बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टीकापुर घटनाबारे सरकारसँग गम्भिर छलफल गर्छु  : अध्यक्ष प्रचण्ड

बिहीबार, ०८ वैशाख २०७९, ११ : ००
बिहीबार, ०८ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  टीकापुर घटनाबारे सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका छन् । कैलालीको मसुरियामा आयोजित पार्टी ध्रुवीकरण तथा प्रवेश कार्यक्रममा बोल्दै टीकापुर घटनाले थारु समुदायमा ठूलो असर परेको भन्दै सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका हुन ।

‘मलाई थाहा छ कैलालीमै टीकापुर घटनाले थारु समुदायमा निकै ठुलो असर परेको छ’ उनले भने,‘मैले रेश्मलाई भारतमा भेटेको थिए । रेश्मलाई भेट्दा ठूलै विरोध भएको थियो । मैले रेश्मलाई भेट्न किन नहुने ? म बाहिर पनि भेट्छु । हिजोमात्र मेरो सचिवालयले उहाँलाई भेटेर कुराकानी पनि गरेको थियो । उहाँको समस्या समाधान गर्न म सरकारसँग भोली नै सिरियस भएर कुराकानी गर्ने छु ।’

अध्यक्ष दाहालले सुदूरपश्चिमको राजनीतिक मात्र नभई आर्थिक र सामाजिक विकासमा पनि आफ्नो जोड रहेको बताए । ‘यहाँको विश्व विद्यालयको कुरा होस् वा सुख्खा बन्दरगाहको कुरा होस् । जलविद्युतका आयोजनाहरु अघि बढाउने कुरा होस् । हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ’ उनले भने,‘देश शान्ति प्रक्रियामा आइसकेपछि म सबैभन्दा बढी यहि सुदूरपश्चिम प्रदेशमा बढी भ्रमण गरेको छु । यहाँको समग्र विकास नभएसम्म म शान्त भएर बस्दैन । मलाई सबैभन्दा बढी विकासको चिन्ता यतैको रहेको छ ।’​

 


अध्यक्ष दाहालले जनताका समस्या समाधान गर्नका लागि गठबन्धन भएपछि विशेष रुपले योजना बनेको बताए । ‘अहिले राम्रो अवसर आएको छ । यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन । सहिद परिवारमा जाऊ, आत्मसमीक्षा गरौं । अब हामीले सहिद परिवारको सपना तोड्ने छैनौं उनले भने,‘हामीले अर्थमन्त्रालय सम्हालिसकेपछि सहिद परिवारलाई, सहिदलाई सम्मान गर्ने, वेपत्ता परिवारलाई राहत र सम्मान गर्ने, घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार गर्ने कुरालाई विशेष प्याकेज बजेटमा व्यवस्था गरिएको छ र त्यो कानुन बनेर अगाडि बढ्दै छ ।’ 

उनले माओवादीले उर्जा मन्त्रालय लिइसकेपछि ३० युनिट विजुली खपत गर्ने गरिब परिवारलाई कर मुक्त गरिएको बताए । यो जनताको पक्षमा गरिएको पहिलो फैसला भएको उनले बताए । ‘यस सुदूरपश्चिम प्रदेशमा कमैया र सुकुम्वासी समस्या विकराल छ । हामीले यो समस्या समाधान गर्ने भनी घोषणापत्रमा उल्लेख गरेका थियौं । यो केपी शर्मा ओलीको सरकार हुँदा एउटा पनि लालपुर्जा वितरण गर्न सकेन । अहिले हामी सुन्दै छौं । हामीले लालपुर्जा वितरण गर्न ठिक्क पारेका थियौं । हाम्रो सरकार ढालेर रोके भन्ने गरेका छन्’ उनले भने,‘हामीले मन्त्रालय लिइसकेपछि देशभरी २० हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेका छौं । मेरै हातले बाडेको छु र अब सुदूरपश्चिम प्रदेशको सुकुम्वासी समस्या समाधान गर्न, आयोग गठन प्रक्रियालाई पूर्णता दिन र म आफै आएर लालपुर्जा वितरण गर्नेतर्फको सुरुवात हुन्छ ।’

उनले युवा स्वरोजगार र महिला उद्यमशीलताका लागि पनि विशेष प्रयास भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप