शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनको बैठक : स्थानीय तहको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप

मङ्गलबार, २९ चैत २०७८, १९ : ०१
मङ्गलबार, २९ चैत २०७८

पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए । बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको सिटौलाको भनाइ छ । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरेका छन् ।  

यता वैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको काँग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए । सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ ।

सञ्चारमन्त्री कार्कीले भने, ‘पाँच दलीय गठबन्धनका बीच २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँड गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने छ। नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेल गरी सिट बाँडफाँडको वैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गते भित्र केन्द्रलाई पठाउने छ। महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडा अध्यक्ष र सदस्यहरूको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गते भित्र टुङ्गो लगाउने छ। प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २/२ जना प्रतिनिधि रहने छ। प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आआफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ । सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने । गठबन्धन भित्र सिट बाँडफाँडको आधारहरू निम्न अनुसार तय गरिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने । २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरूले पालिका, वडामा प्राप्त मतको मतभारलाई आधार मानिनेछ । २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउनेछ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरूले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्नेछ । गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारहरूको अतिरिक्त वर्तमान गठबन्धनमा आबद्ध दलहरूको सङ्गठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्त्व साथ ध्यान दिइने छ । गठबन्धन भित्र रहेका दलहरूबिच मात्र चुनावी तालमेल गर्न पाउनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप