बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा

सोमबार, ०९ जेठ २०७९, ११ : ४४
सोमबार, ०९ जेठ २०७९

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बीच धरानका जनताले उनलाई आशाको नजरले हेरिरहेका छन् । 

धरानको २० वटै वडामा खानेपानीको समस्या छ । लिफ्टीङ नहुने तथा पानी आए पनि मोटर लगाएर तान्नुपर्ने समस्या छ । आधा घण्टा पनि पानी नआउने र जारको पानी किनेर खानु पर्ने बाध्यता छ ।  पहुँच हुनेको धारामा पानी लगातार आउने जस्ता समस्या पनि धरानमा थियो । ‘अब केही हदसम्म समस्याको समाधान हुन्छ होला जस्तो लाग्छ । काम गर्ने वातावरण कस्तो हुन्छ त्यसमा भर पर्छ’, धरानको वडा नम्बर १० का अशेष खड्काले भने, ‘जनताको लाजले पनि हर्क साम्पाङले काम गर्छन् जस्तो लाग्छ । अरुजस्तो चुप लागेर बस्दैनन् होला जस्तो लाग्छ ।’ 

यसअघिका स्थानीय सरकारले पाइप त घरघरमा पुर्याएका थिए । तर, पानी भने पुगेन । ‘हामीलाई घरघरमा पाइप र धाराको टुटी पुर्याएर मात्रै त हुँदैन थियो नि,’ खड्का भन्छन्, ‘त्यहाँ पानी आउनु पर्यो होइन र ? त्यही काँग्रेस, त्यही एमाले, त्यही माओवादीभन्दा केही फरक हुन्छ होला जस्तो लागेको छ ।’ ​

​धरान १७ का अयुव राई पनि राजनीतिक पार्टीका नेताहरुले विभेदपूर्ण ढंगले पानी वितरण गरेको र निरीह जनतालाई मारमा पारेका कारण जनताले यस पटक नेतृत्व परिवर्तन गरेको बताउँछन् । ‘धरानमा जनतालाई पुग्ने पानी यहीँ प्रसस्त छ । राजनीतिक पार्टीका नेताहरुले निकटकालाई पानी दिने, केही ठाउँमा धेरै दिने केही ठाउँमा नदिने खालको अवस्था भयो,’ अयुवले भने, ‘इमान्दारीता भएन । ट्यांकरमा कालोबजारी गरेर पानी बेच्ने काम पनि भयो ।’ अब त्यस्तो नहुनेमा उनी पनि आशावादी छन् । 

धरान १७ का नवलबहादुर राई ७७ वर्षका भए । उनले ०७४ सालमा तारा सुब्बालाई मत हाले । ०७६ मा तिलक राईलाई पनि मत हाले । तर, खानेपानी समस्या कहिल्यै समाधान भएन । त्यसपछि विकल्पमा लागेको उनले बताए । भूतपूर्व भारतीय आर्मीसमेत रहेका उनी अब हर्क साम्पाङले पनि राम्रो काम नगरे जनताले नछोड्ने बताउँछन् । 

‘विकास निर्माणको लागि सबै पार्टीका नेतालाई हर्कले बोलाउनु पर्यो । हर्कले बोलाएको ठाउँमा आएन भने फेरि अर्को तरिकाले खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘हर्क सही ठाउँमा पुगेको छ । सही तरिकाले नै काम गर्नुपर्छ । काम नगरे हर्कलाई पनि अर्को पटक दिँदैनन् नि । पानी र बाटो बनाइ दिनुपर्यो हामीलाई ।’

धरान ११ का राजेश खिम्दुङ पनि अब खानेपानी लगायतका केही समस्या हल हुनेमा ढुक्क छन् । हर्क साम्पाङलाई चुनाव जिताउने अभियानमा हिँडेका उनी आफूहरुसँग भिजन भएको दाबी गर्छन् । तर, कार्यान्वयन गर्दा हर्क साम्पाङले पनि अक्कल लगाउनु पर्ने उनको सुझाव छ । ‘हामीसँग भिजन पनि छ । हर्क साम्पाङले अब कसरी समाधान गर्न सक्छु भन्ने विषयमा चाहिं अक्कल लगाएर काम गर्नुपर्यो । असम्भव भन्ने चिज केही छैन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप