडि बढ्नु हुन्छ ?

म उहाँहरु सबैसँग सहकार्य र समन्वय गरेर जानेछु । म एक्लैले मेरो खुसी गर्न सक्दिन र हुँदैन पनि । त्यसकारण हामी सबै सहकार्य गरेर अगाडि बढ्नेछौं । खानेपानी मेरो पहिलो प्राथमिकता हो । खानेपानीको समाधान नभएसम्म म प्रायः फिल्डमै हुन्छु, अफिसमा बस्दिनँ । खानेपानीको समस्या भनेको प्राकृतिक पनि छ, कृतिम पनि छ । विगतमा हामीले ट्यांकरबाट पानी बाँडेको देखेका छौँ । सबै चुहावट र वितरणमा अनियमितता रोक्ने मेरो पहिलो काम हो । 

तपाईंले सबैलाई चकित पार्नेगरी चुनावी परिणाम आफ्नो पोल्टामा पार्नुभयो । यो प्रत्याशित नै छ कि अप्रत्याशिल लागिरहेको छ ? 

हामीले १० वर्ष पहिलेदेखि नै खानेपानी, स्वास्थ्य, शिक्षा, बाटोघाटो लगायतका जतिपनि मानिसको जीवनसँग जोडिएका विषय छन्  ती सेवा सुविधाका विषयलाई नै अभियानको रुपमा लिएर आएका थियौं । त्यसले गर्दा मैले धरानमा आफ्नो परिचय दिइराख्नु आवश्यक नै परेन । म कहिँकतै नपुगेको ठाउँमा जाँदा पनि मलाई चिन्नुहुन्छ भनेर सोध्दा तपाईंलाई नचिन्ने को छ होला र भन्ने प्रतिक्रिया आउँथ्यो ।  यसपालि चुनाव कसले जित्छ ? भनेर फेसबुकमा समर्थकहरुले बनाएको पोलमा मलाई ५÷६ हजार मत आउँदा अन्य उम्मेदवारलाई दुई  तीन सय आउँथ्यो । त्यतिबेलैदेखि मैले नै चुनाव जित्छु जस्तो अड्कल थियो । यसर्थ यो अप्रत्यातिश मलाई लागेको छैन । यो भनेको हामीले गरेको अभियान र कामलाई जनताले नजिकबाट मूल्याङ्कन गरिराख्नुभएको रहेछ भन्ने प्रमाण पनि हो । उहाँहरुले त्यसलाई गोप्य मतदानमार्फत प्रकट गरिदिनुभएको छ । यो (धरानमा) एकैचोटी र एक्कासि आएको भलबाढी होइन । 

तपाईंको कामको प्राथमिकता के रहन्छ ? 

म जितेर गइसकेपछि सबैभन्दा पहिले मैले खानेपानी जोहो गर्नुपर्छ । पानीको लागि लडेको करिब १० वर्ष भयो । खानेपानीको मुख्य मुद्दा नै हाम्रो मुख्य मुद्दा हो । जुन मुद्दा लिएर म जनतासामु परिचित पनि भएँ । जनताले मलाई मनपनि पराउनु भएको छ । त्यसले गर्दा खानेपानीको लागि म टाउकोले टेकेर भएपनि, जसरी भएपनि जनतालाई खुवाउँछु । आजको विजयको घोषणा औपचारिकता मात्रै हो । मैले जहिले धराने जनताको धाराभरी पानी दिन सक्छु, जुन दिन बीपी अस्पताल सुधार गर्न सक्छु, जुन दिन सूचनाको हक र अभिव्यक्तिको स्वतन्त्रता दिन सक्छु त्यो दिन मात्रै आफूलाई सफल भएको ठान्नेछु । आजको दिनलाई एउटा सामान्य र औपचारिकताको रुपमा नै मैले लिएको छु । ​ 

तपाईंहरुलाई अब अन्य दलहरूसँग मिलेर काम गर्न चुनौती छ भन्ने प्रश्न पनि छ नि ?
अरु दलहरूबाट आएका मानिसले काम गर्न दिँदैनन् भन्ने कुरा भ्रम मात्रै हो । यो चुनावमा एकले अर्कालाई लडाउनका लागि दिइएका अभिव्यक्ति मात्रै हो यो । उहाँहरु जुनसुकै पार्टीबाट आएपनि जनताको हकहित र सुशासनका लागि आउनु भएकै कारणले उहाँहरुलाई चुन्नुभएको छ । पार्टीबाट आएका मानिसहरूमध्ये पनि छानिछानि जनताले भोट हाल्नु भएको छ र जिताउनु भएको छ । म उहाँहरुलाई धरानको सुशासन र विकासको मूल धारमा समाहित गर्नेछु । उहाँहरु कन्भिन्स हुनुहुनेछ । जुनसुकै पार्टी होस् वा स्वतन्त्र होस् हामी सबै मिलेर धरानको समस्यालाई समाधान गर्नेछौँँ । सेवा सुविधा चुस्तदुरुस्त गर्ने काममा लाग्नेछौँ । 

सत्तामा पुगेपछि सबै बिग्रन्छन् भन्छन्, तपाईंचाहिँ बिग्रनुहुन्न भन्ने के ग्यारेण्टी छ ?
म बिग्रिन्न । यत्रो जनताले एउटा व्यक्तिलाई जिताइदिएको छ । उहाँहरुले गर्नुभएको विश्वासलाई मैले घात गरेँ भने मलाई पाप लाग्दैन ? म भावुक मान्छे पनि हो । देश र जनताकै लागि भनेर यो लाइनमा आएँ । बिना पार्टीको समर्थनमा जनताको विश्वासले मैले एक्लै जितेँ । मैले निरन्तर गरेको संघर्षलाई धराने जनताले विश्वास गरेर यो माया दिनुभएको छ । उहाँहरुले यत्रो माया र विश्वास गर्नुभयो, मैले धोका दिन मिल्दैन । 

अब त तपाईंको भूमिका फेरियो नि ?
हो । पहिले अभियन्ताको रुपमा कराउँथे । अब मेरो भूमिका र शैली परिवर्तन हुन्छ । मेरो पहल, सरोकार र दबाब रहिरहन्छ, त्यो वैधानिक हिसावले हुन्छ । पहिले पहिले अरुलाई गाली गर्थें । अब तपाईहरुले गाली गर्नु, म हाँसिरहन्छु नि ल ! 

संघ र प्रदेश सरकारसँग तपाईंको समन्वय कसरी हुन्छ ? तपाईंको अपेक्षा के छ ?

संघ र प्रदेश सरकारबाट सहयोगको बलियो अपेक्षा छ । सहयोग नभए त सरकारको औचित्य नै सकियो नि । मैले एक भोट लिएर जितेको होइन । सार्वभौम धराने जनताले प्रतिस्पर्धीहरुमध्ये पहिलो मत लिएर जितेको मान्छे हो । म त्यहाँ गइसकेपछि स्थानीय सरकारको प्रमुख बन्ने हो । अनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय भएन भने सरकारको औचित्य कहाँ रह्यो त ? त्यसले गर्दा पार्टी नै चाहिन्छ भन्ने छैन । सार्वभौम धराने जनताको अभिमत लिएर म जाने हो । यो पुरानो बुझाइबाट हामी मुक्त रहनुपर्छ । मैले भन्ने गरेको छु । हाम्रो परिवार पनि मिल्दैन तर, यहाँ विभिन्न परिवारबाट आएका मानिसहरु पनि मिलेर समाज चलेको छ । त्यसैगरी धरानको स्थानीय सरकारमा पनि विभिन्न पार्टीबाट आउनु भएका साथीहरुलाई म मिलाएर लैजान्छु । यहाँ कुनै कुस्ती पर्दैन ।

यहाँभन्दा अगाडि तपाईंले अभियान चलाइरहँदा तपाईंले अहिलेका प्रतिस्पर्धी पार्टी तथा उनीहरुले चलाएको सरकारबाट अपमानित फिल भएको कुनै घटना छ ? 

त्यस्तो भएको थियो । मलाई मुद्दा लगाएर थुनामा पनि राखेका छन् । सबै कुरा अहिले ननिकालौँ । किनभने म एउटा नगर प्रमुख पदमा पुगिसकेको छु । डिटेलमा जाँदा नराम्रो होला । उहाँहरुले जे ठिक लाग्यो त्यो गर्नुभयो । तर, उहाँहरुले गरेको दुर्व्यवहार नै मेरो सफलताको आधार बन्यो । उहाँहरुले त्यो नगरिदिएको भए यो स्थानमा अहिले आउन सक्दिन थिएँ । म सामान्य भोटरको रुपमा रहेको मानिस एउटा बिना पार्टीको संघर्ष गरेर यहाँसम्म आइपुग्नुमा उहाँहरुले मलाई गरेको दुर्व्यवहार, आलोचना, विरोध नै मेरो सफलताको सूचक बन्न पुगेका छन् । उहाँहरुप्रति पनि म आभारी छु । मलाई अझै विरोध गर्नुभयो भने अझै माथिल्लो ठाउँमा पुग्छु कि ? 

१५ दिन अगाडि लौरो चुनाव चिन्ह पाउनु भयो । तपाईं त चिनिनु भएपनि लौरो त चिनिएको थिएन, त्यो चिनाउने काम कसरी गर्नुभयो ? 

मैले फेसबुकको सहारा लिएको हुँ । म फेसबुक अधिकतम प्रयोगकर्ता हुँ । मेरो फेसबुकमा मात्रै ८० हजार मानिसले फलो गरेका छन् । मैले त्यही फेसबुकबाटै देश विदेशमा रहनेहरूलाई मैले राम्रो काम गरिरहेको छु भन्ने लाग्छ भने मेरो लागि आफन्त, इष्टमित्रलाई भोट मागि दिनुहोस् मेरो चुनाव चिन्ह लौरो छ भनेको थिएँ । फेसबुकबाटै घरघरमा पुग्न भ्याउँदिन, समय छैन, चुनावको क्याम्पेन गरिदिन भनेर आग्रह गरिरहेको थिएँ । उहाँहरुले राम्रै क्याम्पेन गरिरहनु भएको रहेछ । मलाई साइलेन्ट सपोर्ट गर्नेहरु धेरै हुनुहुँदो रहेछ । त्यही कारण मैले यो सफलता हात पारेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप