मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आजका टप टेन समाचार

मङ्गलबार, १५ चैत २०७८, २२ : ०६
मङ्गलबार, १५ चैत २०७८

 

आज मिति २०७८ साल चैत महिनाको १५ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–

विप्लव नेकपाको कार्यनीति

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । 

सर्वाेच्चको आदेश

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।

जनकपुरमा रेल चल्ने

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

गद्दी बैठक खुला

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे ।  हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको छ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।

फूलचोकीको वन फाँड्ने प्रयास​

गोदावरी फूलचोकी क्षेत्रको पर्यावरणीय संवेदनशीलता भुलेर सरकारी निकायले हालै त्यहाँ केबलकार बनाउन वन फँडानी गर्ने बाटो खोलिसकेको छ । तर, तीन दशकदेखि नै सो क्षेत्र संरक्षण गर्न सरकार, अदालत र अनुसन्धानमूलक संस्थाले पटकपटक प्रतिवेदन र आदेश जारी गरेको पाइएको छ । सर्वोच्च अदालतले त एक फैसलामा सो क्षेत्रमा विकासका नाममा जैविक विविधतालाई असर पर्नेगरी उद्योग सञ्चालन गर्नु पर्यावरणीय आत्महत्या नै हुने उल्लेख गरेको भेटिएको छ ।

सरकारमा लोसपा

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अहिले सोही सरकारमा सहभागी हुन तयारीमा जुटेको छ । स्थानीय तहको चुनावअघि सरकारमा सहभागी हुने गरी पार्टीले तयारी थालेको छ । त्यसका लागि लोसपाले भोलि बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बुधबारको बैठकले लोसपा सरकारमा जाने कि नजाने भन्नेबारे तय गर्नेछ ।

मन्त्रीपरिषद्को निर्णय

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधा सम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय गरेको हो । ​​

विवेकशील साझामा लफडा

विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा ​असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ । कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो । 

भन्सार एजेन्टको परीक्षा नरोकिने

लामो समयदेखि रोकिएको भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको हो ।

निर्माण सामग्री अभाव

चर्को मूल्यवृद्धिसँगै बजारमा निर्माण सामग्री अभाव चुलिएको छ । रूस–युक्रेन युद्धलाई कारण देखाएर शतप्रतिशतसम्म बढेको डण्डी बढेकै मूल्यमा पनि पाइन छाडेको हो । बजारमा मागअनुसारको डण्डी पाउनै छाडिएको निर्माण व्यवसायी बताउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप