बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

२० देशका लागि राजदूत सिफारिस

बिहीबार, २४ चैत २०७८, २० : ०५
बिहीबार, २४ चैत २०७८

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए । 

राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् । 

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापान, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

यसैगरी सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।

यसअघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो । यो आयोजना धादिङ र गोर्खा जिल्लामा पर्छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने भनेर पेट्रोलियम पदार्थबाट अर्बौ कर उठाइसकेको छ । आयोजनाअन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यसका लागि ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बन्ने बताएकी थिइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी सुनाउन आयोजना गरिएको कार्यक्रममा यस्तो बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप