आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालगञ्जका मतदाता भन्छन्– चुनावमा थरीथरीका आश्वासन, हाम्रो समस्या जस्ताको तस्तै

आइतबार, २५ वैशाख २०७९, ०६ : ४८
आइतबार, २५ वैशाख २०७९

बाँके । स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मतदाताहरू चुनावअघि विभिन्न दल र उम्मेदवारले अनेकौँ आश्वासन दिने गरे पनि चुनावपछि आफ्नो अवस्था जस्ताको तस्तै रहने गुनासो गरिरहेका छन् ।

नेपालगञ्ज उपमहानगर–११ मा पर्ने ईदगाह रोडमा  सानो टेलरिङ्ग पसलमा काम गर्ने ४२ वर्षमा रसिफ राईको जन्म नेपालगन्जमै भएको हो । कामगर्ने स्थानभन्दा झन्डै ५ सय मिटर पर उनको सानो कच्चीघर छ, जहाँ ६ जनाको परिवार बस्ने गर्दछन् ।

उनले टेलरिङ्ग पसलमा मास्टरले काटेका कपडाहरू सिलाई गरेबापत पैसा पाउँछन् । त्यसको सर्ट, पाइन्ट अनुसार प्रतिपिस उनले निर्धारित ज्याला पाउने गर्दछन् ।

स्थायी बासिन्दा भएका कारण उनको घर र पसलमै आएर कतिपय उम्मेदवारले उनीसँग भोट माग्ने गरेका छन् । विभिन्न पार्टीका उम्मेदवार आएर ‘भोट दिनुहोस्, तपाईंका समस्या समाधान गरिदिन्छौँ’ भन्ने गरेको उनले सुनाए ।

तर उनी कुनै पनि उम्मेदवारका भनाइ र प्रतिबद्धतालाई विश्वास गर्न सकिरहेका छैनन् । ‘सबै उस्तै हुन्,’ उनले भने, ‘अहिले चिनेझैँ गरेर हात जोडेर भोट माग्न आउँछन्, चुनावपछि यिनले हामीजस्तालाई देखे पनि नदेखेझैँ गर्छन् ।’

उनले रातोपाटीसँग भने, ‘मैलै एउटा सर्ट सिलाएबापत १ सय रुपैयाँ पाउने हो । खुरुखुरु काम गरे साँझमा चामल र दाल किन्न पैसा हुन्छ । मैले हरेक निर्वाचनमा भोट दिएको छु, खै मलाई कसैले चिन्दैनन्, आफूलाई परेको बेलामा कसैले सहयोग गर्ने होइनन् ।’

आफूजस्ता मतदाताका लागि महँगीको मार ठुलो समस्या रहेको उनले सुनाए । ‘हामीजस्ता दैनिक कमाएर दुई छाक टार्नेलाई महँगी घटे हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘तर हाम्रो समस्या कसले सुनिदिने ?’

उनका छोराहरू सरकारी विद्यालयमा पढ्छन् । आफूले नपढे पनि छोराछोरीको शिक्षाका लागि सरकारले केही गरे हुन्थ्यो जस्तो लाग्छ उनलाई ।

नेपालगञ्ज वडा नं. १, साइगाउँका फन्जी रैदास ४६ वर्षको भए । सामान्य लेबर काम गर्ने उनको घरमा पनि नेताहरू बेलाबेला भोट माग्न जाने गरेका छन् । ‘भोट त पहिला पनि दिएकै हो,’ उनले भने, ‘चुनावको बेला यसरी नै नेताहरू भोट माग्न आउँथे, तर जितेर गएपछि केही गरेनन् ।’

आफूले एकदुई दिन काम नगर्ने हो भने घरमा सबै भोकै बस्नुपर्ने अवस्था आउने उनी बताउँछन् । ‘हामीलाई दुई दिन काम गर्न पाइएन भने के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘जसलाई भोट हाले पनि हाम्रो यो अवस्था जस्ताको तस्तै रहने हो ।’

शिक्षा, रोजगारीजस्ता कुरामा नेताहरुले ध्यान दिए हुने उनको अपेक्षा छ । तर निराश हुँदै उनी भन्छन्, ‘नेताहरुलाई यस्ता कुराको मतलव नै छैन ।’

नेपालगञ्ज–६ का ४० वर्षीय मंगल काउलीले अटो रिक्सा चलाउन थालेको ४ वर्ष भयो । ५ जनाको परिवारलाई उनको एक्लो कमाइले धानेको छ । उनको सपना अटो रिक्सा व्यवस्थित रुपमा चलाएर अलि धेरै पैसा कमाउन सक्ने बन्नु हो । ‘पढेलेखेको छैन, लगानी पनि धेरै गर्न सकिँदैन’, उनले भने, ‘अटोरिक्सा चलाएर नै सजिलैसँग घरखर्च धान्न सक्ने अवस्था आइदिए हुने थियो ।’

उनले नेपालगञ्जको सडक र ट्राफिक राम्रोसँग व्यवस्थित भइदिए पनि आफूहरू जस्तालाई धेरै सहज हुने बताए । उनको घर नजिकैको सडक ग्राभेल भएको छ । अब पिच बनाउँछु भन्दै नेताहरू भोट माग्न आएको उनी बताउँछन् । उनले नेताहरूप्रति केही आश रहेको बताए ।

 


सडक, बत्ती, रोजगारी जस्ता समस्यालाई बिस्तारै सम्बोधन गर्दै गएको अवस्थामा देशको विकास आफै हुने उनी बताउँछन् ।

नेपालगञ्ज–२२ का जितबहादुर बर्मा पेसाले स्वास्थ्यकर्मी हुन् । उनले नेपालगञ्जमा कुनै पनि दल र उम्मेदवारले घोषणापत्र अनुसार काम नगरेको बताए । चुनावका बेलामा विभिन्न दलले घोषणापत्र ल्याउने तर चुनाव जितिसकेपछि सबैले आफ्नो स्वार्थ अनुसारका काम गर्ने गरेको उनको भनाइ छ ।

‘केही वडामा शुद्ध खानेपानीको समस्या छ । सडक व्यवस्थित छैन,’ उनले भने, ‘फोहर व्यवस्थापन जस्ता समस्याहरूमा ध्यान दिनुपर्नेमा उम्मेदवारहरू भाषण र घोषणापत्रमा सीमित भएका छन् ।’

घोषणापत्रमा उल्लेख भएका कतिपय काम विगतमा कसैले पनि पूरा गर्न चासो नदेखाएको भन्दै आफूलाई चुनाव अगाडि दल र उम्मेदवारहरूले गर्ने प्रतिबद्धतामा विश्वास नरहेको उनी बताउँछन् ।

नेपालगञ्ज–२  धम्बोझीका २८ वर्षीय अजय मुरहरियाले पनि नेताहरुले भाषणमात्र गर्ने तर काम केही नगर्ने बताए । ‘खाली मलाई भोट दिनुहोस्, मलाई सहयोग गर्नुहोस् भनेर आउँछन्,’ उनले भने, ‘तर चुनाव जितिसकेपछि कसैले केही गर्ने होइन ।’

स्थानीय एक होटलमा कुकको काम गर्ने गर्ने उनले रोजगारीका अवसर सिर्जना गर्ने, महँगी नियन्त्रण गर्ने विषयमा दलहरुले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

‘जनतालाई चाहिएको कुरामा नेताहरुको ध्यान छैन,’ उनले भने, ‘चुनाव आउँछ, जान्छ । हामी चाहेर वा नचाहेर भोट दिन्छौँ तर केही फरक पर्नेवाला छैन ।’

नेपालगञ्ज–१२ विशालपुरकी ईन्दिरा पोखरेलले धेरैजसो दलले आफ्नो घोषणापत्रमा शिक्षा, स्वास्थ्य, तथा विकास निर्माणका कुरा गर्ने गरे पनि कार्यान्वयनमा कसैले चासो नदेखाएको विगतको अनुभव सुनाइन् । उनले उम्मेदवारी नपाउँदा दल परिवर्तन गरेर हिँड्ने व्यक्तिहरुबाट विकास, समृद्धि र जनताका आकांक्षा पूरा हुनेमा विश्वास नलागेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप