बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब के होला नेकपा ?

हेमन्त र धर्मेन्द्रको रणनीति : सके बहुमतबाट कारबाही नभए नयाँ पार्टी
बुधबार, १४ वैशाख २०७९, २१ : १४
बुधबार, १४ वैशाख २०७९

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके बहुमतबाट विप्लव पक्षलाई उल्टै कारबाही गर्ने नभए नयाँ पार्टी बनाएर जाने रणनीति लिएका हुन्।

गत चैत पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकलाई आधार बनाउँदै ओली र बास्तोलाले आफू पक्षको बहुमत भएको निष्कर्ष निकालेका छन् । त्यहीँबाट उनीहरूले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई समेतलाई कारबाही गरेर नेकपालाई निरन्तरता दिन खोजेका छन्।

ओली र बास्तोलाले बैठक बोलाएर आफ्नो हैसियत नाप्नुका साथै नयाँ नीति अख्तियार गर्ने तयार गरेका छन् । बैठकमा जिल्ला सेक्रेटरीसहित केन्द्रीय सदस्य दुबैलाई बिहीबार काठमाडौँ बोलाइएको छ । त्यहीँ बैठकबाट बहुमत केन्द्रीय सदस्यबाट विप्लव र विश्वकर्मालाई कारबाही गरी पार्टी नेतृत्व हत्याउने उनीहरुको योजना छ । ‘पार्टीका केन्द्रीय सदस्यमा बहुमतमा छौँ । तर पार्टी नै विभाजन गर्ने अवस्था भएपछि कतिपय केन्द्रीय सदस्य खुल्दैनन् होला,’ हेमन्त धर्मेन्द्रपक्षका एक नेताले भने,‘अबको बैठकबाट कति केन्द्रीय सदस्य खुल्ने हुन् ? कति नखुल्ने हुन् ? यकिन हुनेछ।’ यदि पार्टीमा बहुमत भएमा विप्लव र प्रवक्ता विश्वकर्मालाई कारबाही गरेर जाने त्यसो नभए नयाँ पार्टी गठन हुने ती नेताले बताए।

तर, नेता ओलीले केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने बताए।  ‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरूसँग भोलि नै बस्छौँ । छलफल गरेर निर्णय गर्छौँ,’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौँ। विचारधारात्मक सर्वोच्चता कायमै छ। त्यस अनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ। त्यो म्यान्डेट लिएर जान्छौँ । साथीहरूसँग छलफल गरेर छिट्टै निर्णय लिन्छौँ ।’ केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा ठिक हुन्छ त्यहीँ विधि अपनाएर जाने ओलीले बताए।

तर, प्रवक्ता विश्वकर्माले आफूहरूलाई बहुमतबाट कारबाही गर्नुको अर्थ नभएको बताए। ‘हामीले बैठक बसेर के निर्णय गर्‍यौँ त्यो विज्ञप्ति मार्फत थाहा पाइहाल्नुभयो,’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘ उहाँहरू(हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला)ले पार्टी निर्णय विपरीत गरेकाले कारबाही गरियो।’ पार्टीमा को कस्तो हो भन्ने विषयमा मिडियालाई सबै थाहा भइसकेकाले थप टिप्पणी गर्न नहुने विश्वकर्माले जिकिर गरे। पार्टीमा तपाईंहरू अल्पमतमा हुनुहुन्छ उल्टै कारबाहीमा पर्ने सम्भावना छ नि भन्ने प्रश्नमा विश्वकर्माले त्यस्ता फाल्तु कुरामा जान नहुने बताए। ‘पार्टीमा बहुमत अल्पमत के छ? कस्तो छ? भन्ने सबै मिडियालाई थाहा छ,’ विश्वकर्माले भने, ‘हामीलाई पार्टीको बहुमतबाट कारबाही गर्ने भन्ने कुराको कुनै अर्थ छैन । त्यो फाल्तु कुरा हो।’ 

यसरी चुलियो विवाद

स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव गरेका थिए। तर, बैठकमा ओली र बास्तोलापक्षले बैठकमा जान नहुने तर्क गरेका थिए। नेता कार्यकर्ता जेलमा हुने, झूटा मुद्दा बोकेर कार्यकर्ता चुनाव प्रचार प्रसारमा लाग्ने भन्दै ओली र बास्तोलापक्षले विप्लवको प्रस्तावलाई अस्वीकार गरेका थिए।

बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्तावलाई ओली बास्तोलापक्षले केन्द्रीय समितिमा बहुमत पुर्‍याएर अस्वीकृत गराएका थिए । अन्त्यमा पार्टीका सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरू चुनावमा भाग लिन नपाउने निर्णय भएको थियो । यदि पार्टीका नेताहरू चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । उक्त निर्णय भने विप्लवले सार्वजनिक नगरेर गोप्य राखेका थिए। तर, पार्टी निर्णयविपरीत विप्लव र प्रकाण्डपक्षले निर्वाचनमा केन्द्रीय सदस्यहरूलाई उम्मेदवारी दिन लगाएपछि विवादको बिउ रोपिएको थियो। त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएपछि त्यसले झन् उग्र रूप लिएको हो। तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव र प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगेका हेमन्त धर्मेन्द्रपक्षको आरोप छ । विप्लव प्रकाण्डपक्षले एमालेसँगै दीर्घकालीन रूपमा तालमेल गरेर जाने रणनीति लिएको भन्दै ओली र बास्तोलाले फेल गराउन मिडिया मार्फत प्रतिवाद गरेका थिए।

यस्तै अवस्थामा गत मंगलबार बास्तोलाले एक विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरीत उम्मेदवारी दिएकालाई फिर्ता लिन आग्रह गरे। पार्टीले केन्द्रीय सदस्य सहित जिल्ला कमिटीसम्मले उम्मेदवारी नदिने निर्णय भएकाले उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए। पार्टीसँग कुनै सरसल्लाह नगरेर बास्तोलाले विज्ञप्ति जारी गरेको भन्दै बुधबार बिहान विप्लवले फोन समेत गरेका थिए। तर, बास्तोला र विप्लवबीचको संवाद सौहार्दपूर्ण नभएपछि विप्लवले कारबाही डण्डा चलाएका हुन्। हेमन्त र धर्मेन्द्रले कस्तो निर्णय लिन्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप