शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा काँग्रेसलाई काउन्टर, गठबन्धन नगर्ने तीन दलको निर्णय

शुक्रबार, २५ चैत २०७८, १८ : ०६
शुक्रबार, २५ चैत २०७८

नेपाली काँग्रेसको कोइराला पक्ष एकलौटी अगाडि बढ्न खोज्दा समस्या आएको भन्दै मोरङका तीन दलले काँग्रेससँग गठबन्धन नगर्ने निर्णय गरेका छन् ।  विराटनगरको होटल स्टर्नस्टारमा आज बिहान बसेको काँग्रेस बाहेकका दलको छुट्टै बैठकले काँग्रेसको विकल्प खोज्ने निर्णय गरेको हो । 

बैठकमा माओवादी, नेकपा एस र जनता समाजवादी दलका मोरङका नेताहरु माओवादीका तर्फबाट केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश १ सचिव गणेश उप्रेती, मोरङ संयोजक विजय विश्वास, नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सचिव महेश रेग्मी, जनता समाजवादी पार्टीका नेता जयराम यादव, राजकुमार यादव, भुराज राई लगायतको उपस्थिति थियो ।  

‘आजको छलफलले हामी एक मतका साथ काँग्रेसको विकल्प खोज्ने निर्णय भएको छ,’ बैठकमा सहभागी माओवादी केन्द्रका प्रदेश सचिव उप्रेतीले भने, ‘मोरङमा काँग्रेसको कोइराला ग्रुपले निक्कै दम्भ देखाएको छ, उसलाई एक्ल्याउन जस्तोसुकै विकल्प खुल्ला गर्ने गरी निर्णय भयो ।’

प्रदेशमा पनि खटपट, तीन पार्टी झस्किए

प्रदेश १ को मोरङ, सुनसरी र झापाका स्थानीय तहबाट काँग्रेसले गठबन्धन नगर्ने आशयको सुझाव पेश गरेपछि गठबन्धनका अन्य तीन दल झस्किएका छन् ।  प्रदेश १ मा क्रियाशिल गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरु काँग्रेसको गतिविधिबाट असन्तुष्ट बनेका छन् । उनीहरुले आगामी दिनमा अर्कै खालको गठबन्धन निर्माण गरेर जाने विषयमा छलफलसमेत सुरु गरेको जनाएका छन् । 

नेकपा (माओवादी केन्द्र) का प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले काँग्रेसले गठबन्धनको विषयलाई महत्व नदिएको बताए । उनले गठबन्धन भनेको लिने र दिने दुवै भएपनि काँग्रेसले आफूलाई मात्रै केन्द्रीत गर्न खोजेको बताए । ‘अब काँग्रेसले यही तरिकाले अगाडि बढ्न खोजे हाम्रै नेतृत्वमा गठबन्धन गरेर अगाडि बढ्ने अवस्था पनि आउनसक्छ,’ उनले भने, ‘स्थानीयस्तरमा काँग्रेसले देखाएको दम्भ र घमन्डका कारण यो अवस्था आउनसक्छ ।’

 

यस्तै नेकपा समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का सचिव महेश रेग्मीले गठबन्धन तलका कार्यकर्ताले मागेर गरेको भन्दा केन्द्रबाट आवश्यकता महसुस गरेर गर्न खोजेको भएको बताए । ‘केन्द्रको निर्णय कार्यान्वयन गर्ने तलका कमिटीको दायित्व हो, हामी त्यो कुरामा इमानदार छौं, काँग्रेसले पनि माथिको निर्णय तल उल्लंघन गर्दैन होला, यदि त्यसरी गर्ने हो भने पनि काँग्रेस स्वतन्त्र छ, हामी चार पार्टी अलक ढंगले अगाडि बढ्छौँ,’ उनले भने, ‘हामी काँग्रेस गठबन्धनबाट अलग भयो भने, हामी उसँग सती जान कुरा हुँदैन ।’

काँग्रेस प्रदेश १ का सभापति उद्धव थापाले स्थानीय तहलाई नै गठबन्धन गर्ने नगर्ने विषयमा अधिकार दिएको बताए । ‘अब काँही गर्ने काँही नगर्ने हुनसक्छ, मोरङको सुन्दरहरैंचा, लेटाङ, पथरी शनिश्चरेमा गठबन्धनको तयारी भइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा नहुन पनि सक्छ ।’ 

यता जनता समाजवादी पार्टीका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले काँग्रेस एकलौटी अगाडि बढे गठबन्धन टुट्न सक्ने बताएका छन् । ‘मोरङको विषय बढी चर्चामा आएको छ, यस विषयमा हामीले केन्द्रमा पनि कुरा गर्छौं, काँग्रेस यसरी नै अगाडि बढिरहेको खण्डमा गठबन्धनको औचित्य हुँदैन,’ चाम्लिङले भने, ‘तर, मलाई अन्तिमसम्ममा त्यस हिसाबले जान्छ जस्तो लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप