शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा एक्लै लड्ने काँग्रेसको निर्णय

विराटनगरमा गठबन्धनको कुनै आवश्यकता छैन : नगर सभापति चापागाईं
शुक्रबार, २५ चैत २०७८, ११ : ५७
शुक्रबार, २५ चैत २०७८

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ ।  दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन ।

विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भने, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने भनेपछि केन्द्रले लाद्न पाउँदैन ।’

चापागार्इंका अनुसार विराटनगरमा वडातहसम्मकै उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको छ । हालसम्म १९ वटा वडामध्ये एउटा वडा १८ नम्बरबाहेक सबैको नामावली सिफारिस भएको उनले बताए । ‘हामी सबै उम्मेदवारको नामावली सिफारिस भोलिसम्ममा गरिसक्छौँ,’ चापागाईँले भने । 

गठबन्धन नभए के होला ?

०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार १ जनाले निर्वाचन जितेका थिए । अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । 

त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रहलादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३ सय ६४ रहेको छ ।


मत परिणामअनुसार सबै वडाध्यक्षको मत जोड्दा काँग्रेसको १६ हजार ७ सय ६६ हुन्छ । एमालेको १६ हजार २ सय १८, संघीय समाजवादी फोरमको मत १० हजार ९ सय ३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २ सय ९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४ सय ५२ रहेको छ । लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै काँग्रेसको मत अब २१ हजार ८ सय ६० मत पुग्छ । 

विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ जना मतदाता नयाँ थप भएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ थियो । 

काँग्रेसले यही मतका आधारमा आफू जित्ने आंकलन गरिरहेको छ । काँग्रेसले अन्य दलसँग गठबन्धन नगरेको खण्डमा विराटनगरमा माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बन्ने सम्भावना छ । यसका साथै जनता समाजवादी र एमाले बीचको गठबन्धनको पनि चर्चा छ । 

एमालेले जनता समाजवादी पार्टी र राप्रपासँग एकता गरेर चुनावमा गएको खण्डमा काँग्रेसलाई उक्त उम्मेदवार निक्कै भारी पर्ने देखिन्छ । यस्तै माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बन्ने, एमाले र राप्रपाबीच गठबन्धन बन्ने र काँग्रेस एक्लै जाने अवस्थामा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ । 

०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मानेर मात्रै हिसाव किताब गर्दा पूर्ण नहुनसक्छ । किनकी त्यसयता थुप्रै पार्टीहरू मिल्ने र विभाजित हुने क्रम चलिसकेको छ भने नयाँ मतदाताको रुझानले पनि परिणाममा धेरै फेरबदल ल्याउन सक्छ । ०७४ सालको चुनावयता काँग्रेस र फोरम लोकतान्त्रिक बीच एकता भयो भने एमाले विभाजित भयो । यस्तै संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टीसँग एकता गर्दै पुनः विभाजित भइसकेको छ ।

मतको रुझान हेर्दा विराटनगरका मतदाता वामपन्थी र काँग्रेस निकट बराबर जसो छन् । ०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले, माओवादीको २४ हजार २ सय १९ रहेको छ भने काँग्रेस र राप्रपाको मत २६ हजार १ सय ५१ छ । यस्तै जनता समाजवादी पार्टीको मत १० हजार ९३२ रहेको छ । तत्कालीन अवस्थामा विराटनगरमा १ लाख १२ हजार मतदाता रहेका थिए ।

बामपन्थीहरु बीचको बेमेलले काँग्रेसलाई सहज छ । यसपटक गणनामा आउने वामपन्थी दल विराटनगरमा मात्रै तीनवटा एमाले, माओवादी र एकीकृत समाजवादी छन् । सबै वडामा संगठनहरु निर्माण गरिसकेको कारण एकीकृत समाजवादीले एमालेको लगभग ३ हजार देखि ३५ सयसम्म मत काट्न सक्ने अनुमान स्वयम् एमालेहरुले गरिरहेका छन् । समाजवादीका नेताहरु भने आफूहरुले ५ हजार बढी मत ल्याउने दाबी गर्छन् । यसकारण पनि एमालेको उम्मेदवारले चुनाव जित्ने आधार कमजोर हुने काँग्रेसको बुझाइ देखिन्छ ।

यता, नेपाली काँग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे ४ हजार मत फोरम लोकतान्त्रिकबाट थप भएपछि ढुक्क भए जस्तै छ । तर, काँग्रेसमा अहिले वडा तहदेखि नै झाँगिएको देउवा र कोइराला प्यानलले एकअर्कामा भोट क्रस हुने सम्भावना रहेको धेरैको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप