मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा एकीकृत समाजवादीको बटमलाइन : एमालेले जितेका महानगरसहित ५० प्रतिशत चाहियो !

मङ्गलबार, २९ चैत २०७८, १८ : ००
मङ्गलबार, २९ चैत २०७८

 नेकपा (एकीकृत समाजवादी) ले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको ‘बटमलाइन’ अघि सार्ने भएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो । समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ । तर, समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्र रहेका काँग्रेस, माओवादी केन्द्र, समाजवादी र जनमोर्चाले सहमति जनाउँछन् या जनाउँदैनन् भन्ने अनिश्चित छ ।

गठबन्धन स्रोतका अनुसार नेकपा समाजवादीको प्रस्तावमा समाजवादी र जनमोर्चाले सहमति जनाउन सक्ने भएपनि खासगरी नेपाली काँग्रेसले के गर्छ भन्ने महत्त्वपूर्ण रहने बताइएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गठबन्धनमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे सामान्य छलफल भएपनि ठोस छलफल नभएको भन्दै आफ्नो पार्टीको बटमलाइन भने प्रस्ट रहेको बताए ।

‘अनौपचारिक रुपमा तालमेलका विभिन्न मोडालिटी भनेर बाहिर आइरहेका छन्, तर कुनैपनि दलले आफ्नो पार्टीको प्रस्ताव यो हो भनेर भनेको अवस्था छैन’, महासचिव भुसालले रातोपाटीसँग भने ‘हामीले एमालेले जितेका स्थानीय तहमध्ये ५० प्रतिशत पाउनुपर्छ भन्ने बटमलाइन बनाएका छौ ।’

महासचिव भुसालले सोही अनुसार आफ्नो पार्टीको तयारी रहेको समेत बताए । ‘हाम्रो बटमलाइन पनि त्यही हो र तयारी पनि त्यसैगरी गरिरहेका छौँ’, भुसालको भनाइ छ ।पाँच दलीय सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा तालमेलका आधारमा निर्वाचन लड्ने बताउदै आएको छ । सोही अनुसार सोमबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले संयुक्त अपिल जारी गर्दै तयारी समेत गर्न आह्वान गरेका थिए । गठबन्धनबीच सवै तहमा चुनावी तालमेल गर्ने भनेपनि तालमेलको ‘मोडालिटी’बारे ठोस निर्णय भैसकेको छैन । गठबन्धनको आज मंगलबार अपरान्ह चार बजे बस्ने बैठकमा तालमेलको मोडालिटीबारे टुङ्गो लाग्ने काँग्रेस नेता तथा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

६ वटा महानगर र ११ वटा उपमहानगरबाहेक अन्य तहमा स्थानीयस्तरमै सहमति गर्न निर्देशन दिएको गठबन्धनले सो अनुसार सहमति जुट्न सकेको छैन । यद्यपी चैत ३० भित्र सहमति जुटाएर रिपोर्ट केन्द्रमा पठाउने गठबन्धनका नेता कार्यकर्ताको प्रयास जारी छ । गठबन्धनमा चुनावी तालमेलेको ढाँचाका बारेमा छलफल गर्न मंगलबार अपरान्ह पाँच दलको बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षले देशभर धमाधम उम्मेदवार सिफारिस गरेपनि गठबन्धनमा तालमेलको मोडालिटी नै बन्न नसक्दा ढिलाइ भएको हो । आज बस्ने गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटी टुंगो लाग्ने नेताहरुले दावी गरेपनि कुन मोडालिटी अपनाउने र कुन पार्टीले कति स्थानीय तहको प्रमुख उपप्रमुख लिने भन्नेमा दलहरुबीच अहिलेसम्म विषय प्रवेश नै नभएकाले आजै सहमति जुट्नेमा आशंका पैदा भएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस माओवादीले जितेका स्थानीय तह उनीहरुले कायम राख्दै एमालेले जितेका स्थानीय तह सोही जनमतका आधारमा भागबण्डा गरेर चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । प्रचण्डको उक्त प्रस्तावमाथि गठबन्धनको बैठकमा औपचारिक छलफल नभएको नेताहरुले बताएका छन् ।

२०७४ को स्थानीय तहमा सवैभन्दा बढी २९३ स्थानीय तह जितेर नेकपा एमाले पहिलो दल बनेको थियो ।  नेपाली काँग्रेसले २ सय ६६ र माओवादी केन्द्रले १ सय ६ स्थानको नेतृत्वमा जित हासिल गरेर क्रमश दोस्रो र तेस्रो दल बनेका थिए । त्यसैगरी हालको जसपा ( त्यसबेलाको संघीय समाजवादी) ३४ स्थानीय तहको नेतृत्व जितेको थियो  भने जनमोर्चाले ३ र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ स्थानमा जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप