हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समिति बैठक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने ओलीले बताए ।
‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निर्णय गर्छौ ।’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौ । विचारधारात्मक सर्वोच्चता कायमै छ । त्यसअनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ । त्यो म्यान्डेट लिएर जान्छौ । साथीहरुसँग छलफल गरेर छिट्टै निर्णय लिन्छौ ।’
केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने ओलीले बताए । केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा हुन्छ त्यहीँ विधि अपनाएर जाने बताए । पार्टीभित्र भएका गलत प्रवृत्ति विरुद्ध भण्डाफोर गरेर जाने ओलीले बताए ।
यसरी चुलियो विवाद
स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।
बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । अन्तमा पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने निर्णय भयो । यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । तर, पार्टी निर्णय विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई निर्वाचनमा उम्मेदवारी दिन लगाए । त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए ।
तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले फेल गराउन मिडियामार्फत प्रतिवाद गरेका थिए । अन्तमा चुनावकै विषयलाई लिएर ओली र बास्तोलालाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निर्णयमा पुग्ने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल