बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरणमा वकिलको बहस : आरोपीलाई रिहा गरे अन्य बालिकालाई जोगाउन गाह्रो हुन्छ

बिहीबार, १० चैत २०७८, १६ : ५७
बिहीबार, १० चैत २०७८

बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा सरकार अर्थात् वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गर्दा अन्य बालबालिका असुरक्षित हुने तर्क पेश गरेका छन् । बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएका हुन् । 

वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका बलात्कार प्रकरणमा प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर करणी गरेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका छन् ।

 पीडितको शरीर नै घटनास्थल हुने, बलात्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर थियो । 
बलात्कारजन्य अपराधमा परिस्थितिजन्य प्रमाण नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रमाण हुने किरण बिकविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतको नजिर प्रस्तुत गर्दै परिस्थितिजन्य प्रमाणले वारदात पुष्टि हुने ती कानुन व्यवसायीले बताए । 

प्रतिवादी आफैले दिएको बयान, प्रतिवादीका म्यानेजर तथा मुद्दामा मतियार बनाइएका व्यक्तिले दिएका बयान आदिले अभियोग दावी पुष्टी हुने भन्दै अपराधसँग जोडिएको व्यक्तिलाई बाहिर छाड्दा समाज आतंकित हुने उनको दलिल थियो । 

मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ अनुसार ३ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दामा प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उल्लेख भएको भन्दै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका छन् । 

यस्ता घटनाका आरोपित व्यक्ति थुनाबाहिर आउँदा अन्य नाबालिगहरु जोगाउन गाह्रो हुने पनि सरकारवादी वकिलको जिकिर थियो । साथै अभियुक्तलाई थुनाबाट बाहिर ल्याउँदा पीडित र पीडितको परिवारलाई धाक धम्की र प्रलोभन दिई होस्टाइल गराउन सक्ने, पहिले पनि पीडितको ज्यान लिनेसम्मको धम्की आएकाले ज्यान नै लिनसक्ने डरसमेत भएको भन्दै अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए । 

कानुन सबैलाई बराबर भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, एक सेलिब्रेटी र एक सामान्य नागरिक कानूनको दृष्टिमा समान हैसियतमा रहने पनि ती अधिवक्ताको जिकिर थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप