मोरङका अधिकांश पालिकामा गठबन्धन नगर्न काँग्रेसको सुझाव

नेपाली काँग्रेस मोरङका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा मोरङमा मात्रै १० वटा पालिका जितेको थियो । काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै जिल्ला जिल्लामा तालमेलको प्रयास भएको थियो । यद्यपि काँग्रेसले माग गरेको सुझाव अनुसार मोरङ काँग्रेसका स्थानीय समितिहरुले केही वडामा तालमेल गर्नुपर्ने बताए पनि अधिकांश पालिकामा एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएका छन् ।
काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार तल्लो कमिटीबाट केही वडामा बाहेक तालमेल र सहकार्यको कुरा आएको छैन । ‘गठबन्धन गर्ने इच्छा व्यक्त गरेका छैनन् । केही ठाउँमा गठबन्धन भन्दा तालमेल गर्ने कि भन्ने छलफल भएको छ । आज छलफलको रुपमा विषय प्रवेश हुन्छ,’ लिम्बूले भने, ‘पहाडी वडाहरूबाट मात्रै तालमेलको सुझाव आएको छ । अधिकांशमा नगर्दा राम्रो हुन्छ भन्ने सुझाव छ ।’
तल्लो तहबाट आएका अन्य सुझावहरुमा दलितहरू र निम्न आय भएकाहरु लक्षित कार्यक्रम ल्याउने, तटबन्ध र वातावरण संरक्षणलाई प्राथमिकता दिने, भूमिहीनको समस्या सम्बोधन गर्ने, द्वन्द्व पीडितको पहिचान र सम्मान गर्ने र एमसिसीबारे जनमानसमा अझै प्रष्ट पार्नुपर्ने लगायत रहेको लिम्बूले जानकारी दिए ।
कांग्रेसले आज जिल्ला समितिको बैठक राखेको छ । उक्त बैठकले आज बेलुकासम्ममा तलबाट आएका सुझावहरूको आधारमा आफ्ना धारणा सार्वजनिक गर्ने लिम्बूले जानकारी दिए ।
०७४ सालमा मोरङमा नेपाली कांग्रेसले १०, एमालेले ५, माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ पालिकामा जितेका थिए । आगामि निर्वाचनमा कांग्रेसले गठबन्धन नगरेको खण्डमा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच गठबन्धन गरेर जाने विषयमा चर्चा सुरु भएको छ ।