बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज उपमहानगरमा त्रिपक्षीय भिडन्त, कसका एजेन्डा कस्ता ?

बिहीबार, २२ वैशाख २०७९, ११ : ४०
बिहीबार, २२ वैशाख २०७९

नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि १७ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । यद्यपि, यहाँ मुख्यगरी त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको छ । जसअनुसार गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्दिन राई उपमेयर पदका लागि चुनावी मैदानमा छन् ।

अर्कोतिर नेकपा एमालेले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा एमालेले ८ वडा जितेका कारण पनि नेपालगञ्ज उपमहानगरमा यो पार्टी पनि बलियो शक्तिका रुपमा छ ।

नेपालगञ्जमा राप्रपाको पनि बलियो पकड छ । २०७४ सालको निर्वाचनमा राप्रपाले मेयर जितेका कारण पनि यहाँ राप्रपालाई कम आँक्न मिल्दैन । राप्रपा सहायक महामन्त्री ऋषिराज देवकोटाका अनुसार नेपालगञ्जको मेयरका रुपमा डा. धवलशमेर राणाले गरेका कामका कारणले पनि यहाँका जनताले राप्रपालाई रुचाएको र फेरि पनि राप्रपालाई नै नेतृत्वमा ल्याउने पार्टीको विश्वास छ ।

यहाँ राप्रपाले मेयरमा नन्दलाल वैश्य र उपमेयरमा बिन्दु मगरलाई उम्मेदवार बनाएको छ । वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् । मगर भने यसअघिको निर्वाचनमा उपमेयरमा प्रत्यासी भएर दोस्रो स्थानमा मत हासिल गरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपा १२ हजार ५१५ मतसहित विजयी हुँदा काँग्रेसले ८ हजार ७३०, माओवादी केन्द्रले ७ हजार १९८ र एमालेले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।
 
कसका एजेन्डा कस्ता ?

नेपालगञ्जका मतदाताले विगतमा दल तथा उम्मेदवारका एजेन्डाभन्दा पनि व्यक्ति हेरेर मत दिने गरेको जानकारहरु बताउँछन् । यसको उदाहरणका रुपमा अघिल्लो निर्वाचनलाई नै लिन सकिने उनीहरुको भनाइ छ । अघिल्लो निर्वाचनमा राप्रपाका धवलशमशेर राणाले मेयरमा जित्दा उपमेयरमा भने राप्रपाका उम्मेदवार पराजित भएका कारण पनि यहाँका मतदाताले व्यक्ति हेरेर मत दिने गरेको उनीहरु प्रस्ट्याउँछन् ।

यद्यपि, दलहरुले स्थानीय तहको चुनावमा विभिन्न एजेन्डा अघि सारेका छन् । नेपालगञ्जको भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्मलाई प्राथमिकतामा राखेर दलहरुले एजेन्डा सार्वजिक गरेका छन्  ।

नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनका उम्मेदवारको ‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मूल नारासहित प्रतिबद्धता सार्वजनिक गरेका छन् । संकल्प पत्रमा सद्भावको सहर, हरित नगर, रिङरोडसहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।

यस्तै नेपालगञ्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्यलगायत निरोधात्मक, प्रवर्द्धधनात्मक, उपचारात्मक र पुनःस्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्ने योजनालगायत रहेको मेयर पदका उम्मेदवार प्रशान्त विष्टले बताए ।

यस्तै एमालेका उम्मेदवारले नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न पहल गर्ने, नगर क्षेत्रका सडक व्यवस्थित र खुला पार्किङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरभित्रका बाँकी सम्पूर्ण बाटोको स्तरोन्नति गर्ने जस्ता प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । नेपालगञ्जको भौतिक विकाससँगै सामाजिक विकासलाई ध्यान दिने, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनेदेखि  नेपालगञ्जका केही वडामा समस्याका रुपमा रहेको खानेपानी तथा ढल निकासको व्यवस्थापन गर्ने पनि उनीहरुको प्रतिबद्धतामा परेको छ ।

यस्तै स्वास्थ्य सेवा थप गुणस्तरीय र निःशुल्क बनाइने, व्यवसायीमैत्री कर नीति तथा बजारको थप विकास र चलायमान बनाउने, फोहोरमैला व्यवस्थापन गर्दै सरसफाइलाई व्यवस्थित बनाइने, ग्रीन सिटी परियोजना सञ्चालन गरिने र सुन्दर सहर बनाउने प्रतिबद्धता पनि उल्लेख छ ।

यस्तै राप्रपाका मेयर र उपमेयर पदमा दुवै उम्मेदवारले आफ्नो तलब भत्ता सामाजिक कार्यमा खर्च गर्नेदेखि नेपालगञ्ज सहरमा हरियाली कायम राख्नेसम्मका कामलाई प्राथमिकता दिएका छन् । नगरपालिकाभित्रका सरकारी जग्गा पहिचान गर्दै संरक्षण गर्नेदेखि नेपालगञ्जलाई पर्यटकीय हवको रुपमा विकास गर्ने उनीहरुको योजना छ ।

अन्य को को छन् उम्मेदवार ?

नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबाहेक मेयरमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार नेकपा माओवादी समाजवादीबाट अनिता वैश्य, नेकपा मालेबाट मेवालाल हलवाई, लोसपा नेपालबाट महमुद आलम सिद्दिकी, राप्रपा नेपालबाट अभयकुमार बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर पुन, जनमत पार्टीबाट प्रह्लाद अहिर, नेपाली जनता दलबाट सेरबहादुर खाँ, जनता प्रगतिशील पार्टी नेपालबाट रमेशचन्द्र कुमार, नेश्नलिस्ट पिपल्स पार्टीबाट भुवन कृष्ण श्रेष्ठ उम्मेदवार छन् । यस्तै, मोहम्मद अजुव हल्वाई, कमलेशकुमार पाठक, विकास बहादुर सिंह, दिनेश थापा, मोहम्मद फैज स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै, उपमेयरमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबाहेक ६ जनाको उम्मेदवारी परेको छ । जसअनुसार नेकपा माओवादी समाजवादीबाट मो रियाज राई, जनमत पार्टीबाट अब्बन किंगरिया, राप्रपा नेपालबाट राजश्री शाह, जनता प्रगतिशील पार्टीबाट आरती मिश्रा, लोसपा नेपालबाट ममता बानियाँ र नेश्नलिस्ट पिपल्स पार्टीबाट निरु थकाली उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप