शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिग्रियो एमाले–राप्रपा सम्बन्ध, दमकमा ओलीलाई झड्का

हृदयेश त्रिपाठीकै मोडेलमा केपी ओलीसँग मिल्दै कमल थापा
आइतबार, २७ चैत २०७८, २१ : २१
आइतबार, २७ चैत २०७८

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।

कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको छ । दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा गरेको छ । थापालाई नेपाली काँग्रेसले समेत सघाउने वचन दिएका कारण एमालेमाथि चर्को दबावमा पर्ने देखिएको छ ।

०७४ को संघीय चुनाबमा यहाँबाट राप्रपाले केपी ओलीलाई सघाएको थियो । यसपटक राप्रपाले मेयरमा आफूलाई सहयोग गर्न माग गरेको थियो । तर, ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको सहकार्यलाई भन्दा कमल थापासँगको सहकार्य अगाडि बढाएपछि दमकको चुनावमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने स्थिति आएको हो ।

०७४ को चुनावमा एमालेका रोमनाथ ओलीले मेयरमा जित्दै गर्दा राप्रपाका राम थापा दोस्रो स्थानमा थिए । यसपटक थापा काँग्रेस र माओवादीको समेत साथ लिएर मेयर बन्ने रणनीतिमा लागेका छन् ।

एमाले निकट स्रोतका अनुसार यसपटक पनि ओलीले राप्रपाका राम थापासँग सहकार्य गर्न चाहेका थिए । मेयरमा एमालेलाई सघाएमा थापालाई आगामी चुनावमा प्रदेश सभामा सघाउन सकिने ओलीले संकेत गरेका थिए । तर, थापाले मेयरको दाबी नछाडेपछि एमालेसँगको सहकार्य हुन नसकेको हो ।

केपी ओलीकै गृह नगरमा मेयर अर्को दललाई दिने हो भने राम्रो सन्देश नजाने भन्दै एमालेले दमकमा राप्रपालाई साथ दिन इन्कार गरेको हो । राप्रपासँग तालमेलको सम्भावना टरेपछि एमालेले उपमेयर गीता अधिकारीसहित ३ जनाको मेयरको उम्मदेवारका रुपमा सिफारिस गरेको छ । यस्तै प्रदेशसदस्य अम्बिका खनाल र होम थापालाई पनि एमालेले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । उपमेयरमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।


राप्रपाले भने उपमेयर काँग्रेसलाई दिने गरी गठबन्धन बनाउन लागेको स्रोतले बतायो । काँग्रेसलाई उपमेयरसहित केही वडा दिने र माओवादीलाई पनि केही वडाहरु दिइने राप्रपा नेता बताउँछन् । तर, माओवादीका गगन पुरीले आफू मेयरमा उठ्ने दाबी छाडिसकेका छैनन् ।  

त्यसो त ०७४ को चुनावमा झापा क्षेत्र नम्बर ३ मा भएको राप्रपा–एमाले सहकार्य पनि लगभग टुटिसकेको छ । केपी ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई झापा क्षेत्र नम्बर ३ मा चुनावी तयारी गर्न भनिसकेका छन् । प्रसाई झापा ३ मा राजेन्द्र लिङदेनकै ठाउँमा एमालेको उम्मेवार बन्ने भएपछि आगामी संघीय चुनावमा पनि झापामा एमाले–राप्रपा सहकार्यको सम्भावना टाढिएको हो ।

हृदयेश त्रिपाठीको मोडेलमा केपी ओलीसँग मिल्दै कमल थापा 
राप्रपा नेपालले गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहले स्वतन्त्र रुपमा एमालेको चुनाव चिन्हबाट चुनाव लडेजस्तै गरी एमालेसँग मिलेर चुनाव लड्न चाहेको छ ।  ०७४ को चुनावमा हृदयेश त्रिपाठी र बृजेश गुप्ता सूर्य चिन्हबाटै चुनाव लडेर विजयी भएका थिए । प्रदेशसभामा पनि त्रिपाठी समूहका २ जना त्यसैगरी विजयी भएका थिए । 

अहिले कमल थापाले राप्रपाकै अस्तित्व कायम रहनेगरी एमालेको चुनाव चिन्हबाट चुनाव लड्नेगरी छलफल अघि बढाएका हुन् । राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले दुई पार्टीबीच तालमेलका लागि छलफल चलिरहेको बताए । दुई पक्षबीचको छलफललाई केही दिनमै पूर्णता दिने गरी अघि बढिएको उनको भनाइ छ । 

कमल थापाले चुनावी घोषणापत्र सार्वजनिक समारोहमा शुक्रबार आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।  निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको बताएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप