मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आयोगको निर्णयले गठबन्धनलाई राहत, मेलम्ची नवौँ पटक उद्घाटन

मङ्गलबार, २९ चैत २०७८, २० : १७
मङ्गलबार, २९ चैत २०७८

 

आज २०७८ चैत २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

सकसमा अर्थतन्त्र

चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिले राखेको मुद्रास्फीतिको लक्षित सीमा ६.५ प्रतिशत हो । यसरी मुद्रास्फीति ह्वातै बढ्नुको कारणमा भने आन्तरिक भन्दा बाह्य कारण प्रमुख रहेको छ । पछिल्लो समय बढ्दो रुस–युक्रेनले प्रभाव विश्व बजारमा पर्दा सोको दबाब नेपालमा समेत पर्न गएको हो । 

अति संवेदनशील मतदान केन्द्र 

स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र मधेस प्रदेशमा रहेको सुरक्षा विश्लेषण गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र छन् ।​

उम्मेदवार उठाउँदा महिलानै हुनुपर्ने निर्णय खारेज

निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज गरेको छ । राजनीतिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले निर्णय सच्याएको हो । 

‘एक्सन’मा उत्रिँदै आयोग

सोमबार निर्वाचन आयोगले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दियो । चैत २६ गते भृकुटीमण्डपमा गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आयोगको आरोप छ । यस्तै नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले स्पष्टिकरण सोध्यो । केहीदिन अघि सार्वजनिक कार्यक्रममा कोइरालाले  अघिल्लो बर्षको प्रतिनिधि सभाको चुनावमा ६ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि सो को विवरण ७ दिनभित्र बुझाउन आयोगले निर्देशन दिएको छ ।​

मेलम्चीको उद्घाटन

खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो । मन्त्रीले उद्घाटन गरेसँगै सुरुङभित्र प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी जाने गरी पठान्तरको काम सुरु भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले रातोपाटीलाई जानकारी दिए ।

 

एकीकृत समाजवादीको बटमलाइन

 नेकपा (एकीकृत समाजवादी) ले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको ‘बटमलाइन’ अघि सार्ने भएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो । समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ । तर, समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्र रहेका काँग्रेस, माओवादी केन्द्र, समाजवादी र जनमोर्चाले सहमति जनाउँछन् या जनाउँदैनन् भन्ने अनिश्चित छ ।

गठबन्धनको बैठक

पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए । ​

प्रचण्डको ६ बुँदे सर्कुलर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् ।  केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । 

सेयर बजारमा ३४ अंकको गिरावट​

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ घटेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज विहान २४ सय १९ अंकबाट सुरू भएको थियो ।

विप्लवलाई ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप