शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा कति छ राप्रपाको शक्ति ?

आइतबार, २७ चैत २०७८, १५ : ००
आइतबार, २७ चैत २०७८

काठमाडौँ । राजावादी दलका रूपमा परिचित राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय निर्वाचनको मुखमा शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्‍यो । भोलिपल्ट अर्थात शनिबार राप्रपाले केपी ओलीको गृहनगर दमकमा पनि शक्ति प्रदर्शन गर्‍यो । यसैगरी देशैभरि राप्रपाले आमसभाहरू गरिरहेको छ ।

काठमाडौँको खुलामञ्चमा आयोजित आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्षहरू डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालगायत अन्य शीर्ष नेताहरूले राप्रपा अझै पनि राजनीतिको ट्रयाकमै रहेको सन्देश दिन खोजे ।

पूर्वपञ्चहरूको बाहुल्य रहेको र पछिल्लो समय खस्कँदो अवस्थामा पुगेको यो पार्टीको शक्ति अझै कायम छ भन्ने सन्देश दिन शुक्रबार र शनिबारका यी आमसभा अर्थपूर्ण रहेको राप्रपाका नेताहरू बताउँछन् ।

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएपछि राप्रपाको पक्षमा देशव्यापी आकर्षण बढ्दै गएको राप्रपा प्रवक्ता राजेन्द्र मोहन श्रेष्ठको दाबी छ । त्यसैको निरन्तरतास्वरुप खुलामञ्चमा शुक्रबार देखिएको जनमतले पार्टीमा थप उत्साह पलाएको उनी बताउँछन् ।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ती दलको उदासीनताबीच राप्रपाको नेतृत्वप्रति जनताको विश्वास र भरोसाले पार्टीमा आकर्षण बढेको उनको जिकिर छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियालगायतका जिल्लाहरूमा भएको आमसभामा पनि उत्साहजनक उपस्थिति देखिएको उनको भनाइ छ ।

काठमाडौँमा शुक्रबार देखिएको जनसहभागिताबाट जनताले यथास्थितिबाट मुक्ति चाहेको सङ्केत मिलेको श्रेष्ठले तर्क गरे । ‘खुलामञ्चमा देखिएको जनलहर जनताको मन परिवर्तनको सङ्केत हो । यसलाई यथास्थितिबाट देशले मुक्ति खोजेको र जनताले परिवर्तन चाहेको सङ्केतको रूपमा हेर्न सकिन्छ’, उनले भने ।

राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे पनि पार्टीभित्रको फुट र विगतको निर्वाचन परिणामलाई भने भुल्नुहुँदैन । त्यसमाथि लिङ्देनको नेतृत्वमा राप्रपाले जति गति दिने अपेक्षा गरिएको थियो सो अनुसार हुन नसकेको राप्रपाकै नेता कार्यकर्ता बताउँछन् । योबीचमा उनले ज्ञानेन्द्र शाही नेतृत्वको समूह र केही हिन्दुवादीलाई पार्टीमा प्रवेश गराएका छन् ।

राप्रपाको काठमाडौंसहित देशव्यापीरुपमा पार्टीको शक्तिमा खासै ठूलो बदलाव आइनसकेको प्रष्ट देखिँदैन । तर, पुरानो शक्ति भएकाले छरिएर रहेका मत भने छ, जुन काठमाडौँमा पनि जबरजस्तरुपमा रहेको तथ्यांकले देखाएको छ ।

काठमाडौँमा राप्रपाको शक्ति

२०७४ सालको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने राप्रपा काठमाडौँमा चौथो शक्तिका रूपमा स्थापित छ । काठमाडौँका सबै ११ स्थानीय तहको वडागत मत विश्लेषण गर्दा सो पार्टीले २२ हजार ४८० मत पाएको छ । स्थानीय तहमा जित हासिल गर्न नसके पनि सो पार्टीले जिल्लाभरिका ४ वडामा वडाध्यक्ष पद जितेको थियो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २, नागार्जुन नगरपालिका वडा नम्बर ५ तथा शंकरापुर नगरपालिका वडा नम्बर ६ र ७ को अध्यक्ष राप्रपाले जितेको थियो । यस्तै सदस्य पदमा पनि केही वडामा जितेको थियो ।

काठमाडौँ महानगरपालिकामा राप्रपाले एमालेसँग तालमेल गरेको थियो । जसमा मेयरमा एमालेलाई सघाएर उपमेयर राप्रपाले लिएको थियो । तर, एमालेका मतदाताले नसघाउँदा उपमेयरमा राजाराम श्रेष्ठ पराजित भएका थिए । उनले एमालेसमेतको गरी जम्मा ३४ हजार ८५४ मत ल्याएका थिए ।

वडागत मत विश्लेषण गर्दा राप्रपाले काठमाडौँ महानगर क्षेत्रमा १० हजार ५३९ मत ल्याएको थियो । यसरी हेर्दा श्रेष्ठले एमालेको २४ हजार ३१५ मत पाएको देखिन्छ । अर्थात एमालेबाट विद्यासुन्दर शाक्यले मेयर जित्दा राप्रपाको १० हजार बढी भोटको योगदान देखिन्छ ।

संघीय निर्वाचनमा भने राप्रपाले काँग्रेससँग तालमेल गरेको थियो । सो निर्वाचनमा अन्य सबै क्षेत्रमा राप्रपाले काँग्रेसलाई सघाउने गरी क्षेत्र नम्बर ७ मा विक्रम थापालाई उम्मेदवार बनाएको थियो । त्यतिबेला पाण्डेले १० हजार ७९ मत ल्याएर पराजित भएका थिए । उनलाई एमालेका उम्मेदवार रामवीर मानन्धरले १८ हजार १०२ मतका साथ पराजित गरेका थिए ।

०७४ सालमा पार्टी विभाजनका कारण राप्रपा राष्ट्रवादी र राप्रपा प्रजातान्त्रिक पनि छुट्टाछुट्टै चुनावमा थिए । प्रजातान्त्रिकले काठमाडौँमा उम्मेदवार नउठाए पनि राप्रपा राष्ट्रवादीले क्षेत्र नम्बर १ बाहेक बाँकी निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो । तर, उल्लेखनीय नतिजा हासिल भएन ।

गत निर्वाचनमा राप्रपाले पाएको वडागत मतपरिणाम

राप्रपाले गत स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत पाएको काठमाडौँ महानगरपालिकामा हो । काठमाडौँ महानगर क्षेत्रमा वडाध्यक्षका उम्मेदवारले १० हजार ५३९ मत पाएका थिए ।  वडागत आधारमा वडा नम्बर १ का अध्यक्षका उम्मेदवारले १८५ मत पाएका थिए । यस्तै वडा नम्बर २ मा १०६, ३ मा ३४८, ४ मा ४९१, ५ मा १५५, ६ मा २८२, ७ मा ५५४, ८ मा १२१, ९ मा १०१८, १० मा ३९६ मत प्राप्त भएको थियो ।

यसैगरी वडा नम्बर ११ मा २१८, १२ मा १६३, १३ मा ३१५, १४ मा ७४६, १५ मा ३५३, १६ मा ५६१ मत पाउँदा १७ मा १४०, १८ मा २४९, १९ मा २११, २० मा ५३१, २१ मा १७६, २२ मा ११६, २३ मा ४९४, २४ मा २००, २५ मा ७५, २६ मा १८७, २७ मा ८१, २९ मा १६१, ३० मा २५३, ३१ मा ७६५ र ३२ मा ६७८ मत अध्यक्षका उम्मेदवारले पाएका थिए । यसरी हेर्दा २८ नम्बर वडामा राप्रपाले उम्मेदवार उठाएको थिएन भने वडागत रूपमा हेर्दा समग्रमा चौथो स्थानमै देखिएको छ । महानगर क्षेत्रमा राप्रपाको वडा नम्बर ९ बलियो देखिएको छ ।

यसैगरी राप्रपाले कागेश्वरी मनोहरामा वडाध्यक्षमा १३२९ मत पाएको छ भने कीर्तिपुरमा ५८३, गोकर्णेश्वरमा ९८६, चन्द्रागिरिमा १०६९, टोखामा १०६३, तारकेश्वरमा ५७४, दक्षिणकालीमा १०५०, नागार्जुनमा २४३४, बूढानीलकण्ठमा ८५१ र शंकरापुरमा २ हजार मत पाएको थियो ।

मेयर–उपमेयरमा कति मत ?

कागेश्वरी मनोहरामा राप्रपाका उम्मेदवारले मेयर पदमा ७३९ मत पाउँदा उपमेयरका उम्मेदवारले ९२५ मत पाएका थिए । यसैगरी कीर्तिपुरमा मेयर उम्मेदवारले २७९ तथा उपमेयर उम्मेदवारले ४५७ मत पाएका थिए ।

गोकर्णेश्वरमा मेयर तथा उपमेयरका उम्मेदवारले क्रमशः ७५५ र ६३६, चन्द्रागिरिमा ६४२ र ८०२, टोखामा ५६८ र ८६०, तारकेश्वरमा ६८७ र ६७६, दक्षिणकालीमा ३४५ र ५०९, नागार्जुनमा २४९४ र २३११, बूढानीलकण्ठमा १४४५ र ९९१, शंखरापुरमा २४६१ र १७१५ मत पाएका थिए ।

तथ्यांकअनुसार राप्रपालाई एक्लै चुनाव जित्नका लागि असम्भव जस्तै छ । तर, अन्य पार्टीसँग तालमेलका लागि भने राप्रपाको मतको महत्त्व देखिन्छ । त्यसैले पनि एमालेले राप्रपासँग तालमेलका लागि प्रयास गर्दै आएको छ । एमाले अध्यक्ष केपी ओलीले राप्रपा महामन्त्री धवलशमशेर राणामार्फत संवाद अघि बढाएका छन् । तर, संवादले मूर्तरुप भने पाएको छैन ।

राप्रपाका काठमाडौँ अध्यक्ष भन्छन्– जनता गोठमा बाँधेका भेडाबाख्रा होइनन्

त्यसो त राप्रपाले विगतको आफ्नो शक्तिलाई काँग्रेस वा एमालेलाई भोट थपिदिने साधन मात्रै बनाउँदै आएको देखिन्छ । स्थानीय तहको चुनावमा महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य राप्रपाकै मतले जिते । संसदीय चुनावमा पनि राप्रपाले काठमाडौँमा काँग्रेसलाई सघायो ।

तर, यसपटक राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राप्रपा आफ्नै खुट्टामा उभिने नेताहरू बताउँछन् । उता कमल थापा नेतृत्वको राप्रपा नेपालले भने एमालेसँग सूर्य चिन्ह लिएर सहकार्य गर्ने तयारी गरिरहेको छ ।    

राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिम्खडाले पार्टीले काठमाडौँका सबै स्थानीय तहमा तलदेखि माथिसम्म सबै पदमा उम्मेदवारी दिने बताए । उनले अहिलेसम्म काठमाडौँमा अरू पार्टीसँग तालमेलबारे कुराकानी नभएको बताए । ‘अहिलेसम्म हामी कसैसँग तालमेल गर्ने पक्षमा हामी छैनौँ । सबै स्थानीय तहमा तलदेखि माथिसम्म सबै पदमा उम्मेदवारी दिन्छौँ’, उनले भने ।

उनले अघिल्लो चुनावमा प्राप्त मतलाई आधार बनाउन नहुने भन्दै यो पटक पार्टीले राम्रो नतिजा ल्याउने गरी अग्रसर रहेको बताए । ‘अघिल्लो पटकको मतलाई आधार बनाउन भएन । मतदाता परिवर्तनशील हुन्छन् । जनता गोठमा बाँधेका भेडाबाख्रा होइनन्’, उनले भने, ‘हामीले धेरै ठाउँमा विजय हासिल गर्ने गरी चुनावमा जान्छौँ ।’

शुक्रबार खुलामञ्चमा देखिएको जनसहभागिताले पनि राप्रपाप्रतिको आकर्षण दर्साएको सिम्खडाको जिकिर छ । राप्रपाको विचार, नीति र सिद्धान्तप्रति आकर्षण बढेको जिकिर गर्दै काठमाडौँमा संगठनको अवस्था पनि राम्रो रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप