बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका तीन पूर्वअर्थमन्त्रीको दाबी– हामीले सरकार छोड्दा अर्थतन्त्रका सबै सूचक राम्रा थिए (पूर्णपाठ)

आइतबार, २७ चैत २०७८, १४ : ५७
आइतबार, २७ चैत २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनाअघि आफुले सरकार छोड्दा देशको अर्थतन्त्रका सबै सूचक राम्रो रहेपनि वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा पुगेको दावी गरेको छ ।

आइतबार एमालेका तीनजना पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै मुलुकको हालको अर्थतन्त्रको अवस्था र आफ्नो नेतृत्वको सरकारले छोडेको अर्थतन्त्रको फेहरिस्त सुनाएका थिए । ‘मुद्रास्फीति दर ४ प्रतिशतभन्दा तल रही समग्र मूल्य नियन्त्रणमा थियो । व्यापार घाटा भुक्तानी सन्तुलनमा नै थियो । बार्षिक रुपमा विप्रेषण झण्डै १० प्रतिशतले बढेको थियो । बार्षिक कारोबारमा रु. १ अर्ब २३ करोडले भुक्तानी बचत थियो । विदेशी मुद्रा सञ्चिति रु. १४ खर्ब पुगेको थियो । त्यसबेलाको विदेशी मुद्रा सञ्चितिले ११ महिनाभन्दा बढीको वस्तु आयात धान्न सक्ने अवस्था थियो’, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।

एमालेले गठबन्धन सरकार बन्नासाथ आर्थिक गडबडी सुरु भएको समेत बताएको छ । ‘गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड गर्यो । नेकपा (एमाले)को सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राख्यो । समयमा नै बजेट पारित नगर्दा देशको इतिहासमा नै पहिलोपटक राज्य बजेटविहीन अवस्थाबाट गुज्रिनुपर्यो’, पौडेल, पाण्डे र खतिवडाले भनेका छन्, ‘आर्थिक वर्षको दुई महिनाभन्दा बढी समय बितिसकेपछि प्रतिस्थापन विधेयक मार्फत् बजेटलाई विद्रुप बनाइयो । प्रतिनिधिसभामा हाम्रो विरोधका बीच जबरजस्ती पारित गरिएको घोषणा गरियो । यसको कार्यान्वयन फितलो र चालू खर्च बजेट अनुमानभन्दा धेरै हुने खतरा बढ्दै गएको छ । पूँजीगत खर्च भने सर्वथा कम भइरहेको छ ।’

साथै एमालेले गठबन्धन सरकारले नेकपा (एमाले) को सरकारका लोकप्रिय कार्यक्रम खारेज गरेको, सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थ सिद्धितिर केन्द्रित भएको, संसदबाट एमसीसी अनुमोदन गराउँदा गठबन्धनले अनौठो तमासा देखाएको, अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि अर्थ मन्त्रालयले लिनुपर्ने कतिपय पहलकदमी नलिएको जस्ता कमजोरीका कारण समस्या भएको जनाएको छ ।

एमालेले मूल्य बृद्धिदर अघिल्लो सरकारका बेलामा भन्दा दोब्बर भएको भन्दै सरकारले बजारलाई छाडा छोड्दा र सरकारले लिएको गलत आर्थिक नीतिकै कारण निर्माण सामाग्रीको मूल्य अस्वभाविक रुपमा बढ्दा सार्वजनिक तथा निजी क्षेत्रको विकास निर्माण अचाक्ली महङ्गो हुँदै गएको जनाएको छ ।

एमालेले जारी गरेको विज्ञप्तिमा बाह्य क्षेत्र सन्तुलन संकटग्रस्त हुँदै गएको, वैदेशिक व्यापार घाटा देशले धान्नै नसक्ने गरी अकाशिएको, चालू खाता घाटा धान्नै नसकिने स्तरमा पुगिसकेको जनाएको छ । एमालेले देशको समग्र बाह्य कारोबारको भुक्तानी असन्तुलन भयावह हुँदै जाँदा भुक्तानी घाटा बढ्ने क्रममा रहेको जनाएको छ ।

‘फागुन महिनासम्ममा नै भुक्तानी घाटा रु. २६० अर्ब भइसकेको अनुमान छ । बाह्य क्षेत्र सुधारका प्रभावकारी कदम नचाल्ने हो भने असारसम्ममा यो घाटा रु. ४ खर्ब पुग्ने डर छ । यो सरकार देशको आर्थिक इतिहासमै सर्वथा वढी भुक्तानी घाटा सिर्जना गर्दैछ’, एमालेले अर्थतन्त्रको तथ्याङ्क पेश गरेको छ ।

गभर्नरमाथिको कारवाही निन्दनीय 

एमालेले देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्नेमा त्यसो नगरेको जनाएको छ । साथै उसले गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप पनि लगाएको छ ।

‘तसर्थ, यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि शुरु गरेको कार्वाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ’, एमालेले गभर्नर निलम्बनबारे औपचारिक रुपमा भनेको छ ।  एमालेले गभर्नर प्रकरणमा अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको भन्दै गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको आरोप लगाएको छ ।​
तीन पूर्व अर्थमन्त्रीको विज्ञप्तीको पूर्णपाठ : 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप