शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा एमालेले पोख्यो असन्तुष्टि

आयोगले बनाएको निर्वाचन आचारसंहिता त्रुटिपूर्ण भयो : सुवास नेम्वाङ
बुधबार, २३ चैत २०७८, २१ : ००
बुधबार, २३ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट देखिएको छ । मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो । आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।

आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुअघि पनि दलहरूलाई आफ्नो कुरा राख्ने अवसर नदिएको एमाले नेता सुवास नेम्वाङले रातोपाटीलाई बताए । उनले भने, ‘निर्वाचनका लागि आचारसंहिता हुनुपर्छ र आचारसंहिता अनुसार चुनाव हुनुपर्छ भन्नेमा सवैभन्दा बढी दृढ नेकपा एमाले हो । जहाँसम्म एमालेले आचारसंहितामा हस्ताक्षर नगरेको प्रसंग छ, साथीहरु चर्चाको लागि कुन कुरो कता बटार्छन् त्यसमा मेरो टिप्पणी गर्नु छैन । हिजोको प्रसंग अलिकति फरक हो ।’

नेता नेम्वाङले अगाडि भने, ‘हिजो निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको थियो, दलका साथीभाइसँग बुझ्नुस, हिजो आयोगमा छलफल भयो कि भएन ? त्यसबारेमा यस अघिपनि छलफल गराइयो कि गराइएन ? हाम्रो भनाइ त्यतिमात्रै हो, आचारसंहिता जस्तो गम्भीर विषयमा छलफल हुनुपर्छ । छलफल हैन हिजो त आयोगमा लफडा पर्‍यो । एमालेले लाप्पा खेलेको हैन, अरु दलहरुले नै लाप्पा खेल्नुभयो । यो आचार संहितामाथि छलफल गर्नुपर्‍यो, छलफल नै नगरी सही गर्ने कुरा त ठीक भएन । त्यहाँ त्यस्ता केही विषयहरु छन्, त्यसमा हाम्रा असहमति छन् । त्यसबारेमा छलफल गरौं न भन्ने भनाइ एमालेको हो । त्यसमा छलफल गरिएन । छलफल नगरीकनै बैठक उठ्यो ।’ 

उनले आचारसंहिताबारे आयोगले एक मिनेट मात्रै छलफल गर्‍यो  ? भनेर प्रश्न गरे । आयोगले आचारसंहिताका प्रावधानमाथि छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हाम्रो भनाइ भनेको आयोगले त्यसमा छलफल गर्नुपर्‍यो । छलफल गरेपछि ठीक निष्कर्षमा पुगिन्छ । छलफलपछि हस्ताक्षर गर्न निःसन्देह नै हामी तयार छौँ, किनभने अरु दलहरु यो चुनाव सार्न लागिरहेका बेला यो चुनाव ठीक समयमा हुनुपर्छ भनेर माग गर्ने नै हाम्रो पार्टी हो । चुनाव गर्नुपर्छ भनेर लडाई गर्ने हामी हौँ, जसरी पनि चुनाव हुनुपर्छ भन्ने पक्षमा हामी रहेका छौँ ।’

एमालेका कानुन विभाग प्रमुख रमेश बडालले  आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल र तिनीहरूका प्रतिनिधिले चुनाव प्रचार प्रसार गर्न पाइँदैन, बिचार ब्यक्त गर्न पाइँदैन भनेर लेखेको भन्दै उक्त प्रावधान ठीक नभएको जिकिर गरे ।

उनले प्रश्न गरे, ‘राजनीतिक दल, उम्मेदवार र तिनका प्रतिनिधिले चुनाव प्रसार प्रसार गर्न नपाउने, भोट माग्न नपाउने भन्ने आचारसंहितामा हामी सही गर्छौँ ? चुनावको उम्मेदवारले भोट माग्न नपाउने भन्ने आचारसंहिता जतिको आपत्तिजनक कुरा दुनियाँमा केही हुन्छ ? आचारसंहिताको दफा ३ र ४ मा भएका प्रावधानहरु हेर्नुस, त्यसमा राजनीतिक दल तिनका उम्मेदवार, निर्वाचनका प्रतिनिधिहरुले पक्ष वा विपक्षमा विचार अभिव्यक्त गर्न, मत माग्न नपाइने भनेर लेखेको छ ।’

उनले निर्वाचनमा उठ्ने तर आफ्नो पक्षमा भोट माग्न नपाउने भन्ने कुरा नमिलेको बताउँदै त्यस्तो प्रावधानमा पनि काँग्रेस र माओवादीले सहि गरेकोमा अचम्म लागेको बताए ।

मंगलबार आयोगले गरेको अचारसंहिता प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न गएका एमालेका कानुन विभाग प्रमुख बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आर्चाय आचारसंहितामा हस्ताक्षर नगरी फर्किएका थिए ।

हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लागू हुन्छ : आयोग

यसैबीच मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा एमाले लगायतका केही दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरेको बारे सोधिएको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्ने बताए । आचारसंहिता नमान्नेलाई कारबाही हुने उनले स्पष्ट पारे ।

‘निर्वाचन आचार संहितामा पार्टीहरूलाई बोलाएर प्रतिबद्धतामा सही गराइराख्नुपर्दैन’ थपलियाले ‘आयोगले पहिलेदेखि नै आचारसंहिता कार्यान्वयन गर्नुभन्दा पहिले गोष्ठीहरू गर्ने, जानकारीहरू गराउने र चुनावमा भाग लिने सबै दलहरूलाई बोलाएर प्रतिबद्धता व्यक्त गराउने चलन भएको हुनाले बोलाइएको हो । प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने दललाई आचारसंहिता लागू हुने र हस्ताक्षर नगर्नेलाई लागू हुँदैन भनेर व्याख्या गर्न मिल्दैन । जस जसले हस्ताक्षर गर्नुभयो, उहाँहरूलाई धन्यवाद छ, दस्तखत नगर्नेहरूमाथि पनि आचारसंहिता लाग्छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप