बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनले कसको मत काट्लान् : एमाले कि काँग्रेस ?

सोमबार, १९ वैशाख २०७९, १६ : ४८
सोमबार, १९ वैशाख २०७९

स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई सधैँ चासोको साथ हेरिन्छ । संघीय राजधानी समेत रहेको देशकै सबैभन्दा ठूलो महानगरको कार्यकारी पदमा को विराजमान हुन्छ भन्ने कौतुहलता हुन स्वाभाविक पनि हो ।

विगतमा झैँ यसपटकको निर्वाचनमा पनि काठमाडौँ महानगरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लोपटक काठमाडौँ महानगरमा जितेको नेकपा एमालेबाट केशव स्थापित मेयरका प्रत्याशी छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह प्रतिस्पर्धामा उत्रेकी छन् । त्यस्तै, गत निर्वाचनमा सन्तोषकजनक प्रदर्शन गरेको विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा पनि मेयर पदको दाबेदार बनेकी छन् ।

यद्यपि, चर्चामा भने यसपटकका ‘सर्प्राइज क्यान्डिडेट’ का रूपमा रहेका स्वतन्त्र उम्मेदवार ‘र्‍यापर’ बालेन शाह छन् । सामाजिक सञ्जाल यतिबेला ठूला दलका उम्मेदवारभन्दा पनि बालेन शाहको पक्षमा रङ्गिएको छ । विशेष गरेर युवामाझ लोकप्रिय रहेका शाहलाई मतदान गरौँ भन्दै सेलिब्रेटीहरु समेतले मत मागिरहेका छन् ।

वैशाख ३० गते हुने मतदानमा शाहले सामाजिक सञ्जालको मतलाई ‘ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ । तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन् । गत निर्वाचनमा युवा उम्मेदवारले पाएको मत र काठमाडौँका मतदाताको ‘ट्रेन्ड’लाई हेर्दा शाह आशावादी हुने ठाउँ पक्कै देखिन्छ । किनभने गत निर्वाचनमा आफूलाई वैकल्पिक शक्ति भनेर भोट मागेका दुई उम्मेदवारले करिब ४२ हजार मत प्राप्त गरेका थिए ।

​यता बालेनको उपस्थितिले कुन दललाई फाइदा र कुन दललाई घाटा होला भन्ने चर्चा पनि सुरु भएको छ । धेरैको अनुमान छ, बालेनको ‘लिबरल’ भोट बेस हो, जुन नेपाली काँग्रेसको पनि हो । नेकपा एमालेको भोट बेस भनेको चाहिँ ‘कडेर’ बेस हो । त्यसैले बालेनले काट्ने भोट भनेको काँग्रेस कै हो ।

के भन्छन् काँग्रेस–एमाले ?

बालेनले प्राप्त गर्ने मत एमालेभन्दा पनि काँग्रेसका लागि चुनौती भएको पार्टीका महामन्त्री गगन थापा पनि स्वीकार गर्छन् । ‘उदार राजनीतिक सोच भएका एउटा मतदाताको पार्टीको हिसाबले स्वाभाविक रोजाइ भनेको नेपाली काँग्रेस हो । यस्ता मतदाता ‘ओभरअल सिस्टम’ सँग रिसाउँदा वा उसले विकल्प खोज्दा स्वतन्त्र उम्मेदवार नभएको भए उसले नेपाली काँग्रेसलाई नै मत हाल्ने थियो,’ रातोपाटीसँगको कुराकानीमा थापाले भने, ‘तर स्वतन्त्र उम्मेदवारको विकल्प हुँदा उसले आफ्नो रिस त्यहाँ गएर व्यक्त गर्न सक्छ ।’

यता नेकपा एमाले काठमाडौँ जिल्लाका सह–इन्चार्ज कृष्ण राईले भने बालेन शाहलाई आगामी चुनावमा पार्टीका लागि चुनौतीका रूपमा लिन चाहेनन् । ‘अघिल्लो चुनावमा रञ्जु दर्शनाको कम चर्चा थिएन,’ राईले रातोपाटीसँग भने, ‘बालेन शाह र्‍यापर भएको कारणले उनी युवापुस्तामा चर्चित छन् । तर, उनले ल्याउने भनेको त्यही २०–२५ हजार भोट नै हो । गत चुनावको सबै स्वतन्त्र मत बालेनले पाए भने पनि ४० हजारको हाराहारीमा आउँला तर सबैले स्वतन्त्रमै मत हाल्छन् भन्ने छैन । किनभने पार्टीका कार्यकर्ताकै मत त स्वीङ हुन्छ । त्यसमाथि काठमाडौँमा स्वतन्त्रले जितेको इतिहास पनि छैन । त्यसैले हाम्रो प्रमुख प्रतिस्पर्धा भनेकै नेपाली काँग्रेससँग हो ।’

राई विश्वको जुनै पनि ठाउँमा २५ प्रतिशत मतमात्र स्वतन्त्र हुने हिसाब पनि सुनाए । त्यसैले बालेनले ९० हजार बढी ल्याउँछु भन्ने कुरा हावादारी भएको उनको तर्क छ ।

कस्तो थियो काठमाडौँ महानगरको मत परिणाम ?

कुल ३२ वडा रहेको काठमाडौँ महानगरमा २०७४ सालमा पहिलो चरण अन्तरगत निर्वाचन भएको थियो । महानगरको प्रमुख पदमा एमालेका विद्यासुन्दर शाक्यले बाजी मारेका थिए । प्रमुख र उपप्रमुख पदमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । काठमाडौँ महानगरमा वैकल्पिक पार्टीका रूपमा उदाएका विवेकशील नेपाली र साझा पार्टीले राम्रो प्रदर्शन गरेका थिए । विवेकशील साझाकी रञ्जु दर्शनाले तेस्रो लोकप्रिय मत ल्याएकी थिइन् भने स्वतन्त्रबाट किशोर थापाले चौथो धेरै मत ल्याउन सफल भएका थिए । नेकपा माओवादी केन्द्र पाँचौँ स्थानमा सीमित बनेको थियो ।

मेयर पदमा विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए । त्यस्तै, रञ्जु दर्शनाले २३ हजार ४३९ तथा किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ७ हजार ९०६ मत ल्याएका थिए । एमालेले प्रमुख पद जित्दै गर्दा उपप्रमुखमा भने चुनावी तालमेल गरेको राप्रपाका राजराम श्रेष्ठ पराजित हुन पुगेका थिए । उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् । खड्गीले ५८ हजार ९५२ मत ल्याउँदा श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए ।


नयाँ मतदाताले कसलाई रोज्लान् ?

निर्वाचन आयोगको तथ्याङ्क अनुसार यसपटक काठमाडौँ महानगरमा २० हजार ९३३ जना नयाँ मतदाता थपिएका छन् । २०७४ को निर्वाचनमा २ लाख ७९ हजार ३०९ जना मतदाता रहेकोमा यसपटक ३ लाख २४२ जना मतदाताले निर्वाचनमा भाग लिँदैछन् । युवापुस्तामा लोकप्रिय रहेका कारण बालेनको हकमा २० हजार ९३३ जना नयाँ मतदाता पनि निर्णायक हुने विश्लेषण गरिएको छ ।


थापा भन्छन्– मतदातालाई बुझाउन सकिन्छ

काँग्रेसका महामन्त्री थापा स्वतन्त्र उम्मेदवारले काँग्रेसलाई हराउन नचाहे पनि आफ्नो आक्रोश अभिव्यक्त गर्ने क्रममा त्यसको परिणाम चाहिँ काँग्रेको उम्मेदवारको मतको हिसाबमा जोडिन सक्ने बताउँछन् । ‘हामीले कुनै पनि उम्मेदवारलाई कम आँक्न हुँदैन । तर चुनावी अभियानको क्रममा लिबरल मतदातालाई तपाईंको एकछिनको रिसले तपाईंले विश्वास नै नगरेको चुनावी परिणाम आउन सक्छ र त्यो आक्रोशले नचाहेको मान्छे नेतृत्वमा आउन सक्छ भन्ने कुरा बुझाउन सक्यौँ भने म चाहिँ काँग्रेसको जीत सुनिश्चित नै देख्छु,’ उनले रातोपाटीसँग विश्वास व्यक्त गरे ।

काँग्रेसबाट मेयरकी प्रत्यासी सिंह काठमाडौँले खोजेकै जस्तो ‘फ्रेस अनुहार’ भएको उनको जिकिर छ । ‘वहाँ लामो राजनीतिक अनुभव भएको एक सक्षम महिला हुनुहुन्छ । वहाँ नगरपालिकाको मेयर बनेपछि स्रोतको दुरुपयोग नगर्ने, पूर्णरुपमा सुशासन कायम राख्न सक्ने पात्र हुनुहुन्छ,’ थापा भन्छन्, ‘अब वहाँमाथि एउटा एउटा परिवारको सदस्य भएको कारण टिकट पाएको भन्ने छ । तर त्यही राजनीतिक परिवारकै सदस्य भएको कारणले वहाँले यति लामो समय कुनै अवसर नपाउनु भएको पो हो कि ? यसलाई यो कोणबाट पनि हेर्न सकिन्छ ।’

परिवारको कुरा बिर्सियो भने उनीमा मेयर चलाउने सक्ने व्यक्तिका रूपमा खोट लगाउनुपर्ने अन्य कुरा केही पनि नभएको थापाको दाबी छ । ‘काठमाडौँको सन्दर्भमा यहाँको महानगरको कार्यकारी पदमा एउटा महिलालाई जिताउने अवसर यतिबेला छ, त्यो गुमाउनुहुन्न,’ थापाले अपिल गरे ।

एक्लो मेयर पद जितेर केही हुन्न : राई

एमाले नेता राई अहिलेको शासकीय स्वरूपमा एउटा पदमा मात्र चुनाव जितेर कसैले पनि महानगर हाँक्न नसक्ने बताउँछन् । वडाहरूमा टीम नै छैन भने ई–गर्भनेन्स चलाउँछु भनेर मात्र नहुने उनको तर्क छ । उनले भने, ‘योजना कार्यान्वयनमा सहयोगी नहुँदा विद्यासुन्दर शाक्य त सफल हुन सकेनन् । बालेनलाई कसले सफल बनाउँला ?’

बालेनलाई काठमाडौँको भूगोलबारे पनि ज्ञान नभएको उनको तर्क छ । ‘उनीसँग नयाँ मुद्दा केही छैन । पुरानो दलहरुबाट भएन, म गर्छु भन्नेमात्र छ,’ राई भन्छन्, ‘केशव स्थापित र उनलाई सँगै बोलाउने हो भने स्कोर १०० र १० हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप