आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

थपलिया भन्छन्, ‘हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लागू हुन्छ’
बुधबार, २३ चैत २०७८, २१ : ००
बुधबार, २३ चैत २०७८

स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।

‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्नेछन्’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रातोपाटीसँग भने, ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । भोलि यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र त्यसको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’

त्यसैगरी मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि आजै कार्यदल बन्ने जानकारी दिँदै थपलियाले भने, ‘आज बन्ने कार्यदल मिडिया र सामाजिक सञ्चालनको अनुगमनका लागि शुक्रबारदेखि नै क्रियाशील हुन्छ । २५ गते कार्यदल क्रियाशील हुन्छ । त्यहाँबाट हुन सक्ने भ्रामक समाचार र साइबर सेक्युरिटी हेर्नका लागि समिति बन्छ ।’

आचारसंहिता लागू गर्न ढिलाइ किन ?

निर्वाचन आयोगले आचार संहिता ढिलो लागू गरेर सरकारलाई सजिलो पार्न लागेको हो कि ? भन्ने रातोपाटीको प्रश्नमा प्रमुख आयुक्त थपलियाले प्रतिपक्षी दलसँग पनि संवादमै रहेको बताए ।

थपलियाले भने, ‘उहाँ (एमाले) कै प्रतिनिधिहरूले पनि निर्वाचन आयोगले जहिले आचारसंहिता लगाए पनि हामीलाई आपत्ति छैन भनेर भनिराखेका छन् । पार्टीका प्रतिनिधिले हामीलाई भनेका छन्, आचार संहिता लगाउने आयोगको विषय हो, स्थानीय तहमा हाम्रा पनि सरकार छँदैछन्, जुन दिनदेखि लगाए पनि प्रभावकारी कार्यान्वयन होस् भनेका छन् ।’

तर, नेताहरू हेलिकोप्टरमा हिँडिरहेका छन्, आचार संहिता लगाउन ढिलो भएन र ? भन्ने थप प्रश्नमा प्रमुख आयुक्त थपलियाले भने, ‘सबै संरचनाहरू तयार पार्नुपर्‍यो, स्थानीय स्तरमा हाम्रा अफिसहरू सबै खुलिसकेका छैनन्, आचारसंहिता कार्यान्वयनका लागि ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्छ । स्थानीय प्रशासनमा आचारसंहिता उल्लङ्घनको उजुरी लिने व्यवस्थापन गरी आयोगले यसलाई घोषणा गर्छ ।’

‘हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लागू हुन्छ’

मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा एमाले लगायतका केही दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरेको बारे सोधिएको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिबद्धता पत्रमा हस्ताक्षर नगर्नेलाई पनि आचारसंहिता लाग्ने बताए । आचारसंहिता नमान्नेलाई कारबाही हुने उनले स्पष्ट पारे ।

‘निर्वाचन आचार संहिता भनेको सबैको कानुनी एवं नैतिक दायित्व हो । यसमा पार्टीहरूलाई बोलाएर प्रतिबद्धतामा सही गराइराख्नुपर्दैन’ थपलियाले रातोपाटीसँग भने, ‘तर, आयोगले पहिलेदेखि नै आचारसंहिता कार्यान्वयन गर्नुभन्दा पहिले गोष्ठीहरू गर्ने, जानकारीहरू गराउने र चुनावमा भाग लिने सबै दलहरूलाई बोलाएर प्रतिबद्धता व्यक्त गराउने चलन भएको हुनाले बोलाइएको हो ।’

थपलियाले अगाडि भने, ‘प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने दललाई आचारसंहिता लागू हुने र हस्ताक्षर नगर्नेलाई लागू हुँदैन भनेर व्याख्या गर्न मिल्दैन । जस जसले हस्ताक्षर गर्नुभयो, उहाँहरूलाई धन्यवाद छ, दस्तखत नगर्नेहरूमाथि पनि आचारसंहिता लाग्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले रातोपाटीसँग कुराकानी गर्दै अगाडि भने, ‘दस्तखत नगर्ने नागरिक, मतदाता, मिडियामा पनि आचार संहिता लागू हुन्छ । मतदाताले त हस्ताक्षर गरेका हुँदैनन्, तर उनीहरूले पनि आचारसंहिता स्वीकार्नुपर्ने हुन्छ । आचार संहिता सबैले मान्नुपर्छ, उल्लङ्घन भएमा सबैलाई कारबाही हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप