नेपालगञ्ज उपमहानगरपालिका : गठबन्धनमा कचकच, राप्रपाले जोगाउला त साख ?
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले यहाँ आफ्नो वर्चश्व कायम राख्छ कि गुमाउँछ भन्नेमा आमचासो बढेको छ । अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए ।
उनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । यतिमात्र होइन, अहिले राप्रपा विभाजनसमेत भइसकेको छ । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भएको छ, जसले राप्रपाको मत काट्ने निश्चित छ ।
विगतमा नेपालगञ्ज उपमहानगरमा राप्रपाले मेयरसहित ३ वडाअध्यक्षमा जित हासिल गरेको थियो । मेयर राणा र एक वडाअध्यक्ष अहिले राप्रपामै छन् भने दुई वडाअध्यक्ष कमल थापा नेतृत्वको राप्रपा नेपालतिर लागेका छन् ।
एकातिर राप्रपा विभाजन र अर्कोतिर मेयर धवलशमशेर राणाले अर्को कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेसँगै अन्य दलले आफूहरुका लागि सहज भएको अनुभूति गरेका छन् ।
गठबन्धनमा उस्तै कचकच
नेपालगञ्जमा सत्तारुढ गठबन्धन दलहरुबीच कचकच जारी छ । यो पालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालले आफ्नो पकड रहेको दाबी गर्दै आएका छन् । सत्तारुढ गठबन्धनभित्रकै दुई दल काँग्रेस र जसपाले मेयरमा दाबी गरेपछि सहमति जुटाउन पनि सकस देखिएको छ । उता, एमाले पनि गठबन्धन घटकबीच तालमेल नभएको अवस्थामा आफू जित्नेमा विश्वस्त देखिन्छ । एमाले र राप्रपा नेपालबीच तालमेल हुने निश्चित भइसकेका कारण राप्रपा नेपालको साथ पाएर पालिकामा आफ्नो वर्चश्व बढाउन सकिने एमालेको आकलन छ । यद्यपि राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले नेपालगञ्जको हकमा एमालेसँग तालमेलबारे प्रस्ट कुरा हुन बाँकी रहेको बताए ।
यता राप्रपाले यो पालिकामा उम्मेदवार खडा गर्ने तयारी गरिरहेको छ । उम्मेदवारी घोषणा नै नभए पनि यसका लागि आवश्यक तयारी भइरहेको राप्रपा जिल्ला कार्यसमिति बाँकेले जनाएको छ । राप्रपाले कुनै पनि दलसँग गठबन्धन गर्ने सम्भावना कम रहेको राप्रपाका जिल्ला संयोजक नगेन्द्र पौडेलले बताए ।
पश्चिम नेपालको पुरानो र आर्थिक गतिविधिले चलायमान यो सहरमा सबैजसो दलले स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढाएका छन् । यो पालिकामा काँग्रेस, एमाले, जसपा, राप्रपा लगायतका दलको राम्रै प्रभाव देखिन्छ ।
अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपा १२ हजार ५१५ मतसहित विजयी हुँदा कांँग्रेसले ८ हजार ७३०, माओवादी केन्द्रले ७ हजार १९८ र एमालेले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।
दलहरुको आ–आफ्नै दाबी
नेपालगञ्ज उपमहानगरपालिकासमेत समेटिएको बाँके क्षेत्र नम्बर २ बाट जसपा नेपालका मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । उनकै प्रभाव क्षेत्र भएका कारण पनि जसपा नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दाबी गरेको जसपाका कार्यकर्ताहरु बताउँछन् ।
नेपाली काँग्रेसले पनि नेपालगञ्ज उपमहानगरमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै आएको छ । नेपाली काँग्रेसले विगतमा उपमेयर जितेकाले अहिले गठबन्धनभित्र मेयरका लागि दाबी गर्नु स्वाभाविक रहेको काँग्रेसका जिल्ला सभापति नारायण गौडेलले रातोपाटीलाई बताए । उनले गठबन्धनबीच तालमेल नभए पनि काँग्रेसको अवस्था बलियो रहेको दाबी गरे ।
यहाँ माओवादी केन्द्रले पनि आफ्नो भूमिका बढाउन चाहेको छ । जसका लागि माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबीच तालमेलको अपेक्षा गरेको छ ।
यता नेकपा एमालेले पनि सो पालिकामा आफ्नो सांगठानिक अवस्था बलियो रहेको दाबीका साथ निर्वाचन केन्द्रित तयारी गरेको छ । एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको सहकार्यले यो पालिकामा आफूलाई अझ सहज हुने आकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सुमेरु सहकारीको ३ कार्यालयमा सिल