बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–बास्तोलाको नजर वैद्यतिर, विप्लव–विश्वकर्मा ओलीतिर

बुधबार, २१ वैशाख २०७९, १४ : ५७
बुधबार, २१ वैशाख २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा विवाद बढ्दै जाँदा एकले अर्कालाई कारबाही गर्ने होड चलेको छ । परिणामस्वरूप सो पार्टी दुई ध्रुवमा विभाजित देखिएको छ ।

महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारबाही गरे लगत्तै ओली र बास्तोला पक्षले पनि विप्लव पक्षलाई कारबाही गर्दै पार्टीको आधिकारिकता दाबी गर्नतिर लागेको छ ।

पार्टीमा सबैभन्दा पहिले गत वैशाख १२ गते सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी नीति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएका कार्यकर्तालाई फिर्ता हुन भन्दै विज्ञप्ति जारी गरेपछि आन्तरिक विवाद छताछुल्ल भएको थियो । पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यसहित जिल्ला तहका नेताले निर्वाचनमा भाग नलिने, यदि लिएमा पदबाट राजीनामा दिने निर्णय गरे पनि कार्यान्वयन नभएपछि प्रेस वक्तव्यमार्फत बास्तोलाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

पार्टी निर्णय कार्यान्वयन गर्दै स्थानीय तहका उम्मेदवारी फिर्ता लिएर सहज वातावरण बनाउनु पर्ने आशयको विज्ञप्ति बास्तोलाले निकाले लगत्तै वैशाख १४ गते विप्लवले ओली र बास्तोलालाई कारबाही गरेका थिए । पार्टी नीति विपरीत वक्तव्य निकाल्ने र मिडियामा आलोचना गरेको भन्दै दुवैलाई उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जानकारी दिँदै वक्तव्य जारी गरेका थिए ।

विप्लवले ओली र बास्तोला दुवैलाई पार्टीबाट निकालेको दोस्रो दिन वैशाख १६ गते भेला बसेर जनवर्गीय सङ्गठनहरूले कारबाही फिर्ता लिन दबाब दिएका थिए । तर विप्लवले उनीहरूमाथिको कारबाही फिर्ता लिएनन् ।

पार्टी संयोजकमा बास्तोला

बुधबार ओली–बास्तोला पक्षको चितवनमा बसेको भेलाले विप्लवलाई महासचिव र प्रवक्ता विश्वकर्मालाई समेत हटाएको केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टी महासचिवबाट विप्लवलाई हटाएपछि संयोजकमा बास्तोलालाई तोकिएको लोहनीले बताए ।

विप्लव पक्षलाई कारबाही गरेर ओली–बास्तोला पक्षले आफूहरु नै पार्टीको आधिकारिक रहेको दाबी गरेका छन् । आफ्नो पक्षमा ४० जनाभन्दा बढी केन्द्रीय सदस्य भएको ओली–बास्तोला पक्षको दाबी छ । ओली–बास्तोला पक्षको भेला बिहीबार सकिने भएकाले सबै निर्णय त्यसपछि मात्रै सावर्जनिक गर्ने बताइएको छ ।

​विप्लव समूहमा एकले अर्कोलाई कारबाही तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झझल्को आउनेगरी भएको छ । तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीपक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’पक्षबीच एकअर्कामाथि कारबाहीको होड चलेको थियो । पार्टीको बहुमतबाट प्रचण्डसहित माधवकुमार नेपालले ओलीसहित महासचिव विष्णु पौडेललाई हटाएका थिए । विप्लव समूहमा पनि एकले अर्कालाई कारबाही गरेपछि अब एउटै पार्टी हुने अवस्था टरेको छ ।

विप्लव समूहले आफूलाई एउटा क्रान्तिकारी पार्टीको रूपमा दाबी गर्दै आए पनि अन्ततः त्यही क्रान्तिको धङधङीबाट विभाजन भएको छ । तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले क्रान्ति नगरेको भन्दै २०६९ सालमा मोहन वैद्यसहित विप्लवले विद्रोह गरेर नेकपा–माओवादी गठन गरेका थिए । वैद्यले पार्टी गठन गरेको २ वर्ष पुग्न नपाउँदै विप्लवले वैद्यबाट क्रान्ति नहुने भन्दै २०७१ सालमा चितवनमा भेला गरेर नयाँ पार्टी गठन गरेका थिए । त्यसको ठिक आठ वर्षपछि चितवन भेलाबाट विप्लवलाई कारबाही गरेर पार्टी संयोजकमा बास्तोलालाई चयन गरिएको छ ।

विप्लव समूह अब दुई टुक्रामा विभाजित भएको छ । विप्लव समूहमा लागेका धेरैजसो नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा जोडिएका छन् । कतिपय रामबहादुर थापाको साथ लागेर एमालेमा पुगेका छन् । विप्लव समूहमा भएका बाँकी नेता कार्यकर्ता समेत दुई चिरामा विभाजित भएका छन् ।

ओली–बास्तोला पक्षको नजर वैद्यतिर, विप्लव र विश्वकर्माको ओलीतिर  

विप्लव समूह खासमा स्थानीय चुनावलाई लिएर विभाजित भएको भनिए पनि चुनावी तालमेललाई लिएर दुई चिरामा विभाजित भएको हो । स्थानीय चुनावमा विप्लव सहित विश्वकर्मापक्ष एमाले अध्यक्ष केपी ओेलीसँग तालमेल गरेर जाने पक्षमा थिए । त्यसैले विप्लवले केन्द्रीय समितिमा समेत एमाले एमसीसी विरोधी राष्ट्रवादी शक्ति भएको भन्दै घुमाउरो भाषामा उसैसँग तालमेल गरेर जाने प्रस्ताव ल्याएका थिए ।

विप्लवको प्रस्तावलाई ओली र बास्तोला पक्षले डटेर प्रतिवाद गर्दै असफल बनाएपछि झण्डै विप्लव महासचिवबाट राजीनामा दिने अवस्थामा पुगेका थिए । अन्तमा बिचको बाटो अख्तियार गरेर स्थानीय चुनाव बहिस्कार गर्ने, यदि चुनावमा जाने भएमा केन्द्रीय सदस्य सहित जिल्ला कमिटी सदस्य उम्मेदवार भई निर्वाचनमा भाग नलिने निर्णय भएको थियो । तर, पार्टी निर्णय विपरीत केन्द्रीय सदस्यहरु स्थानीय तहको उम्मेदवार भई एमालेसँग चुनावी तालमेल भएपछि विप्लव समूहमा विवादले उग्र रुप लिएको हो ।

विप्लव र विश्वकर्मापक्षले धेरै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेका छन् । आगामी संघ र प्रदेशको चुनाव पनि एमालेसँग तालमेल गरेर विप्लव र विश्वकर्मा संसदमा छिर्ने रणनीतिमा छन् । उता ओली–बास्तोलापक्ष सबै चुनाव बहिस्कार गरेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग मोर्चाबन्दी गर्दै एकतामा जाने तयारीमा छन् । विचार र राजनीतिक दृष्टिले ओली र बास्तोला वैद्यसँगै मिल्ने भएकाले उतै जाने धेरै नेता कार्यकर्ताले आकलन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप